‘थारु जोधा’ एक ऐतिहासिक दस्ताबेज

शेखर दहित, थारु भाषामा लेख्ने सर्जक हुन । उनको जन्म बर्दियाको राजापुरमा भएको हो । उनको बाल्यकाल राजापुरमै ब्यतित भयो । अध्य्यन क्रममा नेपालगन्ज देखि काठमाडौ सम्म पुगेका शेखर बिगत केहि बर्षदेखि कोहलपुरलाई कर्मथलो बनाउदै आएका छन । ‘थारु जोधा’ शेखर दहितको तेस्रो कृति हो । उनले ‘गयर्वा बुडु’ २०७३ र ‘गयर्वा बुडुक ठाँह्रा’ २०७७ प्रकाशित गरिसकेका छन् । ‘थारु जोधा’ को प्रथम संस्करण पहिलोपटक २०७८ माघमा प्रकाशित भएको हो । पुस्तकको आवरणमा एकजना थारु लिजेन्डेरिको तस्बिर छापिएको छ । आवरण तस्बिर आफैमा ऐतिहासिक त छँदैछ नै । थारु जातिको जेनेटिक अनुहारको बोध गराउन समेत प्रयाप्त छ ।
तस्बिरको श्रेय लेखकले पिनरेस्टलाई दिएका छन् । पुस्तक सिट्रेड रिसर्च सेन्टर काठमाडौले प्रकाशित गरेको हो । जम्मा दुई सय दश पेजको यो पुस्तकको मुल्य ३५० रुपैयाँ रहेको छ । पुस्तक हेर्दा पनि आकर्षक छ । कागजको मोटाईकै कारण पनि हुन सक्छ शेखरका यस अघिका दुई पुस्तकहरु भन्दा यो पुस्तक हेर्दा पनि मोटो र गहकिलो देखिएको छ । उनका अघिल्ला पुस्तकहरु भन्दा यो पुस्तक अझ निखारीएर आएको छ । प्रस्तुति सरल छ । शेखरको लेखनशैलिमा जुन मिठास छ त्यो यस पुस्तकमा पनि शुरु देखि अन्त्यसम्म हरकोहि पाठकले महसुस गर्न सक्दछ । पुस्तक पढिरहँदा कहिँकतै झर्कोफर्को लाग्दैन । थारु भाषा यति सरस र सुललित हुन्छ नै त्यो यस पुस्तकमा पनि छ । पाठक जति जति पुस्तक भित्र डुब्दै जान्छ उसको आँखामा सजिब थारु बस्तिहरु सल्बलाउन थाल्दछन् । पढ्न शुरु गरिसकेपछि अन्त्य नहुँदा सम्म पुस्तक छोड्न पटक्कै मन लाग्दैन ।

सिधा भन्नुपर्दा ‘थारु जोधा’ जीवनगाथा समेटिएको पुस्तक हो । थारु जोधामा सात जना थारु ब्यक्तित्वका जीवन कथाहरु समेटिएका छन् । पुस्तकमा बैजनाथ थारु (बाँके), रेशमबहादुर थारु, शिबरतन थारु, राधाकृष्ण थारु, सगुनलाल थारु, सोमप्रसाद कथरिया ( बर्दिया) र गुम्रा थारु ( दाङ्ग) का कथा समेटिएका छन् । राधाकृष्ण थारु, बैजनाथ थारु , शिबरतन थारु र गुम्रा थारु यस लोकबाट बिदा भैईसकेका पात्र हुन भने सगुनलाल द्वन्द्वकालिन समयमा बेपत्ता पारिएका हुन् । रेशमबहादुर थारु र सोम प्रसाद कथरिया दुई जना भने जिवित पात्रहरुका कथा उधिनिएको छ । सबैभन्दा लामो कथा सगुनलाल चौधरीको १ पेजदेखि ४९ पेजसम्म र सबैभन्दा छोटोमा शिबरतन थारुको कथा २० पेजमा ११४ देखि१३४ सम्म समेटिएको छ ।

पुस्तकको शिर्ष कथा सगुनलाल थारुको बारेमा रहेको छ । सगुनलाल थारुको जन्म दाङ्गमा भएको थियो । वि.स.२०२६ साल तिर उनको परिवार बर्दियाको धधवार ८ काला बेल्भार भन्ने ठाउँमा बसाई आएको हो । उनले जिन्दगीका धेरै बर्षहरु शिक्षकको रुपमा गुजारे । उनी थारु साहित्यको कोशेढुङ्गा मानिने गोचाली पत्रिकासँग जोडिएका थिए । ४९ बर्षको उमेरमा २०५८ पुष १२ गते तत्कालिन शाहि नेपाली सेनाले गाउँबाट गिरफ्तार गरेर लगिएकोले अहिलेसम्म उनको अवस्था अज्ञात छ । थारु जोधामा सगुनलाल थारुको जीवनका अनेक पाटाहरुलाई लेखक दहितले खोतल्ने प्रयास गरेका छन् ।

वि.स.२०२७ सालमा उनी बाँकेको बैजापुरमा शिक्षकको रुपमा कार्यरत थिए । उनी थारु समुदायमाथि भैईरहेको अन्यायको जहिल्यै डटेर बिरोध गर्थे । उनी गोचाली पत्रिकामा २०२८ सालदेखि नै आवद्ध थिए । गोचाली पत्रिका तत्कालिन समयमा बिद्रोहिहरुको आवाज पोख्ने प्लेटफर्म थियो । उनले थारु समुदायका असन्तुष्टिहरुलाई गोचाली पत्रिका मार्फत संगठित गर्ने प्रयास गरे । प्रशासनको नजरमा गोचाली पत्रिकाले समाजलाई भड्काउने काम गरिरहेको थियो । यहि आरोपमा वि.स.२०३० भदौ ११ मा उनि पक्राउमा परे र उनी एक बर्ष कैलाली जेलमा थुनामा परे । जेलबाट छुटेपछि उनी बर्दियाको बैदामा स्कुल खोले । पछि उनी २०३३ मा सिउनियामा प्रअ भए । उनले मगरागढी, सिउनिया, भौराटप्पा ,पाताभार लगायतका अनेक स्कुलहरुमा शिक्षकको रुपमा काम गरे । शिक्षणकै क्रममा उनी फेरी वि.स.२०४२ सालमा गुलरिया समातिए र फेरि प्रहरी थुनामा परे । उनी एकजना जुझारु र कर्मशिल शिक्षक थिए । सचेत सर्जक र राजनितिक रुपमा सचेत नागरिक थिए । उनी ‘युद्व प्रसाद मिश्र’ पुरस्कारबाट सम्मानित भएका थिए । एउटा जिम्मेवार शिक्षकको रुपमा शिक्षा कार्यालयले उत्कृष्ट शिक्षकको रुपमा उनलाई सम्मान गरेको थियो ।

पन्चायती ब्यवस्थाको अन्त्यपछि देशमा बहुदल आयो । देशमा राजनीतिक परिबर्तन भएपनि जमिन्दारहरुले किसानलाई हेर्ने दृष्टिकोणमा कुनै फेरबदल देखिएन । आफुलाई चित्त नबुझेका कुरामा प्रतिक्रिया जनाउन उनी कहिल्यै पछि हटेनन । त्यसैले पनि उनी सधै प्रशासनको नजरमा कसिंगर थिए । पचासको दशक, देशमा जनयुद्ध शुरु भयो । बिक्रम सम्बत २०५८ सालमा उनी गिरफ्तारीमा परे । त्यसयता सगुनलाल थारुको अहिलेसम्म पनि सास लासको अत्तोपत्तो छैन ।

आम नेपाली नागरिकको रुपमा सगुनलाल थारुले हिँडेको बाटो कहिल्यै सुगम भएन । उनले थारु जातिको उज्यालो भबिष्यको चाहमा आफ्नो सिँगै जिवन निरन्तर सङ्घर्षमा होमे । आफुले हिँडेको बाटोबाट कहिल्यै डगमगाएनन । एउटा शिक्षकको रुपमा उनको भुमिका र थारु साहित्यिक पत्रकारिताको ईतिहासमा उनको योगदान सदा स्मरणीय रहने छ ।

लेखक शेखर दहितले सगुनलाल थारुले नियमित रुपमा डायरी लेख्ने गरेको प्रसँग उल्लेख गर्दै उनको मितब्ययि, स्वभाव र सरलताको खुलेर प्रशँसा गरेका छन् । उनी डायरी लेखिरहन्थे । डायरीमा उनले जनकपुर र पटनाको यात्राको रोचक बर्णन गरेका छन् । घरका स–साना खर्चहरुको बिवरण पनि टिप्ने गरेका थिए ।

सगुनलाल थारुको सम्मानमा बारबर्दिया नगरपालिकाले शोभानगर चौराहामा उनको पूर्णकदको शालिक स्थापना गरेको छ । त्यसैगरी सत्खलवा देखि बेलभार सम्मको बाटोलाइ सगुनमार्ग नामाकरण गरिएको छ । शेखर दहितले सगुनलाल थारुको ईतिहास लेखिदीएर थारु युवापुस्तालाई ठुलो गुन लगाएका छन ।

थारु जोधामा समेटिएको अर्को कथा ‘गुम्रा थारुको जीवनी’ हो । गुम्रा थारु दाङ्ग बेलवा बन्जारीका किसान थिए । मात्र ३५ बर्षको युवा उमेरमा उनले २०१७ साउन २ गते सहादत प्राप्त गरेका थिए । धेरै बिद्वानहरुले दाङ्ग उपत्यकालाई थारुहरुको आदि ( उदगम ) थलो हो भन्ने गरेका छन् । नेपालकै ठुलो मानिने दाङ्ग उपत्यकाको सुकौरागढमा थारु राजा दङ्गिशरणको दरबारका भग्नावशेष यद्यपि रहेको बिश्वास गरिएको छ । थारु जाति दाङ्गमा कति पुस्ता र कहिलेदेखि बसोबास गरिरहेका थिए भन्ने कुरा अझै अनुसन्धानकै बिषय रहिआएको छ । थारु जातिको आदिथलो कहाँ थियो र उनीहरु कहाँबाट आएका थिए भन्ने कुरामा अहिलेसम्म जतिपनि तर्कहरु सुनिएका छन् ति अन्धाले हात्ती छामेर आफ्नो तर्क प्रस्तुत गरेजस्तै भएको छ । निकट भबिष्यमा थारु जातिको उदगम थलो र उनीहरुको पहिचानका लुकेका पाटाहरु उघारिएलान भन्ने अपेक्षा गरौँ ।

दाङ्गमा थारु राजाहरुले शासन गरेको र दाङ्ग उपत्यकालाई थारु समुदायले आफ्नो परीश्रम र मिहिनेत पसिनाले खेतियोग्य बनाएको कुरा सबैले स्विकारेको सत्य हो । दाङ्गमा थारु समुदायको मौलिक बस्ती खेतिपाति र साँस्कृतिक परम्परा रहिआएको थियो । उनीहरुको बर्षौँको प्रयास, लगन र मिहिनेतकै कारण दाङ्ग उपत्यका मलिलो र उब्जाउ जमिनमा रुपानन्तरण भएको हो भनिन्छ ।

कालान्तरमा दाङ्ग उपत्यकामा अन्य जाति र समुदायका मानिसहरुको आवागमन शुरु भयो । प्रतिस्पर्धामा अत्यन्त सरल , अनपढ र सोझा थारुहरु बिभिन्न कारणले पछि पारिँदै गए । उनिहरुलाई कतिपय अवस्थामा दमन र शोषणको जालोमा फसाउन थालियो ।

जब थारुहरु आफ्नै भुमिबाट बेदखल हुनुपर्ने स्थिति आयो । आफुले मिहिनेतले उब्जाएको फसलमा आफै निरिह पात्र भएर भाग खोज्नु पर्ने स्थिति आयो । त्यसपछिका दिनमा जमिन्दार र किसानका बिचमा हिंसात्मक द्वन्दका घटनाहरु हुन थाले । जमिन्दार र किसानहरु बिच पटक पटक झडप भए । सोहि द्वन्द्वका क्रममा गुम्रा थारुले सहादत प्राप्त गरे ।

गुम्रा थारु निर्भिक र हक्की स्वभावका थिए । उनले थारु समुदायमाथि भएको थिचोमिचो र अन्यायको बिरोधमा डटेर प्रतिकार गरेका थिए । उनको मृत्यु मात्रैले यो द्वन्द्व थामिएन । जमिन्दारहरुको ज्यादतिबाट आजित भएपछि उनीहरु नयाँ ठाउँको खोजमा भौतारिन थाले । हजारौँ थारु परिवारहरु सम्भवतः बिसको दशकमा पेटभरि भात र स्वतन्त्रता खोज्दै दाङ्गबाट बुह्रान र मल्व्हारा झरे । आफ्नै खेतिपाति र सँस्कृतिमा रमाउने सपना बोकेर उनीहरुले पुर्खाहरुले आवाद गरेको थात थलो छोड्ने क्रम लामो समय जारि रह्यो । गुम्रा थारुको जीवनीमा लेखक शेखर दहितले ईतिहासमा दबिएका थारुहरुका दुखका अनेकन पोकाहरु छताछुल्ल पारेका छन् । गुम्रा थारुको कथा पढ्दा पाठकहरुको मन कतै आक्रोशले रातो हुन्छ त कतै आँसुले आँखा भिज्छन ।

थारु समुदायमा गुम्रा थारु एउटा बिम्ब बनेका छन । उनको शालिक दाङ्गको घोराहि ट्राफिक चोकमा उभिएको छ । त्यहि शालिकको अगाडि एउटा उन्मत्त घोडाको पनि शालिक ठडिएको छ । उड्न लागेको घोडाको शालिकले गुम्रा थारुको शालिकलाई ओझेलमा पारिदिएको छ । यस्तो लाग्छ कि त्यो घोडाको शालिक जमिन्दारहरुको दम्भको प्रतिक हो । ( पेज ८२ ) । गुम्रा थारुको शालिक समेत कुनामा सिमानामा पारिएको लेखकको बुझाई छ ।

थारु जोधाको तेस्रो जीवन कथा रेशमबहादुर थारुको रहेको छ । रेशमबहादुर थारुको बसोबास बर्दिया लक्षमणामा रहेको छ । उनको नाम बर्दियाको कन्द्रा फाँटामा थारु कमैयाहरुले गरेको शसक्त कन्द्रा आन्दोलनसँग जोडिएको छ । कन्द्रा आन्दोलन कमैया मुक्ति आन्दोलनको एउटा फिलिङ्गो थियो । बिशेषगरि तराई क्षेत्रमा ब्याप्त अमानबिय कमैया प्रथालाई उन्मुलन गर्ने आगोको झिल्को बनेर कन्द्रा आन्दोलन शुरु भएको थियो । कन्द्रा आन्दोलनका अगुवाहरु जग्गा प्रसाद पाण्डे र काशिराम थारु दिनेश श्रेष्ठ देखिन्छन् । आन्दोलन अघि बढ्दै जाँदा मध्यान्तर पछि उनीहरु आन्दोलनको मोर्चाबाट बहिस्कृत हुन्छन र त्यो रिक्त ठाउँ लिन आईपुग्छन् रेशमबहादुर थारु । रेशम थारु शारिरिक रुपमा अग्ला छन । उनको आवाज पनि ठुलो र हक्की छ । उनी निडर र निर्भिक छन् । आफुलाई लागेको कुरा बोल्न उनी रत्तिभर डराउँदैनन । आन्दोलनलाई जहिल्यै जोशिलो पात्रको खोजि हुन्छ । कन्द्रा आन्दोलनले खोजेको नायकमा हुनुपर्ने गुण सायद रेशममा थियो कि ? हिम्मतिला र जुझारु रेशम थारुलाई ब्यक्तिगत रुपमा मैले पनि राम्रो सँग चिनेको छु । आन्दोलनलाई गन्त्ब्यमा पुर्याउन उनी निरन्तर जुटिरहन्छन् । उनका विरुद्धमा अनेक चालबाजि र षड्यन्त्र हुन्छन् । फेरि पनि ऊनी आन्दोलन बाट दायाँबायाँ हुँदैनन ।

कन्द्रा आन्दोलनको जगमा उभिएको कमैया आन्दोलनको बाछिटाले कैलाली देखि कंचनपुरसम्मको सामन्ति भुमिब्यवस्थालाई मज्जाले रुझाउछ । कमैयाहरुको आन्दोलनले बर्षौँदेखिको सामन्ति प्रणालिलाई जगैदेखि हल्लाईदिन्छ । प्रशासनले कन्द्राका कमैयालाई लखेट्न हात्ती डोजर र सुरक्षाकर्मि प्रयोग गरेर उनीहरु बसेको बस्ति उजाडिदिन्छ ।(पेज ९६) । कमैयाहरु जस्तो सुकै बिपत्तिको सामना गर्न तयार हुन्छन । आन्दोलन झनझन चर्किँदै जान्छ , फैलिँदै जान्छ । अन्ततः सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गर्दछ । नेपालको ईतिहासमा यो ऐतिहासिक दिन थियो । थारु समुदामा ब्याप्त कमैया प्रथा जस्तो एउटा कालो धब्बाको अन्त्य भएको दिनको रुपमा यो दिनको पछिसम्मै स्मरण भैईरहनेछ । कन्द्रा आन्दोलनकै जगमा उठेको कमैयाहरुको सङ्घर्षको रापतापबाट सरकारले कमैया प्रथाको अन्त्य घोषणा गरेको कुरालाई रेशम थारुको जिवनकथामा छर्लङ्ग पारिएको छ । रेशम थारुको नाममा एउटा बस्तीको नाम नै रेशमपुर गाउँ राखिएको छ ।

थारु जोधा पुस्तकमा समेटिएका अर्का जोधा हुन ‘शिबरतन थारु’ । उनी मोतिपुर बर्दियाका किसान थिए । उनका बाबु बिश्राम थारु कपिलबस्तुबाट बर्दियाका जमिन्दार हरिहर शर्माका कमैया बस्न आएका थिए । हरिहर शर्माको जमिन्दारि मोतिपुरमा पनि थियो । हरिहरको मोतिपुर मौजा मै बस्दथे शिबरतन थारु । दरबारको निगाह पाएका उनी कमैयाका अगुवा थिए । थारु नेता राधाकृष्ण थारुका समकालीन थिए । पछिल्लो पटक उनी राष्ट्रिय पन्चायत सदस्य बनेका थिए ।

उनले पटकपटक राजा बिरेन्द्रसँग भेट गर्ने अवसर पाएका थिए । ‘तिम्रो माग के छ चौधरी…’ भनेर राजाले सोध्दा सरकार हामीलाई पानी सिचाई गर्ने कुलो आवस्यक छ भनेका थिए । मानखोला र भादामा पूल नहुँदा बर्दियाका जनतालाई हिँडडुल गर्न गाह्रो भएकाले दुई वटा पुल बनाईदिनु पर्यो भनेर माग गरेका थिए ।

यो त्यो समयको कुरा हो जतिबेला बर्दियामा कहिँ कतै पक्की बाटो थिएन । पानी सिचाईको सुबिधा थिएन । खोला नदीमा पूल थिएनन । स्कुल थिएनन । त्यतिबेलाको बर्दिया र आजको बर्दियाको बिचमा जमिन आकाशको अन्तर छ । बर्दियाको पुरानो स्वरुप नै पुरै बदलिएको छ । लेखक दहित, शिबरतन थारुले पहिलोपटक राज्यसँग जनताको लागि पूल र सिचाईको माग राखेको कुरा महत्वपूर्ण र ऐतिहासिक भएको ठहर गर्दछन् ।

बाँके जिल्लाको जि गाउँ बजारमा एउटा प्रतिक्षालय छ, ‘बैजनाथ प्रतिक्षालय’ । बैजनाथ थारुको होला ? धेरैलाई खुल्दुलि लाग्नु स्वभाविकै हो । अहिले त झन बाँके जिल्लाको एउटा गाउँपालिकाको नाम नै बैजनाथ गाउँपालिका राखिएको छ । अझ रोचक कुरा यो छ कि २०७८ सालको जनगणना अनुसार नेपालकै सबैभन्दा बढि जनसँख्या भएको गाउँपालिका पनि यहि बैजनाथ गाउँपालिका भएको छ । आखिर बैजानाथ को हो त ?

बैजनाथ थारु पेरारीका किसान थिए । उनले तत्कालिन जमिन्दारहरुका विरुद्धमा ठुलो सङ्घर्ष गरेका थिए । सङ्घर्षमा उनको हार र जमिन्दारहरुको जीत भएको थियो । बैजनाथ थारुले जमिन्दारहरुका बिरुद्व युद्व छेडेका थिए । जमिन्दारलाई कुनै पनि फसलको हिस्सा नदिने अभियान चलाएका थिए । जमिन्दारहरुले बैजनाथलाई हत्या गर्न सबैसँग रकम जुटाएर भारतबाट भाडामा सिपाहि ल्याएर पेरारी गाउँलाई चारैतिरबाट घेरा हालेका थिए । आफुलाई पकड्न आएका सैनिकहरुलाई देखेपछि बैजनाथ घरभित्रै धानको भकारीमा लुकेका थिए । खानतलासिको क्रममा लुकेर बसेका बैजनाथलाई सैनिकले पक्डेर बन्दुकको कुन्दाले हान्दै, लाठि र बुटले भकुर्दै मरणासन्न अवस्थामा छोडेका थिए । सैनिकहरु गैईसकेपछि हेर्दा बैजनाथको ढुकढुकि चल्दै रहेछ । तत्काल उनलाई नेपालगन्ज पुर्याईयो । उपचारको क्रममा तिन दिन पछि उनको मृत्यु भयो । यो बिक्रम सम्बत २००७ साल चैत्र १४ गतेको घटना थियो । थारु जोधा पुस्तकमा बैजनाथ थारुको पुरै जीवनी समेटिएको छ । नेपालि कंग्रेस समर्थक बैजनाथ थारुलाई किसान सहिदको रुपमा स्मरण गर्दछन् । उनको अन्त्यष्टिमा स्वयं बिपि कोईराला उपस्थित थिए ,लेखकले लेखेका छन ।

आज भन्दा सत्तरि बर्ष अघिको घटनालाई लेखकले जिवन्त तरिकाले समेटेका छन । बैजनाथको कथा पढिँरहँदा कुनै योद्वाको फिल्म हेरिरहेजस्तो अनुभुति हुन्छ ।
तपाईंहरु धेरैले गुलरिया आवतजावत गरिरहँदा बजारको चौकमा एउटा ठिङ्ग उभिएको शालिक देख्नु भएको होला । तपाईंले याद गर्नु भएको छ, त्यो शालिक राधाकृष्ण थारुको हो । राधाकृष्ण थारुको शालिक देखेपनि उनी को हुन् र उनको सामाजिक ब्यक्तित्व के हो ? समाजको लागि उनको योगदान के हो भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । थारु जोधामा राधाकृष्ण थारुको जीवनका लुकेका अनेक पाटाहरु उघारिएका छन् ।

राधाकृष्ण थारुको जन्म जमिन्दार र सम्पन्न परिवारमा भएको थियो । उनलाई नपुग्दो केहि थिएन । बर्दियामा उनीहरु जस्तै पहाडी राणा र मधेसी जमिन्दारहरु थिए । थारु किसानहरुलाई अन्य जमिन्दारहरुले गरेको दमन शोषण देखेर उनी बिरक्तिएका थिए । उनी किसानहरुको पक्षमा उभिएको देखिन्छ । उनी नेपाली काँग्रेसका कार्यकर्ता थिए । २०१५ सालको आमनिर्वाचनमा नेपाली काँग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

पंचायत कालमा उनी भुमिगत भए । जेलनेल भोगे । देशमा प्रजातन्त्र र थारु किसानहरुको जीवनमा उज्यालो देख्ने उत्कट चाहनाका बिचमै उनले २०४६ सालमा यो संसारबाट बिदा भए । उनी यो संसारमा भौतिक रुपमा छैनन र पनि थारु किसान उनलाई थारु जननेता मान्दछन । उनका कथा पढिरहँदा उनीप्रति असिम श्रद्वाभाव जागेर आउँछ ।

थारु जोधामा समेटिएका अन्तिम पात्र सोमप्रसाद कथरिया हुन । सोमप्रसाद थारु अझै जिवित छन् । उनको बसोबास बर्दिया भौराटप्पामा रहेको छ । उनी वि.स.२०३९ सालदेखी कुलापानीको अगुवा छानिएका हुन । भौराटप्पा बर्दियाको बिकट टापु हो जसको चारैतिर कर्णालीको भंगालोले घेरिएको छ । भौराटप्पालाई थारु किसानहरुले अथक मिहिनेत र परिश्रमले उब्जाउ बनाए । कालान्तरमा भौराटप्पामा अनेक ठाउँबाट थारु समुदायका मानिसहरु नदी तरेरै भौराटप्पा आईपुगे । हेर्दाहेर्दै त्यहाँ ठुलो मानब बसोबास भयो । उनिहरुले बस्तिमा बाटो बनाए , कुलो खनाए र एउटा सुन्दर संसार निर्माण गरे । “फेर्को एकठो लौव थारु गाउँ, थारु समाज भौरा टप्पम बैठल रह !“ (पेज १९८)

भौराटप्पाको सुन्दरता र मलिलो उब्जाउ जमिन देखेर अन्य समुदायका मानिसहरु पनि भित्रीन थाले । उनीहरुले बिभिन्न बहानामा सोझा थारुहरुलाई दबाउन थाले । दाङ्ग जिल्लामा जस्तै किसान र जमिन्दार बिचका रस्साकस्सिहरु भौराटप्पामा पनि घटित हुनथाले ।

थारु जाति अत्यन्त मिहिनेती कर्मशिल र काममा जुटिरहने जाति हो । उनीहरु सकेसम्म अरु कसैको काममा अनावश्यक हस्तक्षेप गर्दैनन । कसैले ज्यादती गर्छ भने सामुहिक रुपमा प्रतिकार गर्न पनि पछि पर्दैनन । थारु जातिको कर्म, मनै देखि कृषि हो । उनीहरु तन मन दिएर जमिनलाई माया गर्छन् । श्रम र पसिना सिँच्दछन र स्वादिलो अन्न उब्जाउछन । उनीहरु कृषि पेशामा मनैदेखि समर्पित हुन्छन् । थारु समाज जहिल्यै सामाजिक निति नियम र मुल्य मान्यतामा चल्ने गर्दछ । भौराटप्पालाई चलायमान बनाउन अनेक सामाजिक नियमहरु मध्येको सबैभन्दा महत्वपूर्ण र प्राथमिकतामा रहेको पद कुलोपानीको पद हो ।

सोमप्रसाद कथरिया, त्यहि कुलोपानीका ‘चौधरी’ थिए । सोमप्रसाद थारुमा भौँराटप्पाको सिंचाईको लागि देखिने सोच , चिन्तन हेर्दा उनी आफ्नो कर्ममा कुन हदसम्म समर्पित छन् भनेर सहजै अनुमान गर्न सकिन्छ । उनको मनमा जतिबेला पनि नदीको पानीलाई कसरी सबैको खेतमा पुर्याउने भन्ने चिन्ता मात्रै देखिन्छ । उनीहरुले कर्णाली नदीको पानीलाई खेतका प्रत्येक गरामा बर्षौदेखि पुर्याउदै आएका छन् । यहि काम गर्न राज्यको अरबौँ खर्च चाहिन्छ र पनि राम्रो नतिजा हात लाग्दैन । एउटा थारु अगुवा जसले सारा गाउँलेहरुलाई समेटेर फरुवा र गलको भरमा त्यत्रो कर्णालीको बहाबलाई अर्को बाटोमा मोडेर किसानका खेतका गरा गरामा पुर्याउने सामर्थ राखेको उनको कथा पढ्दा थाहा हुन्छ । बास्तबमै सोमप्रसाद थारुको काम अनुकरणीय र अदम्य छ । यो साहस जो कोहिले गर्न सक्दैनन । उनले सारा गाउँलेलाई बर्षौँदेखि नेतृत्व गरिरहेका छन् । उनको नेतृत्वलाई चुनौति दिने आँट कसैसँग छैन ।

भौराटप्पामा माघ फागुन देखि बैशाख जेठसम्म बस्तीका किसानहरु ‘डेसाहुर’ जाने चलन छ । ‘डेसाहुर’ जाँदा उनीहरु जँगल, खोलाकै किनारमा बस्दछन, त्यहिँ खाना पकाएर खान्छन र त्यहिँ झोपडी बनाएर रात गुजार्छन । ‘पनगुर्वा’ले आफुहरुको काम सफल होस भनेर पानीको देउतालाई पुजा गर्छन । पशुहरुको बलि चढाउँछन र नदीको पुजा गर्दछन । डेसाहुरमा कहाँ बाट कुलो खन्ने , कहाँ बाँध बाँध्ने जस्ता काम पानीका गुर्वाको सल्लाहमा हुने गर्दछ । कर्णालीले कहिले बालुवाले खेत पुरिदिन्थ्यो । कहिले बाढिले बालि सखाप पारिदिन्थ्यो । त्यसैले पनि उनीहरु ‘डेसाहुर’ जाँदा साईत हेरेर जाने गर्दछन ।

सोमप्रसाद थारु अझै पनि कुलोपानीको जिम्मेवारीलाई आफुले सकेसम्म जीवन्त र चुस्त तरिकाले कर्तब्य निभाईरहेका छन । भौराटप्पाबासिको मनोकामना सधै पुरा भैईरहोस हामि पनि कामना गरौँ ।

लेखकको यो कृति कमैयाहरुको न्यायपूर्ण आन्दोलन र निरन्तर सङ्घर्षको दस्ताबेज हो यो पुस्तक । राणाशासन, पन्चायती शासन, बहुदल, सशस्त्र द्वन्द्वहुँदै गणतन्त्रले ल्याएको यो बिहानीसम्मका थारु जीवनका उकाली–ओरालीहरु, दमन र उत्पीडनहरु सिँगो पुस्तकभरि खाँदाखाँद भेट्न सकिन्छ ।

पुस्तकले थारुहरुको ऐतिहासिक बिषयबस्तुलाई समेटेको छ । नेपालको पूर्वि तराईदेखि पश्चिम तराईको अन्तिम सिमासम्म अज्ञात समयदेखि थारु जातिको बसोबास रहिआएको छ । उनीहरुले डरलाग्दो औलो रोग देखि जङ्गली हिँस्रक जनावर र प्राकृतिक बिपत्तिहरुसँग जुझ्दै बर्षौँदेखि तराईको जमिनलाई उर्बर बनाएको र आवाद गरेको देखिन्छ । समय अन्तरालमा तराई क्षेत्रमा अन्य समुदायको पनि प्रबेश बढ्दै जान्छ । थारु जातीको सोझोपनको फाईदा उठाउँदै कतै डर,धम्कि देखाएर कतै छलछाम,जालसाझी गरेर त कतै कानुनी प्रावधानहरु तेर्स्याएर उनीहरुले थारुहरुले कमाई आएको भुमिदेखि बेदखल पार्दै जान्छन् । यो क्रम अद्यपि जारी छ । आफुहरुमाथि भैईरहेका तमाम खाले उत्पीडन र दमन बिरुद्वमा थारुहरुले संगठित आवाज उठाउने काम गरेका छन् । प्रतिकारमा पनि उत्रिएका छन् । यि सबैखाले घटना र समयको साक्षीको रुपमा ‘थारु जोधा’ आएको छ ।

सगुनलाल थारु , बैजनाथ थारु , गुम्रा थारु यस क्रममा मारिएका छन् । कतिले जेलनेल, अप्रवासी जीवन बेहोरेका छन् । त्यो क्रम अझै रोकिएको छैन । सशस्त्र जनयुद्वकालमा सयौं थारु युवाहरुले सहादत प्राप्त गरेका छन् । कैयौं बेपत्ता पारिएका छन् । कैयौं अंगभंग भएका छन् । थारुहरुको संगठित आक्रोश टीकापुर घटनासम्म आईपुगेको छ । अझैपनि थारु समुदायले आफुहरुप्रति राज्यले उपेक्षापूर्ण ब्यवहार गरिरहेको कुरालाई बेलाबेलामा उठाईरहेका छन् ।

शेखर दहितको ‘थारु जोधा’ समग्रमा भन्नुपर्दा अहिलेसम्म नलेखिएको थारु सङ्घर्षको ईतिहासको उठान पनि हो । उनले पुस्तक लेखन क्रममा धेरै मानिससँग कुरा गरेका छन र ऐतिहासिक दस्ताबेजहरुको अध्ययन पनि गरेका छन् । हरेक कथाहरु यति जीवन्त छन यस्तो लाग्छ कि ति घटनाहरु घटित हुँदा लेखक घटनास्थलमै थिए । उनले थारु समाजबाट लुप्त भैईसकेका शब्दहरु प्रसस्त प्रयोग गरेका छन् । स्थानीय बोलिचालीको लवजमा ठाउँहरुको नाम लेखिएकाले अलग्गै थारु समाजको सुगन्ध भेटिन्छ ।

पुस्तकमा केहि कमि कमजोरी पनि छन् । भुमिसुधार आयोगका अध्यक्ष केशब बडाल हुनुपर्नेमा केशब बराल भएको छ । ( पेज १०३)
बर्दिया राष्ट्रिय निकुञ्ज हुनुपर्ने बाँके राष्ट्रिय निकुञ्ज भएको छ । ( पेज २९) । पुस्तकमा धेरै कुरा रिपिट भएका छन् । पढ्ने क्रममा दोहोरिएका ति प्रसँगहरु भने खासै बिझाउँदैनन । झर्कोफर्को लाग्दैन । ‘थारु जोधा’ शेखर एक्लै (वन म्यान आर्मि ) एकल प्रयास बाट निक्लिएको र भाषा या अन्य सामाग्रीको कमि भनौ कि बिज्ञ सम्पादकको अभावमा यि सानातिना कमजोरी देखिनु भनेको चामलमा धानका बियाँ भेटिएजत्तिकै हो ।

यो कृतिको अर्को पाटो,लैङ्गिक समाबेशिको पक्षमा कमजोर देखिएको छ । यस पुस्तकमा पुरुषहरुको मात्र जीवनगाथा समेटिएको छ । विभिन्न आन्दोलनमा महिलाहरुले पनि पुरुष जत्तिकै भूमिका निर्वाह गरे पनि उनीहरुको प्रसंग भने एकदमै कम देखिन्छ । जस्तै कन्द्रा आन्दोलनको योद्धा कौशिला थारु, भौराटप्पामा बेल्वाको ‘खलिहान आन्दोलन’मा कोइली देवी जसले सहादत प्राप्त गरिन उनीहरुको प्रसङ्ग निक्कै नै कम बर्णन गरिएको छ । त्यसैगरि ‘बेल्वा–बन्जारी किसान आन्दोलन’मा गाउँका सम्पूर्ण महिलाको योगदान लेखकले प्रसंग उठाए पनि कम छ । सायद अब आउने कृतिमा यि कुरामा पनि ध्यान दिनेछन् ।

शेखर, थारु भाषी लेखक हुन् । यति महत्वपूर्ण किताब थारु भाषामा लेखिएर थारु समुदायमा मात्रै पुग्छ । उनले यो पुस्तकलाई समानान्तर रुपमा नेपालि अङ्ग्रेजी र थारु भाषामा निकाल्नु पथ्र्याे । अनि मात्र उनको लेखनीको स्वाद आम पाठकहरुले अनुभुत गर्न पाउने छन् । उनी आफै पनि अङ्ग्रेजी साहित्यका बिद्यार्थी हुन । उनी आफ्नो रोजगारदातासँग अङ्ग्रेजीमा कुरा गर्छन र अंग्रेजीमै रिपोर्टिङ गर्दछन् । उनका कैयौ साथीभाईहरु पहाडी समुदायका छन् र उनी नेपालीमै पनि बिभिन्न लेखहरु लेख्ने गर्दछन्,भन्न खोजेको के भने उनी तिन वटै भाषामा पोख्त छन् । त्यसैले उनले आफुले लेखिसकेका कृतिहरुलाई अङ्ग्रेजी र नेपाली भाषामा पनि अनुवाद गर्न सके भने उनको परिचय थारु समुदायमा मात्रै सिमित रहनेछैन ।

थारु भाषाका कथा नयनराज पाण्डे, महेशबिक्रम शाह, रामलाल जोशी अथवा अन्य पहाडे स्रस्टाका आँखाबाट वा उनीहरुका अनुभुतिबाट पढन अभिशप्त हामी पाठकहरु अब थारु समुदायबाट उनीहरुकै आँखाबाट उनीहरुकै अनुभुतिमा,उनिहरुका पुर्खाले भोगेका दुख र सङ्घर्षका कथा पढ्न पाउँ । त्यस दिशामा ‘थारु जोधा’ थारु साहित्यमा कोशेढुङ्गाको रुपमा स्थापित हुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ । यो पुस्तक नेपाली भाषामा समेत अनुबाद भैईदिए एकजना थारु स्रस्टाले लेखेको थारु गाउँका अर्गानिक कथाबस्तु आम नेपाली पाठकले समेत अनुभुत गर्न पाउने थिए भन्ने मेरो मनसुबा हो ।

हामी समतामुलक न्यायपूर्ण समाजको परिकल्पना गर्दै रहँदा सबै तह र तप्काबाट उनीहरुका समाजका सङ्घर्षका कथाहरु आउन भन्ने चाहना राख्दछौं । यस्तैमा थारु समुदायका शेखरले यो गुनिलो पुस्तक ल्याएका छन् । पुस्तक बास्तबमै सह्रानिय र पठनिय छ । ‘थारु जोधा’ ऐतिहासिक दस्ताबेज हो । यसले बाँके, बर्दियादेखि दाङ्गका थारुहरुको ऐतिहासिक सङ्घर्षका कथाहरुलाई समेटेको छ । पुस्तक पठनिय मात्रै होईन संग्रहणिय पनि छ । शेखर दहित, थुप्रै सम्भावनाहरु बोकेर साहित्य फाँटमा प्रबेश गरेका हुन । हुने बिरुवाको चिल्लो पात भनेझैँ उनले शुरुवाति दिनहरुमै आफ्नो औचित्यता साबित गरेका छन् । युवा लेखक शेखर दहितलाई यो अनुपम कृतिका लागि धेरै धेरै बधाई र शुभकामना ।