बलात्कारीलाई के सजाय गर्ने ?

बलात्कारीलाई जती सजाय गरे पनि अपुग भए जस्तो लाग्छ । हुन त म आफैं पीडित भएर हुन सक्छ । म बलात्कृत भएर बाच्न सफल भएकी एक बालिकालाई यस्तो लाग्छ भने बलात्कार पछि मारिएका बालिकाहरुको आत्मालेचाहिँ बलात्कारीलाई कस्तो सजाय हुनुपर्छ भन्ने सोच्दा होलान् रु लाग्छ ती आत्माहरुले बलात्कारीलाई फाँसी दिए पनि अपुग नै ठान्छन् ।
नेपालको विद्यमान कानुनले कुनै पनि अपराधीलाई फाँसी दिनेसम्मको व्यवस्था त गरेको छैन । तर पनि कानुन बनाउने र लागू गर्नेका कुरालाई तपशीलमा राखेर बलात्कृतहरूको ठाउँमा उभिएर सोच्दा भने लाग्छ बलात्कारीलाई मृत्युदण्डको सजाय पनि कम होइन र ?
सेक्स, यौवन र जीवन नबुझ्दै १३ वर्षको कलिलै उमेरमा बलात्कार पछि हत्या गरिएकी भएर ज्यान गुमाएकि कन्चनपुरकी निर्मला पन्त, बलात्कार पछि मन्दिरभित्रै बीभत्स तरिकाले हत्या गरिएकि बझाङकि १२ वर्षकी बालिका, सामूहिक बलात्कार गर्नेलाई गाउँका पञ्चहरूले पैसाको लेनदेन गरेर उन्मुक्ति दिएपछी आत्महत्या गरेकी सप्तरीकि किशोरीको आत्माले के हाम्रो कानुनले बलात्कारीलाई फासीको सजाय दिन्न । त्यसैले म उनीहरूहरूलाई बाच्ने अधिकार होस् भन्छुु भन्लान् ? एकपटक उनीहरूको ठाउँमा आफू उभिएर हेरौं । आफ्ना कलिला छोरी, आमा, दिदीबहिनीलाई राखेर हेरौं त । बलात्कारमा मृत्युदण्ड हुनुपर्छ कि पर्दैन !
यतिमात्र हैन, बलात्कृत, बलात्कार पछि हत्या गरिएका महिला तथा बालिकाहरुका अभिभावकमा परेको मानसिक, सामाजिक, आर्थिक र मनोवैज्ञानिक असरका बारेमा कानुन बोकेको खोइ ? अझ यस्ता घटनाले साथीभाई, ईष्टमित्र, सहपाठीहरुमा रहेको भोलीका दिनमा हामी पनि यसरी नै बलात्कृत हुनुपर्ने हो कि १ भन्ने त्रासका बारेमा कसले सोचेको छ र ? बलात्कार पछि हत्या भएका घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कडा दण्ड दिन नसक्ने प्रहरी प्रशासन तथा सिगों सरकारको लाचारीपनको त झन् कुरा गरेर के साध्री छ र ? बलात्कृत्को उजुरी नै दर्ता हुन्न । कतिपय ठाउँमा त प्रहरीकै मिलेमतोमा बलात्कारमा मिलापत्र समेत गरिएका घटना सुन्न, पढ्न पाइएका छन् । बलात्कारजस्तो जघन्य अपराध मिलापत्र गर्न पाइदैन भन्ने कुरा प्रहरीलाई जानकारी हुन पर्दैन ? प्रहरीले कानुनको पालना गर्न पर्दैन ?
यसरी दोषीलाई छानविन गरी कानुनी कठघरामा उभ्याउन सकिएन, पीडितका कुरा सुनिएन, उनीहरूलाई न्याय दिइएन भने मजस्ता पीडित कसरी बाच्ने ?अनि ती बलात्कारीहरु खुलेआम हाम्रो वरिपरि हिंड्दा हामीले के महसुस गर्ने ? म बलात्कार पछि बाछे तर समाजले मलाई राम्रो नजरले हेर्दैन । म कथङ्कदाचित् बिबाह गर्न तयार भए वा विवाह पश्चात कतै गए भने पनि यो बलात्कृत भएकी केटी हो भनेर फरक व्यवहार गर्ने यो समाजलाई के नपुगेको हो ? अन्दाजा लगाउन सक्दिन । त्यसैले पनि मेरो बाच्ने आशा हराएको छ ।
नाबालक छोरी बलात्कृत भएर बाच्न सफल भएको देख्ने मेरा बा आमाले निर्मला पन्तको घटनालाई सम्झेर होला सदियौंदेखि बस्दै आएको आफ्नो थातथलो छोडेर अन्यत्र बिस्थापित हुनु परेको । मेरा अभिभावकमा न्यायका लागी लड्ने शक्ति रहेन । दोषीलाई कानुनी कठघरामा उभ्याउनु हाम्रो बसको कुरा हैन भन्ने कुरा निर्मला पन्त हत्या प्रकारणले देखाएको छ । अब किन उहाँहरु त्यसको पछि लाग्ने त ? यो कानुन भनेको शक्तिशाली र अपराधीहरुको संरक्षणमा प्रयोग हुने मात्र त रहेछ । हामी जस्ता निमुखाहरलाई खोई कहाँ छ न्याय । फेरि लाग्यो माईतीघरमा बलात्कारीलाई न्याय दे भन्नेहरुको भिड पनि बेकार रहेछ । उपलब्ध कानुन त कार्यान्वयनमा ल्याउन सकिदैंन भने नभएको कानुन बनाउलान (बलात्कारीलाई मृत्युदण्ड) भनेर त अहिलेका जन प्रतिनिधीहरुसंग के आश गर्नु र ?
नेपाल सरकारका कानुनी संयन्त्रहरुले निस्शुल्क कानुनी सहायता दिन्छन् भन्ने सुनेकि थिए । तर खै कहाँबाट कसरी पाउने हो ? हामीसम्म त्यस्ता बिषय किन आउँदैनन् ? नेपाल बार एसोसियसनबाट पनि निस्शुल्क कानुनी सहायता पाउने व्यवस्था भए तापनि त्यसमा क(कसको पहुँच छ र ? त्यस्ता व्यवस्थाहरु राख्नका लागी राखिएका हुन् या बास्तवमै सहायता प्रदान गरिन्छ । खै त सहायता पाउने भए अहिलेसम्म को(कोले सहायता पाए ? त्यस्ता सहायता तल्लो तहसम्म अथवा मजस्ता बलात्कृतहरुसम्म कहिले आई पुग्लान् ? कानुनी राज्यमा कुनै पनि कानुन बिपरित कार्य भएमा कसैको बहकाउ वा धाक धम्कीमा नपरी कानुनी तवरले न्याय पाउने समय कहिले आउला ? के हाम्रो जस्तो देशमा जस्तोसुकै व्यक्तिलाई पनि कानुनी कठघरामा ल्याएर कारबाही गर्ने व्यवस्था हुन सक्दैन र ? यदी सक्दैन भने कहिलेसम्म सकिदैन ? किन सकिदैन । कसको कमजोरीले सकिदैन ? अहिले सरकारबाट हामीले अपेक्षा गरेको के हो ? कानुन बनाएर मात्र राज्यको दायित्व पक्का पनि पुरा नहोला । तर त्यसको कार्यान्वयनमा कहिले लाग्ने ? को लाग्ने ?