रामु बाहिर ननिस्कनु !
शहर पसेको रामुले
अचेल गाउँ सम्झेको छ
फेरी एकपटक ।
पोहोर साल,
गाँउमा भोकमरी आयो
सँगै पढेको साथि मर्यो
सँगै हुर्केको संगाति मर्यो
पल्लाघरे कान्छो र तल्लाघरे दाइ मर्यो
उसले गाउँ सम्झेन
किनकि,
उ शहरमा थियो त्यसबेला
र शहरमा कुनै कमि थिएन
उसका लागि ।
परार साल,
गाँउमा वाढी आयो
पहिरो आयो
डाँडाघरेको घर पुरियो पहिरोमा
काका मरे काकि मरिन
एक हल गोरू र चारवटा बाख्रा मरे
भाई बहिनीहरू टुहुरा भए
रामुले सब हेर्यो टिभिमा
तर उसले गाउँ सम्झेन
वेसी गाउँ त जम्मै बग्यो वाढीमा
उ हिड्ने बाटो बग्यो
क ख पढेको स्कुल बग्यो
खेल्ने चौर, खेत खलियान
गट्टा र लुकामारी खेल्ने
चौतारी बग्यो, आफन्त बगे
साथि सँगाति बगे
सबै सबै पढ्यो अखबारमा
अहँ रामुले
फिट्टिक्कै गाउँ सम्झेन
किनकि,
उ शहरमा थियो त्यसबेला
र उसको शहर सुरक्षित थियो
उसको लागि ।
तर आज,
रामुले गाउँ सम्झिएको छ
फेरी एकपटक
किनकि,
उसले गाउँ सम्झिन पनि
कि भुकम्प आँउनु पर्छ
कि महामारी आँउनु पर्छ
त्यसैले मन नलागि नलागि
रामुले आज गाउँ सम्झेको छ
किनकि उसको शहर
असुरक्षित छ गाउँ भन्दा ।
आउ रामु,
तिमी जन्मेको गाउँ
खेले हुर्केको गाउँ
पढे बढेको गाँउ
स्वार्थि छैन तिमीजस्तो
दील खोलेर स्वागत गर्न
आतुर छ
तिमीलाई बचाउन लागि परेको छ ।
तर रामु,
तिमीले यस्तो बेला गाउँ सम्झियौ
गाउँरशहर र देशै असुरक्षित भएको बेला
गाँउले समेत
बोल्न नसकेको बेला
हाँस्न नसकेको बेला
हिड्न नसकेको बेला
तिमिलाई
झुुुुुुपडिले ढिडो खुुुुुुवाउन नसक्ने बेला
पुरै गाउँ घरभित्रै लुकेको बेला ।
रामु,
तिमी हिड्न खोजौला
अहँ हुँदैन
बोल्न खोजौला
अहँ हुँदैन
वेसी झर्न खोजौला
अहँ हुँदैन
सबै भेला भएर रोधि र मारुनि
नाँच्न खोजौला
त्यो त झनै हुँदैन
साथि रआफन्ति भेट्न खोजौला
सब अनुहार छोपेर बसेका छन
के गर्छौ भेटेर
त्यसैले भेट्न त हुँदै हुँदैन ।
त्यसैले रामु,
केही दिन घरमै बस
घरले तिमीलाई बचाउँछ
तिमिले गाँउलाई बचाउँछौ
गाँउले शहररदेशलाई बचाउँछ
बिन्ति छ, रामु तिमी बाहिर ननिस्क
आफ्नो लागि,
तिम्रा पृय मान्छेहरुका लागि,
गाँउका लागि,
तिम्रै शहररदेशका लागि
मेरो रामु,
तिमी केहि दिन बाहिर ननिस्क ।













