समूहबाट मिलेको सफलता
कैलाली, २० भदौं । काम गर्ने दौरानमा बाधा अट्चन आउछन् । तर अप्ठ्याराहरूसंग पछि हटेर हैन, डटेर काम गर्न सके सफलता टाढा छैन भन्ने कुराको उदाहरण हुन्, माया चौधरी ।
कैलारी गाउँपालिका वडा नं. १ मनाउमा कुखुरा फर्म खोलेर गाउँमै उदाहरण बनेकी मायालाई पनि लागेको थिएन कि उनी आज यो ठाउँमा हुन्छिन् । तर समस्यासंग नडराउने, बरु मेहनतलाई जारी राख्ने उनको स्वभावले आज उनी सफलता नजिक छिन् । अब भने उनलाई लागिरहेको छ, आफ्नो काममा एकदिन उनी पूर्ण सफल हुन्छिन् । अभावका बीच जसोतसो चलिरहेको उनको दैनिकी फेरिने छ । पारिवारिक जीवनस्तर उस्किने छ । र फेरिने छ आर्थिक अवस्था पनि ।
आमाबुबाको गरिवीका कारण पेट पाल्ने समस्या हुँदा स्वतन्त्रपूर्वक विद्यालय जानुपर्ने बाल्यावस्थमै फुपूको घरमा कमलरी बसेकी मायाको बाल्यकाल अरुका जुठा भाडा माझेर बित्यो । आमाबुबासंग बसेर पाउनुपर्ने माया, रेखदेख र स्वतन्त्रताबाट बञ्चित भइन् उनी । तर पनि कमलरी बसेको घरमा विद्यालय जाने अवसर दिएका कारण उनको जीवन अन्धकार हुन पाएन । दुःखका बीच पनि पढाइलाई निरन्तरता दिएका कारण उनी आज सानै भए पनि व्यवसाय गर्ने हिम्मत जुटाइरहेकी छन् । निर्धक्कसंग बोल्न सक्छिन् र अरुसंग व्यवसायीक सम्झौता गर्न डराउदिनन् ।
१२ कक्षा पढेपछि २० वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिएकी उनका श्रीमान्लाई परिवारले वैदेशिक रोजगारीका लागि कतार पठाए । तर ३ वर्ष अर्काको देशमा पसिना बगाउँदा पनि जानेबेलाको ऋण तिर्नुबाहेक प्रगति भएन ।
घर फर्केको केही महिनामै श्रीमान् फेरि डेढ लाख खर्च गरेर कुवेत गए । तर मेनपावरले ठगेका कारण ज्यान जोगाउनै मुस्किल भयो । २ लाख ५० हजार खर्च गरेर श्रीमान् घर फर्के । तर संयुक्त परिवारमा श्रीमान्को सबै असफलताको दोष मायामाथि थुपारियो । रातदिन कचकच शुरु भयो ।
मायाले हिम्मत हारिनन् । श्रीमान्लाई कामका लागि भारत पठाइन् । यता २०७४ मा दलित महिला अधिकार मञ्च नेपालले डिसिएको आर्थिक सहयोगमा महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत गाउँमा ‘नमूना महिला समूह’ गठन गरिरहेको थियो । उनले त्यही समूहको सचिब भएर काम गर्ने अवसर पाइन् ।
संस्थाले समूहमा आबद्ध न्यून आय भएका महिलाहरूलाई जीविकोपार्जन र नेतृत्व विकासमा सहयोग पुर्याउन २०/२० वटा कुखुराका चल्ला उपहार दियो । मायाले २० वटा चल्लामा ठूलो भविश्य देखिन् । राम्रोसंग पालनपोषण गरिन्, हुर्काइन् र बेचिन् । ती कुखुरा बेच्दा उनलाई १५ हजार आम्दानी भयो । त्यही पैसाबाट दुई वटा बाख्रा किनिन् । बाँकी पैसा समूहको कोषमा जम्मा गरिन् । तर दुर्भाग्य बाख्रा भने बाँचेनन् ।
यसैबेला २०७५ सालमा ८ हजार रुपैयाँ तिरेर उनी एक ३ दिने भेटनरी तालिममा सहभागी भइन् । त्यसको केही महिनामा दलित महिला अधिकार मञ्च नेपालले फेरि व्यापार व्यवसाय कसरी गर्ने भन्ने बारेमा ५ दिने तालिम सञ्चालन गर्यो । त्यो तालिममा माया पनि सहभागी भइन् । संस्थाले सहभागीलाई व्यवसाय शुरु गर्न १५/१५ हजार रुपैयाँ दियो । त्यही रुपैयाँबाट उनले कुखुरा पालनको लागि खोर निर्माण गरिन् ।
मायाले नमूना महिला समूहबाट ऋण लिएर चार सय कुखुरा हालिन् । पहिलो पटकमै ३०/३५ हजार आम्दानी भयो । बिस्तारै उनले कुखुरा बढाउदै गइन् । एकैपटक ८ सयदेखि एक हजारसम्म पुर्याइन् । वर्षमा ५/६ पटकसम्म कुखुरा हाल्न थालिन् । कुनै कुनै लटमा डेढ लाखसम्म पनि आम्दानी हुन थाल्यो ।

यतिबेला कोरोना महामारीले उनको व्यापारमा धक्का दिएको छ । तर उनले हार मानेकी छैनन् । यो समस्या समाधान भए फेरि यही व्यवसायलाई निरन्तरता दिने सोचमा छिन् उनी । र भन्छिन्, ‘समस्या मलाई मात्रै भएको छैन । संसारलाई यस्तै छ । यो समस्या समाधान भए फेरि राम्रो व्यवसाय गर्ने योजना छ । र म सफल हुन्छु पनि ।’
कैलारी गाउँपालिका वडा नं. २ की बसन्ती कोली चौधरीले १४ वर्षकै उमेरमा कृष्ण चौधरीसंग भागी विहे गरिन् । विवाहका मूल्य मान्यता नबुझ्दै वैवाहिक जीवनमा बाँधिएकी उनलाई लागेको थियो, श्रीमान्ले विहेपछि विहेअघिको भन्दा धेरै माया गर्छन्, रेखदेख गर्छन् र सुख दिन्छन् ।
तर भैदियो ठिक उल्टो । श्रीमान् परे जँड्याहा । रातदिन जाड खाने, काम केही नगर्ने श्रीमान्को कचकच र पारिवारिक भारले उनलाई चिन्तामाथि चिन्ता थपियो ।
अहिले पनि उनका श्रीमान् रोजगारीको सिलसिलामा प्राय भारतमै हुन्छन् । तर पैसा भने सुको पठाउदैनन् । कमाएको सबै पैसा जाँड रक्सी खानै पुग्दैन । एक छोरा र दुई छोरी छन् । आर्थिक अवस्था कमजोर छ । छोराछोरीलाई पठाउनकै लागि पनि आम्दानी हुने केही काम गर्नु पर्ने बाध्यता आयो उनलाई ।
२०७४ सालमा चेतना महिला समूहको उपाध्यक्ष भएर काम गर्न थालेपछि उनले महिला विकास, नेतृत्व र व्यवसाय बारे केही सिक्ने अवसर पाएकी थिइन् । त्यही क्रममा दलित महिला अधिकार मञ्च नेपालले व्यापार शुरु गर्न १५ हजार रुपैयाँ र मुक्त कमैया महिला विकास मञ्चले ग्यास, चुलो, भाँडाकुडा, मिक्चर लगायतको सामग्री सहयोग गरिदियो ।
यो सहयोगबाट उनले नास्ता पसल शुरु गरिन् । त्यहीबाट छोराछोरीको किताब कापीसंगै घर खर्च पनि मज्जाले चल्न थाल्यो । दिनमा हजार पन्ध सय जतिको नास्ता बिक्री हुँदा सबै खर्च कटाएर मासिक ३ हजार ३ सय रुपैयाँ बचत पनि गर्न थालिन् । घरमा के खाने, के लाउने भन्ने समस्या टर्दै गयो । यसले उनी र छोराछोरीको मुहारमा थोरै खुशी छायो ।
बसन्ती अब यो कोरोना समस्या हट्नेबित्तिकै समूहबाट ऋण लिएर व्यवसाय बढाउने सोचमा छिन् । आफूले जानेको सीप सदुपयोग गर्दै आम्दानी बढेपछि उनले आफ्नो दुःख घटेको महसुस गरिरहेकी छन् । र अरु समूहमार्फत अरु महिलाहरूलाई पनि आम्दानी हुने काम गर्न प्रेरणा र प्रोत्साहन दिने गरेकी छन् ।

कैलारी गाउँपालिका वडा नं. ४ का सपना सिकेले पनि ९ कक्षा पढ्दै गर्दा विवाह गरिन् । संयुक्त परिवारमा विवाहित बुहारीले पढ्न पाउनु सपना जस्तै थियो । अझ त्यसैमा १८ वर्षमै बच्चा जन्मेपछि पढाइमै ‘ब्रेक’ लाग्यो । १० कक्षा पनि पास गर्न पाइनन् ।
दुई चार पैंसा आउने ठाउँ कतै थिएन । अनि कामको खोजीमा श्रीमान् भारत गए । परिवारले सहयोग गर्नुको सट्टा निकै दुःख दिइरहेको थियो । २०७४ सालमा गाउँकै महिलाहरूबाट उज्यालो महिला समूहमा आवद्ध हुने मौका पाइन् । बैठक, तालिम, गोष्ठीमा सहभागी हुन थालिन् । जसले गर्दा अब आफै केही गर्नुपर्छ भन्ने सोच जाग्यो ।
घर नजिकै सानो टहरा निर्माण गरेर ११ हजारको सामान हालिन् र चटपटे बेच्न थालिन् । त्यही क्रममा दलित महिला अधिकार मञ्च नेपालले व्यापार व्यवसाय गर्न चाहाने न्यून आयका महिलाहरूको लागि ७ हजार सहयोग गर्यो । त्यही रकमले पानी पुरी, चाउचाउ, चाउमिन लगायतका नास्ता बनाउन शुरु गरिन् ।
संस्थाले उनको मेहनत देखेर फेरि व्यवसाय बढाउनका लागि १५ हजार रुपैयाँ सहयोग गर्यो । त्यो रकमले उनले ग्यास चुलो, भाडाकुडा, स्टेशनरीका सामान पनि थपिन् । दैनिक ५/७ सय रुपैयाँ आम्दानी हुन थाल्यो ।
सपनासंग १ कठ्ठा ऐलानी जमिन छ । छेउमै स्कुल भएकोले पसल राम्रो चलिरहेको थियो । तर अहिले कोरोनाका कारण स्कुल बन्द हुँदा पसल पनि राम्ररी चल्न सकेको छैन । अब स्कुल खुल्नेवित्तिकै समूहबाट ऋण लिएर पसल ठूलो बनाउने सोच बनाइरहेको उनले सुनाइन् ।
सानै भए पनि पसल खोलेर अलिअलि आम्दानी हुन थालेपछि आफूलाई हेर्ने परिवारको नजर पनि परिवर्तन हुँदै गएको अनुभव सपनाको छ । उनले भनिन्, ‘आर्थिक रुपमा सम्पन्न हुँदा अरुको हेलोहोचो पनि कम हुने रहेछ । मैले छोटो समयमै यो महसुस गरें ।’
दलित महिला अधिकार मञ्च नेपालका कार्यक्रम संयोजक सृजना पराजुलीले राज्यका हरेक संरचनामा महिलाहरूको नीतिगतरुपले अर्थपूर्ण सहभागिता बढाउन, संविधानले व्यवस्था गरेको स्वतन्त्र र सम्मानपूर्वक बाँच्न पाउने हक स्थापित गर्न, आर्थिक सशक्तिकरण र न्यायमा पहुँच बढाउने उद्देश्यले संस्थाले कैलारी गाउँपालिकामा समूह गठन गरी विपन्न, हिंसापीडित महिलाहरूलाई सहयोग गर्दै आईरहेको बताईन् ।
उनले पछाडि पारिएका सिमान्तकृत समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन, निर्णायक तहमा महिलाको सहभागिता बढाउन, महिला अधिकार, मानव अधिकार संरक्षण, सम्मान र परिपूर्तिका सवालमा दलित महिला अधिकार मञ्चले वकालत तथा पैरबी समेत गर्दै आएको बताईन् ।
दलित महिला अधिकार मञ्चका अध्यक्ष सावित्रा घिमिरेले महिलाहरूलाई आर्थिक सशक्तिकरणसंगै दिगो जीविकोपार्जनको लागि स्थानीय निकायसंगको समन्वय तथा सहकार्यमा काम गरिरहेको जानकारी दिइन् ।
आर्थिकरुपमा विपन्न, हिंसापीडित, न्यायको पहुँचमा नरहेका महिलाहरूलाई संस्थाले थोरै थोरै आर्थिक सहयोग गर्दै उनीहरूको आर्य श्रोत र क्षमता विकास गरिरहेको र यसबाट समुदायका महिलाहरू खुशी पनि भएको अध्यक्ष घिमिरेले बताइन् ।
मञ्चले महिला, दलित, सिमान्तकृत समुदायलाई कुखुरा पालन, बाख्रा पालन, तरकारी खेति, लगायत व्यापार व्यवसाय गर्न चाहाने महिलाहरूलाई आर्थिक रुपले पनि सहयोग गर्दै आईरहेको छ । ‘समुदायमा यो सहयोग पाउनेहरूको सफलता देखेर अरुले पनि सहयोग माग गरिरहेका छन्’ अध्यक्ष घिमिरेले भनिन्, ‘हाम्ले थोरै ठानेको रकम र सहयोग केही र कोही नहुनेका लागि ठूलो हुने रहेछ । उहाँहरूको मेहनत र लगाव देख्दा हामी पनि खुशी छौं ।’













