पाँचथरका गाउँगाउँमा नेकपाको अभियानः केपीले बासुरी बजाइरहेका छन्- पुन

पाँचथर, १९ माघ । नेपाल कम्युनिस्ट पार्टीले जिल्लाका गाउँगाउँ संगठन सुदृढ तथा विस्तार अभियान संचालन गरिरहेको छ । अभियानको क्रममा नेकपाका नेता–कार्यकर्ताहरुसँगै स्थानीयको पनि सहभागीता रहेको छ ।

मेची ब्यूरोले आयोजना गरेको अभियान टोलीमा पूर्व र पश्चिमका नेता–कार्यकर्ता हातेमालो गर्दै गाउँगाउँमा पुगेका छन् । अभियान टोलीको नेतृत्व पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले गरेका छन् ।

अभियानको क्रममा पाँचथरको फाल्गुणानन्द गाउँपालिकाको मेलबोटेमा विशाल जनसभा तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै टोली कमाण्डर पुनले नेपालमा अपराधलाई राजनीतिकरण र राजनीतिलाई अपराधिकरण गरिएको बताए । उनले बहुराष्ट्रिय कम्पनी अन्तरगतको एनसेलले नेपालबाट ७२ अर्ब कर छुट गर्ने तर जनतालाई गाईभैसी बेचेको कर लगाएको भन्दै सरकारको विरोध गरे ।

“एनसेललाई कर छुट गर्ने तर जनताले गाईभैसी बेच्दा कर लगाइन्छ । एनसेललाई कर तिर, लिपुलेक हाम्रो हो भन्दा डण्डा बर्षाउने, निर्मला पन्तका हत्यारालाई कार्वाही गर भन्दा गोली चलाउने, भ्रष्टाचारीलाई कार्वाही गर भन्दा दमन गर्ने गरिन्छ । त्यसैले यो सरकार जनताको होइन” नेता पुनले भने । उनले जनताको भन्दा दलाल र माफियाको हितमा काम गरिरहेको आरोप लगाउँदै वर्तमान सरकारलाई सामाजिक दलाल भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले अगाडि भने, “रोम जलिरहेको बेला त्यहाँको शासक निरोले बाँसुरी बजाएर बसेको थयो रे । त्यस्तै नेपालमा पनि देश र जनता कथित कम्युनिस्ट नामको सरकारको ज्यादतीका कारण आक्रान्त छ तर निरोको नेपाली अवतार केपी ओली जनतामा खुसियाली छ भनेर काठमाडौंमा बाँसुली बजाएर बसेका छन् ।” उनले संसदवादी कम्युनिस्टहरू आफ्नो सिद्धान्त र आदर्शबाट बिचलित भएर संसदीय पुँजीवादको पिँजडामा थुनिएका सुगा हुन्, जसले माक्र्सवादी भाषा बिर्सिएर बहुलाएको आरोप लगाए ।

नेता पुनले अमेरिकामा मासुको लागि पालिएका गाईलाई छिटोछिटो मोटाउनको लागि दानामा मासु मिसाएर खुवाएर मोटाएजस्तै प्रधानमन्त्री केपी शर्मा ओली र (नेकपा)का अध्यक्ष प्रचण्ड कम्युनिस्टको स्वाभाविक सिद्धान्त परित्याग गरेर मोटाएको बताए । “कमरेड माओले कम्युनिस्टहरु बिग्रिए भने अण्डाभन्दा पनि गनाउने खालका हुन्छन् भनेको कुरा नेपालका संसदवादी कम्युनिस्टहरूले प्रमाणित गरेका छन् । यिनिहरु नक्कली कम्युनिस्ट भएकोले समाजवाद आउँदैन” पुनले भने । उनले विप्लवको नेतृत्वमा बैज्ञानिक समाजवादी क्रान्ति अगाडि बढेको बताउँदै साथ दिन जनतालाई अपिल गरे ।

सामना परिवारका सहसंयोजक आरोह नेपालीको सञ्चालन, पाँचथरका जिल्ला इन्चार्ज दर्शनको स्वागत मन्तब्य र जिल्ला सचिव पेम्बा शेर्पाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा अभियानकर्मी र सामना कलाकारलाई औपचारिक स्वागत पनि गरिएको थियोे ।
जयनारायण आदर्श उच्च माध्यमिक बिद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा शिक्षक, बिद्यार्थी, जनता, स्थानीय ब्यापारी, बुद्धिजीवी र सुरक्षाकर्मीको उपस्थिति रहेको थियोे ।

त्यसैगरी जिल्लाका अन्य स्थानहरुमा पनि नेकपाले घरेदैलोसँगै जनसभा, कोणसभा, छलफल, जनश्रम, अन्तरक्रिया, संगठन गठन तथा पुर्नगठन गरिरहेको टोली प्रमुख पुनले जानकारी दिए ।