जनयुद्धको रापमा हुर्किएकी इन्दु नागरिक उन्मुक्तिबाट समानुपातिक उम्मेदवार

युद्धका कुरा नगर्नु हाम्रो लागि सजिलो थियो । त्यसैले हामीले के के भोग्यौ, त्यो बारे हामी चर्चा गर्दैनथ्यौ । यद्यपी जुनजुन बेला युद्धको जिकिर भयो, हाम्रा आँखाहरु नरसाएको कहिल्यै थिएन ।

माओवादी जनयुद्धको राप र तापका बेला हुर्किएकी मैले सपना देख्ने बेला डर मात्रै देखेँ । मेरो सपनाको यात्रामा यो डर, माओवादीमा बाबाको संलग्नताले निम्त्याएको राज्य पक्षको ज्यादती, थारु भएकाले भोगेको भाषाको अपमान, एक्ली आमाले मेरा लागि गरेका दुखका असंख्य कथाहरु सँगसँगै आउँछन् । यी कुराहरु बिना मेरो सपना एक्लो उभिनै सक्दैन ।

हाम्रो घर प्रत्येक दिन र रात सेना र पुलिसहरुले घेरिन थालेको थियो । अनि मात्रै हजुरबुवा, हजुरआमा र आमालाई थाहा भयो, बाबा माओवादी भइसक्नुभएको रहेछ । बाबा भूमिगत भएपछि सरकारी बन्दुकधारीहरुको गाली, धम्की, कुटाइ सबै प्रकारको यातना घरका अन्य सदस्यहरुले भोग्नपथ्र्यो । उनीहरु आउँथे बन्दुक र आक्रोशले सुसज्जित भएर अनि सबैलाई घरभित्र थुनेर बमले उडाइदिन्छौ भन्थे ।

बाबाको अनुपस्थितिमा हलो जोतेर हाम्रो पालनपोषण गर्ने हजुरबुवालाई उनीहरुले गिरफ्तार गरे । हिरासतमा निर्मम यातना दिएका कारण हजुरबुवाको मृत्यु भयो । काका पनि घर बस्न सक्ने अनुकुलता थिएन । प्रहरीबाट जोगिन बाध्य भएर काका पनि भूमिगत हुनुप¥यो । हजुरबुवाको देहान्त भएको दुई वर्ष पछि मेरो बाबाको शहादत भयो । अनि दुई वर्ष नपुग्दै काकाले शहादत प्राप्त गर्नुभयो । तेह्र बर्ष पुग्दा मैले सपना होइन, तीन प्रिय मान्छेहरुको मृत्यू देखेँ ।

म जन्मेको गाउँ ‘रानामुरा’ शुद्ध थारु गाउँ हो भन्दा फरक पर्दैन । हाम्रो गाउँ सानो थियो, स साना घरले भरिएका । सबै घर माटो र काठले बनेका । गाउँको बिचमा एकमात्र ठूलो इट्टा र सिमेन्टले बनेको घर थियो । त्यो घरलाई सबैले ‘जिम्डरवक घर’ भन्थे । अर्थात त्यो घर थियो ‘मल्ल’ जमिन्दारको । गाउँका अधिकांश मानिसहरु खान लाउन राम्रै पुग्ने किसान थिए । केही असाध्यै न्यून आर्थिक स्थिती भएका परिवार भने जमिन्दारकोमा कमैया कम्लहरी बस्थे ।

हाम्रो घर नजिकै जमिन्दारको अन्यन्तै ठूला खेतका प्लट थिए । त्यो खेतमा काम गर्ने जति सबै कमैया कम्लहरी हुन्थे । आफ्नो खेतमा धान रोप्न जाँदा मलाई जुकाको असाध्यै डर लाग्थ्यो । अनि म सोच्थे जमिन्दारलाई क्या मजा, जुकाको सामना गर्न पर्दैन उसले ।

हजुरबुवाको पालामा झुपडी स्कूल थिए । मेरो हजुरबुवाले ५ सम्म पढ्नुभएको थियो । पढाइको महत्व थाहा भएको छोरी नभएका मेरो हजुरबुवा–आमाले आफ्ना तीन छोराहरुलाई क्याम्पससम्म पढाउनुभयो । छोरीमान्छेलाई पढाउन पर्छ भन्ने चेतनाको अभावका कारण मेरी आमाले भने पढ्न पाउनु भएन ।

माओवादी द्वन्द्ध सुरु हुनु पहिले हाम्रो परिवार लोभलाग्दो थियो । धनगढीमा बाबाको मेडिकल व्यवसाय, गाउँ हसुलियामा खेतीपाती । मेरो दुई भाइ र मलाई धनगढीको राम्रो स्कूल । बिदा र चाडपर्वमा हामी गाउँ जान्थ्यौ, हजुरबुवा हजुरआमालाई भेट्न अनि खेती सम्हाल्न ।

भविष्यमा ‘के बन्ने ?’ बारे निबन्ध नै सपना सोच्ने पहिलो खुड्किलो थियो । मलाई सम्झना भएसम्म दुईमा पढ्नेबेला हो, पहिलोपटक मैले ‘म टिचर हुन चाहन्छु’ लेखेँ । मेरो शिक्षक जो मेरो बाबाको साथी पनि हुनुहुन्थ्यो, उहाँले हकार्नुभयो, ‘डाक्टरको छोरी टिचर हुन्छु भन्छे’ ।
बाबाको मेडिकल क्लिनिक भएकोले धेरैले उहाँलाई डाक्टर नै भन्थे । त्यो बेला मेडिकल हुनेलाई डाक्टर भन्ने चलन थियो । त्यसपछि ‘मैले डाक्टर हुन्छु’ भनेर निबन्ध लेख्न थाले ।

स्कूलमा प्राथमिक तहमै भएका बेला बाबा गाउँ जाँदा आफूसंगै मलाई पनि लानुहुन्थ्यो । हाम्रो गाउँ धनगढीबाट ३० किमि दुरीमा रहेको छ । वर्षायाम बाहेक अरुबेला बस चलेपनि हामी प्राय साइकलमा जान्थ्यौं । गाउँ जाने बाटोमा बाबा आफ्ना साथीहरुलाई भेट्नु हुन्थ्यो । म उहाँहरुको गफ ध्यान दिएर सुन्थँे । उहाँको गफ जमिन्दारले कमैया कम्लहरी र किसानहरुमाथि गर्ने अत्याचारमा केन्द्रित रहन्थ्यो । सुन्दा मलाई जमिन्दारप्रति साह्रै रिस उठ्थ्यो । अनि मलाई चेत भयो जमिन्दार त जुका भन्दा खतरनाक हुने रहेछ । उसले श्रमिकहरुको रगत र पसिना जुकाले भन्दा धेरै चुसिरहेको हुन्छ ।

यस्तो चेत आउनुमा मेरो बाबाले प्रकाशन गर्ने वार्षिक पत्रिका ‘मुक्तिक डगर’ले ठूलो सहयोग पु¥यायो । दश, एघार बर्षकै उमेरमा मैले उक्त पत्रिका सबै पढेर भ्याइसकेकी थिएँ । जमिन्दारहरुले र राज्यले गर्ने अन्याय विरुद्धको एक बुलन्द आवाज थियो, मुक्तिक डगर । त्यहाँ लेखिएका कविता, गीत, लेखहरुले मेरो बालमस्तिष्कमा शोषक, सामन्त र जमिन्दारप्रति तिव्र घृणा पैदा गरेको थियो भने निम्नवर्गिय, श्रमिक, कमैया–कम्लहरीहरुको अधिकारप्रतिको चेतना जगाएको थियो ।

यो बेलासम्म स्कूलको निबन्धमा ‘डाक्टर हुन्छु’ भनेर म केवल लेख्नका लागि मात्र लेख्नेगर्थेँ । तर खासमा म अर्कै सपना देख्न थालिसकेकी थिएँ । सपनाको निर्माण र विघटन आफूले पाएको वातावरणले गर्दो रहेछ । कहिले व्यक्तिगत आवश्यकता त कहिले सामुहिक मुक्तिको बोधले गर्दो रहेछ । मेरो सवालमा पनि त्यस्तै भयो । आफ्नो वरिपरि व्याप्त अन्याय, अत्याचार अनि विभेदलाई अन्त्य गर्नपर्छ भन्ने अठोटले मभित्र जन्म लिइसकेको थियो । यद्यपी अन्त्य कसरी गर्ने ? मलाई थाहा थिएन ।

द्वन्द्धकालमा हाम्रो जीवन भयावह बनेको थियो । बाँच्ने र मर्ने कुराको ठेगान थिएन । आमालाई हामी जिउँदै रहौला भन्ने विश्वास नै नभएको अहिले पनि सुनाउनु हुन्छ । मर्नेबाँच्ने ठेगान नभएको परिश्थितिमा पनि आमाले हामीलाई पढाउन भने छोड्नुभएन । मेरी आमालाई कखरा पनि आउँदैन । उहाँले कहिल्यै स्कूल जान पाउनुभएन ।

डर र चिन्ताले हाडछाला मात्र बाँकी रहेकी मेरी आमाले हामीलाई पढाउने कुरामा भने खुट्टा कमाउनु भएन । हाम्रो पढाइ खर्च जुटाउन आमाले बर्षामा धान रोप्ने र अरुबेला अर्काको घरको काम गर्नुहुन्थ्यो । एक आम अनपढ थारु महिलाका लागि त्यो अकल्पनिय कुरा थियो । मलाई अझै पनि अचम्म लाग्छ – तर पनि हामीलाई पढाउनपर्छ भन्ने चेत उहाँमा यति बलियो गरि कहाँबाट आयो ? यसको चित्त बुझ्दो जवाफ आमाले कहिल्यै दिनुभएन । आमाले भन्ने यत्ति हो ‘हम्रे टे लाटागोंगा बटि, लरका टे ना रहिट ।’ (म त लाटो छु केही नजान्ने, बच्चाहरु यस्तो नहोउन् । )

पढाइ खर्च जुटाउन समस्या भइरहेका बेला गाउँको एउटा स्कूलले मेरो भर्ना लिएन । भाइहरु गाउँकै सानो स्कूलमा भर्ना भए । म माथिल्लो कक्षामा पढ्ने भएकोले अर्को स्कूलमा जानुपर्ने भयो । तर मलाई त्यो स्कूलले लिनै मानेन । नजिकैको प्रहरी चौकीबाट माओवादीको छोरीलाई स्कूल भर्ना नलिनु भन्ने थ्रेट आएको छ भनेर स्कूल पन्छियो ।

पढ्नका लागि म फेरि धनगढी आएँ । मेरो बाबाको चिनजानको एक व्यक्तिले मलाई आफ्नो घरमा बस्न दिने भए । स्कूल समय बाहेकको अरु सबै समय साँझ र बिहान मैले उनको घरको काम गर्नपथ्र्यो । उनको घरको सबैको लुगा धुनु, भाडाँ माझ्नु, घर लिपपोत गर्नु लगायतका धेरै काम गर्नुपथ्र्यो । होमवर्क गर्न पनि मैले समय पाउँदिन थिएँ । स्कूल सधैं ढिलो पुग्थेँ । मलाई त्यहाँ बस्न कत्ति पनि मन थिएन । त्यसैबेला अचानक उनले मेरो आमालाई बोलाएर मलाई ‘लैजान’ भने । उनका अनुसार राती प्रहरी आएका थिए । मलाई उनको घरमा राखे उनलाई माओवादीको आरोप लाग्न सक्थ्यो अनि उनलाई खतरा हुन सक्थ्यो । यो म कक्षा चारमा पढ्ने बेलाको कुरा हो ।

अनि म स्कूलहरु फेर्दै, बास फेर्दै पढाइलाई निरन्तरता दिन थालेँ । गन्न थाले भने कालिका, एरिष्टो, कैलाली विद्या निकेतन, स्टेपिंगस्टोन, दिपेन्द्र मावि, मोडर्न एरा, धनगढी मावि कक्षा दश सम्मको पढाइ पूरा गर्न मैले ७ वटा विद्यालयहरु फेरेछु । सपना देख्ने मेरो उमेर थरिथरिका विद्यालय फेर्दैमा बित्यो ।

मेरो प्राथमिक र माध्यमिक विद्यालय वर्षको दौरानमा, गाउँ र शहर अनि सरकारी र निजी विद्यालयको बिच स्पष्ट असमानताहरु थिए । सरकारी विद्यालय जान मलाई सहज लाग्थ्यो । कारण थियो, त्यहाँ सामान्य चप्पल वा जुत्ता भए हुन्थ्यो, झोला नभए हातमा किताब बोक्न सकिन्थ्यो । महत्वपूर्ण कुरा, बहुसंख्यक विद्यार्थी थारु हुन्थे ।

निजी विद्यालयमा मैले नकारात्मक जातीय धारणाहरु सामना गर्नप¥यो । त्यहाँ म बेग्लै ग्रहबाट आएकी जस्तो ठानिन्थेँ । मेरो बोली, लवज, अनुहार उनीहरुको जस्तो थिएन । उनीहरुका भाषामा ‘थारु’को जस्तो थियो । थारु भनेको उनीहरुभन्दा फरक, कमजोर सामाजिक, आर्थिक, राजनीतिक हैसियतको ! अर्थात थारु भनेको उनीहरुका लागि कमैया कम्लहरी बस्ने या त उनीहरुका बटैया गर्ने हैसियतको । त्यहाँ पढ्नेहरु सम्पन्न परिवारका थिए । उनीहरुको स्कूल युनिफर्म चिटिक्कको हुन्थ्यो, आइरन गरिएको । केहीले बुट लगाउँथे । त्यस पहिले मैले त्यस्तो बुट जुत्ता सिनेमामा मात्र देखेकी थिएँ । मेरो स्थिति उनीहरुको भन्दा निकै फरक थियो । न खाजा हुन्थ्यो, न खाजा खाने पैसा । भोकै बस्नपथ्र्यो । अरुसँग मागेको पुरानो किताब पढ्नपथ्र्यो । जति माथिल्लो कक्षामा गयो, उतिनै आवश्यकता बढ्दै जान्थ्यो ।

हो म सानै थिए, मृत्यु के हो र यसले कति गहिरो प्रभाव मान्छेमा पार्न सक्छ बुझ्न सक्दैन थिए । तर समय जति जति बित्दै गयो, पितृसत्तात्मक समाजमा सबै पुरुष अभिभावक गुमाउनुको अर्थ बुझ्दै गएँ । हाम्रो समाजमा पुरुषलाई , घरको सबैभन्दा बलियो खम्बा मानिन्छ । तीन जना अभिभावक गुमाएपछि हामी अभावै अभावबाट गुज्रिरहेका थियौ । आमा र हजुरआमालाई बेसाहरा र कमजोर महिलाको व्यवहार गरिन्थ्यो ।। मलाई बहुत नमज्जा लाग्थ्यो । उनीहरुलाई के थाहा मेरी आमा र हजुरआमा आफ्ना लोग्ने र छोरा गुमाउँदा पनि परिवारको दायित्व निर्वाह गर्दै भोलिका लागि कति आशावादी थिए ! आइपरेको परिश्थितिमा आफूलाई ढाले र सन्ततीका लागि दिनरात लागिपरे । त्यस्ता महिलालाई मेरो समाज भने कमजोर ठान्थ्यो । हेप्थ्यो । अझै पनि लोग्ने, बुबा, छोरा, दाइभाइ गुमाएका महिलालाई कमजोर ठान्ने समाजको नजरमा खासै परिवर्तन भएको छैन ।

दिनप्रतिदिन प्रकटहुने प्रत्येक प्रतिकुल परिस्थितीले भविष्यका लागि सपना देख्ने अनुमति दिदैनथ्यो । बाल्यकालमा बाँच्नु नै मेरा लागि सपना भैदियो । अलिपछि अलि सन्तोकले पढ्न पाउनु पनि सपना नै भयो । माध्यमिक तह पार गरेपछि मलाई यो पनि बोध भयो, पढेर डाक्टर, इन्जिनियर, नर्स बन्ने सपनाको फ्रेमभित्र हामी पर्दैनौ । मलाई थाहा भइसकेको थियो, त्यसका लागि धेरै पैसा चाहिन्छ । त्यो हामीसंग थिएन ।

आमा र हजुरआमाले मलाई ‘अर्काको घर जाने जात’ को रुपमा कहिल्यै व्यवहार गर्नुभएन । ‘छोरीले घरको काम सिक्नुपर्छ, नभए भोली अर्काको घरमा दुख पाइन्छ’ कहिल्यै भन्नुभएन । सबै काम आफैंले भ्याएर आमाले मलाई पढ्न मात्रै भन्नुहुन्थ्यो । पढेर के गर्ने वा के बन्ने बारे आमाले कहिल्यै भन्नुभएन । आमालाई थाहा पनि नहुदो हो । आमाले पढ्न, पढ्न अनि धेरै पढ्न मात्र भन्नुहुन्थ्यो ।

थारुको बच्चालाई भनेजस्तो सजिलो कहाँ हुन्छ र पढ्नलाई ! आमाले नेपाली बोल्न जान्नुहुन्न, त्यसैले मैले घरमा थारु मात्र सिकँे । नेपाली बोल्न नजानेर क्लासमा सबैभन्दा पछाडी बस्ने गरेको मलाई याद आउँछ । नेपाली बोल्न सिकिसकेपछि पनि बोल्दा आउने मेरो थारु उच्चारणका कारण कैयौं पटक म मजाक बनेको छु । सुंगुर खाने, घोंघी खाने, मुसा खाने भनि गरेको अपमानले मलाई सधै बिझाइराख्छ । कुनैबेला लाग्थ्यो, के मेरा सपनाहरु पनि मैले मेरो भाषामा देख्ता यसरी नै बहिष्करणमा त पर्दैनन् ?

एसएलसी सकेको भोलीपल्टै जनआन्दोलन २ सुरु भयो । सामाजिक राजनीतिक परिवर्तनको लडाईमा खुलेर लागेको त्यो मेरो पहिलो पाइला थियो । आन्दोलनमा सहभागी हुन हौस्याउने ठोस कारणको जवाफ मसंग छैन । तर आन्दोलनको मागहरु जस्तै गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व, महिला अधिकारका कुराले मलाई आकर्षित गरेका थिए ।

जनआन्दोलनबाट प्राप्त नयाँ राजनीतिक संरचनाले थारुहरुलाई वेवास्ता गरेको थियो । थारुहरुको पहिचान नै स्वीकारेको थिएन । सरकारको त्यो निर्णय विरुद्धको आन्दोलनमा म सक्रियतापूर्वक सहभागी भएँ । सामाजिक, सास्कृतिक, राजनीतिक विभेद विरुद्धको विभिन्न अभियानहरुमा म जोडिएँ । त्यसले मलाई हाम्रो समाज र राज्यको चरित्र बुझ्नमा निकै सहयोग पु¥यायो ।

वि.स. २०७२ को टीकापुर घटनापश्चात थरुहट थारुवान आन्दोलन सुस्त भएको थियो । राज्य सहित संचार प्रसारका सबै माध्यमहरुले थारुहरुलाई अपराधी करार गरेका थिए । उक्त घटनापश्चात सर्वसाधारण थारुहरुले भोग्न परेको राज्यको ज्यादती बारे कसैले बोलिरहेको थिएन न कसैले लेखिरहेको थियो । बाध्य भएर मैले नै लेख्न सुरुवात गरे । मलाई लाग्छ, मेरो समुदायको कथा मैले लेख्नु नै अब मेरो सपना हो ।

लेखन मेरो सचेत छनौट थिएन । परिस्थितीले मलाई लेख्न लगायो । छापा र अनलाइन मिडियामा प्रकाशित मेरा लेखहरु संकलन गर्दा किताबकै रुप लिने भयो । अनि प्रकाशित भयो मेरो लेखहरुको संगालो ‘निलम्बित निबन्ध’ । त्यसैगरि थारु र जनयुद्धको विषयलाई केन्द्रमा राखेर मैले प्रकाशन गरे ‘मुक्तिक डगर’ जुन पहिला मेरो बाबाले निकाल्नुहुन्थ्यो । यसरी बाबाको सम्झनामा उहाँको अभियानलाई पनि मैले मेरो सपना बनाएँ ।

लेख्दा धेरैको वाहवाही पाइयो । धेरैको गाली खाइयो । आफ्नो समुदायको बारेमा लेख्ने भएकोले धेरैले जातीवादी भने । थारुभन्दा माथि उठ्न नसकेको भने । वाहवाही र गाली दुवैले मलाई लेख्न प्रेरणा दिइरहे ।

म के हुने वा के बन्ने भन्ने कुरामा मसँग ठोस कुरा कहिल्यै भएन । डर, अभाव, अपमानमा बितेको मेरो बाल्यकालले सपना देख्न हौसाएन । परिस्थितिले मलाई जता पुगायो म उतै पुगेँ । मेरा सपनाहरु कहिल्यै निर्धारित थिएनन्÷छैनन् । यद्यपी विभेदका विरुद्ध लड्न म सधै दृढ छु । यही दृढता नै मेरो सपना हो । किनकी बाल्यकालमा सपना नदेख्ने म एक्ली थिइनँ । मेरो समुदायका, म झैं अभावमा हुर्किएका, म झैं अभिभावक गुमाएका थुप्रै छोरीहरु त्यो समयमा सपना नदेखी हुर्किए । म आफ्नो बितेर गएको समय फर्काउन सक्दिन तर अब आउने दिनमा विभेदको कुचक्रमा परेर कुनै छोरीले सपना देख्न नै नपाउने स्थिति नहोस् भन्न म विभेद विरुद्ध लड्न त सक्छु । मेरो लडाइँले ती तमाम छोरीहरुलाई सपना देख्ने बाटो बनाइदेओस्, बस् म यति चाहन्छु ।