प्रतिगमनकारी उनी मात्रै होइनन्
२०७७ पुष ५ गते प्रधानमन्त्री खड्गप्रसाद ओलीले सनकको भरमा संसद बिघटन गरेपछि देशमा प्रतिगमन भएको कुरा संसारभर छाउन पुग्यो । यद्यपि प्रतिगमन पुष ५ गते मात्रै भएको होइन । यसलाई ठूलो प्रतिगमनको ठूलो खुड्किलो भन्न सकिएला किन कि पुष ५ गतेपछिको काम चलाउ प्रधानमन्त्रीको हरकत मत्ताहाथीको जस्तो थियो र उनका आसेपासेसमेतको बोली, ब्यबहार, हुङकार निकै फरक थियो । सम्मानित सर्बोच्च अदालतले हिम्मतका साथ नरोकेको भए राज्यको सबै निकायमा उनको एकलौटी कब्जा हुने निश्चित थियो र देश अनिश्चयको भूमरीमा फँस्थ्यो । फेरी पनि धेरैमा उनले नियुक्ति गर्न सफल भए ।
सर्बोच्चले प्रतिगमनको ठूलो स्टेप त रोक्यो, फेरी पनि प्रतिगमनका धेरै ससना खुड्किलाहरु उनले पार गर्न सफल भए । उनको यो सफलताले प्रचण्ड माधवको नेतृत्वमा सरकार बनोस् या काँग्रेस, जसपाको नेतृत्वमा बनोस्, ओलीराजले लामो समयसम्म प्रभाव पार्न सक्छ । त्यसैले बुझ्नुपर्दछ कि संसद बिघटन भनेको ओलीको ठूलो स्टेप मात्रै थियो । साना स्टेपहरु त निरन्तर जारी थियो । २०७२ भन्दा अगाडि पनि थियो । आदिबासी जनजाति, मधेशी, थारु, दलितहरु आन्दोलन गर्दा उनीहरुसँग गरिएका कपटपूर्ण सहमति, सम्झौता यसका उदाहरण हुन् । २०७२ साल जेठ २५ गते भएको एमाले, माओवादी, काँग्रेस र फोरम लोकतान्त्रिकबिच भएको १६ बुँदे सहमति त प्रतिगमनमा जाने आधिकारिक सहमति नै बन्यो, जसलाई राजनीतिक बिश्लेषक सीके लाल १६ बुँदे षडयन्त्र नै भन्छन्् ।
१६ बुँदे षडयन्त्रका योजनाकार एमाले भएपनि प्रधानमन्त्री काँगेसका सुशिल कोइराला थिए । यही १६ बुँदे षडयन्त्रमा माओवादीका प्रचण्ड समेतले हस्ताक्षर गरेपछि स्थायी सत्ताका हिमायतीहरुलाई झन बल पुग्यो । १६ बुँदे सहमतिको पहिलो बुँदा थियो “संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा पहिचानका ५ आधार र सामथ्र्यका ४ आधारमा आठ (८) प्रदेश निर्माण गरिनेछ ।” दोश्रो बुँदामा थियो “प्रदेशको नामाकरण प्रदेश सभाको दुई तिहाई बहुमतको निर्णयबाट गरिनेछ ।” तेश्रो बुँदा थियो “प्रदेशको सीमांकन सम्बन्धि सिफारिश गर्न नेपाल सरकारले एक संघीय आयोग गठन गर्नेछ, आयोगको कार्यावधि ६ महिना हुनेछ, संघीय आयोगको सुझाव प्रतिबेदन प्राप्त भएपछि प्रदेशको सीमांकनको अन्तिम निर्णय ब्यबस्थापिका संसदको दुई तिहाई बहुमतले गर्नेछ ।” तर सहमति अनुसार कुनै काम भएन । १६ बुँदे सहमति गर्ने तर बिभिन्न अर्थ लगाई काम उल्टो गर्ने ती ४ प्रतिगमनकारीहरु अहिले पनि गल्ती स्वीकार गर्ने पक्षमा छैनन् ।
संविधानका धारा, दफा जनतासामु लगिएन, प्रहरीका घेरामा १६ बुँदे षडयन्त्रमा हस्ताक्षर गर्ने चारै दलका नेता र तिनीहरुसँग चोंचोंमोचो मिलाउने दुई–चार जनाको प्रतिक्रिया लिने र जनअनुमोदनको नाटक गर्ने काम भएको थियो । थारु, मधेशीमाथि राज्य खनिएको थियो । उनीहरुको नारा जुलुस गर्ने, आमसभा गर्ने हक खोसिएको थियो । संसारको उत्कृष्ट संविधान हो भन्दै सांसदहरुलाई ह्वीप जारी गरी गरी रुवाई रुवाई हस्ताक्षर गर्न लगाइएको थियो । सैनिक घेरामा ‘हुन्छ र हुन्न’ को भरमा संविधान पास गराइएको थियो, जुन प्रतिगमन नै थियो ।
सेना प्रहरीकै उपस्थितिमा थारुहरुको घरमा आगो लगाइयो, मधेशीहरुको छाती र निधारमा ताकी ताकी गोली हानियो । संविधान जारी पश्चात बयलगाडामा अमेरिका पुग्न सकिन्न भन्ने मान्छेलाई प्रधानमन्त्री बनाइयो । अमेरिका पुग्न सकिन्न भन्ने मान्छे अमेरिका किन पु¥याउँथ्यो त, उसले बाटैमा रोक्न अध्यादेशमार्फत कहिले मानव अधिकार आयोगमाथि धाबा बोल्यो, कहिले स्वतन्त्र मिडियामाथि धावा बोल्यो, कहिले सामाजिक सञ्जालमाथि रोक लगाउने दुस्साहस ग¥यो । कहिले अभिब्यक्ति स्वतन्त्रतामाथि धावा बोल्यो । प्रचण्ड र माधव नेपाल साथ दिंदै गए । प्रतिपक्षी दलका नेता शेर बहादुर देउवा, संवैधानिक नियुक्तिदेखि हरेक नियुक्तिमा हिस्सेदारी लिंदै सहमति जनाई रहे, प्रतिपक्षीको भूमिका के हो ? त्यो बिर्से । सांसदहरु स्वबिबेक गुमाउँदै ताली बजाई रहे, मौन बसिरहे । ओली पुल्पुलिंदै गए । कसैले लगाम नलगाएपछिको हौसलाको परिणाम स्वरुप ¥यापर भिटेन लामा, पूर्वसचिव भीम उपाध्यायको अभिब्यक्ति स्वतन्त्रता खोस्ने प्रयास भयो ।
प्रधानमन्त्री ओलीलाई बा बनाउने छोराहरु, अनुहार कुरुप भैसकेपनि हजुर त कति राम्रो देखिनु भएको भनेर पुल्पुल्याउने सल्लाहकारहरु, ओलीको नाम जप्ने पुजारीहरु त करिब दुई तिहाईको सरकारका प्रधानमन्त्री भएकाले तिमीसँग संविधानमा नलेखिएको अधिकार छ, अवशिष्ट अधिकार पनि छ भन्दिए । अब सबै अधिकार आफूलाई छ भनिसकेपछि उनी किन बाँकी राख्थे संसदलाई, बिघटन गरिदिए । साथै आफू र राष्ट्रपतिबिरुद्ध बोल्ने झाँक्रीलाई समात्न लगाई प्रचण्ड र माधव समुहलाई तर्साउन खोजे । राजनीतिक विश्लेषक तथा लेखक राजेन्द्र महर्जनको शब्दमा बिख अर्थात बिद्या र खड्ग । झाँक्रीले विख (विद्या र खड्ग) लाई झारेकै हुन् । थारु भाषामा विखको अर्थ बिष हुन्छ । झाँक्रीलाई विखले असर त ग¥यो, तर मार्न सकेन । उनमा विखप्रतिरोधी क्षमताको अझ बिकास हुन पुग्यो । आफ्नो काला कर्तुतले धेरैमा विखप्रतिरोधी क्षमता बिकास भैरहेको कुरा सत्तामातले ओली बिर्सेका छन् ।
बयलगारीमा सवार प्रधानमन्त्री ओली यतिबेला प्रतिगमनको रफ्तार निकै बढाएका छन् । उनलाई नोकरशाहहरु पनि सक्रिय भई सहयोग गरिरहेका छन् । ओलीको शारिरीक समस्या, बिरामी यतिवेला शक्तिमा रुपान्तरण हुन पुगेको छ । यतिवेला उनमा युबा भन्दा पनि कति हो कति जोश थपिएको छ । उनी मौका पाउनासाथ अबैधानिक नियुक्ति शुरु गरिहाल्छन् । उनको देश दौडाहा जारी छ । उद्घाटन भैसकेकाको पनि उदघाटन, शिलान्यास भैसकेको पनि शिलान्यास गर्न उनी निकै सक्रिय छन् । यतिबेला उनमा देशको सानादेखि ठूला सबै कामको उदघाटन गर्ने हुटहुटी जागेको छ । त्यसैले उनी उदघाटन गरेकै छन्, सोझा जनताका बिचमा गफ गरेकै छन्, कल्पना बाँडेकै छन् ।
उनको यो क्रियाकलापदेखि उनका सहकर्मी प्रचण्ड माधव खनाल त रुष्ट छन् नै । धेरै स्वतन्त्र पत्रकार, लेखक, कानुन ब्यबसायी, बुद्धिजीवि, नागरिक अभियन्ता, युवासमेत रुष्ट छन् । अधिकांशले ओली नैतिकताका आधारमा राजीनामा दिनुपर्दछ भनिरहेका छन् । तर ओली र उनका मतियारहरुले ओलीले राजिनामा दिनुहुँदैन, संसद फेस गर्नुपर्दछ, अविश्वासको प्रस्तावको सामना गर्नुपर्दछ भनिरहेका छन् । सर्बोच्चले ओलीले चालेको कदम असंवैधानिक हो भनिसकेपछि पनि पुगेको छैन तिनलाई । संसदलाई ताकत छ भने अविश्वासको प्रस्ताव पारित गरेर देखाऊ भनी लल्कारिरहेका छन् । अविश्वासको प्रस्तावमार्फत गल्हत्याई निकाली दिनु प¥यो रे तिनलाई । अचम्मको माग ! अचम्मको नैतिकता !
ताकत छ भने कारवाही गरेर देखाऊ त्यसै भनेका होइनन् उनी । उनीसँग यतिवेला सबै चिज छ । उनले काँग्रेसका देउवा समुहको नाडी र जसपाका केहि नेताका नाडी मज्जाले छामिसकेका छन् । अविश्वासको प्रस्ताव दर्ता हुन्छ, कुन सांसदलाई कसरी फकाउनु पर्दछ उनलाई राम्ररी थाहा छ । मतदान गर्ने बेला आउँदा मात्रै काँग्रेस र जसपालाई त्यो कुरा थाहा हुनेछ । ओली आफ्नो योजनामा सफल हुन्छन् कि हुँदैनन्, त्यो पछिको कुरा हो । तर हुँकार, फुफकार उनको जारी छ । सर्बोच्चको फैसलालाई त उनी सामान्य भनिसके भने संसदको फैसलालाई त झन के भन्ने हुन्, ओलीलाई मात्रै थाहा छ, फेरी पनि अविश्वासको प्रस्तावलाई असफल बनाउन उनी न्वारनदेखिको बल लगाउँछन्, लगाउँछन् ।
उनको कर्तुत देखेर नेपाली काँग्रेसका नेताहरु (रामचन्द्र पौडेल, मिनेन्द्र रिजाल, गगन थापा, शेखर कोइराला), जसपाका नेताहरु (उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, मनिष सुमन, राजेन्द्र महतो) ले सहयोग गर्न नसक्ने भनी सार्बजनिक रुपमै अभिब्यक्ति दिइसकेका छन् । प्रस्तावको पक्षमा मतदान गर्नु र गर्न लगाउनु उनीहरुको लागि पनि जीवनमरणको सवाल हुनेछ । यो अवस्थामा सांसदहरु खरिदबिक्री भएनन् भने ओली अविश्वासमार्फत गल्हत्याइने निश्चित देखिन्छ ।
तर संसदसामु एउटा चुनौती रहन्छ । प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भनिसकेपछि असंवैधानिक कदम (प्रतिगमन) लाई साथ सहयोग नगर्ने ब्यक्तिलाई प्रधानमन्त्री दिन सक्छ कि सक्दैन ? प्रचण्ड आफू प्रधानमन्त्री नहुने घोषणा गरिसकेका छन् । सरकारलाई चुनावसम्म टिकाउन के ओली समुह, के प्रचण्ड माधव समुह दुबैलाई यतिबेला काँग्रेस हिरा साबित भैसकेको छ । तर सचेत नागरिकहरुको हेराईमा ओली र बिद्या मात्रै प्रतिगमनकारी होइनन्, प्रतिगमनसँग घाँटी जोडी हिंड्ने, नियुक्तिको भागबण्डामा सन्तुष्ट हुने र प्रतिपक्षीको भूमिका बिर्सने देउवा पनि प्रतिगमनकारी नै हुन् । ओली र देउवाको अपवित्र गठबन्धनलाई उनकै दलले तोड्न पनि गार्हो छ । यस्तो बेलामा प्रतिगमन सचिन्छ वा सचिन्न, आमचासोको बिषय बन्न पुगेको छ ।
गगनथापा, संशाक कोइराला, रामचन्द्र पौडेल ओलीको कदम असंवैधानिक हो भनी नेता कार्यकर्ताहरुमा जोश भर्ने र देउवाले अदालतमा बिचाराधीन मुद्दामा बोल्नुहुन्न भनी जोशविहिन बनाउने काम निरन्तर भइरह्यो । तर काँग्रेसलाई अलमलमै राख्ने देउवा मात्रैले पनि प्रतिगमनलाई साथ दिएका छैनन् । जानी नजानी धेरै ब्यक्ति ओलीका प्रतिगमनकारी कदमलाई साथ, सहयोग र प्रोत्साहन दिने काम गरेका छन् । जब कि त्यो गर्न हुन्नथ्यो । ओलीले गरेका असंवैधानिक नियुक्तिलाई भागबण्डाकै कारण देउवाले सहज स्वीकार गरे भने ओलीको कदम प्रतिगमनकारी छ कि छैन ? एक सेकेण्ड नसोंची नियुक्ति सहजै र खुशीसाथ स्वीकार गर्ने ब्यक्ति पनि प्रतिगमनकारी हुन् । उनीहरुलाई फूलमाला उपहार दिने, हर्ष बधाई दिने ब्यक्ति पनि प्रतिगमनका सहयोगी र प्रोत्साहनकर्ता हुन् भन्दा फरक पर्दैन ।
ओलीकै कारणले अहिले देशबाट जातिवाद हटेको छ भन्ने बयलगाडे सरकारले आफ्नो प्रमुख उपलब्धि मानेको छ । बयलगाडे सरकारको यही नश्लवादी सोंचका कारण मधेशी, थारुहरु अहिले पनि जेलमा छन् । तर अपराध प्रमाण्ति भएका, स्वीकार गरेका तमाम अपराधीहरु राम्रो चालचलन भएको नाउँमा सजाय मिनाहा हुँदै बिभिन्न अवसरमा छुटिरहेका छन् । कथित बुद्धिजीविहरु मौन छन् । जनता औषधि नपाई मरिरहेका छन्, भोकले छटपटाइरहेका छन्, तर सरकार पशुपतिनाथ, राम मन्दिर निर्माणमा ठूलो धनराशी खर्च गरिरहेको छ । के यो प्रतिगमन होइन ?
केहि समयभित्रै घर घरमा ग्यासको पाइप पु¥याउने, नेपालको आफ्नै पानी जहाज हुने, कोहि भोकै नमर्ने, रेल आइहाल्ने सस्तो गफलाई तुरुन्तै विश्वास गरिहाल्ने ब्यक्तिहरुबाट पनि प्रतिगमनकारी सोंचले बढावा पाइरहेको छ । बढावा दिने, मलजल गर्ने प्रायः उनै छन्, जो राज्यको मूलधारबाट बाहिर छन् । दलित, जनजाति, मधेशी, मुश्लिम । जसलाई सानोतिनो स्वार्थमा फँसाई, आफ्नै समुदायको बिरुद्धमा बोल्न, लेख्न, काम गर्न लगाइएको छ ।
त्यसैले प्रतिगमन एक दिनमा हुने कुरा होइन । यो बिस्तारै भैरहेको थियो, धेरैलाई प्रतिगमन हो जस्तो लागेका थिएन । जब प्रतिगमनले घर झगडाको कारण बस्तीमा आगो लगाए अथवा भनौं आफ्नै दलका नेताहरुको रिसले सबै दलका सांसदहरुको जागिर खाइदिए, अनि मात्रै सांसदहरु पानीबिनाको माछा झैं छटपटाउन थालेका हुन् । संसद बिघटन नगरी भागबण्डा दिई अन्य असंवैधानिक कदमहरु चालेको भए ती कदम प्रचण्ड, माधव, खनालबाट अनुमोदित हुने थिए । सांसदहरु जी हजुरी गर्दै ताली बजाउने थिए र बाताबरण सामान्य बन्ने थियो ।
आदिवासी जनजाति, मधेशी, थारुले आन्दोलन गर्दा संविधान पत्थरको लकिर होइन, समय आए सच्याउन सच्चिन्छ भन्ने बुद्धिजीविहरु २०७२ सालतिर यत्रतत्र, सर्बत्र थिए । उनीहरुकै कारणले पनि प्रतिगमन पुलपुलिएको हो । त्यसैले श्री ३ ओलीको प्रतिगमनलाई ब्याख्या विश्लेषण गर्ने सर्बसाधारणले मात्रै सहयोग गरेका छैनन्, सरकारी बुद्धिजीविहरु, नश्लवादी बुद्धिजीविहरु पनि निरन्तर सहयोग गरेका छन् । धेरै हत्याराहरु छुटिसके तर थारु विद्रोह हुँदा टीकापुरमा नरहेका रेशम चौधरी र लक्ष्मण थारु छुटेनन् । विप्लव उनका सहयात्रीहरुको मुद्दा पनि डिसमिस भयो, तर रेशम र लक्ष्मणको मुद्दाको सुनुवाई भएन । न मिडियाले लियो, न बुद्धिजीविले लेख्न माने । त्यसैले प्रतिगमनकारी उनी मात्रै होइनन्, उनको कदममा साथ दिनेहरु, उनको कदममा रमाउनेहरु, ताली पड्काउनेहरु, मौनता साध्नेहरु, कोसेली टक्रयाउनेहरु, बधाई दिनेहरु पनि धेरथोर प्रतिगमनकारी नै हुन् भन्दा अतिशयोक्ति नहोला ।













