थारु समुदायका महिला ‘अष्टिम्की’ पर्व मनाए

कैलाली । आज श्री कृष्ण भगवानको जन्मोत्सवको दिन । आजको थारु समुदायका महिलाहरु निर्जल ब्रत बसी अष्टिम्की मनाईरहेका छन् ।

हिन्दु धर्मवलम्वीहरूले विभिन्न मठ मन्दिरमा पूजाआजा गरी आज भगवान श्रीकृष्णको जन्मोत्सव मनाउछन् तर पश्चिमा थारु समुदायले भने आजको अष्टिम्की पर्वकैरुपमा मनाई रहेका छन् । सुर्खेतदेखि पश्चिम कञ्चनपुर जिल्लासम्म बासोबास गर्दैआएका थारु समुदायले अष्टिम्की पर्व हर्षोल्लासपूर्वक मनाउँदै आइरहेका छन् ।

पृथक मौलिक चालचलन तथा संस्कृति बोकेको आदिवासी थारु समुदायमा २ दिन अष्टिम्की पर्व मनाइने गरिन्छ । पर्वमा खासगरी, महिलाहरूले अघिल्लो राती (सोमबार) दर खाई आज (मंगलबार) दिनभरी निर्जला ब्रत बसेका छन् ।

अष्टिम्कीमा ‘कान्हा’ को जीवनीलाई भित्तामा चित्रको माध्यमबाट कोरेर चित्रण गरिन्छ । यसरी कोरिएको चित्रमा धुमधामसंग टीका, फलफूल, जल अर्पण तथा दीप प्रज्वलन गरी पूजा गरिन्छ ।

ब्रतालु महिला तथा युवतीहरू साँझपख घरको भित्तामा कोरिएको विभिन्न पौराणिक चित्रमा टिक्ने अर्थात पूजा गर्ने गर्दछन् । टिक्ने काम सम्पन्न भएपछि लगिएका फलफूलहरू आपसमा बाँडेर खाने प्रचलन रहेको थारु लोक संस्कृति विद अशोक थारु बताउँछन् ।

उनको अनुसार अष्टिम्कीको उत्पत्ति ‘अष्टमीटिका’बाट भएको हो । भगवान श्रीकृष्णलाई थारु भाषामा ‘कान्हा’ भनिन्छ । अष्टिम्कीको अर्थ भदौ महिनाको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकोले उनको टीका लगाउनु हो । ‘कान्हा’को जन्मदिनलाई थारु महिलाहरूले विशेष रुपमा मनाउने हुनाले यस दिनलाई थारु समुदाममा अष्टिम्की भनिने प्रलचन रहि आएको संस्कृतविद थारुको जानकारी दिए ।

कसरी बनाइन्छ अष्टिम्की ?

ब्रतालु महिलाहरू आज अष्टिमकीको पहिलो दिन बिहानै गाउँको भलमन्सा वा बडघरको घरको बहरी अर्थात बैठक कोठाको उत्तरपत्तिको भित्तामा लिपपोट गरी चुनले रंगाई श्रीकृष्ण भगवानको चित्रलाई विशेष रुपमा सजाउँछन् ।

श्रीकृष्णको दाहिनेपत्ति सूर्य र बाँयापत्ति चन्द्रमाको चित्र बनाइन्छ । भने दोस्रो लाइनमा सात भाई कौरवहरूको चित्र बनाउने गरिन्छ । त्यस्तै, तेस्रो भागमा दुलाहादुलही, दुलहीलाई पठाउन जाँदा अवस्थाको ‘डोली’, दुलाहालाई पठाउन जाँदा अवस्थाको ‘डोला’, माछा, गंगटा, बाघ, हात्ती, मंयुर, सर्प, बिच्छी, गाईलगायत विभिन्न चरा र जनावरको चित्र कोर्ने प्रचलन रहँदै आएको छ ।

यसरी श्रीकृष्ण भगवानको जीवनमा आधारित चित्र सजाई सकेपछि गाउँभरीका महिला तथा युवतीहरू परम्परागत लेहंगा, बिलाउज, चोलियालगायत पहिरनमा सजिएर लाइनबद्ध भएर अष्टिम्की टिक्न जाने बताउँछन् थारु कल्याणकारीणि सभाका पूर्व केन्द्रीय सह–महामन्त्री इन्द्रिरा चौधरी ।

जुन अवस्था निकै रोचक र हेर्नलायक हुने बताउँदै उनले व्रतालु महिलाहरूले प्रसादको रुपमा काँक्रो, कुन्ढ्र्रु, आम्बालगायत फलफूल लैजाने बताए । जहाँ पूजा पश्चात लगिएका फलफूल बाँडेर खाने गरिन्छ । त्यस्तै, रातभरी त्यही पूजा कोठामा पृथ्वीको उत्पत्ति, श्रीकृष्ण जन्म र लिला समेतिएको गीत गाउने समेत प्रचलन रहिआएको उनी बताईन् ।

अर्को दिनपनि विहानै ब्रतालु महिलाहरूले अघिल्लो दिन झै टिक्ने गर्दछन् । तत्पश्चात अघिल्लो र पछिल्लो दिन टिक्ने क्रममा लगिएका विभिन्न पूजा सामग्री नजिकको नदी, खोलामा सेलाउन जान्छन् । त्यहाँबाटै उनीहरू नुहाएर घर फर्कन्छन् ।

उता, घरमा ब्रतालु महिलाहरूका लागि परिवारजनले विभिन्न परिकार जस्तै (भात, खरिया, फुलौरी, माछाको सुकुटी, तरकारी, आचारलगायत) बनाएर तयार पारेका हुन्छन् । जुन परिकारलाई ती ब्रतालु महिलाहरूले परिकारहरूको आधा भाग खानुभन्दा पहिलै टपरी तथा दुनामा छुट्याएर राख्ने गरिन्छ । जसलाई थारु भाषामा ‘फरहार’ भनिन्छ ।

फरहार पश्चातमात्रै ब्रतालु महिलाहरूले खाना खान्छन् । यसरी फरहारको क्रममा दुना र टपरीमा छुट्याएर राखिएका परिकारलाई आफ्नो विवाहित चेलीबेटीहरूलाई अग्रासन (कोसेली) को रुपमा दिन जाने प्रचलन समेत रहँदै आएको छ ।

यसरी एकातिर, थारु समुदायमा अष्टिम्की पर्व असत्य माथि सत्यको जीतको खुसियालीको रुपमा मनाइन्छ भने अर्कोतिर, विवाहित चेलीहरूलाई अग्रासन दिन जाने प्रचलनले समाजमा भाइचाराको भावना जागृत गर्दै आएको छ ।