फूलमा खेल्दै पीडा भुल्छिन् पद्मा

कैलाली, १४ असोज । चुरे गाउँपालिका १ निंगाली कि पदमा वम फूलसंग खेलेर आफ्नो मनको पीडा भुल्ने गरेकी छिन् । उनको श्रीमान गणेश बहादुर वमलाई २०६० साल जेठ ५ गते तत्कालिन नेकपा माओवादी पार्टीले बेपता बनायो । जुनबेला श्रीमान गाउँकै पाईभेट स्कुलमा शिक्षक थिए ।

उनी श्रीमानको पर्खाईमा १६ वर्ष बिताई सकिन्, श्रीमान कहिले घर आउँने हुन्, कुनै निश्चित छैन ! उनी विगतका कुरा सम्झेर आँखाको परेलाबाट टप्प आँशु झार्दै भनिन् ‘मेरो श्रीमान एकदमै सोझो मिलान्सार थिए । विद्रोही पार्टी आएर अभियानमा जाउँ, यतिका क्षमता भएकाहरु घरमा बस्न सुहाउँदैन भनेर लिएर गए ।’

उनी कक्षा ८ मा पढ्दा पढ्दै सानै उमेरमा विबाह भएको बताउदै भनिन्, श्रीमान बेपता हुदा छोरी ७ वर्ष र छोरा ४ वर्षको थियो । बच्चाहरुलाई हुर्काउन धेरै संघर्ष गरेको सुनाईन् । ‘श्रीमान बेपत्ता हुदा चिन्ताले शरिर गलिसकेको थियो । छोरा छोरीलाई किताब कापी स्कुल ड्रेस, चप्पल किन्ने पैसा हुदैन थिए । छोरा छोरीपनि खाली खुट्टा स्कल जान कहिलै हिचकिचाएनन् ।

छोरा छोरी हुर्काउनलाई उनी पहाडको गुठी जमिनमा १३ बुटा सुन्तला रोपिन्, हरियो धनिया, अदुवा, सुर्खानी, लसुन रोपेर आफू नखाई बेचेर छोरा छोरीलाई स्कुल पढाउन थालिन् । पछि सासुले ८ सयमा एउटा बाख्रा किनिदिनु भयो र आफूले बचत गरेको ११ सय रुपैयमा अर्को बाख्रा किनेर पाल्न थालेको बताईन् ।

पहाडमा साना घर थियो, त्यो घर भन्दा बाहिर पाईला नटेकेकी पद्मा दुई बाख्राबाट २२ वटा बाख्रा बनाईन् । उनको मेहनतले सबै अचम्म थिए । छोरी र छोरा पढाईमा एकदमै राम्रो थियो अन्ततः छोरी एसएलसी पास गरिन् ।

छोरीलाई पढाउन उनी धनगढी आईन् । छोरा छोरी स्याहार्दै उनी कान्तिपुर कलेजमा तीन महिने गार्डन सम्बन्धी तालिममा सहभागि भईन् । त्यस लगत्तै उनी साथी इन्टर प्राईजेमा पनि तीन महिने तालिममा सहभागी भएको सुनाईन ।

उनी छोरा छोरीको पठनपाठनको खर्च जोहो गर्न साथी इन्टरप्राईजेजका प्रमोद पाठकसंग कामकोलागि अनुरोध गरिन् । पाठकले साथी होटलका सञ्चालक दिनेशराज भण्डारीसंग कुरा गरेर पद्मालाई काम दिलाउन सहयोग गरे ।

पद्मा २०६९ देखि साथी होटलमा काम गर्न थालिन् । उनी शुरुमा ४ हजार रुपैया तलब पाउँने गरेको सुनाईन् । उनको भनाई अनुसार साथी होटलमा जम्म १३ वटा गमलामा फूल रोपेको थियो । उनी अहिले १ सय ७६ गमला र १२ वटा क्यारी बनाएर फूल रोपेकी छिन् । दिनभरि उनी फूलसंग रमाउँछिन् ।

उनी विहान १० बजेदेखि साँझा ५ बजे सम्म फूलमै खेल्छिन् । फूलमा पानी हाल्ने, गोडमेल गर्ने, नयाँ गमलामा माटो भर्ने, फूल रोप्ने, झार निकाल्ने, कटिंग गर्ने, गमलामा रंगरोगन गर्ने, फूलको बेर्ना÷नर्सरी बनाउने, कलमी बनाउने काममा व्यस्त हुने गरेको सुनाईन् ।

उनी थपिन् ‘म फूललाई धेरै माया गर्छु, कोही व्यक्ति फूल टिप्यो, हाँगा भाचिदियो भने धेरै रिस उठ्छ । मेरो छोरा छोरी हुर्कि सके, अब धेरै फूल हुर्काउने ईच्छा छ । छोरा छोरी जतिकै माया फूलमा छ ।’ कुनै दिन राति हावाहुरी आएको बेला मेरो फूल भाँचिने हो कि भन्ने चिन्ता लाग्छ । उनले थपिन् ।

उनको परिश्रमको मूल्यांकन गर्दै साथी होटलले हरेक वर्ष तलब बृद्धि गर्नेगरेको पदमाले सुनाईन् । हाल उनको तलब १३ हजार पुगेको छ ।
उनी होटलमा काम गर्दा छिमेकी, सासु ससुराले धेरै कुरा काटेको सुनाईन् । शुरुमा आफैपनि आफूले गर्ने काम प्रति लाज मान्ने गरेको बताउँदै अहिले उनी शिर उच्च गरेर साथी होटलको गार्डन इन्र्चाजको परिचय दिन्छिन् ।

होटल सञ्चालक दिनेश भण्डारी साथी होटमा २२ जना महिला लगनशीलताका साथ काम गरिरहेको बताए । एक दशक अगाडी होटलमा काम गर्ने महिलालाई हेर्ने दृष्ट्रिकोण एकदमै नकारात्मक थियो, विस्तारै परिवर्तन भएको छ जसले गर्दा आज भोली पढेलेका महिलाहरुपनि यो क्षेत्रमा दीगोरुपले काम गर्दै आइरहेका छन् ।

विकसित मुलुकमा पुरुष जस्तै महिलाहरुपनि घर बाहिरको काम गर्ने भएकोले त्याँह अर्थतन्त्र बलियो छ, तर हाम्रो देशमा महिलाहरुलाई घर बाहिर निस्कनै मुस्किल ! निस्केका महिलाहरु पनि सामाजिक परिवन्धनमा परेर कष्टपूर्ण संघर्ष गर्न बाध्य भएका कारण महिलालाई घर बाहिरको काम गर्न एकदमै चुनौती रहेको भण्डारी बताउँछन् ।