शरिर, श्रम र पहिचानमा आत्म सम्मान
नेपालको संविधान २०७२ को धारा १६ देखि ४६ सम्म मौलिक हक छन्। मानव स्वतन्त्र भएर बाँच्न पाउनु नै मौलिक हक हो भनेर परिभाषित गरेको । संविधानले परिभाषित गरिदिएको हक के कतिको कार्यन्वय हुदैछ भन्ने कुराको व्यवाहरिकता खोतल्ने हो भने संविधानमा उल्लेखित धेरै हक मानवले प्रयोग गर्न पाएका छैनन् । हुन त यो संसारमा जातको हिसाबले दुईता जात छन् । जुन प्रकृतिले नै निर्धाण गरिदिएको छ महिला र पुरुष । संविधानमा उल्लेखित हक अधिकार कार्यन्वयन गर्ने क्रममा तेस्रो लिंङ्गीलाईपनि छुटाउनु हुन्न ।
महिला होस् या पुरुष, अर्थात तेस्रो लिंङ्गी नेपालको संविधानमा उल्लेखित सबै कानुन, हक, अधिकारमा टेकेर सबैले बाँच्न पाउनु पर्छ । तर हाम्रो सामाजमा हाल सम्मपनि पुरुषत्वबाद हाबी छ । एउटा विवाहित पुरुषले आफ्नो श्रीमतिको शरिरदेखि पहिचान सम्म हक जमाएर बसेको हुन्छ । बाहिरी रुपरेखा फराकिलो देखिए पनि धरातलमा महिलाहरु संविधानलाई तेकेर एक दिनपनि बाँच्न पाएका हुनैनन् । उनीहरु हरे दिन श्रीमानले बनाई दिएको ऐन कानुनको परिबन्धनमा बाँच्न बाध्य छन् ।
अन्तरिम संविधान २०६३ को धारा २० मा महिलाको हक अन्तर्गत उपधारा २ मा प्रत्येक महिलालाई प्रजनन स्वास्थ्य र प्रजनन समन्धी हक हुनेछ भनेर उल्लेख गरिएको छ । साथै २०७२ को संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजननसम्बन्धी हक दिइएको छ । महिलाहरुले प्रजनन अधिकार वा आफ्नो शरिरको उपयोग गर्न पाए कि पाएनन् भनेर हर्दा यदाकदा छिटफुट मात्रामा भेटिन्छन् । महिलाको स्वास्थ्य र प्रजनन अधिकारको अभ्यासलाई संयुक्त राष्ट्रसंघलगाएत अन्तराष्ट्रिय गैर सरकारी संघसंथाहरुले पनि निकै गम्भिर र चुनौतीपूर्ण विषयकारुमा लिएको छ ।
सन् १९९४ मा नेपाल लगाएत १८० राष्ट्रको जनसंख्या तथा विकास समन्धी अन्तराष्ट्रिय सम्मेलनमा कार्ययोजनाको प्रमुख लक्ष्य प्रजनन स्वास्थ्य तथा महिला अधिकारलाई अझ व्यापक पार्न सन् १९१५ सम्ममा परिवार नियोजन सेवा विश्वव्यापी रुपमा सुलभ गराउने, वालवालिकाहरुलाई शिक्षा दिने तथा मातृ मृत्युदरलाई घटाउंदै लैजाने लक्ष्यका साथ गैर सरकारी क्षेत्रको साझेदारी विषयलाई समेत महत्व दिएको छ । मानव अधिकारको क्षेत्रमा कार्यरत एम्नेस्टी इन्टरनेसनलले माई बडी माई राईट्स अर्थात मेरो शरिर मेरो अधिकार भनेर नेपाल लगाएत अन्तराष्ट्रियरुपमै अभियान शुरु गर्यो । यहि अभियानलाई मध्यनजर गर्दै संविधानको धारा ३८ लाई टेकेर बनाइएको विधेयक मस्यौदामा बिहे नगरे पनि आमा बन्ने अधिकार उल्लेखित भयो । ततपश्चात धेरैले मुख छाडेर बोले ‘महिला अब छाडा हुने भए’ आदी… इत्यादी ।
नेपालको संविधानमा महिलाको पक्षमा धेरै कनून बने तर ती कानून कार्यन्वयन तर्फ राज्य गैर जिम्मेवार भएको देखिन्छ । सामाजिकरुपले पनि महिलाहरु कानूनलाई फ्लो गर्न पाएका छैनन्। उदाहरण एउटा अविबाहित छोरी गर्भ हुने रहरको पकिल्पना गर्न पाउँदैन ! बच्चाको जन्म दिने कुरा त कहाँ हो कहाँ । संविधानमा आमाको नामबाट नागरिकता दिने व्यवस्था गरिएको छ । तर एउटा आमाले पुरुष सरह सजिलो गरि नागरिकता दिलाउन सक्दैन । संविधानमा अधिकार दिईसकेपछि बच्चाको बा को हो, विबाहितबाट जन्मेको या, अविबाहितबाट । चाँसोको विषय किन ? खुरुखुरु नागरिकता दिनु नि । अहाँ हाम्रो समाजले यस्तो हुनै दिन्न । जुन कारण महिलाले आफ्नै शरिरमापनि कुनै अधिकार जमाउन सकेका छैनन ।
बोलीचालीको भाषामा एउटा विवाहित महिलाले छोरा जन्माउने कि छोरी । यो अधिकार पनि पुरुसत्ववादले निर्धाण गरिरहेको छ । परिवार नियोजनको अस्थाई साधनपनि कण्डम बाहेक सबै महिलाले नै प्रयोग गर्नुपर्ने ? तीन महिने संगिनी सुई पुरुषकोलागि किन बन्दैनन् ? कपर्टि नरपलान्ट जस्ता अन्य कुनै साधन पुरुषको लागि किन बन्दैन ? प्रश्न गम्भिर छ ।
सामाजिक संरचनाले एउटा पुरुषले श्रीमतिमाथि राज्य जमाउदा सामाज चुप हुन्छ । उसैको श्रीमति त हो उसको श्रीमतिमाथि उस्कै अधिकार हुन्छ, कसैले बोल्नु हुदैन । समाज मात्रै कहाँ हो र ⁄ पुरै परिवार चुप बस्छन् । अझ त्यो पुरुष आफ्ना दिदी बहिनी भाउजु बुहारी सबैलाई आफ्नै निगरानीमा राख्न खोज्छ । हुदा सम्म श्रीमतिको बहिनी अर्थात साली माथिपनि राज्य जमाउन खोज्छ । उसका सबै रहर कुण्ठित गरिन्छ । जो महिला खुलेर कुनैपनि काम गर्न सक्दैन । जुन कारण उसमा भएका प्रतिभाहरु बाहिर आउन सक्दैन । मानसिकरुपले उ क्षमताहिन हुन्छ । उसका मनोबलहरु घट्दै जान्छ । अनतत उ घरको काममा सिमित हुन पुग्छ ।
तपाई हामी सबैलाई थहाँ भएकै कुरा हो । घरभित्रको काम र बाहिरको कामप्रतिको मुल्याकन । विबाहित महिला घर बाहिरको काम अर्थात जागिरे भए, कुसल बुहारीको संज्ञा पाउछ । तर तिनै बुहारी विहान ४ बजेदेखि रातिको १० बजे सम्म घरको काममा मेहनत गर्दा काम नलाग्ने बुहारी हुन्छ । जागिरे बुहारीसंगको बोलीबचन र घर समाल्ने बुहारीसंगको बोली व्यवहार अकास र जमिन जस्तै हुन्छ । त्यसैले त हरेक बुहारीलाई घर समाल्न तिर ढकेल्निे प्ररित गरिन्छ । किनकी घर समाल्ने बुहारीलाई जुन तरिकाले पनि हेप्न र होच्याउन सहज हुन्छ ।
लगभग एक दशक सम्म संगै काम गरेका मेरो मिल्ने साथीको दुरदशा देख्दा आँखाको परेलामूनि यी अमुल्य आँशुका थोपा लुकाउन निकै गाह्रो हुन्छ मलाई । हिजोका जागिरे साथी आज बच्चाकी आमा बनिन् । उनी भित्रका उर्जाहरु एका एक निरह बने । हिजो उनी निकै क्षमतावान, सुन्दरी, सबैको नजरमा वाह वाही थिईन् । तर आज ! केवल बच्चाकी आमा मात्रै । उनकै श्रीमान हिजोका दिनमा मरिहत्य गर्थे तर आज श्रीमानको नजरमा कुरुप भईन् । आफ्नै तलबबाट श्रीमानलाई पढाउ सक्ने श्रीमति आज बच्चाको थांनो धुनामा सिमित छिन् । श्रीमानको नजरमा उनी अक्षमतावान बनिन् । काम नलाग्ने महिला बनिन् । तर उनी भित्रको रहर र ईच्छा केलाउने प्रयास कहिलै भएन ।
यो सामाजमा पुरुष सरह एउटा महिला भएर बाँच्न पाउनु त्यति सजिलो छैन । र पनि पुरुषको शिर ठाडो हुनु र महिलाको शिर तल झर्नु किन ? के महिला भएर जन्म लिनु अपराध नै हो त ? व्यवाहरिक आसन भाषणमा महिला पुरुष बराबर, छोरी छोरा बराबर भनेर नारा धन्काउदै हिड्ने तपाई हामी । र पनि महिला स्वतन्त्र भएर बाँच्ना नपाउने किन ?
महिलाहरुलाई हरेक कोणबाट स्वतन्त्र बनाउन अन्तरराष्ट्रिय नारापनि नेपालमा नभित्रिएको होईन तर हामी ति नारालाई कतिको व्यवहारमा लागुगरिरहेका छौं भन्ने कुराले अर्थ लाग्छ । यो सबै लेखिरहँदा महिला दिवशको बारेमा सबैलाई जानकारी नहुनपनि सक्छ । जसले गर्दा यो लेखाई मार्फात प्रष्टयाउनै पर्छ जस्तो लाग्छ ।
अन्तरराष्ट्रिय महिला दिवस अङ्ग्रेजीमा (International women’s day) महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फ्रेबअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०२० मा आइपुग्दा बिश्वभर ११० औं अन्तर्रािष्ट्रय नारी दिवस मनाई रहेका छन् । यो दिवश मार्च महिना भर नै मनाइने छ ।
संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फ्रेबअरि १९०९ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो । सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्रािष्ट्रय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फ्रेबअरि १९०९ को दिन महिला दिवस मनायो। यसपछि यो फ्रेबअरि को अन्तिम आइतबारको दिन मनाइन थालियो । १९१०मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दर्जा प्राप्त भयो । त्यस समय यसको प्रमुख ध्येय महिलाहरुलाई मताअधिकार दिनु थियो, त्यस समय महिलाहरुलाई मत दिने अधिकर कतिपय देशहरुमा थिएन ।
१९१७ मा रसियाको महिलाहरुले, महिला दिवसमा गास र कपासको लागि हडतालमा जाने निर्णय गरे । यो हडताल पनि ऐतिहासिक थियो । जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई वोट दिने अधिकार दियो । त्यस समय रुस मा जुलियन क्यालेन्डर को प्रचलन थियो र बाकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो। इ दुई दिनमा केहि फरक छ । जुलियन क्यालेन्डर अनुसार १९१७को फ्रेबअरीको अन्तिम आइतबार २३ फ्रेबअरी मा पर्थ्यो जब की ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो । त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो । त्यसैले ८ मार्च महिला दिवसको रूप मा मनाइन थालियो । यो दिवस केवल दिवसमा मात्र सिमित नहोस् । रहेक नारीको श्रम, शरिर र पहिचानको सम्मान होस् । जीवनमा खुशी भएर बाँच्न पाओस् । मार्च ८ को सबैमा शुभकामना ।













