बलैगाउँदेखि बाकुसम्म
साहित्य सृजनाको कान्छो बिधाको रुप चिनिने नियात्रा पछिल्लो कालखण्डमा निकै लोकप्रिय बिधाका रुपमा परिचित हुँदै आएको छ । कर्णाली क्षेत्रका राजा गगनीराजको स्वदेश भ्रमणलाई मुख्य बिषयबस्तु बनाएर रचना गरिएको ‘राजा गगनीराजको यात्रा’ कृति नेपाली साहित्यमा नियात्रा लेखनको शुरूवात भएको मान्न सकिन्छ । यसपछिका दिनहरुमा विभिन्न कालखण्डमा साहित्यकारहरूले नियात्रा लेखनलाई निरन्तरता दिँदै आएको देखिन्छ । यहि नियात्रा लेखनलाई निरन्तरता दिने क्रममा लामो समयदेखि लेखनकार्यका सक्रिय सर्जक सागर गैरेद्वारा लिखित बलैगाउँदेखि बाकुसम्म नामक नियात्रा कृति प्रकाशित भएको छ । उक्त कृतिलाई नियाल्दा यात्रा बलैगाउको सम्झना बाल्यकालको देखि बाकुका सम्झनासम्म आईपुग्दा तेह्रवटा नियात्रा समाबेश गरिएको छ । यस पुस्तकमा समाबेश गरिएका सबै निबन्धहरु बिदेशको यात्रासँग सम्बन्धित छन् ।
पुस्तकको शुरुको खण्डमा बलैगाउँको यात्राबाट यात्राको आरम्भ गरिएको छ र अजरबैजानको बाकुमा गएर टुँगिएको छ । जिबनको उषाकालिन समयमा गरेको उनको बिदेशको पहिलो यात्रा थियो बलैगाउँको त्यो यात्रा केवल रहरको पोको थियो । गाउँमा बलैगाउँ जाने गाईगुई कुरा सुनेपछि लेखकलाई पनि जान मन लाग्यो । उनको बालहठको अगाडि आमाको केहि लागेन । अनन्त ः उनी आफ्नो हठमा सफल भए । त्यसपछि शुरु भयो उनको बलैगाउँको यात्रा । हिँडाईमा सकस हुँदा आमाले भारि बोकि दिनु, खुट्टामा फोका उठ्दा आमाले तेल लगाएर खुट्टा मालिस गरिदिनु जस्ता बाल्यकालिन घटनाहरुलाई स्मरणको रुपमा उतारेको देखिन्छ । तत्कालीन समयमा ककौराबासीको जीवनशैली उनीहरुको सामान्य नुनतेलका लागि पनि भारतीय बजार बलैगाउँ जानु पर्ने, यातायातको सुबिधा नभएको, पैदल हिँड्नु पर्ने बाध्यता, आर्थिक अभावका कारण सामान्य हाटबजार गर्दा समेत गाउँघरमा पैसा सापट माग्नु, अहिलेको जस्तो होटलमा खाना खाने प्रचलन नभएको जस्ता तत्कालीन जीवनशैलीलाई लेखकले रोचक ढंगले प्रस्तुत गरेका छन् ।
‘स्वर्गको बिमान’ शीर्षक अन्तर्गत उनको कथा र ब्यथा बोलेको छ । स्वास्थ्य अवस्था गम्भिर हुँदा भारतका अस्पताल जानुपर्ने तत्कालीन अवस्था जो अहिले पनि छ । भारतका अस्पतालमा उपचारका लागि जाँदा नेपालीहरुले भोग्ने पीडा बिदेशमा आफन्त गुमाउँदाको पीडा कारुणिक भाषामा नियात्राले बोलेको छ ।
श्रावस्तीको भ्रमणको क्रममा सडक किनारामा देखिएका धानका फाँटहरु त्यसले सिर्जना गरेका सुन्दरताको चित्रण गर्दै दशैँको मुखमा घरमा गरिबी र अभावबाट पिल्सिएर भारतका होटेलमा भाँडा माझ्दै आफ्नो भबिष्य खोज्ने एक नेपाली युवाको पीडा नियात्रामा समेटेका छन् । बुद्व जन्मिएको देशका नागरिक हामी , हामी बुद्वको कामना गर्दछौँ तर हामी बुद्व चिन्दैनौ । बुद्वले चिनाएको बाटोमा हिँड्न सकेनौं तर बुद्व कहाँ जन्मे ? बुद्व कसको हो ? भन्ने बिषयमा लडाई लड्छौँ भन्ने तथ्यलाई नियात्राले प्रस्तुत गरेको छ ।
यसै बीचमा अलिगढ बिश्वबिद्यालय हेर्ने ईच्छा लेखकको मनमा सल्बलाउछ । यही तिर्खा मेटाउन अलिगढको ब्यस्त बजारमा प्रबेश गर्दछन् । शुरुमै नालीको दुर्गन्ध उनको नाकमा आएर ठोक्किन्छ । हातले नाक छोप्दै अगाडि बढ्छन अलिगढ मुस्लिम युनिभर्सिटी । त्यहाँ भित्रको सुन्दर कलाकारिता , पुस्तकालय, त्यहाँका सुन्दर भवनहरु देखेर लेखक आकर्षित हुन्छन् । समयको ब्यवस्थापन गर्न सके बिद्यावारिधिको उपाधि यहीँबाट लिन सकिन्थ्यो कि भन्ने शिक्षाप्रति लेखकको मोह जागेर आउँछ ।
हाम्रो मित्र राष्ट्रमा रेल चढ्दाको अनुभव, सुचनाको अभावले भोगेका पीडा, रेलभित्र त्यहाँका केहि बदमास मानिसले गरेको ब्यवहार र त्यसबाट आफुले खेप्नु परेको पीडा एवं सास्तीलाई अत्यन्त रोचक ढंगले प्रस्तुत गरिएको छ । यस नियात्रामा लेखक घुम्दै जाने क्रममा आगराको ताजमहलसँग मितेरी लगाउन पुग्छन् । आगराको ताजमहल जसको निर्माणमा राज्यले करोडौं खर्चेको थियो, त्यही ताजमहल जो बिश्व सम्पदा सूचीमा अंकित छ । त्यही ताजमहल जसको निर्माण शाहजहाँले आफ्नी पत्नीको सम्झनामा निर्माण गरेका थिए । त्यहीँका सुन्दरतामा हराउँछन लेखक । यमुना नदीको पानीमा उनको मनले डुबुल्कि मार्छ, त्यहाँ टाँस्सिएर फोटो खिचाउँदै वरिपरिका सुन्दर दृश्यमा आँखा डुलाउदै महाकबि लक्ष्मीप्रसाद देबकोटाले लेखेको ‘शाहजहाँको ईच्छा’ नामक कविता मनले वाचन गर्दै लेखक फर्कन्छन् ।
प्रस्तुत नियात्रामा लेखक राधा खोज्दै वृन्दाबन पुगेको रोचक प्रसँग उल्लेख गरिएको छ । कृष्ण मन्दिर त्यहाँ भित्रको सुन्दर दृष्य, साँघुरा सडकहरु , यमुना किनारमा रहेका मसानघाट, त्यहाँ भएका राधा र कृष्णको कथासँग जोडिएका दृष्य एवं मन्दिरहरुको चित्रण कलात्मक ढंगले गरिएको छ । रुखमा बाँदर नाँचीरहेको, भक्तजनहरु पण्डालमा भजनकृतन गरिरहेको , मन्दिरभित्र प्रबेश गर्दा कडा सुरक्षाजाँचको व्यवस्था भएको आदि त्यहाँका परिदृष्यका साथै मन्दिरभित्र प्रबेश गर्दा उनका अनुभव र अनुभुति मन्दिर भित्रको अवलोकनबाट आफुले तृप्ती एवम सन्तुष्टि प्राप्त गरेको यथार्थतालाई लेखकले चित्रण गरेका छन् ।
धार्मिक सहिष्णुता भएको धार्मिक विविधता बिच एकता भएको देश ईन्डोनेशियाको बाली टापु सिङ्गो देश मुस्लिम बाहुल्य भएपनि हिन्दुहरुले भरिएको उक्त टापुका सहरहरूमा ब्रम्हा बिष्णु महेश्वर जस्ता देवी देवताका मुर्तिहरुले सजिएको त्यहाँको सुन्दर दृष्यलाई नियात्रामा समावेश गरिएको छ । बाली प्रान्तका मठमन्दिर र कलाकृतिका बारेमा नियात्रामा पढ्दै जाँदा पाठकलाई म स्वयं लेखकसँगै घुमिरहेको छु, आफ्नै आँखाले अवलोकन गरिरहेको महसुस हुन्छ । लेखकले बाली टापुको धार्मिक सामाजिक र साँस्कृतिक आस्थाको सजिब ढंगले चित्रण गरेका छन् । अचम्मको कुरा त के भने हाम्रो देशमा ६ वटा ऋतु भए जस्तै त्यो देशमा दुई वटा मात्रै ऋतु हुँदा रहेछन् । एक कप चियाको मुल्य पाँच हजार हुनुजस्ता रमाईला पक्ष नियात्रामा समावेश छन् । लेखकले बिद्यार्थी अवस्थामा किताबमा पढेको नक्सामा हेरेको प्रशान्त महासागरको डिलमा प्रत्यक्ष रुपमा उभिने अवसर पाउनु आदि बिषयलाई प्रस्तुत गर्दै प्रशान्त महासागर वरिपरिको सुन्दर दृश्य,समुन्द्रका छालहरुलाई आफ्नो मनको चन्चलतासँग तुलना गरेका छन् । उक्त क्षेत्रको भ्रमणले लेखकको मन बदलिएको समुन्द्रको बिशालताबाट प्रभावित भएको आदि बिषय नियात्रामा झल्किएको छ ।
समुन्द्रको बिशाल छाती भएको कारण यसको महत्व पनि त्यत्तिकै छ । मानिसले पनि समुन्द्रजस्तै आफ्नो छाती बिशाल बनाईदिए हुन्थ्यो भन्ने लेखकको चाहना मुखरित भएको छ यस नियात्रामा ।
लेखक जव थाईल्यान्ड भुमिमा प्रबेश गर्छन,त्यहाँको बिमानस्थलको नाम संस्कृत शब्द स्वर्णभुमी बिमानस्थल नाम सुन्दा छक्क पर्छन् । हरेक पाईलामा नयाँ भुमि हुन्छ, नयाँ दृश्य हुन्छ । त्यहि दृष्यले नयाँ अनुभुतीका लहरहरु जन्माउछ भनेजस्तै लेखकलाई पनि यस्तै अनुभुति भएको छ । बौद्ध धर्मावलम्बीको देश थाईल्यान्ड बुद्व जन्मेको देशका नागरिक लेखक संस्कृत भाषामा लेखिएका बाक्यांशको दृश्यले लेखकको मनमस्तिष्कमा राष्ट्रियता सल्बलाउछ । पटाया सहर प्रबेश गर्दै गर्दा मार्गदर्शकले सिटि अफ प्रोष्टिच्युसनमा स्वागत छ भन्ने आवाजले मनभित्र अमिलोको बर्षा गराउँछ । तै पनि लेखकले पटाया सहरको यथार्थ तस्वीर पाठकसामु पस्किने जमर्को गरेका छन । पटाया सहरमा सरकारले यौनकर्मीलाई बैधानिक रुपमा लाईसेन्स दिने ब्यवस्था भएको कुरा, त्यहाँ जाने कुनै पर्यटकले शुल्क तिरेर यौन सम्पर्क गर्न पाउने ब्यवस्था भएको, बार र रेस्टुरेन्टका पोस्टर हातमा लिएर उभिएका अर्धनग्न युवती हरुको लस्कर, ती युवतीहरुले यौन पोस्टरहरु देखाउँदै यौन प्रस्ताब गर्ने गरेको रोचक तथ्यहरु नियात्रामा प्रस्तुत गरिएको छ । पटाया सहरको चित्रण गरिएको यस नियात्राको उक्त अंशलाई पढ्दै जाँदा पाठकलाई पनि आफ्नै खुट्टाले पटाया सहर घुम्दै गरेको आफ्नै आँखाले पटाया सहरलाई नियाल्दै गरेको अद्भुत किसिमको अनुभव गराउन सफल देखिएको छ यो नियात्रा । ती किशोरीहरु जसले आफ्नो ईज्जत र भबिष्यलाई दाउमा लगाएका छन, ती युवतीहरुको भबिष्य सम्झेर लेखकको मनमा चिन्ता भएको, यहि चिन्ताको गह्रौं भारी बोकेर लेखक बैंकक तिर प्रस्थान गरेका छन् ।
लेखक जब संयुक्त अरब ईमिरेट्सको भुमिमा ठडिएको ८३० मि उचाईको बुर्ज खलिफा भवन भित्र प्रबेश गर्छन्, त्यसको उचाई हेर्छन् । सगरमाथा सम्झन पुग्छन् । सगरमाथाको उचाईसँग उक्त भवनको उचाईको तुलना गर्दछन् । नेपालमा जन्मेको मानिसका लागी त्यो भवनभित्र प्रबेश पाउनु, त्यो भवन, त्यो भवन हेर्ने अवसर पाउनु नेपालीहरुको लागि आकाशको फल जस्तै हो । जब लेखक उक्त भवनको २४ औँ तलामा प्रबेश गरेर जमिनतिर हेर्छन अन्य बिशाल भवनहरु पनि स–साना कमिला जस्ता लाग्ने गरेको अनुभुति हुन्छ । त्यहि भवनको तलाबाट समुद्रमा सुर्यास्त भएको सुन्दर दृश्यमा आँखा डुलाउदै मरुभूमिको यात्रामा निस्कन्छन् ।
मरुभूमिको यात्रा लेखकका लागि नौलो थियो किनकि नेपालमा मरुभूमि छैनन । सायद यो भन्दा अगाडि लेखकले मरुभूमि देखेका थिएनन । यसरी प्रस्तुत नियात्रामा बालुवाको समुन्द्र भनेपनि फरक नपर्ने जता हेर्यो उतै बालुवा मात्रै देखिने मरुभूमिको चित्रण गरिएको छ । बालुवा नै बालुवा देखेर मन आत्तिएपछि उनी नदिको कल्पना गर्दछन्, तालतलैयाको कल्पना गर्दछन्, जुन उनको लागि कल्पना मात्र हुन्छ । मरुभूमि घुमेर आउने क्रममा माटोको गेटभित्र प्रबेश गर्दछन् त्यहाँ बिभिन्न परिकारका खाना पाईने होटलहरु हुन्छन् । लेखकलाई बेलिडान्स , तन्दुरा डान्स हेर्ने अवसर पनि जुट्छ । त्यहाँ बालुवाको रासभित्र पनि देशको मुहार परिवर्तन गर्न सक्ने अनुपम क्षमता लुकेको हुन्छ मात्र हामीले चिन्न र प्रयोग गर्न सक्नु पर्छ । आज मरुभूमिका देशहरु त्यहाँको प्रकृतिलाई आफ्नो अनुकुलतामा प्रयोग गर्न सकेर संसारकै धनी देशको चिनारी बनाएका छन तर हामी प्राकृतिक स्रोत साधन प्रयाप्त हुँदाहुँदै पनि गरिब भएर त्यहीँका होटेलमा भाँडा माँझ्न जान्छौं । यही भाव र दृश्यको प्रस्तुति यस नियात्रामा झल्किएको छ ।
बिश्वको उदयमान राष्ट्र चीनको बिशाल भुमिमा पाईला राख्दा लेखकको छाती गर्वले फुलेको छ । आधुनिक उपकरणको माध्यमबाट बिमानस्थलमा यात्रुलाई सुरक्षाकर्मीले चेकजाँच गर्दै गर्दा बर्तमान अवस्थामा चीनको बिकासको उचाई लेखकले अनुमान लगाई सकेका हुन्छन् । बेईजिङको माटोको स्पर्श पाएसँगै लेखकको टोलीको लागि तयार गरिएको चीनिया नागरिक अत्यन्त मृदुभाषी पथप्रदर्शक शिलिको न्यानो आतिथ्य पाएपछि यात्राको थकान हराईसकेको हुन्छ । त्यहाँका सडक बजार बिकासको संरचना आदिको सुन्दरतामा लेखक हराउदै अगाडि बढ्दा होटेलमा तेलमा तारिएका फट्याङ्ग्राहरु, साँगला, भ्यागुता, माकुरा, सर्प, बिच्छि र जुकाका परिकारहरु सजाएर राखिएको दृष्यले लेखकलाई अचम्मित तुल्याउछ किनकि ति चिजहरुले हाम्रा भान्सामा स्थान पाउँदैनन । छोयो भने मात्रै पनि हामी खाना खाँदैनौ । तर त्यही चिज चीनका आम नागरिकको रोजाईको भोजन भएको छ । लेखकलाई बिचित्रताको आभास हुन्छ । हामीले हाम्रो देशमा हाम्रो समाजमा जे देख्छौँ त्यो मात्र सत्य होईन, संसार बिचित्रको छ । यही बिचित्रतालाई यस नियात्राले प्रस्तुत गरेको छ ।
शीतकालिन दरबार नियाल्दा लेखकका अनुभुतीहरु उक्त दरबारको कलाकौशल त्यहाँको सुर्यका किरणसँगै झलझलाकार देखिने दरबारको छानो सिम्रीक रंगका सुन्दर भित्ताहरु दलिनमा कोरिएका कलाको चित्रण नियात्रामा गरिएको छ । यस दरबारले चीनको सभ्यता र संस्कृति बोलेको छ ।
तियानमेन चोक संसारको सबैभन्दा बिशाल चोक, त्यही बिशालचोकमा उभिन पाउँदा लेखकलाई गर्व लागेको छ, मन उमंग र उत्साहले बिभोर हुन्छ । त्यो चोकले चीनको बिशालता बोकेको छ, ईतिहास बोकेको छ । आधुनिक चीन निर्माणको आधारशीला हो उक्त चोक जहाँ प्रजातन्त्रको माग गर्दै आदोलनना उत्रिएका विद्यार्थीहरुलाई चिनियाँ सरकारले ट्याङ्गकरले किचेर मारेको थियो । सायद यहि घटना लेखकको बाल्मस्तिष्कमा घुसेको थियो । अहिले पनि ताजा रहेको भाव नियात्रामा पाउन सकिन्छ । माओ जसलाई चीनले मात्र होईन जसलाई संसारले सम्मानपूर्वक हेर्ने गर्छ, उनको पार्थिब शरिर हेर्न नपाउँदा लेखकको मन खिन्न भएता पनि उनले त्यो खिन्नताको भारी बिश्वका सात आश्चर्य मध्ये एक मानिने चीनको ग्रेटवालमा लगेर बिसाउछन् । बिश्वकै लामो पर्खाल ग्रेटवालमा पुग्दा उनको मन हर्षले बिभोर हुन्छ । क्विन बंशका बादशाहले निर्माण गरेको उक्त पर्खाल जो आज बिशाल चीनको चिनारी बनेको छ । प्रस्तुत नियात्रामा यही ग्रेटवाल निर्माणसँग जोडिएका अनेकौं रोचक पक्ष र त्यहाँको भौतिक अवस्थाको रोचक ढंगले चित्रण गरिएको छ ।
ढुङ्गा र माटोबाट बनेको ग्रेटवाल शत्रु छेक्नको लागि निर्माण गरिएको उक्त पर्खालको निर्माणमा लाखौं जनताको पसिना मात्रै होईन रगतसम्म मिसिएको, पर्खाल बलियो हुँदा हुँदै पनि चङ्गेज खानले पर्खाल तोडेर आक्रमण गरेको जस्ता ग्रेटवालसँग जोडिएको बिगत ईतिहासलाई नियात्रामा प्रस्तुत गरिएको छ ।
चीनसँग सिमा जोडिएको देशका नागरिक हामी रेल चढ्न नपाए पनि रेलसँग सम्बन्धित गीतहरु सुनेर रमाउने गरेको यथार्थतालाई आत्मसात गर्दै बुलेट रेल चढेर लेखक चीनको साँघाई सहर प्रबेश गर्दछन् । चीनको धर्तीमा भएको बिकास देखेर लेखकका आँखा अचम्मले रमाउछन् । यही बिकास हाम्रो देशमा पनि भए हुन्थ्यो भन्ने आशामुखी हुन्छन् । फेरि नेपालको बिकासको गति देखेर निराश हुन्छन् । यही आशा र निराशाका बीचमा लुकामारी खेल्दै त्यहाँको सुन्दरतालाई नियात्रामा समाबेश गरेका छन् । उनको नियात्रामा साँघाई सहरको सुन्दरता धपक्क बलेको छ । ओरिएन्टल टावर सजिएको छ । साँघाईको पहिचान नै ओरिएन्टल टावर हो । दुबईको बुर्ज खलिफाले मात्र बिश्वको अग्लो टावर हुने अनुमति दिएको छैन यसलाई । थुप्रै चिनियाँहरुको सपना बोकेको साँघाई सहर, करोडौं चिनियाँहरुको सपनाको सहर जहाँ कामदारहरु मौरीजस्तै भएर काम गर्ने गरेका छन् । कुनैबेला बेलायतले अफिम भिटामिन हो भनेर बेच्ने चीन देश आज बेलायत त के संसारलाई पछि पार्दै अगाडि बढ्दा लेखकलाई आश्चर्य लाग्दछ । यही आश्चर्यमा डुबुल्की मार्दै साँघाईको सुन्दरतामा रमाएका छन्, लेखक ।
यहाँका गगनचुम्बी महल, फराकिला बाटा, सुन्दर हरियाली पार्क र बगैंचा आगन्तुकको पर्खाईमा रहेका फूलहरु जति हेर्यो त्यति हेर्न मन लाग्ने साँघाई सहरको सुन्दर दृश्यले आफुलाई गहिरो मोहनी लगाएको भाव नियात्रामा प्रस्तुत गरिएको छ । आधुनिक चीनका जन्मदाता हुन माओ । उनको नाममा हाम्रो देशमा पनि माओवादीका नाममा युद्व भयो । थुप्रै मानिसहरू मारिए तर बिकासको रोसनी गाउँ बस्तीमा छिर्न नसकेको अवस्थाले लेखकलाई दुखित बनाएको अवस्थामा चीन भुमि प्रतिको अपार माया छातीमा समेटी उनी स्वदेश फर्किएको अवस्थालाई नियात्रामा चित्रण गरिएको छ ।
पाब्लो नेरुदाको कबितासँगै उनको बाकु यात्रा सुरु भएको छ । बाकुका फराकिला सडकहरु, बन्दै गरेका अपार्टमेन्ट, फ्लेम टावर, त्यहाँका सल्ला र धुपीका बृक्षहरु, कार्पेट म्युजियमका सुन्दर तस्बिरहरु नियात्रामा प्रस्तुत भएका छन् । सोभियत, रुसबाट स्वतन्त्र भएको अजरबैजानको बाकुमा सोभियतकालमा बनेका ठुला ठुला अहिले सरकारी कार्यालयमा उपयोग भएको, सोभियतकालमा त्यहाँका नागरिक सुखी र सम्पन्नशाली भएको तर अहिले आर्थिक रुपमा त्यस्तो नभएतापनि स्वतन्त्र हुनुमा गर्व गर्ने त्यहाँका नागरिकहरुको भाव रहेको, जमिनबाट ड्रील गरेर तेल निकाल्दै गरेका दृश्यहरु देख्न पाईने, स्वतन्त्रतालाई सर्वोपरि ठान्ने त्यहाँका नागरिकहरु अहिले महंगी बेरोजगारी बढेर जीवन गुजारा गर्न असजिलो भएतापनि तीब्र गतिमा भैईरहेको परिवर्तनबाट आफुहरु सन्तुष्ट रहेको आदि बिषयहरु प्रस्तुत बाकुको यात्रा नियात्रामा समाबेश छन् ।
बाकुमा प्राकृतिक सुन्दरता र घुम्नलायक स्थानहरु थुप्रै हुँदाहुँदै पनि त्यहाँ घुम्ने तीब्र ईच्छा हुँदाहुँदै पनि समय अभावको कारणले बाकुको माया र त्यहाँको अमुल्य स्मृतिलाई मस्तिष्कमा संगाल्दै स्वदेश फिर्ता भएसँगै नियात्रा समाप्त भएको छ ।
जाँदाजाँदै, नियात्रामा त्यहाँको माटो बोल्छ, भिरपाखा जंगल पोखरी तालतलैया बोल्छन् । त्यहाँका नगरिकका बिचार र भावना बोल्छन् । प्रस्तुत नियात्रामा लेखकले भ्रमण गरेका देशको संक्षिप्त ईतिहास प्रस्तुत गरेका छन् । आफुले घुमेका ठाउँको भुगोल, संस्कृति, नाँचगान, खानाका परिकार, प्राकृतिक सुन्दरता, आदि सबैको सजीब चित्र उतार्न सफल भएका छन् । भनिन्छ, नियात्रा भुमिको बयान मात्र होईन त्यो देशको यथार्थ तस्बिर पनि हो । लेखकले आफ्ना पुर्खाले नसुनेको, आफ्नो समाजले नदेखेको, कुनै नाता सम्बन्ध पनि नपर्ने आफुले कहिल्यै संगत पनि नगरेको बिषय, कथा र ब्यथासँग साक्षात्कार गरेका छन् । पाठकलाई पनि साक्षात्कार गराएका छन्, नौलो समाजसँग साईनो गाँसेका छन् ।
संसारको बिकास कुन गतिमा भएको छ र हामी अन्य मुलुकको तुलनामा कति पछाडि छौँ र अगाडि वढ्न के गर्नु पर्छ यही तस्बिर नियात्राले प्रस्तुत गरेको छ । लेखक भ्रमण गर्ने क्रममा बिदेशले बिकास गरेको देख्दा, हाम्रो देश नेपाल पनि यस्तै भैई दिए हुन्थ्यो भन्ने चाहना ब्यक्त गरेका छन् । यस नियात्रामा लेखक भित्रको राष्ट्रियता बोलेको छ । हरेक पाईलामा देश प्रतिको मायालाई ईमान्दारिताकासाथ प्रस्तुत गरेका छन् । भाषाशैलीका दृष्टिकोणले हेर्दा आम पाठकले पनि बुझ्न सक्ने, आनन्द लिन सक्ने भाषामा रचना गरिएको छ । यात्रा बर्णन गर्ने क्रममा जटिल भन्दा सरल एवं छोटा छोटा बाक्यको प्रयोग गरिएको छ । हामिले गाउँघरमा बोल्ने भाषाले स्थान पाएका छन् । यात्रा बर्णन गर्ने क्रममा कुनैकुनै स्थानमा यात्राको भन्दा त्यहाँको ईतिहासको बर्णन भएको भएतापनि यसलाई नयाँ प्रयोग मान्न सकिन्छ किनकि परिबर्तित समाजमा साहित्यको रचना पनि परम्परागत भन्दा आधुनिक ढंगले गरिनुपर्छ ।
कोहलपुरको मलिलो माटो एवं साहित्यिक फाँटमा जन्मेको साहित्यिक कृति हो यो नियात्रा । यो सर्जकको मात्र होईन सिङ्गो कोहलपुरबासीको सिर्जना हो, सम्पत्ति हो । आगामी दिनमा यो राष्ट्रको सम्पत्ति बन्न सकोस । सर्जक सागर गैरेको कलमबाट भोलिका दिनमा पनि यस्तै सिर्जना जन्मिदै जाउन भन्ने कामना गरौं ।
धन्यवाद ।













