आमा क्याफे : जहाँ १५ सदस्यमध्ये १३ जना थारु महिला

लुम्बिनी, २७ कात्तिक । लुम्बिनीको मध्य भागको शान्ति दीप छेउमा अचेल चहलपहल बढेको छ । चिनियाँ इँटाबाट निर्मित सुरुङ आकारको भवनको ढोकामा उभिएर महिलाले पाहुनाको स्वागत गर्छन् । ढोका उघारेर भित्र पस्नासाथ नुनसहितको कागतीपानीले सत्कार गर्छन् ।

गर्मीमा तिर्खाएकाले सर्बत पाएपछि खुसी व्यक्त गर्छन् । यहाँस्थित अम्मा (आमा) क्याफेमा आएका पाहुनासित गुलाबी रङको कुर्ता–सुरुवालमा सजिएका महिलाले भलाकुसारी गर्छन् । पाहुनाले चिया, कफी अर्डर गर्छन् । महिलालाई आगन्तुकको माग पूरा गर्न भ्याइनभ्याइ हुन्छ ।

स्थानीय महिलाको जीविकोपार्जनमा सघाउने उद्देश्यले सञ्चालित अम्मा क्याफेमा अहिले भीड लाग्ने गरेको छ । १५ जना महिलाको समूहले क्याफे सञ्चालन गरेको हो । समूहका १३ सदस्य चौधरी समुदायका महिला हुन् । उनीहरूले साँझ र बिहान गरी दुई सिफ्टमा काम बाँडेका छन् । यहाँका महिलाको सीप विकास गर्न विश्व विकास बैंकले आर्थिक सहयोग गरेको छ । यहाँ बिहानमा खटिने आठ जनाको नेतृत्व २५ वर्षीया ज्योति चौधरीले गर्छिन् ।

क्याफे सञ्चालन गरेको डेढ महिना पुग्यो । ‘अहिले क्याफे सञ्चालन गरेर व्यवसायी बन्न पाउँदा खुसी लागेको छ,’ ज्योतिले भनिन्, ‘सुरुमा गर्न सकिन्छ कि सकिंदैन, कसरी गर्ने भन्नेजस्ता प्रश्न थिए, अहिले क्याफे चलेपछि आम्दानी हुन्छ भन्नेमा ढुक्क छौं ।’ उनीहरूको क्याफेमा भीड देखेपछि छिमेकी पनि छक्क परेका छन् । ३४ वर्षीया सुनिता चौधरी क्याफेमा खटिन्छन् । दुई छोरा र श्रीमान्लाई खाना पकाइवरी आफ्ना लागि टिफिन बोकेर सबेरै उनी क्याफेमा पुग्छिन् । सरसफाइ गरेपछि उनीहरूको व्यावसायिक दैनिकी सुरु हुन्छ ।

लुम्बिनी घुम्ने पर्यटक बढेपछि चियाको व्यापार बढेको सुनिताले बताइन् । क्याफेमा पिज्जा, स्यान्डविचसँगै अन्य खाजाका परिकार, मिल्कसेक र आइसक्रिम पाइन्छ । ‘बिहान चिया पिउनेको भीडभाड हुन्छ,’ सुनिताले भनिन्, ‘घुम्दा गर्मी हुने र आरामका लागि शीतलमा बस्ने थलो क्याफे बनेको छ ।’ थकाइ मेट्नेहरू चिया वा अन्य कुनै पेय पदार्थ भए पनि लिएर बाहिरिने भएकाले व्यावसायिक हिसाबले आफूहरूलाई फाइदा भइरहेको उनले बताइन् । सुरुमा अप्ठ्यारो लागे पनि अहिले बानी परिसकेको र मासिक तलब बुझ्दा आफूले श्रम गरी कमाएको आम्दानीको माया लाग्ने उनले बताइन् । क्याफे सञ्चालनका लागि विश्व विकास बैंकले दुई महिनाको सबै खर्च व्यहोरिदिने भएको छ । त्यसपछि १५ जनाले संयुक्त लगानी गरेर क्याफे चलाउने बताए । नाफाबाट सामान किन्ने, क्याफे सञ्चालन अघि बढाउने र नाफाको ५० प्रतिशत क्याफेमै खर्च गरी बचेको रकम बाँड्ने योजना उनीहरूले सुनाए ।

५० वर्षीया गीता चौधरीको साहुनी अनुभव बेग्लै छ । विद्यालयको ढोकाभित्र पस्न नपाएकी उनी क्याफेमा सबैभन्दा खटिने र अग्रज सञ्चालकमा पर्छिन् । हरेक ग्राहकको प्रवेशसँगै गीता उनीहरूलाई मेनु दिने र के ल्याम् भनी सोध्ने गर्छिन् । ग्राहक आइदिए क्याफे चल्ने भएकाले हर्षका साथ सेवा गर्न मन लाग्ने उनले बताइन् । घरमा तीन छोरा र बुहारी छन् । उनीहरूले घरको धन्दा सम्हालिदिएकाले आफू व्यावसायिक बन्न पाएको गीताले बताइन् । परम्परागत शैलीमा चलिरहेका यी महिलाको जीवन अम्मा क्याफे सञ्चालनले बदलिदिएको छ । गाउँमा भात पकाउने, घाँस काट्ने र बालबालिका हेरेर बस्ने उनीहरू अहिले व्यवसायी बनेका छन् । कान्तिपुर दैनिकबाट ।