हजारौं किलोमिटर उडान भरेर कर्याङकुरुङ चरा कैलालीमा

कैलाली । महिना दिनसम्म उडान भरेर बसाइँ सर्ने कर्याङकुरुङ सारस कैलालीमा पुगेका छन् । हजारौं किलोमिटर उडान भरेर ती चरा कैलाली आएका हुन ।

जाडो छल्नका लागि कर्याङकुरुङ चराहरु नेपाली रुट हुँदै भारततर्फ जाने गर्दछन् । पछिल्लो केही दिनदेखि भारततिर गइरहेका कर्याङकुरुङ कैलालीको विभिन्न स्थानमा आराम गरिरहेका छन् । कर्याङकुरुङको झुन्ड कैलारी गाउँपालिका–९ सामरचौरा, वडा नम्बर ३ को निमुवाबोझीस्थित मोहना नदी किनार, भजनी नगरपालिकाको डल्फिन क्षेत्रमा बसेर आराम गरेका छन् । कैलालीको विभिन्न स्थानमा कर्याङकुरुङ आएपछि स्थानीय संरक्षणकर्मी हर्षित भएका छन् ।

मङ्गोलिया, रसिया र उत्तरी चीनमा प्रजनन् गर्ने यी चरा बच्चा उड्न सक्ने भएपछि अगस्तबाट भारतको लागि उडान भर्ने गरेका छन् । त्यस क्रममा नेपालको दुई वटा रुट भएर भारततर्फ जाने गरेका चराविद हिरुलाल डङ्गौरा बताउँछन् । कर्याङकुरुङले जाडो याम पुरै भारतमा बिताउने गर्दछन् ।

डङ्गौराका अनुसार तिब्बत हुँदै माथिल्लो मुस्ताङको समर–धौलागिरी हिमालको पश्चिम रुट भएर आउने कर्याङकुरुङ भेरी नदी कोरीडोर भएर भारततर्फ जान्छन् । यो रुट भएर भारत झर्ने कर्याङकुरुङ तराईमा दाङ र बाँकेको केही क्षेत्र भएर तल जाने गर्दछन् ।

कर्याङकुरुङको दोस्रो रुट भने डोल्पा–कैलाली हो । डोल्पा हुँदै आएका कर्याङकुरुङ सारस कैलालीको हसुलियादेखि पूर्वतिर कर्णाली कोरीडोर भएर भारततर्फ झर्ने गर्दछन् ।

सात समुद्र पार गरेर जाडो छल्नका लागि भारतसम्म पुग्ने यी चरा जाने बेलामा चार हजार ८९६ किलोमिटर उडान भर्ने गरेको अध्ययनले देखाएको डङ्गौरा बताउँछन् । ‘यिनीहरुको जाने बेलाको यात्रा १३ देखि ४० दिनसम्मको हुने गर्दछ’, उनले भने ।

एउटा झुन्डमा एक हजार पाँच सयदेखि साढे दुई हजारसम्म कर्याङकुरुङ हुने गर्दछन् । आकाशमा ती चराहरु ‘भी’ आकारमा रातदिन उड्ने गर्दछन् । एक टिम लिडर थाकेमा अर्कोले टिमको अगुवाइ गर्ने गरेको बताइएको छ ।

नेपाली आकाश हुँदै भारत जाने क्रममा माथिल्लो मुस्ताङ रुट भएर आउने कर्याङकुरुङ कागबेनीमा बसेको अभिलेख छ । मुस्ताङको टुकुचो क्षेत्रस्थित आहाराका लागि फापर खेतीमा कर्याङकुरुङ बस्ने गरेको चराविद डङ्गौराको भनाइ छ । यसैगरी, सन २००६ मा कैलालीको भजनी नगरपालिकास्थित मन्त्रीफाँटामा बसेका थिए । यो वर्ष, कैलालीसहित बर्दियाको खातामा पनि कर्याङकुरुङको झुण्ड बसेको पाइएको छ ।

गतवर्ष कञ्चनपुरको तारापुर क्षेत्रमा दुई वटा क¥याकुरुङ देखिएका थिए । लामो उडान भर्दा उड्न नसकेर झुन्डबाट छुटेका ती दुई क¥याकुरुङ कञ्चनपुरमा बसेको डङ्गौराले बताए । यो वर्ष पनि कञ्चनपुरमा देखिएका छन् ।

भारतको राजस्थान र गुजरातमा यो चराले झन्डै छ महिना बिताउने गरेका छन् । ‘मार्चको अन्तिमतिरबाट ती चराहरु पुनः मङ्गोलिया, रसिया, चीनका लागि फर्कने गर्दछन्’, उनले भने ।

भारतको राजस्थानस्थित खिचन गाउँमा १५ देखि ३० हजारसम्म कर्याङकुरुङले जाडो याम बिताउने गरेको बताइन्छ । सो गाउँमा यी चराहरु बस्न र आहारा खानका लागि छुट्टै ठाउँ नै बनाइएको छ । जसलाई चुङ्गा घर भन्ने गरिएको डङ्गौराले बताए । ‘त्यहाँ कर्याङकुरुङलाई दैनिक पाँच÷छ क्वीन्टल आहारा हाल्ने गरिन्छ’, उनले भने,‘कर्याङकुरुङलाई आहारा खुवाउनका लागि राजस्थानका जनताले डोनेशन गर्ने गर्दछन् ।’
दिनभरि खिचन गाउँमा बिताउने कर्याङकुरुङ राति बासका लागि भने विभिन्न सिमसार क्षेत्रमा जाने गरेको जनाइएको छ ।

जाडो याम सकिन थालेपछि पाकिस्तान, अफगानिस्तान, किर्गिस्तान लगायतका देश हुँदै फेरि यी चराहरु रसिया, मङ्गोलियाका लागि फर्कने गर्दछन् । फर्कने क्रममा कर्याङकुरुङको उडान ६५ देखि ६६ दिनसम्मको हुने गरेको डङ्गौरा बताउँछन् । यस क्रममा कर्याङकुरुङले छ हजार ३४ किलोमिटरसम्म उडान भर्ने गरेका जनाइएको छ ।

रसिया, मङ्गोलिया र चीनमा जाडो भएपछि अस्तित्व जोगाउनका लागि यो चराले हजारौं किलोमिटर दूरी उडान भरेर बसाइँ सर्ने गरेको चराविद डङ्गौराले बताए । ‘जाडोमा आहारा नपाएपछि कर्याङकुरुङ भारततर्फ झर्छन्’, उनले भने ।

विश्वमा नौ वटा चरा उडान मार्ग रहेको छ । मध्य एसिया उडान मार्ग भएर कर्याङकुरुङले एक वर्षमा १० हजार किलोमिटरभन्दा बढी यात्रा गर्ने गरेको जनाइएको छ ।

यो चरा आकाशमा देखिनुले मनसुन हट्ने र जाडो बढ्न थालेको गाउँघरमा भनाइ पाईन्छ । प्राकृतिक बसोबास क्षेत्र मासिँदैं जानू बसाइँ सर्ने कर्याङकुरुङका लागि ठूलो चुनौती बनेको डङ्गौरा बताउँछन् । ‘यी चराहरु बस्नका लागि अब पर्याप्त ठाउँ छैन’, उनले भने,‘सिमसार क्षेत्रहरु पनि मासिँदै गएको छ ।’ नेपालको माथिल्लो मुस्ताङमा पंक्षी संरक्षण संघले २०१६ देखि कर्याङकुरुङको निरीक्षण गर्दै आएको छ । पश्चिम टुडे ।