कुहिरो भित्रको जिवन
चर्को महङगीमा छोराछोरीका पढाई खर्च घरपरिवारको औषधी साँझ विहानको छाकसंगै एकदमै गाह्रो परिस्थितिमा परिवार चलाउदै बाँचिरहेको थिए । उनको जागिरले मात्र न पुग्ने भो, एक दिन यसो सोचे अब म पनि काम गर्नुपर्छ । सानो काम खोजे साँझ विहानको घरधन्धा सकेर हतार–हतार अफिस जान्थे अफिसमा जति धेरै काम भएपनि साँझ दिन नडुब्दै घर पुग्नु पथ्र्यो । अलिकति घर आउन ढिला के भाको हुन्थ्यो राजा साबको अनुहरमा ग्रहण लाको रात झै अँन्ध्यारो देखिन्थ्यो । मन खिन्न भएर आउँथ्यो, भन्न मन त केके पो लाग्थ्यो तर उनको राज्यमा म शरण पर्न आको भन्ने सोच थियो उनीमा ।
महिलाको लागि समाजको डर एकतिर घरपरिवारको डर अर्कोतिर । आफ्नो भविष्यको बारेमा नसोचि कति रात वित्थ्यो होला । चिन्ताले ननिन्दाई विहानको सूर्य उदाउँथ्यो तर के गर्ने विहानै उठेर बुहारीको दर्जा पालन गर्ने पथ्र्याे ।
यसरी नै दिनचर्या चल्दै थियो । बिस्तारै सामाजिक, राजनीतिक, आर्थिक सवालमा अलि पकड जमाउन थाले । उनको पनि राम्रो परिचय बनेको थियो । काममाथि कामले गर्दा जिम्मेवारी थपिदै थियो । उनको अनुमतिमा भएपनि अफिस घर चलेकै थियो ।
कहिले काँही अफिसबाट ढिला हुँदा घर पुग्दा दैलोमा खुट्टा राख्न नपाउँदै काम्छ । कति बचन पो सुन्नु पर्ने हो भनेर, पुर्खा पूर्वजहरुले भनेका कुरा सम्झिन्छु । ‘गालीले मान्छे मर्दैन तातो पानीले घर जल्दैन ।’ मन बलियो बनाउदै देखावति हाँसो ढोकाभित्र पस्छु ।
उता टोल छिमेक सबै हाम्रै चर्चा गर्ने गरेको सुनिन्छ । दुवै जागिरे कति मज्जाको जिन्दगी चलेको । चारैतिर वाहवाहिको वर्सात हुन्थ्यो ।
हुन त बाहिर देखिने सबै बस्तु सुन हुदैन तर थाहाँ नपाउनेको लागि हाम्रो जोडी सुन जस्तै थियो । अफिसमा कामको चाँपले केहि दिनदेखि घरमा आउने समय फेरिएछ । जुन कारण श्रीमानसंग नबोलेको धेरै भईसकेको थियो । जहिले घर पुग्दा रात परिसक्थ्यो, बोल्न खोज्दापनि श्रीमान झर्केर बोल्थे ।
केही दिनपछि श्रीमान अनौठौ व्यवहार गर्न थाले । जति ढिलो आएपनि राजा भन्दै बोलाउँथे । श्रीमानको बोलीमा मपनि मख्ख परे । मेरो श्रीमानले मलाई सम्मान गर्न थाले भनेर ।
केहि दिनसम्म यतिकै चल्यो । कहिल्यै समयमा अफिस नपुग्ने म ९ नबज्दै अफिस जान थाले । त्यसैमा एक चिम्ति खुसी अझै थपिएको थियो । समय तालिकाको ख्याल राख्ने भएछन बुढा भनेर साँझ घर आउदा थकित मुद्रामा देख्दा मन चसक्क हुन्थ्यो । अरु काम काज छोडेर उनको सेवाको लागि दौडिन्थे चिसो चाहियो कि तातो चाहियो रोटी भात चाहियो । तर उनको मुखबाट खान मन छैन बाहेक अरु शब्द निस्कदैन म परिसान भैसके कसरी सोध्ने महिनौ वितिसक्यो उनको मुहारको चमक हराको ।
धेरै पटक सोधे म बाट केहि गल्ती भयो की मैले जागिर गरेको मन परेन कि त्यो पनि नाई उनको मौनताले धेरै सताउन थाल्यो । कैयौ रात एक निद्रा नसुती उज्यालो भाको थियो । एक चाँडै निदाएको थिए म वेदमा पल्टेको मात्र थिए सधै मोबाईल टेवलमा राखेर सुत्ने मान्छे केहि दिन यता सिरानी मुनि लुकाएर सुत्न थालेका उनी अलि महङगो मोबाईल चलाउथे उनको मोबाइलमा राम्रो फोटो खिच्ने भाको हुनाले कहिले काहि कतै घुम्न जाँदा उनको मोबाईमा फोटो खिच्ने गरेका थियो ।
त्यसैले उनको मोबाईलमा भएका फोटा हेर्ने भनि मोबाईल खोले निद्रा नलागेर छटपटी भैरहेको थियो मोबाईल खोल्दा पारिवारिक एक फोटा थिएनन मन झसङ भयो अझै भित्र–भित्र हेर्दै जादा एक अर्को फोल्डर भित्र मैले चिने जानेकौ एक महिलाको सिउँदोमा सिन्दुर हाल्दै गरेको अनि सिउँदो भरि सिन्दुर हालेर अङगालो भरि उसैलाई समातेको फोटाहरु निस्कन थाले मन तरङित भयो कता–कता हराए एकछिन मोबाईल हातबाट भुँईमा झरेयो मेरो आँखाको निद्रा सधैका लागि उड्यो । महिनौदेखिको उनको मौनताको जवाफ एकै मिनेटमा मिल्यो मेरो आँखा वरिपरिका बाक्लो कुहिरो पनि हटयो ।













