थारु साहित्य सम्मेलनको प्रसँग
थारु साहित्यको प्रसँग उठाउँदा कृष्णराज सर्वहारीको नाम नलिने हो भने थारु साहित्य अधुरै लाग्छ । थारु साहित्यका पर्यायबाची नाम ‘सर्वहारी’ सँग किर्तिपुर बसाई हुँदा भेटघाट भइरहन्थ्यो । साहित्य सम्बन्धी मासिक एउटा कार्यक्रम हुन्थ्यो । “ठुम्रार साहित्यिक बखेरी” नामक श्रृङ्खला हरेक महिनाको अन्तिम शनिबार विहानको समयमा हुने गर्थ्यो । त्रिभुवन विश्वविद्यालय परिसरको बाल कुमारी खाजा पसलमा साहित्यप्रेमीहरुको जमघट हुन्थ्यो । साहित्य प्रति झुकाव भएकोले म पनि आक्कल झुक्कल उपस्थित हुन्थे । पछि गएर त्यो श्रृङ्खला किर्तिपुरकै पाँगा स्थित ‘बरघर रेष्टुरेन्ट’ मा निरन्तरता पायो । त्यहि क्रममा कोरोना महामारी फैलियो । महिनामा एक पल्ट साथीहरुसँग भेटघाट हुने कार्यक्रम पनि बन्द भयो ।
निकै समय पछि गत पौष महिनामा सर्वहारी जी सँग वहाँकै निवासमा भेट भयो । चिया भेट छोटो थियो । साहित्यको प्रसँगमा मैंले फूर्सदको समयमा सेतोपाटी अनलाइनमा लेख्ने गरेको बताएँ । वहाँ पनि रातोपाटी अनलाइनमा नयाँ जागिर शुरु भएको बताउनु भयो । चिया पिउने क्रममा यहि फागुन १२, १३ र १४ गते कञ्चनपुरमा छैंठौं राष्ट्रिय थारु साहित्य सम्मेलन हुने जानकारी पाइयो।
म उत्सुक भएँ ।
ुकञ्चनपुरको कुन ठाउँ सर ?
उत्सुकता जनाएँ ।
‘ ‘सिंहपुर ।’ छोटो उत्तर आयो ।
‘सिंहपुर नै हो र ?’ मेरो प्रश्नमा उत्साह थपियो ।
‘सिंहपुर सँग परिचित हुनुहुन्छ ?’ प्रश्न थपियो ।
‘परिचित मात्रै होइन । भावनात्मक सम्बन्ध पनि छ ।’ मैंले थपे ।
सिंहपुर गाउँसँगको भावनात्मक सम्बन्ध बारे त्यो दिन सुनाउने समय थिएन । सर्वहारीजी लाई नयाँ अफिस जान हतार थियो । मलाई पनि आफ्नो काममा निस्कनु थियो । आज यहि लेख मार्फत आफूलाई सिंहपुरसँग जोड्न खोजेको छुँ ।
थारु संस्कृति र परम्परासँग सक्रिय सिंहपुर गाउँलाई अधिकांस थारु समुदायले चिन्दछन् । थारु समुदायको विशेष ‘मुङग्रहवा नाच’ धेरै गाउँबाट लोप भइरहेको अवस्था छ । सिंहपुर भने ‘मुङग्रहवा नाच’ नाचिने गाउँ भनेर परिचित हुँदै गएको छ । सिंहपुरको यो नाचले मलाई चिन्दैन । सिंहपुरको बर्का नाचु ले पनि मलाई चिन्दैन। सिंहपुरको देवथान ले झनै चिन्नदैन । तर सिंहपुरको फूटबल मैदानले मलाई राम्ररी चिन्दछ । कुनै समयमा त्यो मैदानमा अनेकौं पटक फूटबलको पछाडी दौडेको छु । बलुहा खोलाको किनारमा रहेको बलौटे चौरमा पैतलाका छापहरु छाडेको छु । किनकी म फूटबल प्रेमी हुँ । सिंहपुर गाउँपनि फूटबल प्रेमी गाउँ हो । त्यो बेला ज्यान फालेर फूटबल खेलिन्थ्यो । अहिले ‘फूटबल फ्यान’ र फूटबल ज्वरो जस्ता लेखहरु लेखेर मनबाट फूटबल खेलिन्छ । धेरै जसो प्रतियोगिताहरुमा सिंहपुर मेरो प्रतिद्वन्दी टीम रह्यो । प्रतिद्वन्दी भनेपछि अरुलाई हराउनै पर्ने खेलको नियम हो । आफूले राम्रो खेलेर होस् कि विपक्षी खेलाडीलाई घाइते पारेर होस्,सबैलाई जित चाहिन्छ । सिंहपुरको खेल मैदानसँग मेरो फूटबलको नाता थियो । भेट्रान खेलाडी तथा सिंहपुर गाउँका अगुवा जोगराज चौधरीसँग ससुरा बा को नाता पर्थ्यो । म सिंहपुरको लागि ज्वाँई अर्थात् ‘डमाड’ नाता पर्थे ।
जब मेरो खुट्टामा बल पुग्थ्यो सिंहपुरका दर्शकहरु कराउँथे –
‘डमाडके गोरम ठोको ।
(ज्वाइँको खुट्टामा ठोक।)
सिंहपुरकै युवा खेलाडी बाबुरामका लागि म बहिनी ज्वाइँ अर्थात ‘बन्हुँई’ नाता पर्थे ।
खुट्टामा बल नआउँदै सिंहपुरको अर्को हुल कराउँथ्यो –
‘बन्हुँइक गोरम मारो ।’
मेरो खुट्टामा हान्न उक्साउने सिंहपुरका रमाइला दर्शकहरु मेरो मनमा अहिले पनि रमाइलो गर्छन् । जाँडको नसामा हल्लिदै गोलकिपर बस्ने भागी राम अहिले पनि मेरो मनको गोल पोस्टमा हल्लिरहन्छन् । खेलको हाफ टाइममा ग्लूकोजको सट्टा गाँजाको सर्को तानेर शरीरको स्टामिना बढाउने गोविन्द जस्ता साथीहरु अझैपनि मनमा आइरहन्छन् । कतिपय अनुहारहरु धुमिल धुँवा जस्तै बनेर मनमा आइरहन्छन् । कतिपय अनुहारहरु धुमिल धुवा जस्तै हराउँदै गइरहेका छन् । सिंहपुर फूटबल सँग जोडिएको एउटा अनुहार भने जति बिर्सन खोज्यो, उति जीवन्त बनेर आउँछ । फूटबल विजयी उत्सव मनाउने क्रममा सडक दुर्घटनामा सास तोडेका जनक चौधरी धेरैका सपनाहरु टुटाएर गएका छन् । उनी मैदानमा म सँगै खेल्ने फूटबल खेलाडी मात्रै थिएनन् । उनी मेरा विद्यार्थी पनि थिए ।
उनी मात्र मेरा विद्यार्थी किन ?
सिंहपुर, बन्जरिया र बलुहाफाँटा गाउँका अधिकांश केटाकेटीहरु मेरा विद्यार्थी थिए । सिंहपुरसँग जोडिने मेरो अर्को माध्यम महाकाली स्कूल हो जहाँ मैले पढाउने काम गर्थे ।
कुरा २०६० सालको हो । त्यति बेला मेरो वि।एस्सी। तहको अन्तिम परीक्षा सकिदै थियो । महाकाली नि।मा।वि। बसन्तपुरमा कार्यरत मेरा साथी तोयराज जोशीले त्यस स्कूललाई शिक्षक आवश्यकता रहेको खबर गरे । पढाई सकिएको थिएन, जागिरको प्रस्ताव आयो । विद्यालय पनि भर्खर प्रस्तावित मा।वि। हुँदै थियो । निजी श्रोतबाट तलब खानेगरि विद्यालयले मलाई नियुक्ती पत्र थमायो । हेडसरले मलाई चक र डस्टर थमाए । त्यसपछि मेरो जीवनको पहिलो जागिर शुरु भयो । जागिरमा उत्साह थियो । विज्ञान र गणित विषय पढाउनु मेरो मुख्य काम थियो । धनगढीको तारानगरमा मैले पढेको पहिलो स्कूल छ । सम्झना स्वरुप मेरो पहिलो लेख ‘हलुवा( स्कूल’ शिर्षकमा स्कूलको बारेमा लेखेको छु।मैंले पढेको पहिलो स्कूल र मैंले पढाएको पहिलो स्कूलमा धेरै समानता थिए । विद्यार्थीहरु अधिकांस थारु समुदायका थिए । विद्यालयको भौतिक संरचना बलियो थिएन । टायलले छाएको छानोबाट कक्षा कोठामा पानी चुहिन्थ्यो। शौचालयको व्यवस्था थिएन ।तर पनि विद्यार्थीहरुको आँखामा भने उज्ज्वल भविष्यको हजारौं सपनाहरु देखिन्थे । ती सपनाहरु पूरा गर्न मैंले कति सहयोग गरें, यो कुरा मैले पढाएका विद्यार्थीहरुले जानुन् ।
विद्यालयमा मास्टरहरुले राजनिति गर्छन् भनेर सुनेको थिएँ । सरस्वतीको मन्दिर भनिने विद्यालयमा मैंले पनि राजनितिको नमिठो गन्ध थाहा पाएँ । निजी श्रोतमा काम गर्ने शिक्षकहरु प्रतिको स्थायी शिक्षकहरुको हेराइ मलाई राम्रो लागेन । हेराई मात्र होइन कामको दलाई पनि राम्रो लागेन । करिब डेढ वर्षपछि स्कूल छोड्ने निर्णय गरें । स्कूल छोड्नु भन्दा पहिले गणेश कुँवर नयाँ हेडसरको रुपमा आउनु भएको थियो । वहाँमा केहि नयाँ काम गरौं भन्ने भावना थियो । मैंले स्कूल छोड्ने निर्णय लिइसकेको थिएँ । स्कूल छोड्नु पर्ने मुख्य कारण थप पढाइको लागि काठमाडौं जानु पर्ने बाध्यता थियोे । विद्यालयले बिदाईको सानो कार्यक्रम पनि राखेको थियो । दुर्भाग्यवस त्यो दिन म उपस्थित हुन सकेन । स्कूलले उपहार स्वरुप एउटा भित्तेघडी र कलम चिनो पठाएको थियो । त्यो घडीको सुई भित्तामा घुमिरह्यो। म भने करिब १६ वर्ष काठमाडौंमा घडीको सुई जस्तै घुमिरहेँ।मैंले काम गर्ने कार्यालयको शाखा धनगढीमा खुल्यो। त्यसपछि म फेरि धनगढी फर्किएको छुँ ।
सुनेको छुँ–
त्यतिखेरको महाकाली प्रस्तावित मा।वि। अहिले महाकाली नमुना मा।वि। मा रुपान्तरण भएको छ । आफूले पढाएको स्कुलको उन्नती सुन्दा खुशी लाग्छ । अझ आफूले पढाएको विद्यार्थी फुलराम चौधरी डाक्टर भएको देख्दा झनै खुशी लाग्छ ।
सिंहपुरसँग जोडिएको साहित्य सम्मेलनको अवसरमा एकपल्ट महाकाली नमुना मा।वि।को चौरमा उभिन मन छ । सिंहपुर युवा क्लबको खेलमैदानमा एकपल्ट दौड्न मन छ । साहित्यप्रेमी साथीहरुसँग नजिकिन मन छ । अन्त्यमा छैठौं राष्ट्रिय थारु साहित्य सम्मेलनको सफलताको शुभकामना छ ।
(लेखक राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका वरिष्ठ वैज्ञानिक अधिकृत तथा धनगढी शाखाका कार्यालय प्रमुख हुन् ।)













