कोही किन बरबाद होस् !

– बिहे कहिले गर्ने ?

– उमेर भएन र ?

– बुढेसकाल लागेपछि केटा पाइँदैन नि !

– सँगैका साथीसँगीका छोराछोरी पनि लभ गर्न थालिसके, तपाईंलाई रहर लाग्दैन रु बिहे समयमै गर्नुपर्छ।

– बुढेसकालको बिहे पनि के बिहे ?

घर होस् या अड्डा। वर होस् या पर। यिनै प्रश्न र कटाक्ष, उपदेश र उपहासले घेर्छन्, अचेल मलाई।

खिस्स दाँत देखाउनुबाहेक मसँग प्रतिक्रिया नै हुन्न। रवाफ प्रदर्शन गर्नेहरूलाई मेरो जवाफले पनि के चित्त बुझ्दो हो र, बिझाउँछ होला !

एक दिन मिल्ने साथीको घर गएकी थिएँ। साथीको ससुराले सोध्नुभयो, ‘नानी बिहे कहिले गर्ने ? ’

मैले भनेँ, ‘क्यालेन्डरमा बिहेको लगन नै रहेनछ, कसरी बिहे गर्नु र ? ’ उत्तर सुनेपछि उहाँले प्रसंग फेर्नु भो।

म त्यहाँबाट हिँडेपछि ससुरा बाले फेरि बुहारीलाई सोध्नुभयो रे पत्रकार बाबु कहिया भोज करही ? छिप गैलिन् ?

साथीले जवाफ दिनुभएछ, ‘का ऊ फलफूल हुई वा तरकारी हुइटी ? बढ्ना, फुल्ना, फर्ना, छिप्ना पक्ना व झरजैना। उमेर कना ते एक ठो नम्बर न हो।’ (हुर्कन, फुल्न, पाक्न र ओइलाउन उनी फलफूल वा तरकारी हुन् र ? उमेर भनेको त एक नम्बर न हो।)

साथीले ससुरालाई यस्तो जवाफ दिएको कुरा पछि सुनाउनुभयो। निकै आनन्द आयो। साँच्चै यस्तो उत्तर त मसँग थिएन।

गएको वैशाखमा घरमालिकको छोराको बिहे थियो। केही समय सँगै पढेका साथीहरूसँग त्यही बिहेमा भेट्न जुरेको रहेछ। त्यो पनि, ११ वर्षपछि।

भेटेको केही मिनेट नबित्दै उनीहरूको उहीे जिज्ञासा आयो, ‘अहिलेसम्म बिहे भएको छैन ? ’

मैले उही उत्तर दिइटोपलेँ, ‘क्यालेन्डरमा लगन रहेनछ, साथी।’

बिहेजस्तै समयमा हो अरूले प्रश्न गर्ने मौका पाउने। अझ, विशेषगरी धेरै पछि भेट भएकाले। त्यो बिहेमा पनि त्यस्तै भयो। धेरैले सोधे, ‘बिहे कहिले गर्ने ? कि पार्टी खुवाउने डरले हो ? ’

म इत्तरिँदै उत्तरिएँ, ‘अहिलेसम्म एकजना केटाले पनि मन पराएनन्, के गर्नु ? कोसँग गर्नु बिहे ? ’

घरमालिककी आमा एक दिन एक्लै भएका बेला उहाँलाई खाना खान बोलाएँ। मौका छोपी सोध्नुभयो, ‘छोरी, बिहे गरेकी हौ कि होइनौ ? ज्वाइँलाई कहिल्यै देख्दिनँ त।’

मानिसका यस्ता प्रश्नको सामना गर्दागर्दा ममा सिर्जनात्मक शैलीमा उत्तर दिने कलाको विकास नै भइसक्यो। प्रश्न सुन्छु, धेरै बेर नसोची फ्याट्टै उत्तर दिने सामथ्र्य पनि राख्छु। ‘तपाईंलाई जे लाग्छ, म त्यही हुँ। बिहे गरेजस्तो लाग्छ भने विवाहित हँ। नत्र, अविवाहित हँ।’

उहाँले बुझ्नु भएन।

जिन्दगी मेरो, चिन्ता अरूलाई।

कस्तो विडम्बना !

बिहे गर्ने कि नगर्ने वा कहिले गर्ने भन्ने विषय व्यक्तिको खुसी र इच्छामा निर्भर हुन्छ। तर हाम्रो समाजमा हो यो (पारिवारिक, कार्यालयीय, साथीसँगीय, सामाजिक अझ राष्ट्रिय–अन्तर्राष्ट्रिय विषय। (राष्ट्रिय–अन्तर्राष्ट्रिय विषय ? नपत्याए भीम रावलज्यूहरूलाई सोध्नुहोला।)

घरिघरि लाग्छ (मेरो जिन्दगी देखेर जल्नेहरू हुन् यी।

केही वर्षअघि फिल्ड रिपोर्टिङका क्रममा घुम्दैफिर्दै साथीको घर पुगेँ। संयुक्त परिवार भएकाले मलाई त्यहाँ चाडपर्व आएजस्तै रमाइलो भयो। राति म त्यही घरकी एक भाउजूसँग सुतेँं।

उहाँबाट पनि त्यही प्रश्न।

जवाफमा मैले भनेँ, ‘केटा खोजदिनू न।’

परिस्थितिले मलाई यस्तै बांगाटिंगा उत्तर दिन सक्षम बनाएको छ।

भाउजूले भन्नुभयो, ‘केटा त आफैं खोज्नुपर्छ। आमाबुवाले खोजेको केटासँग बिहे गरेर मलाई पछुतो भइरहेको छ।’

‘किन भाउजू ? सम्बन्ध राम्रो छैन ? ’

‘के राम्रो भन्नु, के नराम्रो १ २५/२६ वर्षभन्दा बढी भइसक्यो श्रीमानसँग खुलेर कुरा गर्न नसकेको।’

श्रीमानसँग खुलेर कुरा गर्न नसक्नुको कारण थियो (उनको जीवनमा अर्की महिलाको प्रवेश। घर भित्याएको दिनदेखि नै उनले भाउजूलाई यातना दिन सुरु गरेछन्। भन्नुभयो, ‘अलिकति खुल्न खोज्छु, मुख छाडेर गाली गर्छ। तेरो योनी चिलायो कि क्या हो… भालु… रन्डी… भन्छ।’

भाउजू रुनुभयो। पीडा सुनाउँदा त रुने भाउजू, पीडा भोग्दा के भयो होला ? म कल्पना गर्दै झस्कन्छु।

मेरो टाउको सन्न भयो।

श्रीमान् सम्भोग गर्न मन लाग्दा मात्र आउँछन् रे। एक शब्द नबोली जबरजस्ती यौनसम्बन्ध राख्छन् रे। आफ्नो तृष्णा मेटेपछि यौनांगमा नुन–खुर्सानी दलिदिएर कोठाबाहिर निस्कन्छन् रे।

म सुनेरै तर्सिएँ। भोग्नेको हालत कस्तो भयो होला !

‘भाउजू, त्यस्तो श्रीमानसँग किन बस्नुभएको ? यत्तिका समय कसरी बिताउनुभयो ? न्यायको खोजी गर्नु भएन ? ’ रिसले आगो भइसकेकी म प्रश्न गर्छु।

‘न्याय खोज्न कहाँ जानु ? उसको व्यवहारबारे परिवारसँग कुरा गर्दा मलाई नै दोषी ठान्छन्। अलिकति आवाज उठाउन खोज्दा परिवारको इज्जत जान्छ रे। श्रीमान्ले दुव्र्यवहार गरे पनि सासूससुरा एकदमै माया गर्छन्। त्यसैले सबै पीडा सहन बाध्य छु।’

सुनेर मेरो कन्सिरी तात्छ।

म कहिलेकाहीँ धनगढीबाट गाउँ जान्छु। विवाहित दिदीबहिनी, भाउजूहरूसँग भलाकुसारी हुन्छ। उहाँहरूका वेदना सुनेरै बिहे गरुँ गरुँ लाग्दैन। म के गरूँ !

श्रीमान् रक्सी खाएर राति कोठामा पुग्छन् र श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोज्छन्। यसै कारण दुईबीच झगडा हुन्छ। परिवारलाई समेत थाहा भइसकेको हुन्छ। उनीहरू सोच्छन् (केटी नै त्यस्तै हो, श्रीमान्लाई सँगै सुत्नै नदिएपछि कुटाइ खाइहाल्छे नि ! मानौं श्रीमान् जति बेला, जुन अवस्थामा घर आउन पनि हुने। अनि उसले चाहेका बेला श्रीमती यौनसम्बन्धका लागि तयार भइहाल्नुपर्ने। यो पनि न्याय हो त ? यस्तो सम्बन्ध पनि टिकाउ हुन्छ ? के महिलाको यौन जीवन हुन्न ?

यो वैवाहिक बलात्कार हो। यसलाई चुप लागेर सहनुको विकल्प ती महिलाले भेटेका छैनन्।

मेरो एकजना नाता पर्ने भाइ र बुहारीबीच कहिलेकाहीँ झगडा हुन्छ। भाइ धेरै रक्सी पिउँछ। उसको बानी कसैलाई मन पर्दैन। तेस्रो मान्छे गई कुरा गर्न खोज्दा दुवै खुल्दैनन्।

एक दिन म कोठामा सुतेकी थिएँ। भाइ मध्यरातमा मातेर घर आयो। सरासर आफ्नो कोठामा छिर्‍यो। केही बेरमै बुहारी ‘दिदी’ भन्दै मेरो कोठामा आएर सुतिन्।

सोधेँ, ‘त्यहाँ किन नसुतेको ? ’

डर र लाज मिसिएको आवाजमा उनले जवाफ दिइन्, ‘खाली तनाव मात्र दिन्छ।’

पल्लो कोठाबाट आमाले मलाई भन्नुभयो, ‘यिनीहरू सधैं यस्तै गर्छन्। तँ नहँदा राति मसँग सुत्न आउँछे।’

म निःशब्द भएँ।

रातभर सोचेँ (रक्सीको मातमा बुहारीलाई यो जबर्जस्ती ? मनमा धेरै प्रश्न उब्जिए। कोल्टे फेर्दाफेर्दै उज्यालो भयो।

चिसो मौसम भएका कारण आँगनमा आगो बलिरहेको थियो। त्यहीँ आगो तापिरहेकी बुहारीलाई सम्झाएँ, ‘यस्तो झगडा गर्ने श्रीमानसँग पनि कसरी बस्न सकेको रु म भइदिएको भए उहिल्यै डिभोर्स दिसक्थेँ।’

उनी केही बोलिनन्। उता आमा भने मलाई गाली गर्न थालिन्, ‘के भनेको यस्तो रु अर्काको घर बिगार्न खोज्ने ? ’

हेर्नुस्, घरमा उसका पीडा बुझिदिने कोही छैनन्।

अर्की भाउजूको कहानी पनि उस्तै छ। धनसम्पत्ति जति धेरै, श्रीमान्– श्रीमतीबीच मनमुटाव पनि त्यति नै धेरै। भाउजू कहिलेकाहीँ मसँग अनुभव साट्नुहुन्छ। चार वर्ष भइसक्यो दाइ भाउजूसँग सुत्न मान्दैनन्। राम्रो लाउन दिएको छ। मीठो खाना दिएको छ तर राति सँगै सुत्दैनन्। महिनामा एकदुईपटक घर आउँछन्। र पनि केही वास्ता गर्दैनन्। गाउँभरि हल्ला छ (अर्की केटीसँग लभ परेको छ रे।

अर्को लभ दाइको मात्र परेको छ। भाउजूको होइन।

‘धेरै सम्झाउने प्रयास गर्छु। भनेको मान्दैनन्। म बच्चा लिएर एकातिर हुन्छु, ऊ अर्कोतिर। घर आएका बेला कोठा एउटै भए पनि मेरो बेडमा आउँदैनन्’, भाउजूले बेलिबिस्तार लगाइन्। सोच्छु( कोही किन बिहे गरोस् ! कोही किन बरबाद होस्। (नोट : बिहे गरेर खुसी हुनेहरू नरिसाउनुहोला। सृष्टिविरोधी कुरा गरी भनेर नरिसाउनुहोला।)

म आफू वरपर एकै प्रकारको सम्बन्ध मात्र देख्छु।

हर सम्बन्ध जसमा श्रीमान् बलात्कार गर्छन्।

हर सम्बन्ध जसमा श्रीमती बलात्कृत हुन्छन्।

अब आफैं भन्नुस्, आफ्नो सेरोफेरोमा यी सब देख्दादेख्दै म किन बिहे गरूँ ? विशेषतः महिलाका लागि बिहे नर्क हो भनी अनेकौंका मुखबाट सुनिसकेकी म किन त्यही नर्कमा हामफालूँ ? (अन्नपुण फुर्सदमा प्रकाशित )