कोभिडको त्रास : मजाक होईन सचेत रहौं

विश्वव्यापी रूपमा फैलीरहेको कोरोना भाईरस Covid-19 को त्रास त सबैमा छ नै । बाहिर संक्रमण कहाबाट कहा पुगिसकेको छ । नेपालमा दैनिक ४ हजार भन्दा बढी पोजेटिभ केसहरु आईरहेका छन । काठमाडौं उपत्यकामा नै दैनिक २ हजार भन्दा बढी देखिईरहेको छ । काठमाडौं उपत्यकको संक्रमित दर ६६ प्रतिशत भन्दा पनि बढी भईसकेको छ । उपत्यका बाहिर पनि संक्रमण बढ्दो क्रममा छ । २०७६ को चैत्र दोस्रो साताबाट शुरु भएको बन्दाबन्दीको कारण कतिपय मानिसहरु काठमाडौं छोडेर आफ्नो पुरानो थाकथलो तिर लागेका पनि छन ।

कतिपय मानिसहरु गाउमा केही समयको बसाई पछि फेरी काठमाडौं तिरै फर्किएर आफ्नो आफ्नो कर्ममा पनि लागेका छन । महामारी भनेर पेट मारेर बस्न नसकेर त होला । हामीहरु श्रम गरेर जिविका चलाउनेहरुका लागि केहि न केहि त गर्नै पर्ने रहेछ । अहिले नै नयाँ काम शुरु गर्ने कुरा भएन । चलिरहेको काम पनि त गर्नै परो । यी र यस्तै बिचार लिएर बन्दाबन्दीको केही समय पश्चात मेरो अफिस शुरु हुने भयो । म त नियमित जस्तो घरबाट हिडेर नै आफिससम्म जाने अनि आउने गर्छु । यसरी पैदल जाने आउने गर्दा सवारी साधनमा आउँदा जाँदा हुने संक्रमणको खतरा त पुर्ण रुपमा अन्त्य भएको छ नै । शारिरीक रुपमा पनि आफू केही तन्दुरुस्त भईन्छ भन्ने एउटा उत्प्रेरणा समेत मिलेको थियो । त्यही भएर आजसम्म पनि पैदल अफिस जाने आउने गरीरहेको थिए ।अफिस धेरै टाढा पनि त हैन फेरी करी ३० मिनेटको पैदल दुरी त हो । बिचमा केही दिन काम धेरै भएर अलिक अन्धेरो हुदाँ साथीको गाडीमा पनी गए । कहिले ट्याक्सी र अटो चढ्नु पर्ने समस्या पनि आयो । त्यसलाई पनी परीस्थितिलाई मनन् गर्दै सुरक्षाका सम्पुर्ण उपाय अवलम्वन गर्दै सामना गरें ।

दिनहरु बित्दै थिए । बिस्तारै दशैं सुरु पनि हुन लागि सक्यो । यसै बिचमा हाम्रो अफिसमा पनि काम गर्ने स्टाफहरुलाई कोरोना पोजेटिभ देखिएछ । यो पोजेटिभ केशसंगै अफिस नै तरंगित भए जस्तो लाग्यो । स्टाफ बैठक बसेर सबैको पि.सि.आर. टेष्ट गर्ने, पोजेटिभ देखिएको स्टाफ होम आईसोलेशनमा बस्ने अनि नेगेटिभ देखिएका अफिसमा काम गर्ने भन्ने निर्णय भएपछि हामी पि.सि.आर. रिपोर्टको लागि तयार भयौं ।

भन्नलाई पि.सि.आर. भनियो तर अब मनमा ठुलै डरले डेरा जमाई सकेको छ । अहिलेसम्म केही लक्षण देखिएको थिएन, टेष्ट पनि गरिएन । अहिले देशभरी यसरी फैलीरहेको कोरोनाबाट म पनि त पक्कै टाढा त छैन होला मलाई पनि पोजेटिभ देखियो भने कस्तो होला । साथीहरुलाई यसो शेयर गरें, हाम्रो अफिसमा स्टाफलाई कोरोना पोजिटिभ देखियो, हामी सबैको पि.सि.आर. टेष्ट गर्ने भन्या छ। मलाई लाष्टै डर लागि राखेको छ । साथीहरु भन्दै थिए रिपोर्ट नआउनजेल नडराउ, तिम्रो नेगेटिभ आउछ । साथीले आश्वासन त दिए तर मनले कहाँ मान्दो रहेछ र । स्वाव दिने भन्ने कुराले नै यति डर लागेको छ । दिए पछि कस्तो होला । रिपोर्टको प्रतिक्षा कसरी गर्न सकुलां । नेगेटिभ आए त ठिकै छ । पोजेटिभ आयो भने कसरी बस्छू होला । एउटा कोठाबाट बाहिर निस्कन नपाउने । त्यसै त राती एक्लै सुत्न डराउने मान्छे । कसरी सुत्न सक्छू होला र । मलाई पोजेटिभ देखियो भने त हाम्रो घरको सबैलाई देखिन पनि के बेर । हुन त केही दिन पहिला मात्र दिदीले टेष्ट गराउदां नेगेटिभ आएको थियो । घरमा हामी प्राय हुने त संगै हो ।

उसलाई नेगेटिभ आए पछि मलाई कसरी पोजेटिभ हुन सक्ला र ।फेरी मान्छे अनुसार आ आफ्नो रोग प्रतिरक्षात्मक क्षमताले फरक निश्चय पनी पार्छ । कति समाचारहरु त आईरहेकै छन नी । श्रीमतीलाई देखिदा श्रीमान लाई नेगेटिभ, आमालाई पोजेटिभ हुदां शिशुलाई नेगेटिभ । मेरो मनमा यस्तै अनेकौ कुराहरु खेल्न त तेती बेलासम्म चलि रहन्छ जबसम्म मेरो रिपोर्ट आउदैंन । एक एक छिनमा यस्तै विचारआएर हैरान हुने भएं । अफिसमा नै समस्या पर्छ की जस्तो पनि महसुस भईरहेकै थियो । स्वाब कलेक्सनको लागी अफिस मा नै बोलाएर स्वाव परिक्षका लागि दियौं । निकाल्दा पनि कति गाह्रो हुने रैछ । कहिले काँही नाकमा एउटा सानो भुसुना परो भने पनि हाछ्यु का हाछ्यु गर्ने म नाकमा छेस्को छिराउँदा के भनौ । भमिट नै गर्छु की झै लाग्थ्यो । फेरी मुखबाट पनि निकाल्नु पर्छ रे । अहिले नै मरेर बाँचेको जस्तो हुदो रैछ । आज बिहिबार पि.सि.आर. टेष्टको लागी स्वाब दिएर आउदाँ अलिक ढिला भयो । महिनाको अन्तिम समय पनि परेकोले स्टाफको तलब पनि आजै हाल्नु पर्ने, काममा पनि त आज निकै मरामारा नै परो । निकै रात पर्न लागे पछि भोली आएर काम सक्छु भन्दै बिदा लिएर निस्किए । तर सरले बेलुकासम्म लगाएर काम सकेर निस्कनु भए छ ।

भोली आउनु पर्ने झन्झट त हटो तर रिपोर्टको त्रास कहिले हट्ने खै । रिपोर्ट शनिबार मात्रै आउँछ । शनिबारसम्म कसरी कुर्ने । सारै गाह्रो भयो यो मनलाई त्यस्ता सोचाईबाट नियन्त्रण गर्न । शनिबार दिउँसो पि.सि.आर. टेष्ट को रिपोर्ट आयो । रिपोर्ट नेगेटिभ थियो । थ्याङ्कस् गड बल्ल बाँचियो । आहा मनै कति फुरुङ्ग । त्यही रिपोर्टको फोटो साथीहरुलाई पठाए । अब स्टाटस पनि राख्नै पर्यो । प्रमाण सहित कोरोना नेगेटिभ आयो भनेर राख्दा भिन्दै महसुस हुने रहेछ । मनमा खेलेका कयौ मनगढन्ते कुराहरु क्षणभर मै हराए । मैले पठाएको फोटोमा साथीहरुले कमेन्ट गर्न थाले छन । कसैले भन्दै थिए धेरै डराको मात्रै हो मैले त नेगेटिभ आउछ भनेकै थिए । साथीहरु सबै खाले हुन्छन, आफ्नो कुरा माथि पार्न त को पछि हट्थ्यो होला र । तै पनि धन्यवाद साथी पतिक्षा गर्ने शक्ति थपि दिनु भएको थियो ।

अब लागी रहेको छ की अहिले सम्म त सुरक्षित रहेछू । कसरी निरन्तर सुरक्षित रहन सक्छु । यसको लागी सुरक्षात्मक उपायका साथै बिहानदेखी बेलुकासम्मको खानपानमा समेत मेरो निरन्तर ध्यान रहने नै छ ।