कोरोना त्रासको गर्भभित्रका शिशुहरु
यतिबेला मानव जगत कोरोना भाइरस (कोभिड–१९)बाट प्रताडित छ। विहान उठ्ने वित्तिकै सबैभन्दा पहिले विश्वभरिको तथ्यांकमा क्लिक गर्छु, मन आत्तिन्छ । अहो ! आज यति संक्रमित थपिए, यति जनाको मृत्यू भयो । पुनः आफैलाई शान्त बनाउने प्रयत्न गर्छु र बाहिर निस्केर फ्रेस हुन्छु ।
प्रायः कोठामा विरलै भेटिने म, आजभोलि दिनभरी कोठामै बस्नु पर्दा अति नै छटपटाहट भइरहेको छ । बेला–बेला भन्ने गर्दछु, कि घरमा बस्नु जतिको पीडा अरु केही होइन रहेछ । इन्टरनेटको पहुँचमा छु, र पनि कोठामा बस्न अति नै सकस भइरहेको छ ।
दिनभरी ल्यापटपमै हुन्छु । कहिले फोन चलाउँछु । कहिले सामाचार लेखेर अनलाइन अपडेट गर्छु, त कहिले साथीहरुसंग गफिन्छु । थुप्रै अनलाइन न्यूज पोर्टल हेरेर बस्छु । कस्ले के लेख्यो भनेर । तर अरु अनलाइनमा पनि कोरोना बाहेक सामाचार हुदैन । साथीहरुले म्यासेजमा कमेडी, रोमान्टिक, माया प्रेमका कुरा लेखेर भुलाउन खोजिरहेका हुन्छन् । कहिले त ती कुरा पनि बाक्वास लाग्छन् ।
म बस्ने घरमा ६ महिनाको बच्चा छ । त्यो उमेरको बच्चा सबैलाई खेलाउ–खेलाउ जस्तो लाग्ने । शुरुमा लकडाउन हुँदा दूई/चार दिन त त्यही बच्चासंग खेलेर दिन विताउन सजिलो भएको थियो । तर अब त्यो पनि रहेन ।
विश्वमा जसरी दिन प्रतिदिन संक्रमितको संख्या र मृत्यू दर बढ्दै गइरहेको छ । ती तथ्यांक देखेर म आफै पनि कसैले कसैलाई छुनु हुदैन भन्नेमा धारणा बनाइसकेकी छु । त्यहि सावधानी अपनाई रहेका छौं । शुरुमा लकडाउन हुँदा घर बाहिर निस्किनु हुदैन भन्ने मनोविज्ञानमा रहेका हामी आलोपालो ती सानी नानीसंग पालैपालो रमाउँथ्यो ।
जब धनगढीमा पनि एक जना यूवाको रिपोर्ट कोरोना पोजेटिभ देखियो अनि घरभित्रको माहोल सबै एकाएक चेन्ज भयो । घरबेटी दाई विहानै निर्देशनात्मक आग्रह गर्नुभयो,–‘अबदेखि बाथरुम, शौचालय, धारा सबै अलग–अलग प्रयोग गरौं ।’ म बस्ने घरमा चार वटा शौचालय, तीन वटा धारा, चार वटा बाथरुम र एउटा हेण्ड पम्प छ ।
त्यति मात्रै कहाँ हो र ? घरबेटी दाईले फेरी थप्नुभयो, ‘एकले अर्काको कोठामा पनि नजानु ।’ घरबेटी दाईको चार जना परिवार माथिल्लो तल्लामा बस्नु हुन्छ । म एक्लै तलको फ्ल्याटमा बस्छु र कान्छो भाई बुहारी जोडिएको छुट्टै घरमा बस्नु हुन्छ । उसरी त हामी एकदमै सुरक्षित भएर होम क्वारेन्टाइनमै छौं । तर बेला–बेला ती सानी नानीको जीवन रक्षालाई भने विर्सिरहेका थियौ ।
घरबेटी दाईले अर्को दिन पुनः सबैलाई आग्रह गर्नुभयो–‘हामी त बच्चा खेलाएर साबुन पानीले हात धुन्छौं, तर ती सानी बच्चीलाई के थहाँ कि देशमा महामारी फैलिएको छ । बच्चा बेला–बेला आफ्नो औला चुसी रहन्छ । हामी जतिबेला पनि बच्चालाई समाइरहेका हुन्छौं । अब बच्चा आफ्नो आमा बाहेक कसैको काँखमा जान पाउँदैन । निर्देशनात्क आग्रह कडा भए तर हाम्रै स्वास्थ्यको लागि थियो । स्वीकार गरियो ।
मैले ती सानी बच्चा नखेलाएको तीन दिन भयो । आमा एक्लै बच्चा समातेर थाकी सक्छिन् होला । अरुलाई बच्चा समात्न दिउँ संक्रमणको डर । श्रीमान जिल्ला प्रहरी कार्यालय कैलालीमा जागिरे । दिन भरि डिउटीमै व्यस्त । उनीपनि म जस्तै आत्तिन्छिन् कहिले काँही ।

उनका श्रीमान डिउटी सकेर हरेक दिन राति घर आउनु हुन्छ । श्रीमान घर पुग्ने वित्तिकै शुरुमा साबुन पानीले हात धुन आग्रह गर्छिन् उनी । त्यसपछि बल्ल बच्चा समाउन दिन्छिन् । उनका मनमा के कस्ता प्रश्नहरु खेलिरहेको हुन्छ होला । कहिले कसो त बच्चालाई आफू बाहेक कसैले नछोई दिए हुन्थ्यो भन्ठाछिन्न् होला । तर श्रीमानलाई छुन नदिनुको विकल्पपनि त छैन ।
अहिले उनी मनले रुचाएको खाना खान पाएकी छैनन् । उनी कोरोनाले एकदमै त्रसित छिन् । ओल्लो पल्लो जान नपाएर दिक्दार पनि छिन् । बेला–बेला भन्ने गर्छिन्, कस्तो दिन आयो ? अब हामी सबै सखाप हुन्छौं कि क्यो हो ? उनका मनमा पनि अनेकौं प्रश्न खेलेको हुन्छ नै ।
एक जना अर्की साथी गर्भवती छिन् । गर्भवती भएको बेला राम्रो कुरा मात्रै दिमागमा खेलाउने डाक्टरको सुझाव हुन्छ । सकरात्मक सोच्यो भने बच्चा स्वास्थ्य जन्मिछन् भन्ने मान्यता छ । तर यस्तो विषम परिस्थितिमा एउटा गर्भवती महिलाले के सोच्दै होलिन् । मेरो साथी डराएर घर बाहिर एक पाईला टेकेकी छैनन् । सावुन पानी, सेनिटाईजर पटक–पटक प्रयोग गरिरहेकी हुन्छिन् । उनी भन्छिन् केही भईहाल्यो भने, गर्भवती महिलाले औषधी सेवन गर्न मिल्दैन । यस्तै–यस्तै विषयमा दिनमा धेरै पटक उनीसंग म्यासेन्जरमा कुराकानी हुन्छ ।
उनी जस्ता धेरै महिलाहरु गभवति होलान् । बजार पुरै बन्द छ । उनीहरुलाई चाहिने मात्रमा पौष्टिक तत्व प्रयाप्तरुपले खाना पाएका छन् या छैनन् । गर्भपति भएको बेला नियामित स्वाथ्य जाँच गराउनु पर्ने हुन्छ । ती जाँच गराईरहेका छन् या छैनन् । हामी जस्ता साधारण व्यक्तिलाई अस्पताल भन्ने वितिक्कै त मन आतिन्छ भने, गर्भवति महिला जो चेक जाँचको लागि अस्पताल पुग्दा के के सोचछिन् होला ।
यो भयवहको बेला अस्पतालमा खटिएका डाक्टर, नर्सहरु आफैपनि जोखिम मोलेर काम गरिरहेका छन् । उनीहरुसंग मास्कको अभाव छ । उनीहरुले लगाउने पीपीईको अभाव छ । यी दृष्य देखेर एउटा गर्भवति महिलाले आफूलाई कसरी सुरक्षित रहेको महशुस गर्न सक्छिन् होला ।
म्यासेन्जरमा थुप्रै साथीसंग कुराकानी गर्ने मौकापनि पाएकी छु । उनीहरु बेला बेला भन्ने गर्दछन् लकडाउनको बेला रचनात्मक काम गरौं । मिठो–मिठो खाने कुराको परिकार बनाउन सिकौं । रमाऔं, नाचौं खेलौं आदि । तर सबै कुरा गर्भवति महिलाहरुमा त लागु नहोला नि ? जोसंग राम्रो हेरचाह गर्ने परिवार छ उनीहरुले केही हद सम्म रमाउन पनि सक्छन् होला । तर केही त यस्तो अवस्थामा पनि छन्, जो एक छाक तरकारीकोलागि पनि तड्पीरहेको छ ?
हाम्रो जिल्लामा गिट्टी कुटेर पेट पाल्ने महिलाहरु पनि छन् । त्यो परिवारमा पनि कोही महिला गर्भवति होलिन् । उनको भान्छामा नुन छ, कि छैन होला ! सरकारले थाहा पाउँनुपर्छ । घर बाहिर ननिस्क भनेर पुरै देशलाई नै लकडाउन गर्यो तर कस्को भान्छामा के पाक्दैछ, भनेर पनि नियाल्न जरुरी छ ।
यतिबेला सामाजिक सञ्जालमा धेरै तस्वीरहरु भाईरल छन् । कोही मान्छे विना काम घर बाहिर डुलिरहेका त कोही काम विशेषले बाहिर निस्केका छन् । विना काम बाहिर निस्किनेलाई राज्यले कार्बाही गर्नै पर्छ । जो खाद्यन्नको जोहो गर्न बजार निस्किन्छ त्यस्तालाई त सरकारले सहयोग पो गर्ने हो त, कि उनीहरु पुनः छिटो घर पुग्न सकुन् । हिजो दूई वटा भिडियो निकै भाईरल भएको थियो । एउटा थियो ग्यास बोकेको पुरुष र अर्को खाद्यन्न लिएर घर फर्किरहेको । ती दुबै भिडियोमा सुरक्षाकर्मीले नमज्जाले कार्बाही गरिरहेका थिए । यदि त्यो भिडियो साँचो हो भने, कार्बाही भोग्ने दुबै भिडियोका व्यक्ति माथि ठूलो अन्याय हो । सरकार जवाफदेही बन्नै पर्छ ।
अहिलेको बेला सबैको मनमा कोरोनाको भय, त्रास छ । जुन कुरा रोग लाग्नु भन्दा नि खतरनाक छ । सबै जना सरकारको मुख हेरेर बसेका छन् । कोरोनाको उपचारमा चाहिने किट, ल्याब, मास्क, पञ्जा, सेनिटाइजर प्रयाप्त मात्रामा उपलब्ध गराउनु सरकारको दायित्व हो । त्यसैले सरकार कोरोनाले झेलेको मनलाई शान्तिको बाटो तर्फ उन्मुख गर । हरेक सुत्केरी, गर्भवति, बृद्धा र स–साना बालबालिकाहरुलाई कोरोनाबाट सुरक्षित रहेको महशुस दिलाउन अग्रसर होस् ।













