चिनियाँ राष्ट्रपति सी काठमाडौँ आइपुगे

२५ असोज, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने नेपाल भ्रमणको क्रममा काठमाडौँ आइपुगेका छन् । सी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका छन् ।

राष्ट्रपति सीको स्वागतको लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधामन्त्री केपी शर्मा ओलीसहित उच्च सरकारी अधिकारी विमानस्थलमा पुगेका छन् । सीको स्वागतको लागि नेपाली सेनाले सलामी दिइरहेको छ ।

विमानस्थलमा राष्ट्रपति सीलाई नेपाली सेनाले २१ तोपको सलामी दिनेछ । राष्ट्रपति सलामी र स्वागत पछि सोल्टी होटल प्रस्थान गर्नेछन् ।

केही समय आराम गरेपछि सी राष्ट्रपति भवन शीतल निवास जानेछन् । त्यहाँ नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति भण्डारीसँग आधा घण्टासम्म भेटवार्ता हुनेछ । त्यसपछि सी पुनः सोल्टी होटल फर्किने छन् । राष्ट्रपति सीले त्यसपछि प्रमखु प्रतिपक्षी नेपाली काँग्रेका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् । राष्ट्रपति भण्डारी पछि सीको देउवासँगको भेट पहिलो हुनेछ ।

देउवाको लागि सीले ७ मिनेट छुट्‍याएका बताइएको छ । त्यसपछिको भेट राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग हुनेछ ।

दुबै भेट सकेर सी रात्रिभोजमा सहभागी हुनेछन् । भोज ७ बजेबाट सुरु भएर राति ९ बजेसम्म चल्नेछ । त्यसक्रममा विभिन्न राजनीतिकसँगै कुटनीति र सुरक्षासँग सम्बन्धित व्यक्‍तित्वसँग सीले परिचयसँगै छोटो कुराकारी गर्नेछन् ।