मनलाई नियन्त्रण गर्न सके कोरोनाको असरले छुन्नः मनोविद्, विपिन थापा
कोरोना भाईसर (कोभिड १९)ले मनोवैज्ञानिक रुपमा कस्तो असर गरेको छ ?
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण मान्छे त्रासपूर्ण तरिकाले बाँचिरहेका छन् । रोगभन्दा पनि रोग लाग्ने चिन्ताले हरेकको मनमा डेरा जमाएको छ ।
यसको मनोवैज्ञानिक असर भनेको व्यक्तिमा म संक्रमित हुन्छु, मर्छु भन्ने भावना बढ्छ । रातभर निन्द्रा नपर्ने, खानामा रूचि नहुने, आत्तिने, बिना कारण चिन्ता लिने, शाारीरिकरुपमा समस्याहरू देखा पर्छ । जसले गर्दा खुट्टाहरू झम्झमाउने, कमजोर महसूस हुने, ढाड पछाडि थिचेको जस्तो हुने, छाती दुख्ने अर्थात अप्ठ्यारो भएको महसूस हुने, मुटुको धड्कन बढ्ने, पाचन प्रणालीमा गडबडी हुने, मुटु दुखेको आभास हुने, अत्यधिक पसिना आउने, अनावश्यक सोचहरू मनमा आईरहने, बेलाबेला पीडा बोध भएको महशुस हुन्छ ।
यस्तै आफूलाई कोरोना लाग्यो कि भन्ने आशंका उत्पन्न हुने, बेला बेला निरास हुनुे अरुलाई देखेर रिस उठ्ने, मनमा छटपटाहट हुने, रूचिहरू घट्दै जाने, एक्लो बस्न रुचाउने, सानो कुरामा भय सृजना हुने, आनन्द महसूस गर्न नसक्ने, सार्वजनिक स्थलमा जान त्रसित हुने, कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न नसक्ने, निन्द्रा नलाग्ने, सुत्दा अप्ठ्यारो महसूस हुने, दिमागमा एउटै कुरा निरन्तर आईरहने, जिउ तातेको आभास हुने, डरलाग्दा सपनाहरू देखिने आदि असर गरिहेको हुन्छ । र यस्तो बेलामा विशेष गरि मनमा आत्महत्याको सोचहरू आउने लक्ष्णहरू पनि देखिन्छ ।
कोभिड १९ बाट त्रसित भएकाहरूलाई कसरी सचेत बनाउन सकिन्छ ?
कोरोनाबाट सचेत रहन विभिन्न पत्रपत्रिकाहरू तथा सञ्चार माध्यमले सन्देशमूलक सूचनाहरू दिईरहेको हुन्छ । जस्तै साबुन पानीले हात धुने, भिडभाडमा नजाने, सेनिटाईजर प्रयोग गर्ने, मास्क लगाउने जस्ता सूचनाहरू पछाउनु पर्छ ।
अहिले नेपाल लगायत कोरोनाको उच्च जोखिममा भएका मुलुकका संचार माध्यममा पनि कोरोनाकै बारेमा बढी सामाचारहरू प्रकाशन तथा प्रशासरण भइरहेका छन् । पत्रपत्रिका भन्दा रेडियो, टेलिभिजन र अनलाईनहरूमा बे्रकिङ न्यूज दिने होडमा कोरोना बारे अतिरञ्जित समाचारहरू पनि आइरहेका हुन सक्छन् । यो विशेष घडीमा संचार माध्यमले झनै संवेदनशील भएर सत्य तथ्य समाचार मात्रै प्रकाशन प्रशारण गर्नु पर्छ । सूचनाको पहिलो माध्यम नै संचार माध्यम भइरहेको अहिलेको समयमा के सही र के गलत भन्ने छुट्याउन सर्वसाधारणलाई मुस्किल हुन्छ । संचार माध्यमले दिएको सूचना सही नै हुन्छ भन्ने आम बुझाई छ । कतिबेला संक्रमित भइन्छ भन्ने त्रास बोकेर बाँचिरहेका छन् मान्छे । यस्तो बेलामा मनोवैज्ञानिकरुपले विभिन्न समस्याहरू उत्पन्न हुन सक्ने खतरा हुने हुँदा अनावश्यक सूचनाहरूबाट टाढा बस्न पर्छ । सबै सूचनामा झट्टै विश्वास गरिहाल्न हुन्न । सूचनाहरूलाई धैर्यतापूर्वक सोचेर त्यस बारेमा अरुलाई पनि सोधेर, अरु संचार माध्यमलाई पनि हेर्नु पर्छ । सामाजिक सञ्जालमा धेरै बस्नु हुन्न ।
कोरोनासंग सम्बन्धित समाचारहरू कम पढ्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका खानेकुरा खाने, शारीरिक व्यायाम गर्ने, ध्यान गर्ने, परिवार तथा नजिकका साथीहरूसंग रमाइला कुराकानी गर्ने, योग गर्ने, घरको काम गर्ने, आफूलाई मन पर्ने किताबहरू पढ्ने गर्नु पर्छ । साथै एक्प्रेसिब आर्ट थेरापीको माध्यमबाट बच्चादेखि वृद्धसम्म सबैले यो थेरापी गर्न सकिन्छ । जस्तै आफ्नो स्वास प्रस्वासको अभ्यास गर्ने, चित्रहरू बनाउने, कार्य तर्फ ध्यान केन्द्रित गर्ने, मनको कुरा आदान प्रदान गर्ने, संगित सुन्ने, नाच्ने, कविताहरू लेख्ने कार्य गर्यो भने कोरोनाको त्रासबाट जोगिन सक्छौं । विपद्को बेला सबै जनाले संकट किट् अनिवार्यरुपले बनाउन जरुरी छ ।
यो संकट किट् भनेकोचाहिँ के हो ?
भुँईचालो जाँदा झटपट झोला हुन्छ । त्यस्तै संकट किट् भनेको मानसिक तथा शारीरिक सामस्या भएको बेला सहयोग पुग्ने साम्रागीको झोला हो । यस्तो बेला बजार पुरै बन्द हुन सक्छ । जुनकारण अति आवश्यक सामाग्रीहरू जस्तै महिलाहरूले स्यानेटरी प्याड नपाएको हुन सक्छन् । टाउको दुखेको बेला सिटामोल नपाईन सक्छ । त्यसको लागि संकट किट् भएपछि सजिलो हुन्छ । यो झोमामा फ्री औषधिहरू, सिटामोल, फ्लूबाट बच्ने खोकीका औषधिहरू, घाँटीका औषधिहरू राख्न सकिन्छ । साथै दिर्घ रोगीहरूको लागि चाहिने औषधिहरू, महिलाहरूको लागि स्यानेटरी प्याड, पेट दुख्ने बेला प्रयोग गर्ने निम्स, हटलाईन नम्बरको तालिका राख्न सकिन्छ । यो बेला एक्लै बस्नु पर्ने भएकोले मनोवैज्ञानिकरुपले सबै जना डराईसकेका हुन्छन् । त्यसको लागि मन पर्ने साथीहरूसंगको ग्रुप च्याट, प्रियजन, डाक्टर, स्वास्थ्यकर्मी, मनोचिकित्सक, परामर्श दाताहरूको फोन नम्बर, ईमेल आइडिहरू राख्न सकिन्छ । जुन कारण आफूले आफैलाई सान्त्वना मिल्छ । साथै यो किटमा मन पर्ने संगित, किताबहरू, टेली सिरियलहरू लगायत आफूलाई के मन पर्छ त्यो पनि राख्न सकिन्छ । यही हो संकट किट् भनेको ।
लकडाउनको बेलामा भावनात्मरुपले आफूले आफूलाई कसरी सुरक्षित भएको महसूस गर्ने ?
सुरक्षित महसूस गर्नलाई सर्वप्रथम कुनै पनि कुरा मैले आवश्यक भन्दा बेसी सोचिरहेको छु भनेर केलाउन जरुरी हुन्छ । जस्तोसुकै र कुनै पनि कुरा स्वीकार गर्न सक्ने क्षमता बढाउने । प्रकृतिसंग अर्थात वरिपरिका डाँडा पाखा, हरियाली, चराचुरुंगीहरूसंग रमाउन कोसिस गर्ने । आफ्नो दैनिकी सामान्य जस्तो छ, छैन जाँच गर्ने । आफूले गर्ने हरेक गतिविधि पहिलाको जस्तो छ, छैन केलाउने । आफ्नो रूचि, व्यवहारमा परिवर्तन भएको छ कि भन्ने विचार गर्ने । स–सानो कुरामा नबहकिने, नकारात्मक सोचलाई परित्याग गर्ने । अरुका झिनामसिना कुरामा प्रतिक्रिया दिईरहेको छु कि भनेर विचार पुर्याउने र विशेषगरि आफूले आफैलाई अवलोकन गर्न सक्यो भने विपद्मा भावनात्मकरुपले आफूलाई सुरक्षित भएको महसूस गर्न सकिन्छ । साथै यो बन्दाबन्दी (लकडाउन)को बहानामा दिनभरी सुतिराख्ने, सामाजिक सञ्जालमा व्यस्त हुने, मोबाईल गेममा अल्झिरहने जस्ता कुराको आफै मूल्यांकन गर्न सक्यो भने सुरक्षित भएको महसूस गर्न सकिन्छ ।
यो बन्दाबन्दीमा चीन लगायतका देशमा परिवारका सबै सदस्य २४ सै घण्टा एकै ठाउँमा बस्नु पर्दा महिलामाथि हिंसा बढेको तथ्यांक छ । यस्तो बेला महिलाहरूले मानसिकरुपले बलियो हुन के गर्न सक्छन् ?
यसको लागि सबै भन्दा ठूलो कुरा परिवारमा सम्बन्धहरू सुधार गर्न आवश्यक हुन्छ । यो बेला सिंगो परिवार घरमै बस्ने भएकोले पुरुषको तुलनामा महिलाहरूलाई कामको थ पभार छ । परिवारका सबै सदस्यको चित्त बुझाउनु पर्ने र सबैका आवश्यकता पूरा गरिदिनु पर्ने विवशता छ । जसले गर्दा महिलाहरू बढी थकान महसूस गरिरहेका हुन्छन् । तर अधिकांश पुरुष दिनभरि खाली भएका कारण उसमा यौनेच्छा बढ्न सक्छ । जसले गर्दा शारीरिक र मानसिक रुपले थाकेकी श्रीमतीको मनोभाव नै नबुझेर जतिबेला पनि जाइलाग्न सक्छ । जुन महिलाको इच्छा बिपरितको काम हो । प्रष्ट भन्नुपर्दा यौन हिंसा हो ।
हाम्रो जस्तो समाजमा पुरुषले महिलालाई घरायसी काममा सहयोग नगर्ने, एक्लै वा परिवारका सदस्य सामुन्ने होच्याउने, इच्छा विपरित यौन सम्बन्ध राख्ने, अनावश्यक काममा बेसी पेल्ने र महिलाको आत्म सम्मानमा ठेस पुग्ने काम गरिरहेको हुन्छ । यस्तो गर्न पाउँदा उसले ‘मर्द’ सम्झिरहेको हुन्छ । भने महिलालाई तनावमा तनाव थपिने काम हुन्छ । जसले गर्दा उनीहरू भावनात्मकरुपले एकदमै कमजोर हुन सक्छन् । त्यसैले पुरुषले महिलाको भावना बुझेर सम्बन्धलाई बिग्रन नदिन र ब्रिगिरहेको सम्बन्धलाई सुधार गर्न हिचकिचाइ मान्न हुन्न । श्रीमती वा घरका महिला सदस्यलाई घरायसी काममा सहयोग गर्ने, काम बाँड्ने, संगै व्यायामहरू गर्ने, बच्चाहरूसंग बढी समय बिताउने गर्नु पर्छ ।
कुनै पनि नराम्रोको लागि मात्रै हुदैन । लकडाउनको राम्रा पक्ष पनि छन् । जस्तै प्रतिस्प्रधाको यो युगमा मान्छे २४ सै घण्टा काम काम मात्र भनिरहेको हुन्छ । उसले आफ्नो परिवारलाई समय दिनै पाएको छैन । तर यो बेला मान्छे घर छोडेर बाहिर जाने अवस्था छैन । बढीभन्दा बढी समय घरमै बिताईरहेको छ । यसले उसलाई परिवारको आनिबानीदेखि उनीहरूको हरेक समस्याको विश्लेषण गर्न समय मिलेको छ । त्यसैले यो बेला महिला साथीसंग संगै बस्न पाएको, संगै खान पाएको अवस्थालाई अवसरको रुपमा लिएर असल श्रीमान् र असल सम्बन्ध स्थापित गर्न चुक्नु हुन्न ।
नेपालमै पनि कोरोना संक्रमित देखिने क्रम जारी छ । संक्रमितका परिवारले कसरी मनोबल बढाउन सक्छन् ?
अहिले कोरोनको संक्रमण भयो कि मरिन्छ नै भन्ने डर छ । ‘बनको बाघले खाओस् कि नखाओस् मनको बाघले खान्छ’ भने झैं रोगको असरले भन्दा मान्छेमा कमजोर र नकारात्मक भावना उत्पन्न हुँदा समस्या हुन्छ । यसले रोगसंग लड्ने क्षमतामा ह्रास ल्याउँछ ।
संक्रमितका परिवारमा यस्तो बेला विभिन्न किसिमका डर, त्रास र बेचैनीका कारण मनोबल घट्दै जान्छ । कसैले कसैलाई सहयोग गर्न सक्ने अवस्था पनि हुदैन । उनीहरू आफै पनि एक्लै बसिरहेका हुन्छन् । जुन कारण विभिन्न किसिमको नकारात्मक सोचहरू उत्पन्न हुन सक्छ । उनीहरूले बढी भन्दा बढी साथीभाइ, आफन्तसंग भिडियो च्याट, फोनमा सकारात्मक कुराकानी गर्ने चिकित्सक, मनोविद्, परामर्श दाताहरूसंग छलफल गरेर मनोबल बढाउन सकिन्छ ।
अन्त्यमा तपाई केही भन्न चाहानु हुन्छ ?
कोरोनाले महामारीको रुप लियो । हजारौंको ज्यान लियो, यो एकदमै दुखद् हो । तर अब सकेसम्म लकडाउनलाई नकारात्मक भन्दा पनि सकारात्मक तरिकाले हेर्न जरुरी छ । यो बेला सबैलाई तनाब हुनु स्वभाविक नै हो । तनाव भयो भन्दैमा धुम्रपान तथा मध्यपान सेवन नगरौं । गलत काम कसैले पनि नसोचौं । कसैको बारेमा नकारात्मक विचार नबनौं । सबैले असल आमा, अमल बुबा, असल ससुरा, असल सासू, असल श्रीमान्, असल श्रीमती, असल छोराछोरी हुने कोसिस गरौं । सकेसम्म परिवारलाई खुशी दिने प्रत्यन्न गरौं । सिर्जनात्मक काममा आफूलाई व्यस्त राखेर लकडाउनको समयलाई सदुपयोग गरौं । र सरकारले जारी गरेको निर्देशनलाई पूर्ण पालना गरेर लकडाउन सफल पार्दै कोरोनाबाट बचौं, बचाऔं ।
(थापा आसरा सुधार केन्द्र रानीबारी, काठमाडौंमा मनोविद् तथा परामर्शदाता र ओरेन्ट कलेजमा अध्यापकको रुपमा कार्यरत छन् ।)













