तिम्रो सम्झनामा अन्तिम पत्र

हिउदको त्यो लामो रात त्यसैमाथि तिम्रो सम्झनाको पर्खालले घेरा हालेका मेरा मनका बस्ती । मेरो अन्धकार बस्तीमा तिम्रो आगमनले झलमल, बलेको त्यो मनको दियो । अझै पनि आशाका भ्रममा बाँचिरहेको अनुभूतिका भ्वाङ्ग टाल्दाटाल्दै कति बेला पोखिएर छताछुल्ल हुने हो थाहा छैन ।

तिमीसँग बिताएका एक एक पलहरू अनयासै चैत्रमासको हुरीको बेग झै मेरो मानसपटलमा डेरा जमाई दिन्छ । हटाउन नसकिने गरी । तिमीसँग नभेटेको वर्षौ भैसक्दा पनि खै किन हो मलाई त आजै झै लाग्छ छुटिएको । तिमी जहाँ छौ खुसी हौला । तिम्रो खुसी नै मेरो जिउने आधार बनाएकी छु मैले ।

जब जब तिम्रो सम्झनाले सताउँछ, मन भक्कानिएर आउछ । तिमी मेरो पहिलो पे्रम पे्रममात्र भइदिएको भए तिम्रो विछोडमा सायद यतिविघ्न पीडा हुन्नथ्यो होला । सबथोक थियौ र त तिमी अजम्बरी रह्यौ यो दिलमा । सधैका लागि सँगै भएनौं र त के भो ? जीवनमा देखेको, रोजेकोमात्रै हुनुपर्न र पाइन्छ भन्ने पनि त कहाँ छ र ? । तिमीसँग सधैका लागि सँगै बस्ने मेरो भाग्यमा थिएन होला । खै कुन मसीले लेखिदिएछ मेरो भाग्य विधाताले, हामी एक हुन सकेनौं ।

पे्रम कहिल्यै पनि व्यक्तिसँग होइन, व्यक्तित्वसँग हुँदोरहेछ । पे्रम शरीरसँग होइन, अन्तरआत्मासँग हुनेरहेछ । प्रेम त आत्माको विषय रहेछ र आत्माजस्तै कहिल्यै नमर्ने रहेछ । मर्ने चिज प्रेम हुन सक्दैन । जो मर्छ त्यो पे्रम नै होइन । त्यसैले त तिम्रा यादहरूको सहारामा जिउँदो छु म । र जबसम्म म जिउँदो रहन्छु, ढुक्क हुनु तिम्रो प्रेम जीवित रहनेछ । मेरा नसा नसामा बग्ने तिम्रो प्रेमका रङ्गहरू यस रङ्गीन दुनियाँमा सबै सबै फिका फिका लाग्छन् । कस्तो अनौठो प्रेमको रङ्गले पोतिदियौ प्रिय मेरो सारा जीवनलाई तिमीले, जहाँ न कुनै रङ्ग बस्छ, न कुनै रङ्ग मन पर्छ ।

तिम्रो पे्रमलाई परिभाषित गर्ने कतै शब्दहरू भेटिनँ । नेपाली शब्दकोषमा भएका शब्दहरू निकै फिका छन्, तिम्रो प्रेमको परिभाषा गर्न । मप्रतिको त्यो तिम्रो अदभूत प्रेमको बयान गर्न सक्ने क्षमता ममा छैन । ममात्रै कहाँ हो र प्रिय, यो धर्तीका मै हुँ भन्ने विद्धान, विष्लेषक र ब्याख्याताहरू नै कमजोर जस्तो लाग्छन् मलाई तिम्रो प्रेमको उचित परिभाषा गर्न । जो कोहीले असक्षम छन् जस्तो लाग्छ मलाई तिमीले दिएको प्रेम बुझ्न ।

धेरैपटकको प्रयासपछि आज शब्दमा उतार्ने कोसिस गरेँ । गाउँका कुना कन्दरादेखि शहरका गल्ली गल्लीमा प्रेम दिवशको चर्चामा जुटेका ठिटाठिटीहरूका हुल देख्दा तिमी छेउमै भएको अनुभूति गर्छु । यस वर्ष ‘रोज डे’को दिन गुलाब बेच्ने माया दिदी पनि त तिम्लाई कुरेर बसिहोलीन् है । प्रत्येक वर्षको प्रेम दिवशमा तिमीले दिएका प्रेमरुपी ती उपाहारहरू हामी दुई घुमेका ठाउँहरू आँखा वरिपरी नाचिरहेका छन् आज पनि । हामी पहिलोपटक भेट्दा नगरकोटको रमणीय वातावरण अनि चाँदी झै टल्किएको बिहान पखको हिमालको दृश्य तिम्रो न्यानो काखमा बसेर हेरेको त्यो पल अहिले झै लाग्छ ।

काठमाडौंका गल्ली गल्लीमा तिम्रो याद जोडिएको छ । न्यूरोड, बिशाल बजार नजिकै पुग्दा टिपटप समोसा पसलसँग जोडिएका तिम्रा यादहरूले त झनै झस्काइरहन्छ । न्यूरोड गयो कि समोसा नखाइ कहिल्यै नफर्किएका ती पलहरू सम्झेर मलाई अब समोसा नै मन पर्न छोड्यो प्रिय । मन पर्न किन छोड्यो, त्यो त म पनि जान्दिन ।

बौद्धको ठूल्ठूलो मःम, रानीपोखरी छेउमा मिना दिदीले बनाएको चटपटे सम्झेर मन कम्ता पोल्दैन । जहाँ तिमी र म गफिदै कति धेरै खाको थाहै हँुदैन थियो । तिमीसँगको प्रत्येक भेट, नयाँ नयाँ ठाउँ, नयाँ नयाँ गफ….। उफ, कसरी बिर्सन सक्छु र ? तिम्रो काखको न्यानो स्र्पसमा लुकामारी खेल्दै रात बितेको पत्तै हँुदैन थियो । तिम्रो मप्रतिको माया, सद्भाव, विश्वास अनि समर्पण भुल्नै सकिन मैले । भुल्न पनि कसरी सक्छु र म जुन कुरा अरु कसैमा पाउँन सकिन मैले ।

आज प्रेम सप्ताह चलिरहदा अनायासै स्मृतिका पानाहरू पल्टान मन लाग्यो । फेरि एकपटक तिम्रो प्रेमको महासागरमा डुबेर तिमीमा हराउन मन लाग्यो । मैले सम्हालेर राखेका हरेक पानाहरू जब जब पल्टाउछु, तिम्रो तस्वीर झल्किदिन्छ, तिम्रो याद छचल्किन्छ । र लाग्छ, तिमी मसँगै छौ, मेरै वरिपरी छौ र मलाई नै नियालिरहेका छौ ।

तिम्रो यादलमा हराएका बेला, तिम्रो मायाको सागरमा डुबेका बेला बाहिर कसैको चर्को आवाजले जब मेरो ध्यान भङ्ग गरिदियो, झसङ्ग पो भएछु । वरपर, यताउता हेर्दा आफूलाई बन्द कोठामा एक्लै पाएँ । एकछिन अघि तिम्रा कोमल औलाहरूले मेरो लामो कपाल सुम्सुम्याइरहेको महसुस गरिरहेका बेला त्यो आवाजले जब मलाई झस्कायो यो सुनसान रात, यी भित्ता, यो एक्लो बेड र रित्तो कुर्सीले मलाई नै जिस्काएको आभास गरेँ । बोत्तलको पानी घट्घटी पिएँ । पूरै रित्तिएछ भरी बोत्तल । तर पनि प्यास मेटिएको जस्तो लागने । अनि फेरि अनायासै बगेछन् आशुका धारा र भिजेछ मेरो सिरानी ।

आँखाले पनि सायद त्यही चिज मन पराउँछ, जुन चिज हाम्रो भाग्यमा हुँदैन । हामीबीच प्रेम थियो या थिएन तर, केही त थियो जो प्रेम जस्तै मिठो थियो । यी रातसित के गुनासो, दोषी त ती तिम्रा यादहरू हुन्, तड्पाउछन् तड्पाइरहन्छ् । र निदाउनै दिदैनन् ।

प्रेम यस्तो चिज रहेछ जस्को कल्पनाले मात्र पनि न्यानो सामथ्र्य राख्न सक्छ । जस्लाई प्रेम गरिन्छ, ऊ बस्ने ठाउँभन्दा राम्रो ठाउँ संसारमा कुनै नलाग्दो रहेछ । कसैका प्रेम इतिहास हुन्छन् तर, तिम्रो प्रेम मेरो लागि अमूल्य उपहार भयो ।

अब आउने दिनमा तिमीसँग भेट होला नहोला, भाग्यको खेल र दैवको चाहनामा भर पर्ला । तर पनि मेरो हिस्साको सबै खुसी तिमीलाई मिलोस्, मेरो आयु तिमीलाई जाओस्, तिम्रो नामको यो अन्तिम पत्र ।