गाउँमै कृषि फार्म खोलेपछि रोजगारीमा महिलाको आकर्षण बढ्दो

बझाङ, १७ साउन । ‘कृषि फार्म खोलेपछि काम पाएकी छु। पैसा पनि पाएकै छ। तरकारी बारीमा काम गर्न पनि सजिलो छ,’वडा–१ की पारू ओझाले भनिन्।

‘यहाँ सजिलो छ। ढुङ्गा मुढाको काम गर्नुपर्दैन। महिनामा १५ हजार पैसा पाइन्छ । मिलेर काम गर्छौँ, सजिलो छ,’स्थानीय राधिका गिरीले भनिन्।

छब्बीस पाथिभरा गाउँपालिका–१ मा पर्छ मटेला गाउँ। यो गाउँका अधिकांश मानिसहरू रोजगारीका लागि देशका विभिन्न शहर तथा भारत लगायतका अन्य देश जाने गर्छन्।

अहिले वडाले गाउँमा नै रोजगारीको सिर्जना गर्नका लागि एउटा नमुना कृषि फार्म सञ्चालन गरेको छ। वडाले गाउँमा फार्म सञ्चालन गरेपछि यहाँका मानिसहरूले रोजगारी पाएका छन्।

वडा नम्बर एकका वडा अध्यक्ष नयन बोहोराको सपना थियो, गाउँमै एउटा कृषि फार्म सञ्चालन गर्ने । तर, यो चाहना पुरा भएको थिएन । गाउँपालिकाले सबै वडामा गौरवका आयोजना सञ्चालन गर्ने भयो अनि अध्यक्ष बोहोराको कृषि फार्म बनाउने सपनाले पनि मूर्त रूप पायो ।

‘दूध, अण्डा र तरकारी सबै थोक एकै स्थानमा उत्पादन होस् भन्ने उद्देश्यले यो फार्म बनाउने कुरा भयो र लगानी ग‍र्‍यौँ,’ वडा अध्यक्ष बोहोराले भने, ‘हाम्रो सानो प्रयासले बेरोजगारीलाई केही काम गर्न सकिन्छ कि भनेर कृषि फार्ममा लगानी गरेको हो ।’

वडा कार्यलयले फार्म सञ्चालनका लागि एउटा समूह बनाएको छ । यो समूहले नै सबै काम गर्छ । स्वामित्व भने वडा कार्यलयले लिएको छ । वडाका सबै गाउँको प्रतिनिधित्व हुने गरी समूह बनाइएको छ ।

‘हाम्रो उद्देश्य के भने यो समूहले राम्रो फाइदा गरोस् र अरू ठाउँमा पनि लगानी गर्न सकोस् भन्ने हो,’अध्यक्ष बोहोराले भने।

फार्ममा अण्डा उत्पादन गर्ने १८ सय कुखुरा पालिएको छ। अहिले १६ सय कुखुराले उत्पादन दिइरहेका छन् । यसले गाउँपालिकालाई नै अण्डामा आत्मनिर्भर बनाएको छ। फार्ममा कुखुराबाटै राम्रो उत्पादन भइरहेको छ।

एकीकृत कृषि फार्म मटेल छब्बीस पाथिभरा गाउँपालिका १ का अध्यक्ष रविन्द्र बोहोरा भन्छन्, ‘दूधभन्दा पनि तरकारी र अण्डामा राम्रो छ। दूध पनि राम्रो छ तर, बजार त्यति धेरै छैन ।’

बारीमा फलफुलका बिरुवा, घाँसका बुटा लगाइएको छ। धेरै जमिन गाईका लागि घाँस उत्पादनमा प्रयोग भएको छ। अहिले घाँस छर्ने समय भएको छ। जमिन जोत्न हाते ट्याक्टरको प्रयोग हुन्छ। यसले काम गर्न छिटो र सजिलो भएको छ। फार्ममा अहिले ८ जना स्थानीयले रोजगारी पाएका छन्।

‘अहिले नयाँ भएको र हामीले गरी रहेको कामअनुसार आम्दानी राम्रो छ। हामी खुशी छौँ,’ एकीकृत कृषि फार्मका पशु प्राविधिक रामभक्त जोशीले भने।

यो कृषि फार्म एउटा नयाँ प्रयास हो। यहाँ ७५ लाख लगानी भएको छ। फार्मका अध्यक्ष रविन्द्र बोहोरा गाउँमै आम्दानी गर्न सकिने भन्दै युवाहरूलाई विदेश जान नपर्ने सल्लाह दिन्छन्।

‘विदेश जानु भन्दा पनि युवाहरूले यो काम गरे हुन्छ। मैले यहाँ काम गरेर धेरै सिकेँ। विदेशमा गएर काम गर्नु भन्दा यहाँ गर्दा धेरै राम्रो हुन्छ, ’उनले भने।

छेउमै सेती नदी भए पनि यहाँ सिँचाइको भने समस्या छ। अहिले नदी किनारमा मोटर मेसिन राखेर पानीको जोहो गरिएको छ। फार्मभित्र २ वटा साना–साना पोखरी बनाएर पानीको सञ्चय गर्ने व्यवस्था मिलाइएको छ। सिँचाइका लागि नहर निर्माणको योजना भइरहेको छ।

‘त्यो सेतीको पानी ल्याएर यो वडाको सबै जमिन सिँचाइ गर्न सकिन्छ । त्यसका लागि पहल भइरहेको छ,’ वडा अध्यक्ष बोहोराले भने ।

अब वडाको सहयोगबिना पनि समूहले फार्म सञ्चालन गर्न सक्ने अवस्था बन्दै गएको छ । वडा अध्यक्ष बोहोरालाई कुखुरा फार्मको लागि पानीको व्यवस्थापन गर्ने मन छ, साथै र्फाममा मलको रूपमा मात्रै प्रयोग भई रहेको गोबरलाई ऊर्जाका रूपमा पनि प्रयोग गर्ने उनको उद्देश्य छ ।

‘मेरो एउटा उद्देश्य के छ भने यो गाईको गोबरबाट ऊर्जा निकाल्ने। त्यो कतिको सम्भव छ, भन्ने कुरा बुझ्न म विज्ञ बोलाउँछु। त्यसो गर्न सकियो भने खाना पकाउनलाई दाउरा चाहिँदैन नि,’वडा अध्यक्ष बोहोराले भने।

मटेलाबासीले पछिल्लो समय तापक्रम र वर्षामा परिवर्तनको अनुभव गरेका छन् । वडा कार्यालयले जलवायु परिवर्तन अनुकूलनको योजना बनाइरहेको छ ।

‘हामीले वन बचाउन, विषादीको प्रयोग रोक्न अभियान नै सञ्चालन गरिरहेका छौँ । हामीलाई राष्ट्रिय अन्तर्रािष्ट्रय गैरसरकारी संस्थाले पनि सहयोग गरेका छन,’ अध्यक्ष बोहोराले भने।

फार्म सञ्चालनमा आएको २ वर्ष पुग्न लाग्यो । २२ रोपनीमा फैलिएको फार्ममा गाई, कुखुरा पालनका साथै विभिन्न किसिमका तरकारी लगाइएको छ । यहाँ अहिले १० वटा जर्सी र होलेस्टिन जातका गाई छन् । दूध उत्पादनका लागि पालिएका यी गाई चितवनबाट ल्याइएको हो । गाईलाई यहाँको वातावरणमा अनुकूलित हुन केही समय लागेको थियो । सङ्क्रमणका कारण केही समस्या पनि भयो । अहिले भने यस्तो समस्या छैन । गाईले निरन्तर दूध दिइरहेका छन् ।

स्थानीयहरू आर्थिक रूपमा सबल बन्न सके जलवायु परिवर्तनसँग जुध्न सहयोग पुग्छ। वडा कार्यलयले थालेको यो काम अनुकरणीय छ। यस्ता साना–साना कामको अभ्यास गर्न सके यसबाट ठूलो परिणाम हात पार्न सकिन्छ र रोजगारीका लागि विदेश जानु पर्ने बाध्यताको पनि क्रमशः अन्त्य हुनेछ।