महरालाई विप्लवको पत्रः सर, तपाईँको आदर्श डगमगाएको छ

२२ असोज, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भावुक पत्र लेखेका छन् । जबरजस्ती करणकी अभियोगमा महरा पक्राउ परेसँगै विप्लवले पत्र लेखेका हुन् । उनले आफू निशब्द भएको बताएका छन् । भद्र स्वभावले छुद्र कार्य कसरी कसरी गर्यो होला भनेर विप्लवले मान्नै गारो भएको बताएका छन् ।

जनयुद्धकालमा दिएको महराले एक जनासँग मात्रै प्रेम विवाह अनि यौनको स्कुलिङ दिने गरेको र पराय विवाहित महिलासँगको शारीरिक सम्बन्धलाई अनैतिक सम्बन्ध मानिन्छ भन्दै प्रशिक्षण दिएको विप्लवले सम्झेका छन् । विप्लवले महराको आदर्श डगमगाएको समेत बताएका छन् ।

विप्लवले क्रान्तिको आवेगले हच्किए महरालाई हेरेको तर बन्दुकको निशानी फेरि एकपटक सल्बलाएको तर ढिला भइसकेको बताएका छन् । ”सर तपाईँको आदर्श आज डगमगाएको छ । तपाईँको कमजोरीमाथि बर्गवैरीहरु दशै मनाईरहेका छन् । घर जलेको त्यो दिन एक पटक फेरी निस्सासिएको छ । जुनेली रातका जुनताराहरुको उजेली मधुर बनेको छ । क्रान्तिको आवेग हच्किएर तपाईलाई चियाएर हेर्यो अनि बन्दुकको निशानी फेरी एक पटक सल्वलाएको छ । तर ढिला भैसकेको छ महरा सर” विप्लवले पत्रमा उल्लेख गरेका छन् ।

यस्तो छ विप्लवको पत्रः

प्रिय महरा सर
क्रान्तिकारी अभिवादन

हामी तपाईका चेलाहरु आज निशब्द छौँ । पत्याउनै गाह्रो भो । तपाईको भद्र स्वभावले यस्तो छुद्र कार्य कसरी गर्यो होला भनेर मान्नै गाह्रो छ । महरा सरको त्यो स्कुलिङमा युद्धको एउटा आदर्श थियो, जहाँ केवल एक जनासँग मात्रै प्रेम विवाह अनि यौनको स्कुलिङ दिन्थ्यो । अन्य पराय विवाहित महिलासँगको शारीरिक सम्बन्धलाई अनैतिक सम्बन्ध भन्थ्यो ।

सर तपाईँको आदर्श आज डगमगाएको छ । तपाईँको कमजोरीमाथि बर्गवैरीहरु दशै मनाईरहेका छन् । घर जलेको त्यो दिन एक पटक फेरी निस्सासिएको छ । जुनेली रातका जुनताराहरुको उजेली मधुर बनेको छ । क्रान्तिको आवेग हच्किएर तपाईलाई चियाएर हेर्यो अनि बन्दुकको निशानी फेरी एक पटक सल्वलाएको छ । तर ढिला भैसकेको छ महरा सर ।

मलाई आज कामरेड भनेर सम्वोधन गर्न गाह्रो भयो । मसँग सरको सम्वोधन बाहेक अरु के रहेन । म क्षितिज पारी पर्खिरहेको परिवर्तनको उषाकिरणसँगै छु । उज्यालो उषाकिरण बोकेर धर्तीमा ल्याउने दुस्साहस गर्दैगर्दा सायद मेरो भौतिक शरीर जलेर उषासँगै नष्ट हुनसक्छ । तर विचार जीवित रहनेछ । म नभएर के भयो र ? आखिर विचार त बाँचिरहनेछ । अँ साँच्चै संसदीय व्यवस्थाले तपाईको जीवन उदांगो पारिदियो ।
कमजोरी तपाईँबाट भयो होला तर त्यसको अन्र्तनिहित कारक तत्व संसदीय व्यवस्था हो । यो व्यवस्थाले अन्तर्निहित सुन्दरताको हरण गरेर देखावटी रुपको विज्ञापन गर्छ । आदर्शको सत्यानाश पारेर नैतिकहीनहरुको संगत गराइदिन्छ । किनकी संसदीय थलोमा खसीको टाउको झुन्ड्याएर कुकुरको मासु वेचिन्छ । हो महरा सर, त्यही भएर आज तपाई आदर्शको चुलीबाट गल्र्यामगुर्लुम ढल्नु भएको हो । दोष त तपाईको थिएन, थियो त केवल त्यही व्यवस्थाको थियो ।

सर्वहारावर्गले देखेको कुरा हो । हुस्कीको चुस्कीले मात लगाउँछ । मात लागेको मनले उत्तेजित बनाउँछ । आखिर धन, सम्पत्ति न हो । दम्भ देखाउँछ । फोकटमा पाएको सुख, सुविधाले त झनै आदर्शको हिमशिखर विलाई खल्वलिएको मस्तिस्क हुँदै दरिद्र आत्मा भएर अनैतिक कार्यशैलीमा छछल्किन्छ अनि पोखिन्छ । हो, त्यस्तै भभएको हो, पताईको आदर्शको जिन्दगी । यो दोष पनि त्यही पातकी संसदीय व्यवस्थाकै हो । कसैको घर उजाड बनायो । कसैको नैतिकता हरण गर्यो । कसैको उठिवास लगायो । यो सव व्यवस्थाकै कारण हो ।

मैले यतिवेला सम्झिरहेको छु । चुनुवाङ बैठकपछि प्रचण्ड कामरेड र वैद्य कामरेडको वैचारिक धार विभाजन हुँदा तपाई मौन भएर दोसाँधमा उभिनुभएको थियो । न त प्रचण्डको विचारमा तपाईको अडान थियो, न त वैद्य कामरेडको विचारमा थियो । तर अन्ततः तपाई प्रचण्ड कामरेडको संसदीय बाटो पकड्नु भयो, जसको फलस्वरुप आज इनाम पाउनुभयो, म निकै दुखी छु ।

मेरा युद्धकालीन मित्र वादलले हत्कडी लगाएर आज हिरासत पठाए । त्यो उनले नुनको सोझो गर्नु कर्तव्य थियो । आशा गर्छु, छानविनपछि अडिग आदर्शसहित मेरो आदरणीय सर फर्किनुहुनेछ र फेरी भन्नुहुनेछ । माननीय सदस्यहरु हुन्छ भन्नेले हुन्छ भन्नुहोस्, हुन्न भन्नेले हुन्न भन्नुहोस् । क्रान्तिकारी अभिवादनसहित ।

उही कमरेड विप्लव