‘थारू महिलाहरु गोडामा यौन र प्रेमको प्रतीककारुपमा चित्र खोपिन्थे’
कैलाली, ८ असार । ‘६० वर्षको उमेरमा पनि अनुहारको चमक बेग्लै, मन्द मुस्कानले उनको किशोरी अवस्थाको सुन्दरता प्रष्ट देखिएको थियो ।’ कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका ७ का भलुनी चौधरी गोडा (खुट्टा) भरी कालो टिका खोपेकी थिईन् । बिहे भएर कर्म घर गएको केही दिनमै उनी जन्म घर फर्किर साथीसंगीहरुसंग कालो टिका खोप्न हिडिन् । जुनबेला थारू जातिमा विवाह गरेको एक सातापछि माइत फर्कने र शरिरको विभिन्न अंगमा कालो टिक खोप्ने प्रचलन थियो।
भलुनी आफ्नो माइतदेखि दिनभरिको यात्रा पछि टिकिहीनी (ट्याटु खोप्ने व्यक्ति) कहाँ पुगिन् र गोडाभरि मयूरको चित्र (ट्याटु) खोपाईन् । भर्खर बिहे गरेका लोग्ने धेरै वर्ष बाँच्छन् भन्ने सुनाएपछि दुख्ने भए पनि उनलाई टिक खोप्न रहर लाग्यो । ‘नौवटा सियोलाई एउटैमा राखेर खोप्दा नदुखेकोभने पक्कै होईन, उनले विगत सम्झिन् । ४÷५ पाँच घण्टासम्म खोपेपछि गोडामा टीका (ट्यटु) तयार भयो।’
उनले भनिन् ‘खोप्दा जति दुख्छ, त्यो भन्दा कयौं गुणा बढी पखाल्ने बेला दुख्छ । टीका खोपेको २/३ घण्टा पछि गाईको गोबरले पखाल्नु पर्ने हुन्छ । सुनिएर रातो भएको खुट्टामा बेसार र तेल मिसाएर औषधीको रुपमा लाउँथ्यो ।’
विवाह पछि गोडामा टीका खोप्नै पर्ने हुन्थ्यो । जो खोपेन त्यसलाई नराम्रो दृष्यले हेरिने चलन थियो उनले भनिन् । जीवनमा खुशी हुन गोडामा मयूरको चित्र खोप्थेयो । जसलाई प्रेम र यौनको प्रतीकका रूपमा मानिथ्यो । उनले भनिन् ।
टीका खोप्दा गोडाबाट रगत मात्रै बगेन, सुन्निएर उठ्न बस्नसमेत गाह्रो भयो। रातभरी ज्वरो आयो । तीन दिन सम्म त्यही (ट्याटु खोप्ने व्यक्ति) को घरमा बसे । टीका खोपाए बाफत चाँदीको तीन रुपैया तिरे ।

उनी दुईवटै गोडामा मयूर नाच्न थालेको चित्र खोपेकी छिन् । ‘गोडा खोपेर घर गएपछि श्रीमान, सासु ससुरा लगायत छिमेकीहरु पनि खुसी भए’, जो खोपाएन उ सुन्दर नदेखिने । बुहारीमा हुनुपर्ने गुण नभएको तथा दिएको खाना पनि नखाईदिने चलन थियो । जुन कारण विबाहपछि प्रायः सबै महिला गोडा खोप्थे । (घुँडाभन्दा केही तल र पैतालाभन्दा माथिसम्म खोप्ने चलन थियो) ।
यस्तै सोही गाउँकी ७४ वर्षिया बुझौनी चौधरी पनि गोडामा यौन र प्रेमको प्रतीकका रूपमा मयूरको चित्र खोपेकी छिन् । उनी खुट्टामा मयूरको चित्र खोपेपनि हातमा भने फरक÷फरक चित्र खोपेको बताईन् ।
गाउँदेखि धेरै टाढा अर्को गाउँमा गएर गोडा खोपाएको बताईन् । ‘अरुले खोपेको देख्दा निकै रहर लाथ्यो । सासु ससुराको मायापनि पाईन्थ्यो’ उनले भनिन्। गोडा खोपाएनन् भने मर्दा भगवानले पनि हेला गर्छ भन्ने अन्धविश्वास थियो । जुन कारण गोडा खोप्नु बाध्यता जस्तो थियो ।
गोडा खोप्नु सुन्दरता हुनुको एक गहना थियो । ‘मर्दा अरू गहनालाई मान्छेले छाडेर गएपनि यो आफैंसँग जान्थ्यो ।’ गोडा खोप्दा श्रीमानको मायालाई आफ्नो आँखामा राखेर पीडा सहँदै खोपेकी बताउछिन् बुझौनी । उनले गोडा खोप्दा १० वटा दुई एउटैमा बाँधेर खोपेकी सुनाईन् । खोप्नेलाई चाँदीको ४ रुपैया दिईन् । खुट्टामा टीका नपरे सो महिलामा केही न केही खोट देखाएर विभिन्न लाल्छना लगाउने चलन पनि थियो ।
बेलौरी नगरपालिकामा बुझौनी र भलुनी जस्तै गोडा खोपेको धेरै महिलाहरु छन् । पुस्ता हस्तान्तरण हुँदै जाँदा पछिल्लो पुस्ताकाले भने गोडा खोप्ने चलन मान्न छोडे । विस्तारै यो चलन हराएर गयो । तर नयाँ पुस्तामा भने केटा होस् या केटी जो कोहीले पनि मन परेको ट्यटु खोप्न छोडेका छैनन् ।

थारु समुदायका महिलाले गोडा खोप्ने कुराको ईतिहास रमाईलो रहेको बताउँछन्, संस्कृतिविद् अशोक थारु। उनले लाखी गाथामा उल्लेख भएबमोजिम घोर्से मगर राजाले युद्धमा अनेक प्रयास गर्दा पनि पराजय भोगे । युद्ध जित्ने रणनीतिक योजनामा महिला सेनापति लाखीलाई ल्याएमा युद्ध जित्न सकिने निष्कर्षमा पुनः युद्धको तयार भयो । अन्तत युद्ध जितिन्छन् । सो को खुशीयालीमा लाखीले शत्रु र सेनाको रगतले पैतालादेखि माथि र घुँडाभन्दा तलको भाग सजाईन् । सोही कुराबाट वीरताको प्रतीकस्वरूप गोडा खोप्ने सुरुआत भएको संस्कृतिविद् थारुले बताए । उनले भने ‘अहिले गोडा खोप्ने ऐच्छिक भएको छ। प्रेम, त्याग र वीरताको विम्ब मानिने प्रचलन लोप भइसकेको छ।’
गोडा खोप्नलाई यसरी बनान्थ्यो रंग
एकपटक खोप्यो भने जीवनभरका लागि हुन्थ्यो। त्यसका लागि कुनै अलग्गै रङको व्यवस्था नगरेर घरमै बनान्थ्यो । मत्तितेलको टुक्की बालेर कालो मोसो बनाउँने गरेको भलुनी चौधरीले बताईन् । ‘उक्त मोसोमा हुक्काको पानी र मोसो मिसाएर रङ बन्थ्यो । त्यही रङले पहिल खुट्टामा चित्र कोर्ने अनि सुइयोले गोडा र हातमा विभिन्न बुट्टा खोपिन्थ्यो ।’
टीका खोपेको कुनै मूल्य नतोक्ने र खुसीले जति दिए त्यति लिने गरेको बताइन्। कोहि कोहि त घरबाट मिठो मिठो खाने कुरापनि पकाएर लैजान्थे । उनले भनिन् । अहिले कोहीपनि खोप्दैनन् । खोपेपनि मेसिनले खोप्छन् जुन चित्र पहिलेको भन्दा निकै राम्रो देखिन्छ । उनले भनिन् ‘पहिले नखोप्दा अप्थ्यारो लाग्थ्यो, अहिले यहि चित्र देखेर किन खोपे जस्तो लाग्छ ।’













