कविसँग कवि संवाद !

तिमीलाई अझै पनि रहर लाग्छ भने
वादशाहको लगौंटी समाल्न
र उम्किएको वादशाहको लाजको मुन्टोलाई
हातैले समाएर लगौंटीमा घुसार्न
र यसो भन्न–
‘आहा वादशाह क्या दामी हुनुहुन्छ !
कृपया त्यस्तो रहर अझै छ भने
यो कविहरूको पार्टी सदस्यता त्याग गर
र लगौंटी हेरचाह पार्टीमा भर्ती होऊ !

तिमीलाई अझै पनि
वादशाहका षडयन्त्रकारी आँखा
संसारकै सुन्दर आँखा लाग्छन् भने
वादशाहको हिंस्रक बोली
कोइलीकोझैं कर्णप्रिय लाग्छ भने
वादशाहका पर्दाभित्रका
हरेक अभद्र कृयाकलाप
देशप्रेमले ओतप्रोत लाग्छ भने
कृपया एउटा अमूल्य सुझाव छ–
यो कविहरूको झुत्रो पार्टी परित्याग गर
र आजै भजन किर्तन मण्डली खोल !
यी विरोध मात्रै लेख्ने कविहरूलाई
भो सडकमै छोडिदेऊ
सुटुक्क सत्ताको वार्दलीमा उक्ल
र हामीलाई जिस्काउँन थाल
शासकसँग मस्किएको सेल्फी खिच
फेसवुकमा पोस्ट गर
अनि भनिदेऊ
‘सेल्फी खिच्ने हो हाँस्ने हो !
दलाली गर्ने हो वाँच्ने हो !!’

कसैले रातलाई रात भन्छ
तिमी रिसले मुर्मुरिन्छौ
कसैले घातलाई घात भन्छ
तिमी हान्ने राँगो जस्तै बन्छौ
वादशाहको गाथ–गद्दीको
यस्तरी सुर्ता लाग्छ भने तिमीलाई
कृपया कविता लेख्ने कष्ट नगर
कविताको सरहदबाट बाहिर निस्क
एउटा विन्तीपत्र हाल दरवारमा
र वादशाहको नयाँ दिव्योपदेश लेख !

प्रिय साथी !
एक साथ कवि पनि बन्नु
र धोकेवाज वादशाहको जयकार पनि गर्नु
यो एकदम नमिल्ने कुरा हो
नमिल्ने मात्र होइन अश्लिल कुरा हो
अश्लिल मात्र पनि होइन
अझ साहित्यको नाममा अपराध हो !

तिमीलाई प्रिय छ भने
वादशाहको उध्रेको लगौंटी टाल्न
वादशाहका निजी अंग कन्याउँन
र एक थान दीर्घ सेवा पदक थाप्न
तिमी अहिलै छोडिहाल
यो कविताको लन्ठमन्ठ
जाऊ सिधै वादशाहको काँखमा बस
र भनिदेऊ
सवै कविहरू आतङ्ककारी हुन् !

कृपया,
कविताको कष्टकर यात्रा
तिनीहरूलाई छोडिदेऊ
जो अझै पनि मानिरहेका छैनन्
तिम्रो भाषामा बात मार्न !