के काठमाडौंमात्रै नेपाल हो ?

रातो रानी फुलेझैं साँझमा
तिमी फुल्यौ कलेजी माझैमा
मनको रहर !
कान्छीलाई घुमाउने
काठमाण्डु सहर !

सानो छँदा यो गीत म पनि गाउँथें। म स्वयमले काठमाडौं देखेको थिइनँ। गीतमा भनेझैं कान्छीलाई काठमाडौं सहर घुमाउने रहर गर्थें।

सपनाको सहर काठमाडौंलाई कल्पना गर्थें। यथार्थमा सुदूरपश्चिमको कुनामा रहेको मेरो घरदेखि काठमाडौं निकै टाढा थियो।

काठमाडौं जाने रहर कसलाई हुँदैन र रु मैले नि रहर पालें। मेरो घरको धरातलले त्यो रहरलाई कुल्चिदिन्थ्यो। घरको परिस्थितिलाई देखेर काठमाडौं जाने रहरलाई मैले पोको पारेर अँध्यारो कुनामा राखेको थिएँ।

समय बित्दै गयो। २५ औं बसन्त मैले पार गरें।

अँध्यारो कुनामा राखेको रहरको पोको फेरि खोलें। सानो छँदा काठमाडौं मेरो लागि रहर थियो। अब चाहिँ काठमाडौं मेरो लागि बाध्यता बन्यो। बि।एस्सी। सकिने बित्तिकै जागिरे भएँ।

विद्यार्थीहरूलाई विज्ञान र गणित पढाउनु मेरो जागिर थियो। करिब डेढ वर्षपछि मलाई एम।एस्सी। पढ्न मन लाग्यो। त्यतिखेर नेपालमा रसायनशास्त्र विषयको स्नातकोत्तरको पढाइ कीर्तिपुरको टियुमा मात्र हुन्थ्यो। त्यसमा पनि सिण्डिकेट लगाइएको थियो।

९० जना सिटको लागि इन्ट्रान्स दिनु पर्थ्यो। त्यही इन्ट्रान्सको लागि पहिलो पटक काठमाडौं जाने बसमा चढेको थिएँ। काठमाडौंको लागि छुटेको बस बर्दियाको बाँसगढी नपुग्दै फर्कियो। म अत्तरियामै ओर्लें। ओर्लिंदै गरेका यात्रुहरूको एउटै प्रश्न थियो –

‘गुरू जी ! भोलि गाडी जान्छ कि जाँदैन ?’

गुरूजीले अन्यौलताको बीचमा छोटो उत्तर दिन्थे –

‘निश्चित छैन।’

त्यतिखेर मान्छेको ज्यान कति खेर जान्छ निश्चित थिएन। जाबो बस चल्ने कि नचल्ने निश्चितता गुरू जीलाई कसरी थाहा हुनु !

कुरो २०६१ मंसिर महिनाको हो।

त्यतिखेर माओवादी जनयुद्ध उत्कर्ष बिन्दुमा पुगेको थियो। कतिखेर कहाँ, के हुन्छ ? समय अनिश्चित थियो। तर इन्ट्रान्स परीक्षाको मिति भने निश्चित थियो। पुसको पहिलो हप्ता जसरी भए पनि काठमाडौं पुग्नुपर्ने मेरो बाध्यता थियो। मंसिर दोस्रो साता फेरि काठमाडौंको लागि बस चढें।

यस पटक बस बर्दिया निकुञ्जबाटै फर्कियो। दोस्रो प्रयास पनि विफल भयो।
थारू भाषामा एउटा उखान छ –
तीन तीख्खी !
बरा बिख्खी !!

अर्थात् तेस्रो प्रयास सफल हुन्छ रे। यस्तै भयो पनि। नेपालकै बाटो भएर काठमाडौं जाने मेरो रहर विफल भएपछि तेस्रो पटक इण्डियाको बाटो रोजें। यस यात्रामा मलाई बाटो देखाउने एक जना गुरू थिए।

पाठ्यक्रम विकास केन्द्र कीर्तिपुरमा उहाँको काम थियो। मैले पनि यात्रा गर्ने साथी पाएँ।

मंसिरको अन्तिम साता हामी गौरीफन्टा नाकाबाट इण्डिया प्रवेश गर्यौं। हामीलाई वीरगंजको रक्सौल नाका पुग्नु थियो। यहाँसम्म आइपुग्न कम्तिमा ६ देखि ८ वटा रेल चढ्नु पर्थ्यो। गोण्डा र गोरखपुर जस्ता ठूला रेलवे स्टेसन पुग्दा डर पनि लाग्यो।

यी स्टेसनहरूमा लुटपाट, चोरी, गुण्डागर्दी जस्ता आपराधिक घटना मैले पनि सुनेको थिएँ। खै किन हो ! यात्राभरि मेरा आँखाले नेपाली दाजुभाइलाई खोजिरहेका हुन्थे।

कोचाकोच मान्छेको भीडमा हामी दुई जनाबाहेक सबै पराई लाग्थ्यो। ठाउँ–ठाउँमा रेल परिवर्तन गर्दा उत्रिनु पर्थ्यो। रेलको ढोकाबाट भुइँमा पाइला राख्दा मेरा पाइलाहरूले छोएको माटोमा अपनत्व पाइँदैनथ्यो।

करिब १५–१६ घण्टा पराई भूमिमा हिँडिसकेपछि बल्ल वीरगंजको रक्सौल भन्सार पुगियो। नेपाली भूमिमा पुग्ने बित्तिकै मनमा उत्साह थपियो। उत्साहित हुँदै काठमाडौं जाने बसमा बस्यौं। बस बिहान पाँच बजे कलंकीमा रोकियो।

रहरको सहरमा पहिलो पटक पाइला टेकें। मेरा पाइलाले कुल्चेको माटोमा अपनत्व मिसिएको थियो। हामीले झोलाहरू निकाल्यौं। तीन चारथरि झोला र चामलका बोरा ल्याउने यात्रुहरू प्रायः कीर्तिपुर जान्छन्। हामी पनि साथीको डेरा कीर्तिपुरतिर लाग्यौं।

सँगै आएका गुरू आफ्नो काम सकाएर अर्को दिन तुरून्तै फर्किनु भयो। मसँग इन्ट्रान्स तयारीको लागि एक हप्ता समय थियो। पूरै हप्ता तयारीमा लागें। इन्ट्रान्स पनि दिएँ। मलाई भारी बिसाएजस्तो लाग्यो। भारी बिसाएपछि काठमाडौं सहर घुम्न निस्कियौं। पाङ्गा दोबाटोमा २१ नं। अंकित लामा–लामा बसहरू लाइनमा थिए। यात्रुहरू हतारिँदै बस चढ्दै थिए।

यात्रुहरूको भीडले धकेलिँदै हामीमाथि उक्लियौं र दुइटा सिट सुरक्षित राख्यौं। बस चढ्ने क्रममा एक जना यात्रु थोत्रो झोला बोकेर बसभित्र छिरे। झोला बाहिर देखिने सामानहरूले गर्दा उनी प्रेसर कुकर, स्टोभ, ग्यास चुल्हो बनाउने मान्छे हुन् भन्ने झल्किन्थ्यो।

बसको ग्यालरीमा ९–१० वर्षको ठिटोले यात्रुहरूलाई सामान मिलाएझैं मिलाउँदै थिए। यात्रुहरू आज्ञाकारी भएर दायाँ–बायाँ फर्केर दुई लाइनमा उभिँदै थिए। थोत्रो झोला बोक्नेलाई इसारा गर्दै सानो फुच्चेले भन्यो –

‘ओ भैया ! पछाडि चलो।’

स्कुलमा ४–५ कक्षामा पढ्ने उमेरको केटोले आफू भन्दा झण्डै ३–४ गुणा ठूलो उमेरको अधबैंसेलाई ‘भैया’ भनेको पहिलो पटक काठमाडौंमा देखें। हाम्रोतिर थारू भाषामा ‘भैया’ को अर्थ ‘भाइ’ हुन्छ। सामान्यतया आफूभन्दा सानालाई प्रयोग हुने शब्द यहाँ उल्टो देखें।

‘भैया’ भनिएको मान्छे ग्यालरीमा जान मानेन। ढोका छेउको किनारमा कोचियो।

सानो फुच्चे फेरि कड्कियो –

ञडबल भाडा लाग्छ।’

त्यो मान्छेले किन ? भन्ने प्रश्न पनि गरेन।

फुच्चेले उत्तर आफैं दियो –

‘झोलाको पनि भाडा लाग्छ।’

बल्खु नझर्दासम्म उसलाई मैले नियालिरहें। नातिजस्तो केटोले हप्काएर बोल्दा पनि ऊ शान्त देखिन्थ्यो। मैलिएका ज्याकेटका बाहुलाहरूमा कालोपत्र देखिन्थ्यो। त्यही बाहुलामा घुसाइएका उसका हातहरू पनि कालै देखिन्थे। औंलाहरू चिसोले फुटेका देखिन्थे। उसको अनुहारले प्रष्ट भनिरहेको थियो ।

काठमाडौं उसको लागि होइन।

काठमाडौंको लागि ऊ पराइ हो।

उसको बारेमा सोच्दै गर्दा रत्नपार्क आइपुगेको रहेछ। हामी झर्यौं र रत्नपार्कभित्र छिर्यौं। चौरमा राम्रोसँग बस्न पाएको थिएन। नाङ्लोमा सामान बोकेर एउटा युवती नजिक आई।

युवतीको पहिरन र हाउभाउ फरक थियो। अपरिचित मान्छेसँग टाँसिनै आएर खानेकुराको अफर गरी। मैले एक माना बदाम, एक किलो सुन्तला र एक बोटल पानी मागें। उसले खानेकुरा फटाफट राखी। मैले पैसा दिन भ्याएको थिएन ऊ अरूतिर दौडिई।

मैले सोचें –

‘ऊ पैसा लिन झुक्किई।’

नजिक आई भने बोलाएर पैसा तिरौंला भन्दै खान सुरू गरें। बदाम खाएर सकिँदै थियो। अघिकै युवती आई र नसालु स्वरमा भनी –
‘दाइहरूलाई अरू पनि चाहिन्छ ?

नलजाई भन्नु होला है ?’

‘हामीलाई पुग्यो।’

मैले पर्स निकाल्दै भने। पैसा तिरें।

मैले थाहा पाएँ

ऊ झुक्किएकी थिइन। म पो झुक्किएको रहेछु।

चौरमा घाम ताप्दा साथीलाई बसमा भेटेको ‘भैया’ को बारेमा सोधें। पाँच–छ वर्षदेखि काठमाडौं छिरेका साथीले सुनाए –

काठमाडौंमा यस्ता ‘भैया’ भनिएकाहरू धेरै छन्। साइकलमा फलफूल बेच्ने, ठेलामा तरकारी बेच्ने, बाटोमा पानीपुरी बेच्ने, पुराना कागज सिसी बोटल जम्मा गर्ने सबैलाई यहाँका मान्छेहरू ‘भैया’ भन्छन्। भाइजस्तो सम्मान र मायापूर्वक बोलाउने शब्दको अर्थलाई यहाँ हेपेर अनर्थ बनाएको छ।

अनि टाँसिनै आउने अघिको युवतीको बारेमा सोधें – साथीले जिस्किँदै उत्तर दिए –

‘दिउँसो बदाम बेच्छन्। राति शरीर बेच्छन् ।’

‘यस्ता झ्याम पुतलीहरू रात परेपछि रत्नपार्कमा डुल्न निस्किन्छन्। काठमाडौं सहर हो। यहाँ नयाँ मान्छेलाई लुट्छन्।’

काठमाडौं घुम्न निस्केको दुई घण्टा भएको थिएन।

‘भैया’ र ‘झ्यामपुलती’ भनिएका दुई वटा पात्रहरूसँग भेट भइसकेको थियो। भृकुटी मण्डप बजारमा ५०५ डिस्काउन्ट बार्गेनिङ गर्दै घरको लागि सपिङ गरियो।

काठमाडौं मुख्य–मुख्य पर्यटकीय र ऐतिहासिक स्थलहरू दुई दिन लगाएर घुमियो। साथीलाई इन्ट्रान्सको रिजल्ट जिम्मा दिएर घर फर्किंएँ। फर्किंदा पनि सकस थियो। नेपालगञ्जसम्म प्लेनको टिकट थियो। खराब मौसमको कारण फ्लाइट रद्द भयो। पुसको महिना, तराईको शीतलहर, मौसम सफा हुने छाँटकाँट थिएन। स्थलमार्ग माओवादीको जोखिम थियो।

एक रात गोंगबुको चिसो होटलमा रात गुजारेर पुलिसले स्कटिङ गर्दै पठाएको बसमा डराउँदै घर पुगियो। घर पुग्दा डर सबै हरायो। भान्साकोठामा मैले काठमाडौंको बखान सुरू गरें। मेरो कुरा सनिरहँदा चुल्होमा पाक्न राखिएको तरकारी डढ्यो ।

इन्ट्रान्स दिएको केही दिनपछि काठमाडौं बस्ने साथीलाई फोन गरें। उसले सुनाए –
‘नाम निस्कियो। भर्ना हुन चाँडै काठमाडौं आउनू।’

मैले नि चाँडै नै तयारी थालें। सामान प्याक गर्न थालें। खाइपाई आएको जागिरलाई पनि प्याक गरें। शिक्षकको जागिर राजीनामा दिएँ। महेन्द्रनगरबाट काठमाडौंको लागि छुटेको बसलाई गुलरिया नपुग्दै वनदेवी मन्दिर ओरालोमा रोकें। सामानहरू लोड गरिसकेपछि बस चढ्न अघि परिवारले भनिन् –

‘राम्रोसँग पढ्नू ।’

अरू केही भन्न खोज्दै थिइन्। बस गुड्न लाग्यो। १६ महिनाकी छोरीलाई म्वाई खाएर सिटमा बसें। झ्यालबाट हात हल्लाएर बाई बाई गरें।

गाडी गुड्यो। मलाई पठाउन आएका परिवार र आफन्तहरू ओझेलमा परे म छुट्टिएँ। हेर्दाहेर्दै मेरो घर र खेतहरू पनि अलप भए। मेरो पढ्ने रहर भने अलप भएको थिएन। एक क्षणको विछोडलाई मैले सहर्ष स्वीकारें। नौ जिल्ला पार गरेर कीर्तिपुरस्थित साथीको डेरामा पुगें।

क्याम्पस सुरू भयो। देशको विभिन्न कुनाबाट आएका ९० जना साथीहरूसँग भेट भयो। सबै जनासँग चिनजान गरियो। केमिस्ट्रीमा एउटा नियम छ –

‘लाइक डिजोल्भ लाइक ’।

‘समान गुण भएका पदार्थहरू आपसमा सजिलै घुल्छन्।’

यो नियम मान्छेको केमिस्ट्रीमा पनि लागू हुन्छ। समान विचार मिल्ने साथीहरू चाँडै घुलमिल भए। कोही भौगोलिक आधारमा छुट्टिन थाले। पश्चिमेलीहरूको एउटा समूह। पूर्वेलीहरू अर्को समूह।

काठमाडौं बस्नेहरूको अलग्गै समूह। म पनि पश्चिमेली समूहमा सामेल थिएँ। स्ववियूको चुनाव आउँदै थियो । त्रिविमा राजनीति बढी हुन्छ( सुनेको थिएँ। भोटरको रूपमा म पनि राजनीतिमा मिसिएँ।

विभिन्न प्यानलका उम्मेदवारहरू भोट माग्न कोठामै आइपुग्थे। भोट माग्ने क्रममा एक जनाले भन्दै थिए–

‘मधिसेलाई जिताउनु हुन्न।’

तराईंमूलका उम्मेदवारलाई ‘मधिसे’ भन्दा रहेछन्।

मलाई पढाउने सामाजिक र भूगोल शिक्षकले नेपालको कुरा गर्दा हिमाल, पहाड र तराई भनेर पढाएका थिए। भित्री मधेससम्म सुनेको थिएँ। तर तराईलाई नै मधेस भन्ने नयाँ कुरा यही काठमाडौंमै देखें।

पहाडमा बस्ने पहाडबासी भनें झैं, तराईमा बस्नेलाई तराईबासी पढेको थिएँ। तर समग्रमा तराईलाई मधेसको रूपमा हेर्ने काठमाडौंको नजर मलाई चित्त बुझेन। अहिले पनि बुझ्दैन। कीर्तिपुर बस्दा तराई मूलका मान्छेलाई फरक व्यवहार गरेको देखें। पसलमा सामान किन्दै गर्दा नेवार्नी बज्यैले सोधिन्–

‘मधेसबाट आएको ?’

त्यो प्रश्नको शब्दले अपहेलित भएको अनुभूति हुन्थ्यो। पानी भर्ने लाइनमा होस् कि, अस्पतालको लाइनमा होस्। कहीँ न कहीँ विभेदको गन्ध पाउँथें। यस्तो विभेदकारी व्यवहारले मेरो मनले प्रश्न गर्थ्यो

‘के तराई मूलका नागरिक दोस्रो दर्जाका नेपाली हुन्  ?’

पढाइ सकिँदै थियो। जागिरको लागि नाम निस्कियो। संसार जितेझैं लाग्यो। गाउँमा भएको सुन्दर संसारलाई छोडेर नयाँ बनाउन श्रीमतीलाई काठमाडौं बोलाएँ।

यसपछि हाम्रो एक कोठे नयाँ संसार सुरू भयो। संसार साँच्चिकै नयाँ थियो। पाइलै पिच्छे नयाँ–नयाँ भोगाइ थपिन थाले।

पानीको लागि लाइन, ग्यासको लागि लाइन, हुँदाहुँदा दिनहुँ ट्वाइलेटको लागि पनि लाइन। चार जनाको परिवार बस्ने एउटा तल्लामा एउटै ट्वाइलेट बाथरूम हुँदा निम्तिएको समस्या थियो।

सहायक स्तरको मेरो जागिरले २ वटा कोठा भाडा तिर्ने र परिवार पाल्ने क्षमता राख्दैनथ्यो। छुट्टै फ्ल्याटको कुरा झन् परको थियो।

डार्विनको नियम अनुसरण गर्दै परिस्थिति अनुसार हामीले आफूलाई ‘एडजस्ट’ गर्न खोज्यौं। पाहुना आउँदा तल भुइँमै सुताउनु पर्थ्यो। गाउँमा आफ्नो घरमा पाहुना आउँदा भित्री मनबाट खुसी हुन्थ्यौं।

डेराको कोठामा पाहुना आउँदा बनावटी खुसी देखाउँथ्यौं। सकभर पाहुना नआइदेओस् भनेर कामना गर्थ्यौं। कोठाको एउटा कुनामा किचन, अर्को कुनामा डबल बेडको चारखुट्टे खाट, खाटमुनि गाउँबाट ल्याइएका चामल, आलुको बोरा, थोत्रा सामान र अन्य पोका पन्तुराले हामीलाई गिज्याएझैं लाग्थ्यो। चार खुट्टे बेडको दुई छेउमा उत्तानो परेर दुबै जना सिलिङ हेर्थ्यौं।

अनि कल्पिन्थ्यौं। गाउँको घरलाई सम्झन्थ्यौं –

माटोको घर भए पनि दुई कोठे सानो भान्सा अलग्गै थियो। तीन जना सानो परिवारको लागि आफैंले नक्सा कोरेको घरको याद आउँथ्यो।

वरन्डासहित एउटा बेडरूम, एउटा बैठक र अर्को पाहुना कोठा भएको घरमा ट्वाइलेटको लागि कहिल्यै लाइन बस्नु परेन। ठूलो आँगन, आँगनमा रोपिएका गोदावरी फूल आँखा अगाडि नाच्थे। आँखा खोल्दा रङ खुइलिएका मैला भित्ताहरू देखिन्थे।

हामी लाई रातको अँध्यारो होस् वा पूर्णिमाको जून होस्, खुला आकाश हेर्न त घर बाहिर जानु पर्थ्यो। घरको टपफ्लोरमा घरबेटी बस्थे। बीच भर्याङमै प्रायः ताला लगाइएको हुन्थ्यो। कौसीमा जान नपाउने नियमै थियो।

उत्तर फर्केको घरको त्यो कोठामा घामको झुल्को लुकेर भाग्थ्यो। पहिलो पटक हामीले देख्यौं – घाम नलाग्ने ओसिलो कोठामा डसनाहरू पानीमा भिजाएझैं भिज्दोरहेछ।

चिसोले गोडाका औंलाहरू सुन्निदो रहेछ। परिवारको खुट्टा मात्र सुन्निएको थिएन, मन पनि सुन्निएको थियो। तै पनि हामी दुवै जना सँगै बस्न पाएकोमा खुसी थियौं। शारीरिक सुखले होला हामी दिन प्रतिदिन मोटाउन थाल्यौं। सँगै बस्ने हाम्रो छोरी भने दुब्लाउन थाली। छोरीको बानी व्यहोरा झर्किने, चिच्याउने, चिथोर्ने हुन थाल्यो।

गाउँमा ठूलो आँगनमा उफ्रिँदै हुर्कंदै गरेकी छोरीलाई हामीले मुश्किलले १४० वर्ग फिटको क्षेत्रफलमा आफैं सँगै थुनेर राख्यौं। बाल अधिकारको घाँटी निमोट्थ्यौं। वल्लो घर, पल्लो घर डुलेकी मेरी छोरी एउटै कोठामा छटपटाउन थाली।

अफिस टाइमपछि मैले छोरीलाई कहिले हात्तीवनको डाँडा त कहिले खुमलटारको भैंसी गोठको चौरमा लैजान सुरू गरें। छोरी पिंजडाबाट निस्केको चरीझैं उड्थी, उफ्रिन्थी, दगुर्थी। बिदाको दिनमा नयाँ नयाँ ठाउँमा डुल्न जान्थे। बाहिर निस्कँदा धेरै खुसी देखिन्थी।

कोठाबाट आँगनमा आउने बित्तिकै बाटो छेउमा दौडी हाल्थी। आमालाई छोरीको दौडाई भन्दा सडक दुर्घटनाको चिन्ता लाग्थ्यो। गोदावरी–लगनखेलको व्यस्त सडकको हात्तीवन ओरालोमा दिनदिनै दुर्घटना देखिन्थे।

हामी नयाँ वातावरणमा एडजस्ट गर्न चाँडै सिक्यौं तर छोरीले हाम्रो बाध्यतालाई बुझ्ने उमेर भैसकेको थिएन। विस्तारै छोरीको साथीहरू बन्न थाले। पल्लो कोठामा बस्ने सानी फुच्ची पहिलो साथी बनी। घरबेटीको छोरी हाम्रो कोठामा खेल्न आई पुग्थी।

पछि गएर माथिल्लो तलामा आफ्नो कोठामा पनि लान्थी। उमेरले २–३ वर्ष जेठी घरबेटीकी छोरी र हाम्रो छोरीबीच मित्रता बढ्यो।

वर्ष दिन भइसकेको थियो होला। छोरीहरू घनिष्ठ भइसकेका थिए। तर दुवै जनाको अभिभावकहरू बीचमा भने कोठा भाडाबाहेक अरू कुरा कहिल्यै भएन। घरबेटीले सोध्न चाहेनन्। हामीले पनि सोध्दै नसोधी आफ्नो बारेमा भन्न चाहेनौं।

एक दिन अफिसबाट आउँदा श्रीमती झोक्रिएर बसेकी थिइन्। मैले सञ्चो बिसञ्चो सोधें ।

उनले भनिन् –

‘मलाई यो घरमा बस्न मन छैन।’

‘डेरामा बस्नेको समस्या यस्तै हुन्छ ।’

मैले सम्झाउन खोजें ।

‘उपत्यका बाहिरको घरबेटी खोज्नुस्।’

हामी उपत्यकाको रैथाने घरबेटीको घरमा थियौं।

‘किन रु’ मैले प्रश्न थपें।

उनीले आफू झोक्रिनुको व्यथा सुनाइन् –

कहिल्यै नबोल्ने घरबेटीले बोल्न खोजेकी रहिछन्। नयाँ मान्छेसँग कुरा गर्दा हामी सुरूमा घर कहाँ, त्यसपछि काम, त्यसपछि अन्य जानकारी लिन्छौं।

घरबेटीले सुरूमै प्रश्न सोधिछन् –

‘पहिलो पटक नेपाल आएको हो ?’

पुस्तौदेखि नेपालमै बस्दै आएको मान्छेलाई यो प्रश्न सोध्दा रिस उठिहाल्छ।

श्रीमतीलाई रिस उठेछ। रिसाएरै उनले प्रश्न गरिन् –

‘हामीलाई के इण्डियन ठान्नु भा’छ ?’

‘के काठमाडौंमात्र नेपाल हो ?’

दोहोरो कुरा हुन नपाउँदै श्रीमती रिसले चुर भएर उठिछन्।

१४ वर्ष पहिले सोधेको यो प्रश्न मैले लेख्न धेरै ढिला गरें। आज सुदूरपश्चिमको कुनामा बसेर थानकोट पारि नगएका काठमाडौंका घरबेटीहरूलाई म पनि सोध्न चाहन्छु –

‘के काठमाडौंमात्र नेपाल हो ?’

सेतोपाटीमा ३ माघ २०७७ मा प्रकाशित