कमैया आन्दोलनका मसिहा सीताराम : जिविसको उधारो पुरस्कार निर्णयले भए बेहाल !

धनगढी, १४ भदौ । पुरस्कार दिने वा प्राप्त गर्ने आफैमा सुखान्त अनुुभुतिको स्वर्णिम क्षण हो । तर कुनै व्यक्तिलाई उसको योगदानको कदर स्वरुप पुरस्कार दिन भनी गरिएको एउटा उधारो निर्णयले उसको जीवन नै नर्कीय बनायो भन्दा अपत्यार लाग्न सक्ला । तर सत्य हो ।

करिब १ शताब्दी बढी नै पश्चिम नेपालको तराईमा कमैया प्रथाले जरा गाडेर बस्यो । सीमा नाघ्दै गयो । अन्ततः हजारौं कमैया सडकमा ओर्लिए । आन्दोलन चर्कियो । २०५७ साउन २ गते तत्कालीन सरकारले मुुक्तिको घोषणा ग¥यो । आन्दोलनको बिजारोपक तथा महानायकको रुपमा सीताराम चौधरी (५८) कहलिए । फलतः २७ हजार मुक्तकमैया पुस्र्थापनाको संघारमा छन् अहिले ।

आज उनै सीतारामलाई तत्कालीन जिल्ला विकास समिति कैलालीले कमैया आन्दोलनको अभियान्ताको रुपमा पुरस्कार दिने निर्णय ग¥यो । त्यही निर्णयका कारण उनी आजसम्म घरका न घाट छन् । जन्मजात कमैया रहेको उनको हातमा नत कमैयाको पहिचान पत्र छ, त पुरस्कार र पुनस्र्थापना नै ।

कमैयाका कहाली लाग्दा दिन

आमा चुन्की र बाबा गोपीलाल डंगौराको कोखबाट उनी २०१८ सालमा गौरीगंगा नगरपालिका (साविक चौमाला गाविस–१ खुरखुरिया) मा जन्मे । जन्मजात कमैयाको छोरो रहेका उनले पनि कमैया यात्रा सुरु गर्नुको विकल्प थिएन ।

उनी आफ्नो बाल्यकाल स्मरण गर्दै भने–‘बाबा डाई (आमा) जमिनदार फलिराम डंगौराको घरमा कमैया बसेका थिए । त्यहाँ नै मेरो जन्म भयो । त्यहै हुर्किए । ७÷८ वर्षको उमेरमा जमिनदारको छेग्रहुवा (बाख्रा चराउने बालक), गयारुवा (गाई गोरु चराउने व्यक्ति) बने । अलि ठूलो भए । कमैया बसे ।’

त्यतिबेला श्रमशोषण पनि अधिक भएको सीताराम बताउँछन् । बाख्रा र गाई स्याहारे बाफत खाना र वर्षमा एक जोर कपडा मात्रै पाएको र कमैया बसे बाफत वर्षमा ३० किलो धान पाएको सम्झिन्छन् उनी ।

गयारुवा भएदेखि नै उनी अन्य गयारुवाहरुलाई संगठित गर्न थाले । आफु जस्तै २५ जना गयारुवाहरुको मुख्य थिए । वनमा बनाइएको गोठको मल बेचेर पैसा जोहो गर्थे । त्यहि पैसाले मासु किनेर खानपिन गरी रमाइलो गर्थे । बाँकी पैसा आपसी हितमा खर्च पनि गर्थे ।

सौकी लिएर विवाह

त्यसताका उनी साविक उर्मा गाविसस्थित ठग्गु प्रधानको घरमा कमैया बसे । जहाँ वार्षिक ४० किलो धान ज्याला बाफत पाउँथे । काम भने सबै गर्नुपर्ने हुन्थ्यो । २ वर्षपछि आफ्नो ६० किलो हुनुपर्ने माग राखे राखे । जमिनदार सहमतिमा आए । सोही मालिकको घरमा लगातार १४ वर्षसम्म कमैया बसे । मालिकसंग ९ हजार रुपैया सौकी (ऋण) लिएर २०४८ सालमा साविक चौमाला गाविस–१ की जोख्नी डंगौरा संग बिहे गरे सीताराम आफ्नो यूवा अवस्थावारे जनाए । ३ सन्तान भए । ऋण लिएको ४ वर्षपछि ३२ हजार सौकी पुग्यो ।

२०५२ ताका लुथरन भन्ने गैरसरकारी संस्थाले कमैयाको सवालमा सचेतनामूलक कार्यक्रम सञ्चालन ग¥र्यो । सचेतनामा बृद्धि हुँदै गएपछि उनले घरको जयजेथा बिक्रि गरी सौकी चुक्ता गरेको र बमैया बस्न छोडेको बताउँछन् । त्यसताका लुथरनको सहयोग तथा व्यक्तिगत प्रयासले उनीसहित ६३ जना कमैया मुक्ति भएको उनी सुनाउँछन् ।

कमैया बस्न छोडेपछि उनी ज्याला मजदुरी गर्ने र बाँकी समय गाउँका कमैया मुक्ति अभियान चलाउन थाले । लुथरनके सहकार्यमा साविक चौमाला, गदरिया, उर्मा र फूलबारी गाविसहरुको अध्यक्ष समेत भए ।

२०५४ सालमा कमैया प्रथा उन्मूलन समाज स्थापना गरी आफै अध्यक्ष भएर सीतारामले अभियान चलाए । उनकै नेतृत्वमा २०५५ माघमा साविक गदरिया गाविसका ७ जना कमैयाको १० हजारसम्मको सौकी (ऋण) मिनाही गरियो ।

कमैया आन्दोलन उत्कर्षमा पुग्यो । कमैयाको सवाल सडकदेखि सदनसम्म स्थान पायो । राष्ट्रिय मात्रै होइन अन्तराष्ट्रिय मुद्धाको रुपमा स्थापित भयो । तत्कालीन सरकारले कमैया मुक्तिको घोषणा गर्न बाध्य भयो ।

कमैया आन्दोलनको दवाव स्वरुप सरकारले कमैयाहरुको लगत संकलन गरी पुनस्र्थापनाको कार्यक्रम बढायो । त्यसताका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला सम्मिलित संघर्ष समितिका अध्यक्ष पनि सीताराम आफै थिए ।

दाङमा ७ सय ५, बाँके जिल्लामा १ हजार ९ सय २१, बर्दियामा ११ हजार ५ सय ५१, कैलालीमा ८ हजार ९ सय १०, र कञ्चनपुरमा ४ हजार ४ सय १८ गरी २६ हजार ७०५ जनाको लगत संकलन भयो । मुक्त घोषणाको १९ औं वर्षसम्म पुस्र्थापनाको कार्य अन्तिममा पुगेको छ ।

अन्तर्राष्ट्रिय अवार्ड

उनको संघर्षको कदर गर्दै २०६५ सालमा युनिभर्सल पिस फेडेरेसन भन्ने संस्थाले उनलाई एम्बासडर फर पिस एवार्डबाट सम्मानित ग¥यो । मुक्तकमैया महिला विकास मञ्च, थारु कल्याणकारिणी सभा, कमैया प्रथा उन्मूलन समाजलगायत संघ सस्थाले पनि अभिनन्दनका साथै सम्मान गरे ।

तर विडम्वना आफै कमैया बसेर मुक्ति आन्दोलन हाँकेका सीताराम आफु भने हालसम्म सरकारको सबै पुनस्र्थापना कार्यक्रमबाटट बञ्चित छन् । उनी संग नत कमैया बसेको परिचयपत्र छ । नत पुनस्र्थापना नै भए । उनी छुटमुक्त कमैया भएर धनगढी उपमहानगरपालिका १७ पथरी गाउँमा ऐलारी जग्गामा बस्दै आएका छन् ।

जिविसको त्यो निर्णय

उनी भावुक हुँदे भने–‘म विभिन्न आन्दोलन तथा पुनस्र्थापनाको अभियानमा सक्रिय थिए । लगत संकलनमा सरकारलाई सहयोग गरे । तर आफै छुटे छु । तत्कालीन जिल्ला वनअधिकृतलगायतले पनि भन्न थाले, सीताराम चौधरी आफै कमैयाको नेता हो । यसलाई पुनस्र्थापना अभियानको अन्तिममा पुस्र्थापना गर्नपर्छ । पहिलै पुनस्र्थापना गरिए अभियानमा ध्यान दिदैन । मलाई पनि पछि त भैहाल्छ भन्ने लाग्यो ।’
०५८ ताका तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा जिल्ला विकास समिति कैलालीको सभापति छेदालाल चौधरी भए । जिल्ला सभापति चौधरीकै अध्यक्षता कमैया पुस्र्थापना समितिको बैठक बस्यो । बैठकबाट पुनस्र्थापनाको काम सम्पन्न भएपछि परिचयपत्रसहित पुरस्कार स्वरुप १० कट्ठा दिने भनी आफ्नोवारे निर्णय भएको उनी बताउँछन् । तर कमैया पुस्र्थापनाको कार्य लम्बिदै गएपछि उनी हालसम्म सो निर्णयकै कारण घरको न घाटको भएको भन्दै दुखेसो पोख्छन् ।

गहभरी आँसु पार्दै उनले भने–‘आफै अगुवा थिए । सबैलाई पुनस्थापित गराएर पछि आफुले लिने निर्णय ठीकै पनि लाग्यो । तर मलाई के थाहा यो पुनस्र्थापनाको कार्य लामो होला । जटिल होला । सबै सुविधाबाट वञ्चित भएछु । अरुलाई न्याय गरे, आफै अन्यायमा परेछु ।’

उनको सहकर्मी तथा अर्का कमैया मुक्ति आन्दोलनका अभियान्ता यज्ञराज चौधरीले सीताराम चौधरी बिशुद्ध र निस्वार्थ भावका साथ आन्दोलनमा होमिएर नेतृत्व गरेको बताउँछन् । साविक जिविसको निर्णय गराउन पहल गर्नेेमा पनि आफै रहेको बताउँदै यज्ञराजले विभिन्न कारण लम्बिएको पुनस्र्थापना कार्यक्रमले सीताराम सबै कार्यक्रमबाट बञ्चित भएको बताउँछन् । उनलाई न्याय दिनुपर्नेमा उनको जोड छ । त्यस्तै, थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी साविक जिविसको निर्णय देख्नमा ठीकै भएपनि बदनियतपू्र्ण भएको ठोकुवा गर्छन् । उनी पनि पुुरस्कारको नामा सीतारामथि अन्याय भएको तर्क गर्छन् ।