‘सचेत नागरिक बन्न हिंसा गर्न र सहन छोड्नुपर्छ’

सन्दर्भ : लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

‘घरबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ यो सरकारले तय गरेको नारा हो । यो नारा पढ्दै गर्दा खोज पत्रकारिता केन्द्रमा प्रकाशित कठारको एउटा वस्तीः हिंसा, शोषण र चेतनाहिनताको प्रतीक भन्ने शिर्षिकमा प्रकाशित स्टोरीको याद आयो । प्रतिमा सिलवालले लेखिएको उक्त स्टोरी बडो भावकु थियो । स्टोरी भित्र विभिन्न पात्रहरु थिए । जहाँ रक्सीले माट्एिका एक श्रीमानले आफ्नो यौन भोक मेटाउन नपाएपछि श्रीमतिको मलद्वार र योनीमा हात र काठ हालेर क्षत–विक्षत बनाइदिए । उक्त महिलाको उपचार गर्दा गर्दै मृत्यू भएको थियो ।

त्यो स्टोरी भित्र एक जनप्रतिनिधि पनि पात्र थिईन् । गत ३० वैशाखमा भएको स्थानीय निर्वाचनबाट वडा सदस्यमा निर्वाचित सदस्य जो ६ जेठमा निकालिएको विजय जुलूसमा अघिअघि हिंडेकी ग्यायन्ती पासवान अबिरले राताम्य अनुहार र मालाले भरिएको घाँटी लिएर घर पुगिन्। घरभित्र पस्न नपाउँदै उनलाई उनको श्रीमान राम गोसाईंले बेहोसै हुने गरी कुटे। कुटाइको कारण थियो– केटा मान्छेहरूको हुलमा सँगसँगै लहर मिलाएर हिंडेको। चुनाव प्रचारका बेला अरूको मोटरसाइकलमा किन बसेकीे, जुलूसमा अरू लोग्ने मान्छेसँग आँखा लगाइस् भन्दै पिटेको कथा थियो । यी कथा थिए चितवनका यस्तै कथा हरेक जिल्ला गाउँ र शहरभित्र पनि लुकेर बसेका छन् ।

अस्ती भरखरै धनगढीको एक क्याफेमा चिया खाना बसे । चिया गफ गर्दै गर्दा महिला हिंसाको सवालमा निकै बेरसम्म गफगाफ भयो । त्यहि क्रममा एक जना दिदीले निकै मार्मिक कथा सुनाउनु भयो । हाम्रो देशमा न्याय दिन बसेकाहरु त आफै हिंसामा छन् भने हिंसा प्रभावितलाई के सल्लाह दिन सक्छन् ? । पात्र उ र म होईन, हामी सबै कहिँ न कहिँ कुनै न कुनै हिसाबले हिंसाबाट गुज्रिरहेका छौं ।

उनले भनिन् ‘महिलालाई राजनीतिमा आउँन निकै गाह्रो छ । श्रीमान लगायत घरका अन्य सदस्यहरुले महिलालाई राजनीतिमा आउँदा सायदै कमैले सहयोग गर्छन् होला । अधिकांशको परिवारबाट विभिन्ने खाले बाँधा र अड्चन हुन्छ नै ।’ उनी कञ्चनपुरको एक महिला जनप्रतिनिधिको कहानी सुनाईन् । जो जनप्रतिनिधि महिला आफू दिनभरि अन्याय हिंसा सहन नसकि पालिका धाउनेहरुलाई सहजीकरण गर्छिन्, घर पुगेर आफै रक्ताम्य हुने गरि कुटाई खान्छिन् ।

उनी दिनभरी जनताको सेवामा खटिएकी हुन्छिन्, कहिले विवाद मिलाउन, कहिले मिटिंग गोष्ठीमा त कहिले आफ्नै मतदाताहरुलाई न्यायकोलागि सहजीकरणमा । तर जब राती हुन्छ अनि शुरु हुन्छ उनको अर्को कथा । मानौं उनी जनताले चुनिएका जनप्रतिनिधि नै होईनन् । उनको श्रीमान रक्सीको लटमा श्रीमतिलाई कुटिरन्छ । बाहिर कार्यक्रममा गएपछि अरुसंग सुतेहोलीस् भन्दै यौलांग वरिपरि चुरोटको डाम्छ । तर अँह, उनी बोल्दैनन् । चुपचाप सहेर बस्छिन् । जनप्रतिनिधि बनेदेखि उनको हरेक दिन यसरी नै वितिरहेको छ ।

चुनाव प्रचार प्रसारको बेला उनको श्रीमानले श्रीमतिलाई जिताउन निकै सहयोग पनि गरेको हो । उनी टिकेट लिनेबेला आफ्नो श्रीमानसंग सहयोग गरेपछि मात्रै चुनावमा उठ्ने प्रतिबद्धता समेत गरेकी थिईन् । तर अहिले आएर उनको श्रीमानले पुरुषै पुरुषको बिच बसेर मस्किदै घर आउँछन् भन्दै कुट्छ ।

अर्को दिदीको कहानीपनि उस्तै छ । उनी आफूलाई महिला अधिकारकर्मी भनेर चिनाउँछिन् । गाउँ घरमा महिलाहरु माथि हिंसा, अन्याय दुख पीडा परेको बेला सबै भन्दा अगाडी उनी नै उभिन्छन् । अन्यायमा परेकालाई न्याय दिलाउन उनी दिनभरी खट्छिन् । प्रहरी प्रसाशन र न्यायलयको ढोका धकधकाउन पछि हट्दैनन् तर साँझ घर पर्केपछि श्रीमानको कुटाई र गाली बेजती सहन बाध्य हुन्छिन् । जिल्ला बाहिर कार्यक्रममा जानु पर्यो भने राति भिडियो कल गरेर रुममा को संग बसेको छु सबै देखाउनु पर्छ उनलाई ।

हाम्रा पालिकाहरुमा न्यायक समितिको संयोजक नै उपा प्रमुख वा उपाध्यक्ष हुन्छन् । २०७४ को निर्वाचनमा अधिकांश पालिकामा संयोजक महिला नै थिए । ती महिलाहरुको आफ्नै अनुभूति छ । घरमा हिंसा भोग्दै गर्दा उसले कार्यालयमा हिंसा प्रभावितलाई कसरी सम्बोधन गरेको थियो होला । अरुको न्यायकोलागि वकालत गर्दा गर्दै आफै भिक्टिम बनेर अदालत धाउनु परेका जनप्रतिनिधिहरुपनि हाम्रै वरिपरि छन् ।

अहिले पनि कैलालीका एक पूर्व जनप्रतिधिको श्रीमान श्रीमति विच विवाद पश्चात सम्बन्ध विच्छेदको लागि अदालतमा तारेख छ । कैलालीकै अर्का महिला जनप्रतिनिधिको श्रीमानको कुटाईले हात भाँचिएर पलास्टर गर्नुपरेको थियो । पुरान जनप्रतिधिहरुले भोग्दै आएका हिंसाका घटनाहरु बाहिर आएनन् । उनीहरु चाहे कार्यालय भित्रको हिंसा होस् या, घरभिको । सबै पीडा पचाएर जनताको नजरमा सुखी र खुशी देखिए । उनीहरुको मनभित्रको घाउ आलो नै रह्यो ।

जिल्ला प्रहरी कार्यालय कैलाली तथ्यांक हेर्ने हो भने २०७८/०७९ मा ४७० वटा घरेलु हिंसाको मुद्धा दर्ता भएको थियो भने २०७९÷०८० मा ११२ वटा दर्ता भएका छन् । यी त एक उदाहरण मात्रै हुन् । हाम्रो समाजमा जनप्रतिनिधि, शिक्षिक, डाक्टर लगतयको घरमा कुनै न कुनै किसिमको हिंसा भईरहेको हुन्छ तर ती सबै घटना बाहिर आउँदैनन् । एकदमै असहय भएपछि मात्रै न्यायको खोजीमा घटना बाहिर आउने गरेको अधिकारकर्मीहरु बताउँछन् ।

कानूनले हिंसा गर्ने र सहने दुबै अपराध रहेको बताउँछ । अब हामी कोहीपनि कसैलाई हिंसा नगरौं र आजैदेखि हिंसा सहन छोडौं । जुनदिनदेखि हामी हिंसा गर्न र सहन छोड्छौं, त्यहि दिनदेखि बल्ल सचेत नागरिकको पहिचान दिन्छौं । त्यसैले आउँ हातेमालो गरौं र मौनता तोडौं । तपाई हामी सबै सचेत नागरिक बनौं ।