एकल महिलाले सञ्चालन गरेको ‘होमस्टे’ : रित्तिँदै गएको गाउँ पुनः गुल्जार बन्दै

खासुरका बासिन्दा शहर तथा विदेशतिर लागेपछि रित्ता भएका घरमा एकल महिलाहरूले होमस्टे सञ्चालन गरेर पर्यटकीय गन्तव्यका रुपमा विकास गरेका छन् भने रित्तिँदै गएको गाउँलाई पुनः गुल्जार बनाएका छन्।

पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पढाइ सकेपछि लमजुङको खासुरका सत्यप्रसाद घलेले केही समय काठमाडौंमा काम गरे। काम गर्दागर्दै हङकङ पुगे। खासुरमा हुर्केका सत्यप्रसादको बसोबास अहिले हङकङमै छ।

एक्लो छोरा सत्यप्रसाद देश बाहिर गएपछि जन्मथलोमा पुर्खाले बनाएको घरमा बस्ने कोही भएनन्। घर थोत्रिदै गयो। भत्किने अवस्थामा पुगेको घरकोे मर्मतसम्भार गरेर यतै बस्ने गरी नेपाल आउन पनि सकेनन्।

अरू कसैलाई त्यतिकै बस भनेर घर जिम्मा लगाउन पनि सत्यप्रसादको मनले मानेन। परदेशमा बसेका उनी घर व्यवस्थापनको विषयमा दोधारमै थिए।

सत्यप्रसादको घरसँगै आँगन जोडिएको अर्को घरकी चन्द्रकुमारी घले पनि त्यस्तै समस्यामा थिइन्। दुई छोरामध्ये एक जना काठमाडौं र अर्को सदरमुकाम बेँशीशहरमा बस्न थाले। पुर्ख्यौली घरमा बस्ने छोरा(नाति नभएपछि चन्द्रकुमारीलाई पनि सकस भयो।

गाउँमा साथ दिने घरपरिवारका सदस्य कोही भएनन्। केही उपाय नभएपछि उनी बेँशीशहरमा रहेका जेठो छोरासँग बस्न थालिन्। उपयोग नभएर घर थोत्रिदै जाने देखेर १२ वर्ष पहिले चन्द्रकुमारीले आफै स्थानीय महिला समूहलार्ई घर निःशुल्क रुपमा प्रयोग गर्न दिने निर्णय लिइन्।

घरको स्याहार गर्ने जिम्मा लिने गाउँकै महिलाहरू थिए। उनीहरूले खाजाघरको लागि प्रयोग गर्न थाले। यसरी छाडेको घर व्यवस्थापनको जिम्मा लिनेहरू अधिकांश एकल महिला थिए। गाउँको बीचमा रहेको राम्रो घर सरसफाई नभएर झार उम्रने र भत्किने डरले संरक्षण र सदुपयोग गर्न महिला समूहलाई दिइएको थियो।

आमा चन्द्रकुमारीको योजनाअनुसार नै छोराहरूले पनि २०७२ सालको भूकम्पपछि घर मर्मत गरिदिए, आफ्नै खर्चमा। त्यसो गर्नुको पहिलो कारण घरको संरक्षण थियो। दोस्रो, गाउँमा घुम्न पुग्नेहरूले ‘यो घर कसको’ भनेर सोधपुछ गर्ने भएकाले भत्केको अवस्थामा नहोस् भन्ने चाहना थियो।

चन्द्रकुमारीले गाउँकै महिलाहरूलाई प्रयोग गर्न दिएर होमस्टे चलाउन थालेपछि सत्यप्रसादको परिवारको पनि मन फेरियो। अन्ततः उनले पनि आफ्नै खर्चमा घरको मर्मत गरेर होमस्टे सञ्चालनको योजनामा जुटेका महिलाहरूलाई निःशुल्क प्रयोग गर्न दिए। सत्यप्रसादको घर गाउँमा आएका पर्यटकका लागि बस्ने पाहुना घर भएको छ। गाउँको अर्को एक घर पनि महिला समूहलाई प्रयोग गर्न दिइएको छ।

प्रकृतिको वरदान जस्तो लाग्ने खासुरमा पहिलेजस्तो गाउँमै बस्ने मानिस कम हुँदै गएका छन्। अन्य पहाडी गाउँको जस्तै यहाँ मानिस पनि पढाई, रोजगारी, व्यापार र सुखको खोजीमा शहर पसेका छन। जिल्ला सदरमुकाम, क्षेत्रीय शहर हुँदै काठमाडौ छिरेकाहरू त्यतैबाट विदेश पुगे, आ(आफ्ना सपनाको खोजीमा।

पर्यटकको स्वागतका लागि तयारी अवस्थामा ।

स्वदेशका शहर पुगेकाहरू पनि फर्किएनन्। विदेशिएका खासुरेली बिस्तारै उतै ‘सेटल’ भए। युवाको अभावले गाउँमा शून्यता थपिँदै गयो। बाबुबाजेले दुःखले बनाएका घर मर्मतसम्भारको अभावमा थोत्रा हुँदै गए भने केही भत्किए पनि। स्थानीय बासिन्दाका अनुसार गाउँमा झण्डै १९ घर खाली भएका छन्।

गाउँको शून्यता देखेर बुढेसकालका आमाबुवाको सेवामा बसेकाहरूको मन खिन्न भयो। केही गरेर गाउँमा पहिलेको जस्तै गुरुङ संस्कृतिको बैभव, चालचलन अनि गाउँलेको भीडभाड फर्काउन सकिन्छ कि भनेर छलफल गरे। तर, सोचेजस्तो भएन, खासगरी गाउँ छाडेर शहर पसेकाहरू नै नफर्किए पछि।

अनि उनीहरूले नै अग्रसरता लिएर रित्ता घरलाई होमस्टेको रुपमा विकास गर्ने, आफ्नो संस्कृतिलाई जीवन्त राख्नेल र खासुरलाई पर्यटकीय गाउँ बनाउने स्थानीय बासिन्दासमक्ष प्रस्ताव गरे। त्यसको लागि पर्यटक भित्र्याउन र उनीहरूलाई खाने, बस्ने सुविधा सहितको होमस्टे र संस्कृति प्रदर्शन गर्न अनिवार्य थियो। यसको नेतृत्व गाउँकै रुपा घलेले गरिन्। रुपाले प्रगति नारी समाज गठन गरेर गाउँका अरु महिलालाई पनि समेटिन्।

ती दुई घरको निर्णयपछि गाउँमा घर खाली भएकाहरूले पर्यटक प्रवर्द्धनका लागि प्रयोग गर्न थालेका छन्। यसको नेतृत्व गाउँमै बसेर केही गर्ने सोच भएका एकल महिलाले लिएका छन्।

गाउँमै केही गर्न पाए हुन्थ्यो भन्ने सोच भएकाहरूले महिलाहरूको प्रस्तावलाई पृथ्वीमान घले लगायत गाउँका अगुवाहरूले समर्थन र सहयोगको वाचा गरे। गाउँमा रहेका शिक्षक, कर्मचारी र सदरमुकाममा रहेका व्यवसायीले पनि उनीहरूको अभियानलाई हौसला दिए। गाउँमा बस्न नपाए पनि घरको हेरचाह हुने र आएको वेला बस्न पनि मिल्ने भएपछि अन्य परिवारले पनि पनि होमस्टेका लागि घर दिन थालेका छन्।

महिलाहरूले होमस्टे सञ्चालन गर्ने योजना बनाएपछि थोत्रिएका घरको मर्मतसम्भार आफैले गरिदिए। गाउँमा बसेर पाहुनालाई खान(बस्नको व्यवस्था गर्न सक्ने थप १० घर परिवारले पनि प्रगति नारी समाज अन्तर्गत रहेर होमस्टे सञ्चालनको अभियानमा जोडिए। यससँगै थप १७ घर पनि बैकल्पिक होमस्टे सञ्चालनको अभियानमा जोडिएका छन। होमस्टेको आर्थिकदेखि पाहुनाको व्यवस्थापन लगायतका सबै काम भने प्रगति नारी समाजको अगुवाइमा हुन्छ।

एकल महिलाले स्थानीय गुरुङ संस्कृतिको संरक्षण गरिरहेका छन्। पर्यटन प्रवर्द्धन वापत आर्जन गरेको मुनाफा १६ जना महिलाले आपसमा विभाजन गर्ने गरेको स्थानीय रुपा घलेले बताइन्। होमस्टे मार्फत भएको आम्दानीको १५ प्रतिशत कमाई पर्यटक समितिमा राखेर पर्यटकीय पूर्वाधार निर्माण र मर्मत सम्भारमा लगाएका छन्।

त्यस्तै, होमस्टे मार्फत पर्यटन प्रवर्द्धन भइरहेका सिरुबारी, घलेगाउँ तथा मनाङ, मुस्ताङ र अन्य जिल्लाको अध्ययन भ्रमण गर्र्न खर्च गर्छन्। यो सामूहिक रुपमा काम गर्ने गुरुङ संस्कृतिको निरन्तरता पनि हो। प्रगति नारी समाजका गतिविधिले गाउँमा पर्यटनको विकास र आर्थिक उपार्जन गरेर गुरुङ संस्कृतिको विकास गरिरहेका छन।

६४ घरधुरी भएको खासुरमा अधिकांशले गाउँ छोडिसकेका छन्। उनीहरूका रित्ता घर मात्रै छन्। अन्य घरमा पनि बालबालिका र वृद्धवृद्धाको संख्या धेरै छ।

प्रगति नारी समाजले प्रयोगमा नआएका थप घरलाई पनि होम स्टेको रुपमा प्रयोग गरेर पर्यटन प्रवर्द्धन गर्ने योजना बनाएको छ। छन्। “गाउँका मान्छे घर छाडेर बाहिर जान थाले। पाहुना आउन सकेनन्। प्रचारप्रसार पनि भएन,” स्थानीय जनजागृति माध्यामिक विद्यालयका प्रधानाध्यापक नन्दबहादुर घले भन्छन्, “यहाँ बसिरहेका गाउँलेलाई बोलाई खानेपानी, शौचालय र पाहुना बस्ने व्यवस्था गरेर होमस्टे सञ्चालन गरेका हौ।”

अहिले प्रगति नारी समाजमा आवद्ध महिलाले तीन घरमा होमस्टे चलाएका छन्। थप १० घरमा होमस्टे सञ्चालनको लागि समन्वय गरेका छन्। होमस्टे सञ्चालनका लागि सरकारी मापदण्डअनुसार, थप १७ घरले अनुमति प्राप्त गर्दै छन्।

गाउँ आउने पाहुनाको व्यवस्थापनको जिम्मेवारी भने खासुर होमस्टे व्यवस्थापन समितिको हो। समितिले नै गाउँको होमस्टेमा पाहुना कहाँ बस्ने भनेर बाँड्ने काम गर्छ। प्रगति नारी समूहले चलाउने होमस्टे पनि त्यही समितिको सदस्य हो। यद्यपी कतिपय पाहुना सिधै नारी समूहले सञ्चालन गरेको होमस्टेमा आउने गर्छन्।

पछिल्लो समयमा नारी समूह होमस्टेको सचिवालय जस्तो हुन थालेको छ। जुन घरमा बसे पनि खाना र बसे वापतको रकम प्रगति नारी समूहमै बुझाइन्छ। आएका पाहुनाको स्वागत र बिदाई प्रगति नारी समूहले सञ्चालन गरेको खाजा घरबाटै हुन्छ। गाउँमा बाँकी रहेकाहरू त्यही चमेनागृहमा जम्मा भएर पर्यटन प्रवर्द्धन र गाउँको विकासबारे योजना बनाउँछन्।

परदेशिएकाहरू पनि घर पुगेको वेला त्यही आएर बस्छन्। “कुन घरमा को बसिरहेको छ भन्ने हामीलाई नै थाह हुन्छ। पहिलो प्राथामिकता हामीले होमस्टे सञ्चालन गरेका घरमा राख्ने हो,” प्रगति नारी समाजकी रुपा घले भन्छिन्, “यहाँ ठाउँ नभए गाउँका अन्य घरमा पाहुना राख्ने व्यवस्था गर्छौं।”

बसाईसराइले गाउँका बस्तीहरू बिस्तारै रित्तिदै गएपछि उनीहरूले होमस्टे सञ्चालन गरेर पर्यटक भित्र्याउँदै गुरुङ संस्कृतिलाई निरन्तरता दिइरहेका छन्। यसले लोप हुँदै गएको स्थानीय संस्कृति, रितीरिवाज र चाडपर्वको पुनर्जागरण गर्नुका साथै आर्थिक उपार्जन र खण्डहर बन्नै लागेको गाउँमा चहलपहल फर्काएको छ।

बेशींशहरबाट मस्याङ्दी नदी तरेर उकालो लागेपछि पुग्न सकिने खासुर गाउँसम्म बाटोभरि कलात्मक ढंगले ढुङ्गा बिछ्याइएको छ। गाउँमाथिको डाँडामा रहेको बस्तीसम्म बाटो पुर्‍याइएको छ।

खासुरमा ढुङ्गा माटोले बनेका स(साना घर छन्। एक घरबाट अर्को घर पुग्ने बाटोमा पनि ढुङ्गा नै बिछ्याइएको छ। वरिपरि जंगलले घेरेको गाउँका अधिकांश परम्परागत घरका छाना ढुङ्गाले छाएका छन्। गुरुङ संस्कृति बचाएर गाउँलाई सफा र चिटिक्क पारिएको छ।

सुविधाको हिसाबले सबै घरमा खानेपानी पुगेको छ। घमाइलो खासुरबाट लमजुङ हिमाल लगायतका हिमश्रृङ्खला आँगनबाटै देख्न सकिन्छ। मौसम खुलेको वेला आँखा नअघाउन्जेल हिमालको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।

गाउँमा रहेका सबै पर्यटन प्रवर्द्धनका लागि चाहिने भौतिक पूर्वाधार बनाउने अभियानमा लागेका छन्। यसका लागि उनीहरूले प्रदेश र स्थानीय सरकारसँग भौतिक संरचनाको विकास, तालिम र प्रचारप्रसारका लागि आग्रह गरेका थिए। गण्डकी प्रदेश सरकारले १० लाख, बेशीशहर नगरपालिकाले पाँच लाख र वडा कार्यालयले बाटो सुधारको लागि दुई लाख बजेट बिनियोजन गरेको थियो।

सबैको सहयोगले लमजुङ सदरमुकाम बेंशीशहर पूर्वको सानो डाँडामा रहेको सुन्दर गाउँ खासुरमा पर्यटक पुग्न थालेका छन्। कुनै वेला रित्तिदै गएको गाउँमा थोरै भए पनि आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ।

चिटिक्क पारिएका परम्परागत गुरुङ गाउँले जो कोही आगन्तुकलाई मोहित पार्छ। “पाहुना आइरहेका छन। यही बस्ने भन्दा पनि बेँशीशहरबाट घुम्न र खाना आउने अनि फर्कने धेरै छन,” रुपाले भनिन्, “हामी अब अरू खाली घरमा पनि होमस्टे चलाउने विचारमा छौ।” हिमालबखरबाट ।