उसको प्रेम अस्वीकार गर्दा ‘निसाफ’मा चोट
जिवनको कति चोटहरु एकैछिन रहन्छ । तर केही चोट दिमागमै सेल्टर जमाएर बसिदिन्छ । मैले विर्सिनै नसकिने चोट आज एक व्यक्ति जो कैलारी गाउँपालिकाका पुर्व प्रवक्त तथा वडा नं. ७ का वडा अध्यक्ष कमल चौधरीले दिए । मैले मेरो जिवनमा एक परपुरुषबाट यति सम्मको हर्कत सहनुपर्ला भनि कल्पना पनि गरेको थिएन । नाताले मेरो बनडाडा अर्थात मेरो भाउजुको भाई हुन् ।
उनका नजरले पहिलेदेखिनै मलाई आफ्नो गर्लफ्रेण्ड मान्थ्यो सायद । उसको यो कुदृष्टि मैले आज महशुस गर्दैछु । मलाई लाग्थ्यो उनी मजाग गर्दैछन्, जिस्किदै छन् , तर हाईन रहेछ । आज उसले जुन व्यवहार देखायो, त्यसले प्रमाणित गर्दछ कि उसको दृष्टिमानै खोट रहेछ । होईन भने मलाई किन यस्तो महशुस हुदैछ । उससंग गरेका विगतका सम्बादमा पनि म धेरै पटक शब्दले प्रहार गरेको झलझल्ति देख्दैछु ।
गाउँपालिकाको वडा अध्यक्ष हुँदा सहकार्यमा थुप्रै कामपनि गरे । कहिले हाँसी मजाक हुन्थ्यो पनि । तर सिरियसली कहिल्यै लिएन । बस, काम गरे । केही महिना अगाडी उसले मलाई राति ११ बजे भिडियो कल गर्यो । उसका वरिपरि थुप्रै मान्छे थिएँ । उनीहरुकै विचबाट ‘बनदिदी सुत्न आउँ भन्दै कुराको शुरुवाट गर्यो । मैले रिसले चुर भएर भने दिमाग त ठिक ठाउँमा छ नि, कि फुस्क्यो ।’ यति भनेर फोन राखिदिए । त्यस दिनदेखि हाम्रो कुराकानी नै भएको थिएन ।
महिनौ दिनपछि आज (२०७९ असोज ११ गते) अचानक उसैको घरमा भेट भयो । उसलाई भेट्ने मेरो कुनै मनसाय थिएन । तर अवस्था त्यस्तै आइपर्यो । पत्रकार राम भाई र म रिर्पोटि∙को क्रममा दिनभरि भजनी नगरपालिकाको विभिन्न गाउँमा वितायौं । फर्किने क्रममा कैलारी गाउँपालिकाका पुर्व अध्यक्ष लाजुराम चौधरी (अंकित)लाई भेट्ने योजना बन्यो । स्थानीय चुनावपछि राम्रोसंग भलाकुसारीपनि भएको छैन भनेर मैले नै अंकितलाई फोन गरेर भेट्ने समय मागे । उनले कमलको घरमा बोलाए । हामीपनि सहजै स्वीकार गर्यौ । जहाँ प्रदेश सांसद बिरमान चौधरी पनि थिए ।
नजानुपनि कसरी, आफन्त जो हुन् । पुग्ने वितिकै परम्परागत शैलीमा सम्मान गरे । उनको श्रीमतिलाई भाउजु ढोग भन्दै शिर निहुराएँ । उसले शुरुवाती बोलीमा मलाई ढोग नदिने भन्यो, अनि उसलाई पनि ढोगे । उ रक्सी खाएर मात्तिएको थियो । जुन कारण म अंकितको छेउमा गएर बसे । उसले बलजफ्ती आफ्नो छेउमा बस्न लगायो । वरिपरि उसका छोरी, छोरा, श्रीमती, साथी सबै भएकोले म उसको छेउमा पलास्तिकको कुर्सीमा बसे । रक्सीले टिल्ल परेका उसको साँस ठुस्स गनाउँथ्यो । सहनै नसकेपछि माछा हेर्ने बहानामा म पोखरी तर्फ लागे ।
उसका घरमा लगभग एक घण्टा समय वितायौ होला । उसले बेला बेला मलाई जिस्काई रहन्थ्यो । कहिले आईलभयू भन्थ्यो, कहिले इललिगल श्रीमती बन्न भन्थ्यो, त कहिले के ….. । ति सबै कुरा खुल्लमखुल्ला नै भनेकोले मैले भने ‘कति जिस्कन सकेको । आफ्नो थुतुनो समाल, नत्र घाटी रेटेर रुखमा झुण्ड्याई दिन्छु ।’
उसका हर्कत मलाई असहय भईसकेको थियो । रिसले रातो पिरो भएर मैले बेला बेला उसलाई जोर जोरले हप्काएपनि । बिरमान दाजुले छेउमा रहेको ढुंगा देखाउदै यो ढुंगाले टाउँकोमा हिर्काई देउ न पनि भन्नुभयो तर उसको थुतुनो चल्न छोडेन । त्यो बेला उसका कुरा सबैलाई अपाच्य नै भईसकेको थियो, प्रतिकार गर्न नसकेपनि ।
जो मान्छे आफूलाई निकै नै क्रान्तिकारी भन्छ । मलाई पनि लाग्थ्यो माओवादी पार्टी भित्रका नेता, कार्यकर्ताहरु निकै क्रान्तिकारी हुन्छन् । किन की जनयुद्धबाट जन्मेको पार्टी हो, यहाँ भित्र हदैसम्मको अनुशासन हुनुपर्ने । तर होईन रहेछ । कोही कोही त सत्ताको मात लागेर पूर्णरुपले पतन नै भईसकेका रहेछन् ।
मैले मनमनै सोचे, उसका हरेक जबाफमा शब्दले प्रहार गरेर प्रतिकार गर्दा त उसले मलाई घुमाई फिराई आफ्नो प्रेमको जालोमा बुन्न खोज्दैछ । भने पाँच वर्षसम्म स्थानीय जनप्रतिनिधि हुँदा उसले आफ्नै शैलीमा घिनलाग्दा शब्दले कति जनालाई अपमान गरेको थियो होला । तिनले बोलेका शब्दका प्रमाण सुरक्षित नहुँदा तिनका विरुद्धमा कोही पनि आवाज उठाएनन् होला । सायद मुखभरि जवाफ दिन नसक्नेले चुनावको बेला भोट नदिएर दोस्रो पटक वडा अध्यक्ष हुनबाट रोकेर सजाय दिए की ? यस्तै यस्तै भाव लिएर त्यहाँबाट धनगढी फर्किने सोच बनाए ।
फर्किदा राम्रै स्वभावले विदा मागे । र उसका घरबाट आफ्ना पैतला अगाडी डोर्याए । उसले आफूलाई फर्केर हेर्न धेरै पटक अनुरोध गर्यो । ‘पिलिज सोल्टिना एक पटक फर्केर हेरिदेउ ।’ मैले उसलाई फर्केर हेरिन, न त केहि जवाफ नै फर्काए । बस उसका कुरा नसुने झै गरि उसलाई इग्नोर गरे । म २०÷२५ मिटर पर आईसक्दा उसले हतार हतारमा आएर जोरले करायो । ‘तँ मलाई फर्केर नहेर्ने, साले तेरो किताबपनि पढ्दैन भनि रिसको वेगमा ‘निसाफ’लाई फ्याकि दियो । निसाफलाई फ्याक्दा मलाई निकै चोट लाग्यो । मुटु फुट्ला झै भयो । मैले जिवनमा यति धेरै पीडा सायद पहिलो पटक महशुस गरे ।
मेरो छेउँमै अंकित थिए, म ट्वाँ परेर हेरेको हेर्यै भए । मेरो शरीरका अंगहरु पूर्णरुपले अशक्त भएको महशुस भयो । दिमाग शुन्यतामा पुग्यो । आफूलाई समाल्न निकै सकस भयो । जिवनमा पहिलो पटक यसरी अपमानित भएको अनुभव भयो । आँखा रसायो । आँशु थाम्नै सकिन । उनको मुखबाट निस्केका शब्दहरु रन्डी, माचिक्ने, साले, भोसरी सबै सबैले टाउको रन्कायो । यस्तो लाग्यो, जस्तो कि त्यो मान्छेलाई जिउदै जमिनमूनि गाडिदिउँ ।
उसको र मेरो चिनजान भएको २५÷२६ वर्ष भईसक्यो । यो अवधिमा उसंग कति पटक झगडा गरे, कति पटक मिठो बोले मलाई सम्झना छैन । तर आज जुन व्यवहार गर्यो उसले, यो पल कहिल्यै पनि बिर्सिने छैन । उसले मसंग जे जस्तो व्यवहार गरेपनि म सहेरै बसेको थिएँ । तर जब उसले ‘निसाफ’ माथि जुन अन्याय गर्यो, यो अन्याय गर्ने मान्छेको आवरण भित्र लुकेको जन्तुलाई मैले कहिल्यै क्षमा गर्ने छैन ।
उसले मेरो ईतिहासमाथि धावा बोलेको छ । मेरो मिहेनतलाई कुल्चेको छ । मेरो १५ वर्षको मिहेनत, मेरो संघर्षलाई वेवास्तापूर्वक च्यातेको छ । उसले मेरो आँखाबाट बगाएका पसिनालाई अपमान गरेको छ ।
म आफूले आफैलाई धिक्कार्दै छु, उ जस्तो जन्तुलाई मैले निसाफ उपहार किन दिएँ ? उ त निसाफलाई स्पर्श गर्न लायकको नै होईन । उसले निसाफ हातमा पर्न साथ आफ्नो आँखा ‘म ननभर्जिन केटी’ शिर्षकमा दौडायो । र हत्त न पत्त उसले मलाई भन्यो । ‘म ननभर्जिन केटी भनेर लेख्छौं, व्यवहार चाँही सतिसावित्रीको देखाउँछौं ? मुखमा राम राम बगलीमा छुरा ?’ लगायत कुराले उसले मलाई अपमानित गर्यो । मैले उसको मुख चुप नलाएकोपनि कहाँ हो र । धेरै पटक प्रशंग बदल्न खोजे तर उ चुप नलागेपछि अंकित तिर अनुहार देखाउदै अन्तमा त्यस क्षेत्रको राजनीतिक माहोल कस्तो हुँदैछ भन्न के खोजेकोे थिएँ, उसले फेरी मलाई इन्दुको साथी भएको कारण धेरै कुरा सुनायो । मानौ इन्दुको साथी हुनु अपराध हो ।
उसले भन्यो इन्दुले जोखनको अर्थात आफ्नो बाबाको अपमान गर्यो रे । उसको परिवारमा जनयुद्धको बेला ३ जनाले रगत बगाए, तर उसले उनीहरुले हिडेको बाटो कुल्च्यो । त्यसमा मेरो जबाफ थियो, राजनीति गर्न पाउँने इन्दुको व्यक्तिगत स्वतन्त्रता हो । बाबाले जुन पार्टीमा लाग्यो, छोरा छोरी पनि त्यहि पार्टीमा लाग्नुपर्छ भन्ने कहि लेखिएको छ र ! यदि त्यसो हो भने, मेरो विनोद दाई पनि आफ्नो बाबाको पार्टी विपरित लागे । मेरो ठूलो बुवा नेपाली काँग्रेसका कट्टर नेता र विनोद दाई माओवादी । यदि आज इन्दु गलत हो भने, के त्यो बेला विनोद दाईको कदम पनि गलत थियो ? उसले यो विषयमा आफूलाई कन्भिन्स् गर्नुपर्यो भन्यो । र फेरि भन्यो ‘तिमी विनोदको बहिनी हुनै सक्दैनौं । हैन भने इन्दुको सर्पोटमा यसरी उभिने थिएनौ ….. ।’
रतनपुरदेखि धनगढीसम्म आई पुग्दा मेरो मनमा उ बारे हजारौं प्रश्नहरु खेल्न थाले । उसले मलाई कुन दृष्टिले हेर्छ, उसका अगाडी मैले मेरो विचार प्रकट गर्न नपाउँने, उसले म माथि शासन किन जमाउन खोज्छ, उसका लागि म कुनै खेलौना हुँ, उसले मसंग जस्तो सुकै अपशब्द प्रयोग गर्न पाउँने सोचमा उ बाँचिरहेको छ । जतिबेला उ निसाफलाई फ्याकिरहेको थियो, त्यतिबेलाको उसको आक्रोसले भरिएको अनुहारको झिल्को कोठामा समेत आईपुग्यो । आफ्नो कोठामा पुगेर पनि मलाई हैरानी भइरह्यो । एक्लै धेरै कुरा मनमा खेलिरह्यो ।
यस्तो लाग्यो, रक्सीको नसाको आडमा यस्तै मनस्थितिका जन्तुहरुले छोरी, नातिनी, बुहारी र आमालाई समेत चिन्दैनन् । सायद म एक्लै भएको भए उसले मलाई भौतिक आक्रमणपनि गर्न भ्याउँथ्यो कि ! त्यसैले मानसिकरुपले पतन भएका यस्ता ब्वाँसोहरुसंग जो कोही किन न होस् साबधान हुनुपर्छ । यस्ता ब्वाँसोहरुसंग भएभरको शक्ति लगाएर प्रतिकार गरौं ।













