‘बाबा तिम्रो छोरा भन्दा दोब्बर पढ्नेछु’
आजभोली दाईलाई हेर्छु अनि लाग्छ म साँच्चिकै सपनाको सिढी चढिसकेकी छु । जतिबेला म सानो थियो, मेरा बाबा र आमाले मलाई जमिन्दारको घरमा कमलहरी बसाई दिए । जुनबेला हामी दुई दिदी बहिनी जमिन्दारको घरमा बगाएको पसिनाले मेरो दादा स्कुल जान पाउँथ्यो ।
हाम्रो बाल्यकालको भोगाई नर्क जस्तै थियो । स्वर्गको अनुभूति त गर्न पाएको छैन तरपनि मेरो परिकल्पनामा स्वर्ग भनेको एक आकर्षक ठाउँ, जहाँ वातावरण प्रेममय होस् । हावापानीमा सुगन्ध संगितमय ध्वनी गुञ्जियोस् । तर मेरो लागि ति सबथोक विपरित थियो । मेरो हरेक पाईला दुखी, रुखो, उजाड, डरलाग्दो, हिंस्रक दृष्यले सजिएको थियो ।
मालिकको छोरी पुतली झै फुरफुर नाच्थ्यो, गाउँथ्यो, पढ्थ्यो । त्यो दृष्यले मेरा आँखा ननिदाउदै सपना देख्थ्यो । सपनामै मनका बहावहरु पोख्थे । र भन्ने गर्थे, ‘बाबा म पनि स्कुल जान्छु ।’ बाबाले मलाई हप्काउनु हुन्थ्यो । छोरी मान्छे पढ्दैन्न् । अर्काको घरमा काम गर्ने जात हुन् । पढ्ने त छोराहरु नै हु्न ।
मेरो बाबाले आफ्नो छोराको पढाईमा कुनै कमि हुन दिएन् । बाबाले भनेका केही शब्दले दिलमै चोट लागेको छ । जतिबेला बाबाको छोरा स्कुल जान हिच्किचाउँथ्यो, त्यति बेला बाबाले भन्ने गर्नुहुन्थ्यो । छोरा तिमी राम्रोसंग पढ् । तिम्रो पढाईकोलागि म जे पनि गर्न सक्छु । यति मात्रै कहाँ हो र, बाबाले त आफ्नो छोरा पढाउनलाई छोरी पनि बेच्न तयार भएका थिए ।
बाबाले भनेको त्यो शब्दले मेरो मनमा ठूलो इख जाग्यो । जुन दिन बाबाले मलाई छोराको पढाईकोलागि मलाई नै बेच्ने कुरा गरेको सुने, त्यहि दिन एक बलियो अठोत लिए । ‘म कुनैपनि हालतमा तिम्रो छोराको भन्दा धेरै पढेर देखाउँछु, बाबा ।’
म ९ वर्षको हुदा जमिन्दारको घरमा बाल्यकालका सुनौला दिनहरू अन्धकारमुनि विताए । कैयौं रात भोकै निदाएँको विगतका सम्झना छ । जति काम गरे पनि मालिक्नी कहिल्यै खुशी नहुने । बोली–व्यवहार ज्यादै रुखो । ती सबै सहेरपनि चोखो खान खाना पाईनन् । ‘बाबाले छोरा पढाउन लिएको ऋण तिर्न मैले अरुको जुठो भाडा माझ्नु पर्थ्यो, जुठो खाना खानुपर्थ्यो । मालिकको इसारामा सबैथोक गर्नुपर्थ्यो । तर पनि पढाईप्रतिको रहर भनौ या मोह मबाट कहिलै अलग भएन ।’
सरकारले २ साउन २०५७ मा कमैया मुक्त घोषणा गरेपछि मेरो बाआमा पनि स्वतन्त्र भए । राष्ट्रिय–अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले २०६० सालदेखि चलाएको कमलरी प्रथा बिरोधी अभियान गाउँ–गाउँमा पुगिसकेको थियो । सोही क्रममा मलाईपनि ०६२ सालको माघमा उद्धार गरियो । कमलरी बसेका १२ हजारभन्दा बढी बालिकालाई त्यो अभियानले दासताबाट बाहिर ल्यायो जुन कारण सरकारमाथि ठुलो दबाब पर्यो । र बाध्य भएर २०७० असार १३ गते नेपाल सरकारले कमलरी मुक्त घोषणा गर्यो ।
कमलरीबाट मुक्त भएपछि म एकै चोटी ५ कक्षामा नाम लेखाए । जुनबेला अरु विद्यार्थीको तुलनामा निकै ठूली थिए । मेरा अथक मेहनतले कक्षा १० सम्म प्रथम भए । सबैको वाहवाही पाएकी म पढाईप्रति झन झन रुची जाग्थ्यो । म मा बेग्लै खाले उर्जा पैदा भएको जास्तो महशुस हुन्थ्यो । पढाइसँगै कमलरी मुक्ति आन्दोलनमा पनि सकृय भए । अनतत आफ्नै हेडसरको घरबाट एउटा बहिनीलाई उद्धार गर्न सफल भए ।
मेरो पढाई निकै सहज तरिकाले भयो । घरबाट एक रुपैयाँपनि खर्च हुदैनथ्यो । तर पनि मेरो बाबाले हामीलाई पढाउन आट जुटाएनन् । हामी दुई दिदी बहिनी विहानै घरको सबै काम सकेर स्कुल जान्थ्यों । संस्थाले हामीलाई किताब, कपि कलम, झोला, ड्रेस मात्रै नभई साबुन सर्फ, केल्गेट, मन्जन सबै निशुल्क गरेको थियो ।
मेरा बा आमाले भन्ने गर्थे, हुर्केका छोरीको विबाह गर्नुपर्छ । पढाउनु हुन्न । तर छोरालाई भने कुनै कुराको कमी थिएन । जे गरेपनि छुट थियो । हामी दुई दिदी बहिनी हरेक शनिबार मजदुरी गर्न जान्थ्यो । त्यही पैसा पनि बाबाले छोराको मौजमस्तीमा खर्च गर्न भ्याउँथे । दादाको स्वतन्त्रता निकै लोभ लाग्दो थियो । त्यो लोभ लाग्दो स्वतन्त्रता देखेर बेला बखत आफ्नो भाग्यमाथि आफै प्रश्न तेस्राउन पुग्थे । आफूले आफैलाई धिक्कारथे !
जतिबेला म ९ कक्षामा पढ्थे त्योबेला सरस्वती पुजाकोलागि स्कुलले प्रति विद्यार्थी १५ रुपैयाँ उठाउने निर्णय गर्यो । घर आएर बाबासंग १५ रुपैयाँ मागे, तर बाबाले मलाई १५ रुपैयाँपनि दिएन् । एकछिन पछि उनको छोराले साथीसंग नेपालगन्ज घुम्न जाने भनेर पैसा माग्दा बाबाले मेरै अगाडी ३ हजार रुपैयाँ निकालेर आफ्नो छोरालाई दियो । त्यो दिन निकै दुख लागेको थियो । बाबालाई मुखभरि जबाफ दिए । तिम्रो छोराभन्दा दोब्बर पढेर देखाउँछु । एकदिन तिम्रो छोरा भन्दा ठूलो मान्छे बन्छु हेर्दै जानु !
स्कुलमा सरस्वती पुजाकोलागि साथीसंग १५ रुपैयाँ सापटी मागेर बुझाएँ । सोही हप्ताको शनिबार दुई दिदी बहिनी मजदुरी गर्न गयो र १५ रुपैयाँ ऋण चुक्ता भयो । त्यो चुनौतिले मलाई पढ्नबाट कहिलै थकान महशुस भएन । पढ्न मात्रै मन लाग्थ्यो प्लस टु पनि सकाए ।
घरपरिवार समाजिक संरचनाले मेरो बिचारको कहिलै कदर गरेन् । विचारको तकराबले मलाई मानसिक तनावले चेप्यो । जुन कारण केही समय मेरो पढाईमा बे्रक लाग्यो । म समस्याबाट बाहिर निस्किने प्रयासमा गाउँको बसाई छोडेर काठमाडौं तिर लागे । अनततः त्यो बसाई मेरोलागि विस्तारै फलदाय हुन थाल्यो । म पढाईलाई पुनः निरन्तरता दिन सफल भए ।
पढाईप्रतिको रहर मेरो संस्थाले मर्न दिएन । म संस्थाको पहलमा अन्तराष्ट्रिय छात्राबृत्ति पाएर कानुनमा स्नातक गरे । अहिले अधिवक्ता भएर काठमाडौंबाट लफर्ममा जागिरे भएकी छु । मलाई अहिले पनि पढाईप्रति उत्तिकै माया छ । किताब अगाडी भएपछि खानापनि बिर्सिन्छु ।
आजभोली काठमाडौं मेरै लागि बनेको हो जस्तो अभाष हुन्छ । मेरो वरिपरि न्याय नपाएकाहरुको जमात छ । म न्यायमा पहुँच नहुनेको तर्फबाट वकालत गर्दै गर्दा पैसाले किन्न नसक्ने सन्तुष्टि प्राप्त गरिरहेकी छुँ । म सोच्छु, मेरो सहरभित्रका हरेकका आँखा खुशीले गद्गद हुन् ।
मेरो दिदी लोकसेवाबाट नाम निकालेर एक सरकारी कार्यालयमा जागिर गर्दैछिन् । तर मेरो बाबाको प्यारो छोरा रक्सीले मातेर गाउँको डुलुवा केटा भनि परिचय दिन सफल भयो । दादाको यो डुलुवा पारा देख्दा लाग्छ म बाबासंग गरेको बाचा पुरा गर्न पहिलो खुड्किलो चढिसकेकी छु ।
उही तिम्रो प्योरो, छोरी पुर्व मुक्त कमलहरी













