किसान सधै आर्थिक जोखिममा

जलबायु दीर्घकालिन मौसम हो जुन हामीले सामान्यतया यस ग्रहमा बाँच्ने सबै जीवजगत, चराचर, पशुपंछी, भिमकाय जनावर देखी सुक्ष्म जीव, परजिवीले समेत अनुभव गरिरहेका हुन्छन् । यस ग्रहमा बाँच्नको लागी सबै जीवित प्राणीहरुलाई एक विशिष्ट जलबायुको आवश्यक्ता पर्दछ । तर सन १८०० को दशक देखि जब औद्योगिक क्रान्ति शुरु भयो यस ग्रहमा पहिले भन्दा धेरै गुणा छिटो तापक्रम बढ्न थाल्यो । औद्योगिक क्रान्तिले गर्दा हरितगृह ग्यासको उत्सर्जन ह्वात्तै बढेर गयो । कार्वनडाइअक्साइड, मिथेन लगायत अन्य हानिकारक ग्याँस वायुमण्डलमा हावा जस्तै अदृष्य तह भई जम्मा हुन थाल्यो । अन्तरिक्षमा फर्कन नपाई यस ग्रहको तापमानलाई न्यानो पार्दै गयो । फलस्वरुप जलवायु परिवर्तनको चरम उत्कर्षको परिणाम तथा प्रतिकुल असर यस ग्रहमा पर्दै गयो । फलस्वरुपः अतिबृष्टि, अनाबृष्टि, खण्डबृष्टि,अनियमित वर्षा, मौसमी ढाँचामा परिवर्तन, किराका संक्रमण, सुख्खा, खडेरी, बाढी पहिरो, भुक्षय, सितलहर, अधिक गर्मी जस्ता प्राकृतिक प्रकोपबाट जलचर, थलचर लगायत बायुमा बस्ने प्राणीलाई प्रतिकुल असर पारिरहेको छ । तापमान बृद्धिसंगै हिमनदी, हिमताल, हिमपर्वतहरु तिब्र गतिमा पग्लिदैछन् जसले गर्दा महासागरको सतह पनि बढ्दै गएको छ ।

हालैको ग्लोबल कार्वन प्रोजेक्टको डाटा हेर्ने हो भने सबै भन्दा बढि कार्वनडाइअक्साइड ग्याँस उत्पादन गर्ने देशहरुमध्ये चीन पहिलो स्थानमा पर्दछ जसले एक वर्षको अवधिमा लगभग १०.०६ अरब मेट्रिकटन उत्पादन गर्दछ । त्यसैगरि बढि हरितगृह ग्याँस उत्सर्जन गर्ने देशमा क्रमश संयूक्त राज्य अमेरिका, भारत, रुस र जापान हुन् । कार्वनडाइअक्साइड एक गन्धरहित ग्याँस हो जुन यस ग्रहमा जीवनको लागि एकदमै महत्वपूर्ण छ । यसलाई हरितगृह ग्याँस पनि भनिन्छ, तर यसको अत्याधिक उत्सर्जनले प्राकृतिक विनियमलाई बाधा गर्दछ जसले गर्दा जलवायुमा प्रतिकुल असर देखिन थाल्दछ ।

जलबायु परिवर्तनका विभिन्न सूचक तथा तथ्याङ्क केलाउदा विकसित राष्ट्रहरुले नै सबैभन्दा बढि हरितगृह ग्याँस उत्सर्जन गर्दछन् तर सबै भन्दा कम जोखिममा देखिन्छन् । दुर्भाग्य नेपाल जस्तो कम हरितगृह ग्याँस उत्सर्जन गर्ने अल्पविकसित देश प्राकृतिक प्रकोप, जलवायु परिवर्तनका असरको सधै उच्च जोखिममा रहन्छन् कारण प्राकृतिक प्रकोपबाट बच्न राज्यसंग ठोस नीति छैन् । प्राकृतिक प्रकोपसंगै बाँच्ने पूर्व तयारी छैन । मौसम पूर्वानुमान सूचना प्रणाली व्यवस्थित छैन । नागरिकलाई जलवायु परिवर्तनको कुनै सचेतना छैन । प्रभावकारी स्थानीय अनुकुलन योजना छैन । भौगोलिक हिसाबले आवधिक जोखिम अध्ययन छैन आदी इत्यादी ।

नेपाललाई विश्वमा चिनाउन थुप्रै पर्यायवाची शब्दहरु छन् जस्तै सगरमाथाको देश,बनजंगल नदीनालाको देश, कृषि प्रधान देश, खाद्यको भण्डारको देश आदी । जसले जसरी चिनाए पनि नेपालको मुल मेरुदण्ड भनेको नै कृषि, पर्यापर्यटन, आदी हो । तर दुखका साथ भन्नुपर्दा, सरकारले यी क्षेत्रलाई कहिल्यै आफ्नो उच्च प्राथमिकतामा ल्याएको देखिदैन । सिङ्गो देशलाई पाल्ने किसानका लागि कहिल्यै पनि कृषि नीति तथा कार्यक्रमहरुमा उचित बजेट विनियोजन गरेको देखिएन । किसानहरुलाई कृषि व्यवसाय गर्न प्रोत्साहन गर्न सकेको छैन ।

अनेपक्षित रुपमा कहिले एकदमै कम या बढी वर्षाले गर्दा किसानहरु वर्षौदेखि बालीनालीमा क्षति भइरहेको क्रन्डन अहिले पनि संसद भवनमा छलफलको विषय बन्न सकेको छैन । अरु कुरा त छोडौ, किसानहरुले कृषि वीमा बापत तिर्नुपर्ने जम्मा ५ प्रतिशत रकमका लागि पनि आकर्षण गर्न सकेको छैन । त्यसैले यस्ता सरकारी औचित्यहिन नीति तथा कार्यक्रम बनाउनुको कुनै अर्थ देखिदैन ।

बर्षौ देखि नेपालको तराईका जिल्लाहरुमा लगातार २/३ दिनको वर्षाले मात्र पनि डुवानमा परिरहेको देखिन्छ । हजारौ हेक्टर खेतबाली नोक्सान गरिरहेको छ । खेती योग्य जमिन नदीले कटान गर्दैछ । पहाडी जिल्लाहरुमा पहिरोले पुरिएर गाउँ नै सखाप भइरहदा पनि त्यस्ता जोखिम बस्तिलाई पुनःस्थापना गर्न सरकारको न त कुनै पहल गरेको सुनिन्छ न त कुनै नीति अगाडी ल्याएको छ । सधैजसो कर्णालीवासीहरु लगायत अन्य क्षेत्रका बासिन्दाहरु खाद्य संकटमा परिरहदा पनि खाद्य सुरक्षा नीति अहिलेसम्म लागु गर्न सकेको छैन ।

विश्वव्यापी रुपमा जलबायु परिवर्तनको प्रतिकुल असरलाई न्यूनीकरण गर्न विभिन्न देशहरुले अप्नाएका सुरक्षा नीति बारे नेपाल अनभिज्ञ देखिन्छ । नभए खाद्य सुरक्षाका लागि खाद्य उपलब्धता, खाद्यमा सहज पहुँच, प्रयोग, दीगोपनाका लागी बहुआयामिक जलबायु परिवर्तनका विषयमा ठोस नीति बनाई प्रभावकारी ढंगले कार्यान्वयन गरिरहेको हुन्थ्यो होला । स्वास्थ्य क्षेत्रमा गरिएको अनुसन्धानलाई हेर्दा पनि अड्कल काट्न सकिन्छ । कृषि प्रधान देशमा अहिले पनि ३३ प्रतिशत भन्दा वढी मान्छे खाद्य असुरक्षाबाट प्रभावित छन् भने ३६ प्रतिशत बालबालिका खाद्य अभावले पुड्को भएको पाइएको छ । त्यसैगरी ३५ प्रतिशत प्रजन्न उमेरकालाई रक्तअल्पता देखिएको छ ।

जलबायु परिवर्तनले कृषि, स्वास्थ्य, शिक्षा, आवास, भौतिक पूर्वाधार, गरीवि जस्ता बहुआयामिक प्रभाव पारेता पनि प्रत्यक्ष असर भने किसानलाई देखिन्छ । किसानहरु जल, जमिन र जङ्गलको सधै समिपमा रहने, प्राकृतिक स्रोतसाधनको उपयोग गर्ने भएकोले जलवायू परिवर्तनका असर तथा सूचक बारेमा बढी भुत्तभोगी हुन्छन् । अहिले देखिएको तापक्रम र बर्षामा भएको परिवर्तन, माटोको उर्वर शक्ति ह्रास, बालीमा विभिन्न किरा फट्याङ्ग्राको संक्रमण तथा प्रकोप, मौसमी तालिकामा देखिएको परिवर्तन, अतिबृष्टि, अनाबृष्टि जस्ता सूचकका बारे किसान सधै प्रभावित हुन्छन् । त्यसैले अब राज्यले अनुकुलित कृषि प्रणालीलाई जोडदिन आवश्यक छ ।

जलबायु परिवर्तनले गर्दा अन्नवाली उत्पादन हुन छोडेपछि केहि किसानहरु आफुमा भएको ज्ञान,सीप, क्षमता, जनशक्तिको गलत अभ्यास पनि भएको देखिन्छ, अन्न फलेन भन्दै अहिले आलुको पकेट क्षेत्र, माछा पाल्ने, तरकारी उत्पादन गर्ने भएकोले अन्नबाली उत्पादनमा ह्रास आएको देखिन्छ । त्यसैले कुनै पनि ठाउँको तत्कालिन लाभ र दीर्घकालिनरुपमा सन्तुलन बनाई राख्न किसानलाई सिकाउन जरुरी छ । एकैखाले बाली उत्पादनले आयआर्जनमा बृढि भएता पनि खाद्य असुरक्षाले जोखिम पनि उत्तिकै ल्याउछ । अहिले धेरै किसानहरु वाध्यताले आपना अभाव पुर्ति गर्न २/२ सिजन वाली लगाउने, उत्पादन बढाउन धेरै विषादी मलखाद् प्रयोग गर्दा माटोको उर्वराशक्ति क्षीण हुदै गएको छ जसले गर्दा खाद्य विविधतालाई सन्तुलन गर्न थप चुनौति थपिएको छ । यस्ता विषयहरु कृषक पाठशालामा छलफल हुन जरुरी छ ।
पहिले जस्तै किसानले भण्डारण गरि राखिने रैथाने वीउविजनहरु चाहे त्यो तरकारीको होस या धान गहुँ मकै भन्डारण गर्ने परम्परागत ज्ञान सबै लोप भइरहेका छन् । बढी उत्पादनको लोभले हाइव्रिड धान, मकै, आलु, तोरी लगायतका वीउ उच्च मूल्यमा खरिद गरि छर्ने लहर बढेको छ । एक तिर किसानहरुलाई आर्थिक व्ययभार थपिएको छ भने अर्को तिर हाइव्रिड वीउले विषादी मल प्रयोग नगर्दा किराको संक्रमण पनि उत्तिकै बढेको देखिएको छ । किसानहरु जलवायु परिवर्तनसंग सामना गर्न सक्षम देखिएका छैनन । किसानले प्रयोग गर्ने किट्नाशक रसायन प्रयोगले पनि थप जलबायुमा प्रभाव पारिरहेकोछ । साथै पानीजन्य रोगहरु जस्तै टाइफाइड, हैजा, झाडापखाला, आँखा पाक्ने, पट्ठरी जस्ता रोग पनि धेरै मात्रामा देखिएका छन् । जलवायु परिवर्तनले एकातिर उत्पादनमा ह्रास ल्याएको छ भने अर्कोतिर किसान सधै आर्थिक जोखिममा रहेको देखिन्छन् ।

त्यसैले जलवायु परिवर्तनको असरसंगै किसानहरुलाई अनुकुलित कृषि प्रणाली, बदलिदो बातावरण सुहाउदो कृषि उपजमा सचेत बनाउन जरुरी देखिन्छ । कृषि मन्त्रालय, बन तथा वातावरण मन्त्रालय लगायत मन्त्रालयहरुले जलवायु परिवर्तनसंगै जोडेर कृषि अनुकुलन कार्यक्रम सन्चालन गर्न अपरिहार्य छ । पछिल्लो समयमा मन्त्रालयले यूएनको खाद्य तथा कृषि संगठनसंग मिलेर जलवायुमैत्री कृषि लगानी अन्तर्गत पन्च बर्षिय योजनाको लागी ७० करोड अमेरिकी डलर ल्याएको भएता पनि प्रभावकारी ढंगले अझै पनि कार्यान्वयन हुन सकेको छैन । संघीय संसदीय समितिले ३ बर्षिय कृषि नीतिगत दस्तावेज तयार पारेको भएता पनि जलवायु अनुकुलनलाई कृषिसंग जोडिएको देखिदैन ।

त्यसैले अनुकुलित कृषि प्रणाली नीतिसंगै जलबायु परिवर्तनको मुद्दालाई उच्च प्राथमिकतामा राखि कृषि विज्ञहरुको समूह परिचालन गरि जलबायु परिवर्तनले ल्याउन सक्ने संभावित जोखिम कम गर्न सकिन्छ । त्यसैगरी, माटोको जैविक गुण बढाउने रणनीति, कृषि बन प्रवद्र्धन जस्ता नीति प्रभावकारी ढंगले कार्यान्वयन गर्न सकिन्छ । कृषकहरुले बर्षेनि उत्पादन गरेका बाली क्षतिको लागि कृषि वीमा, सहज तथा सहुलियत दरमा कृषि ऋण लिन प्रोतसाहन गर्न सकिन्छ । भौगोलिक हिसावले विविधता भएको नेपालमा जलवायु परिवर्तनको सवालमा अझै पनि पर्याप्त अनुसन्धान हुनसकेका छैन । भौगोलिक विविधतालाई ध्यान दिई कृषकहरुलाई समय, मौसम सुहाउदो बाली उत्पादनमा जोड दिन जरुरी छ । किसानहरुलाई जलबायु परिवर्तन अनुकुलन कृषि प्रणालीमा उपयुक्त प्रविधिको प्रयोग, जुझ्ने ज्ञान तथा सीप, उचित सिंचाई व्यवस्थापन, सहुलियत दरमा मलखाद् र वीउवीजनमा सहज पहुँच, उत्पादन बालीको समयमा उचित मूल्य निर्धारण, कृषि अनुदानमा सहज पहुँच, कृषि व्यवसायमा जोखिम बहन, व्यवसायिक क्षतिपूर्र्ति जस्ता कार्यक्रमलाई उच्च प्राथमिकताका साथ सरकारले ध्यान दिन जरुरी छ ।