कैलालीमा भारी वर्षा, भजनी पुन: डुवानमा
कैलाली । बिहीबारदेखि निरन्तर परिरहेको वर्षाका कारण नदीमा आएको बाढीले कैलालीको भजनी नगरपालिकाको विभिन्न ठाउँमा पुनः डुबान भएको छ ।
असोज १ गते आएको बाढीले भजनी नगरपालिकाका बाढी पीडितहरु एक सातापछि घर फर्किएका थिए । उनीहरु डुबानमा परेका घरलाई दशै अगाडी मात्रै मर्मत गरेका थिए । तर दशैको दिनदेखि पानी पर्न थालेपछि गाउँमा पुन बाढी पसेको नगरपालिकाका प्रमुख केवल चौधरीले जानकारी दिए ।
उनका अनुसार भजनी नगरपालिका मोहना, काँडा र पथरैया नदीको दोभानमा पर्ने भएकोले नदीमा पानीको बहाव बढ्ने वित्तिकै बस्ती डुवान हुन्छ । बिहीबारदेखि निरन्तर परिरहेको वर्षाले काँडा र पथरैया नदीको पानी गाउँमा पस्न शुरु गरिसकेको र मोहनामापनि पानीको बहाव तिब्रगतिले बढिरहेको हुँदा सबैलाई सर्तक रहन सूचना सम्प्रेशन गरिसकेको नगर प्रमुख चौधरी बताउँछन् ।
भजनीमा असोज १ गतेको बाढीले सात हजार ९६ परिवार बाढीका कारण विस्थापित भएका थिए । चार हजार परिवार एक सातापछि मात्रै घर फर्किएका थिए । बाढी घर आंगन राम्रोसंग सुक्न नपाउँदै पुन गाउँ डुबानमा परेपछि स्थानीय चिन्तित बनेका छन् ।
भजनीका ध्वजबहादुर विश्वकर्माको परिवार हुलाकी सडकमा आश्रय लिए बसेको । उनीहरु घर फर्किएको एक हप्ता मात्रै भएको छ । यो वर्षाले पनि हुलाकी सडकमै फर्काएको बताउँछन् । उनी आफ्नो परिवारलाई सुरक्षित ठाउँमा ओसार्दै छन् ।
गत बाढीले नै घरमा भएका अन्नपात, लत्ताकपडा सबै नष्ट गरिसकेको छ । यसपाली मान्छे मात्रै सुरक्षित स्थानमा सर्नुपर्ने अवस्था छ । आफ्न्त र संघसंस्थाको सहयोगबाट दुई चारवटा भाडाकुडी र लत्ताकपडा बाहेक केही छैन ।
वडा नं ८ का वडासदस्य लल्तु डगौरा थारुको परिवारलाई पनि बाढीले बिचल्ली बनाएको थियो । उनी पनि एक साता हुलाकी सडकमा बसेर घर फर्किएका थिए । डगौरा भन्छन् ‘घरमा भण्डारण गरिएर राखिएको अन्न सबै बगाएपछि खेतमा बचेको धानबालीको भरोसामा बाँचिरहेको थियो । यो बाढीले अब सबै सखाप बनाउँछ ।’ बर्सेनि पीडा सहने यहाँको स्थानीयको समस्या समाधान गर्न सरकार तयार हुनुपर्ने भजनीबासीको माग छ ।
भजनी नगरपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर, कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिकाको दक्षिणी क्षेत्र बाढी विपद्को जोखिममा छ । यी स्थानीय तहमा प्रायः हरेक वर्ष डुबान हुने गरेको छ ।
अति विपद् जोखिम स्थानीय तहको रुपमा रहेको भजनी नगरपालिकामा बाढी समस्याका कारण किसानले प्राय बर्खे धानको खेती गर्न छोडीसकेका छन् । जीविकोपार्जनका लागि उनीहरु चैते धान खेतीमा निर्भर छन् । भण्डारण गरिएर राखिएको अन्न पनि यो वर्ष जोगाउन नसक्दा स्थानीय निकै दुखीत छन् ।













