माघ : कतै उल्लास त कतै कलो पर्व
थारु समुदाय परापुर्वकालदेखि मनाउदै आएको पर्व माघको आफ्नै ईतिहास छ । माघको आफ्नै विशेषता पनि । थारु समुदायले मनाउदै आएको पर्व माघ भित्र बैज्ञानिकता झल्किन्छ । माघ महिना पुरै यो समुदायको लागि बिशेष महिना हो । खानपिन, सरसफाई, आशिर्वाद अर्दान प्रर्दान, वर्ष दिनको समक्षिा, वार्षिक ऐन नियम र नीति निर्माणसैगै नयाँ काम शुरुवाट गर्ने लगनकोरुपमा पनि लिने गर्दछन् । थारु समुदायले माघलाई नयाँ वर्षको रूपमा लिने गर्दछन् । पुस मसान्तको दिन थारु सम्वत सकिएर माघ १ गते थारु सम्वत सुरु हुन्छ । थारु समुदायमा माघी पर्वको रौनक छाए पनि पछिल्लो अवस्थामा राज्यको रबैया प्रति थारु समुदाय असन्तुष्टि व्यक्त गर्दै आईरहेका छन् ।

माघ मनाउन पुस अन्तिम दिनबाट सुरु भई माघ दुई गतेसम्म थारु समुदायले उल्लासपूर्वक मनाउने गर्दछन् । विगतको गतिविधिको समीक्षा गर्दै नयाँ अध्याय सुरु गरिने भएकाले माघलाई थारु समुदायले नयाँ वर्षको रूपमा लिएको हो । माघमा मिठोमिष्ठान खाने, नाचगान गरी रमाउने, पुस अन्तिम दिन माछा मासुको परिकार खाने र मघौटा नाच नाचिने, पुस महिनालाई बिदाइसंगै माघ १ लाई स्वागत स्वरुप रातभर धमार गाएर जाग्राम बस्ने चलन पनि हाल सम्म कायमै छ । माघ १ गते बिहानै तलाउ, नदी, दहमा नुहाई धुवाई गरिन्छ । यसरी स्नान गर्दा पुण्य प्राप्त हुने जनविश्वास छ । यही दिन ठूलाबडा, मान्यजनको आशीर्वाद लिने र इष्टमित्र आफन्तलाई भेटघाट गर्ने, गाउँ घरमा सद्भाव कायम गर्ने चलन छ । छोरी बेटीलाई कोसिल स्वरुप निसराउ पनि दिईन्छ । जुन कोशेलीले आफन्तहरुसंगको प्रेम प्रगाध बनाउछ । यो पर्वमा सुंगुरको मासु र ढिक्करी अनिवार्य हुन्छ ।

यो पर्वलाई सामाजिक, राजनीतिक आर्थिक, सांस्कृति महत्व बोकेको पर्वकोरुपमा लिइन्छ । थारु समुदाय समाजमा अन्तरघूलित भएर बस्ने समुदाय भित्र पर्दछ । समाजमै बस्छ, समाजमै रमाउँछ र समाजकै गतिविधिमा संलग्न रहेर जिविकोपार्जन तथा अन्य विकासको काम गर्छ त्यसैले होला माघ पर्व सामुहिकतामा मनाउँछन् । यो पर्वमा सेवाढोग गरी माघबाटै नयाँ सम्बन्ध र भाइचारा भावनाको विस्तार शुरु गर्छन् । देशलाई विधिवतरुपमा सुचारु गर्न प्रधानमन्त्री, मन्त्री, संवैधानिक अंगका प्रमुख, प्रशासक चाहेजस्तै, थारु गाउँलाई विधिवतरुपले सुचारु गर्न बडघर, भलमन्सा, चौकीदार, अघरिया, देश बन्धिया, गुरुवा आदिको आवश्यक्ता पर्छ । घरलाई हाँक्न घरमूलीको आवश्यकता पर्छ । थारु समुदायले समाजकै रोहवरमा सबैको साझा छलफल र निर्णयअनुसार त्यसको व्यवस्थापन गर्ने गर्छन् । यसले एकातिर सामाजिक भावनको विकास गराउँछ भने अकोतिर निर्णय प्रक्रियामा सहभागी हुन सबैलाई उत्प्रेरित गर्छ ।

सांस्कृतिकरुपमा धनी समुदायमध्ये थारु एउटा हो । नेपालमा १२६ जातजाति र १२३ भाषाभाषि बोल्ने समुदाय छन् । थारु समुदाय भाषिकरुपमा चौथो ठूलो समुदाय हो । माघ पर्वमा मघौता, हुरदुंग्वा, झुमरा लगायतका नाचहरु नाचिन्छन् । सामुहिकरुपमा गर्ने यस्ता सांस्कृतिक कार्यक्रमले थारु समुदायबीचको मेलमिलाप, भातृभाव र सामुहिकतालाई थप सहयोग गर्छ । थारु समुदायको सांस्कृतिक कार्यक्रम केवल सो समुदायकालागि मात्र होइन । यो त सिंगो नेपालीहरुको सांस्कृतिक गहना हो । यसले एकअर्कालाई एउटै मालामा बाँधेर राख्ने भूमिका खेल्छ । त्यसैले माघ पर्वको सांस्कृतिक महत्व छ । संस्कृति जुनसुकै समुदायको आफ्नो मौलिक पहिचान पनि हो ।
थारु समुदाय राज्य प्रति असन्तुष्टि
विगतदेखि नै थारु समुदाय माघलाई उल्लासपुर्वक मनादै आएका हुन् । तर केही वर्ष यता राज्यको रबैयाप्रति थारु समुदाय असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन् । थारु बाहुल क्षेत्रमा थारु समुदायका अगुवाहरु राजनीतिकरुपले होस्, या आर्थिकरुपले होस् उनीहरु आफूमाथि भईरहेको हस्तक्षेपलाई निराकरण गर्न खोजिरहेका छन् । आफूलाई राज्यले गरेको डमनप्रतिको प्रतिरोध गदै विस्फोटको संज्ञा दिईरहेको ईतिहास साक्षी छ । सायद टीकापुर घटनापनि त्यहि इतिहाससंग जोडिन सक्छ । टीकापुर घटना भएको तीन वर्ष भन्दा बढी भईसक्यो । तर मुद्धा किनार नलाग्दा थारु समुदाय पुन राज्यले आफूमाथि चरम अन्याय र डमन गरिरहेको महसुश गर्दै आईरहेका छन् । पछिल्लो केही वर्ष यता कैलाली कञ्चनपुर, दाड्ड, बाँके, बर्दिया लगायतका थारु बाहुल क्षेत्रमा मनाउदै आएको चाडपर्वहरुलाई राज्यले सहज स्वीकार गर्दै स्थानीय तथा सार्वजनिक बिदाको मागगरि पटक पटक ज्ञापनपत्रमार्फात ध्यानकर्ष गराईरहेको अवस्था छ । तर सरकारले यहाँनिरपनि अलौकिरुपले विभेद गर्दै आइरहेको भान थारु समुदायमा उब्जेको हो ।

सरकारले माघेसंक्रान्ति भनेर वर्षौदेखि विदा दिदै आएको सबैलाई थाहाँ छ । थारु कल्याणकारीणि सभाले माघ १ गते सार्वजनिक बिदा भएपनि पौषको मसान्त र माघ २ गते स्थानीय बिदाको माग गरेका हुन् । उता राज्य माघ १ गतेको विदालाई भ्रामक बनाई मिडिया मार्फात थारु समुदायलाई मध्येनजरगरि माघ १ गते विदाको घोषणा गरे भन्दै क्याभिनेट बैठकबाट निर्णय पारित गरेको जानकारी दिएको छ । जुन रबैयाले थारु समुदायको मन पोलेको छ । अर्को कुरा माघ नजिकदैगर्दा सांसद रेशम थारुलाई सपथ ग्रहणपश्चात पुन कारागारमा कैद गरियो । जुन घटनाले थारु अगुवाहरु उल्लासपूर्वक माघ नमाएर कालो पर्वकोरुपमा मनाउने निर्णय गरेको थारु कल्याणकारीणि सभा कैलालीका कार्यबाहक अध्यक्ष माधब थारुले बताए । उसरी हेर्दा थारु समुदायमा माघलाई कालो पर्वकोरुपमा मनाउन लागेको यो तेस्रो वर्ष रहेको पनि उनले बताए ।
उनले भने ‘गाउँ गाउँमा माघ मिलन कार्यक्रम, माघ महोत्सव कार्यक्रममा देवानी कार्यक्रम, भुरा खेल कार्यक्रम गर्नु मात्रै उल्लास होईन, राज्येले सबै जात जातीहरुको पर्वलाई अपनत्वको भावले हेर्नुपर्छ र सबैलाई समान व्यवहारबाट सबैको चाडपर्व, कला सांस्कृति रीतिरिवाजलाई स्वीकार गरिनु पर्छ । अनि मात्रै पर्व मनाउन मनदेखि नै उल्लास थपिने हो न कि यसै रबैयाबाट थारु समुदायमा पुन नैराश्यतापन छाउँछ र त्यसको संकेट निगेटिभ तिर जानसक्छ ।’
माघलाई उल्लासपूर्वक मनउँछौ : जनप्रतिनिधि
सांसद बिरमान चौधरी
माघ पर्व थारु समुदायको सबै भन्दा ठूलो पर्व हो । यो पर्वको आफ्नै विशेषता रहेको छ । हाम्रा पुर्खाहरुले जसरी मनाउदै आए त्यसैगरि नै म पनि यो वर्षको माघ मनाउँछु । यो वर्ष थारु परम्परा अनुसार माघ मनाउने इच्छा छ । गाउँमै बसेर सामुहिरुपले गित गाएर जगरम बस्ने, स्नान गरि आफू भन्दा सानालाई आर्शिबाद दिने र ठूलाबाट आर्शिबाद लिने योजना बनाउदैछु । गाउँकै साथी भाईहरुसंग राहरंगी गर्ने, बंकुरको मासु खाने, ढिकरी खाने र समयलाई सदुपयोग गरेर आफ्ना आफन्त र पार्टीका कार्यकर्ताहरुसंग भेटघाट गर्ने योजना रहेको छ ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड

माघ पर्व थारु समुदायको विशेष पर्व रहेकोले म हरेक वर्ष माघलाई पहिलो प्राथमिकताका साथ लिने गर्दछु । तर यो वर्ष म आफू दुःखमा परेकोले (बुवाको मृत्यू भएको) ४५ दिन नपुगेको कारण बाहिरको खाना खाना नमिल्ने हुदाँ मेरो लागि माघ खल्लो हुन जान्छ । मलाई थारु परिकार एकदमै मन पर्छ । यो वर्ष ति परिकारलाई धेरै सम्झन्छु । मैले रमाईलो गर्न नपाएपनि सबै साथी भाई दिदी बहिनीहरुलाई स्वाहादपूर्णरुपले माघ मनाउनुस्, तडक भडक नगर्नुस् भन्दै माघको शुभकामना छ ।
कैलारी गाउँपपालिकाका प्रमुख लाजुराम चौधरी

यो वर्षको माघ मेरोलागि स्पेशल बन्न गइरहेको छ । पुस ३० गते हसुलिया बजारमै कैलारी गाउँपालिले केही हिमशिखर यूवा क्लबहरुसंग मिलेर थारु सांस्कृति प्रर्दशनी तथा पेनालटी सुट आउट कार्यक्रम तय गरेको छ । म त्यो दिन त्यही कार्यक्रमलाई समय दिन्छु । माघ १ गते स्नान गरेर गाउँमै पुरै समय बिताउने गोजना बाएको छु । गाउँपालिकाको जिम्मेवारी पाएदेखि गाउँमा समय दिन नसकेको कारण यो वर्षको माघमा गाउँमा रहेका पुर्खा अग्रज, आफन्त साथीभाईहरुसंग भेट घाट, ढोग सलाम गर्ने र भलाकुसारी गर्ने योजना छ । गाउँको परम्परा अनुसार माघ मनाउने र सक्दो पुरै समय गाउँमै विताउनेछु ।
गौरीगंगा नगरपालिकाका प्रमुख भिम देउवा

म थारु बस्तीमै हुर्केको कारण मलाई माघ पर्व एकदमै रमाईलो लाग्छ । यो वर्षको माघ पनि थारु गाउँमै गएर मनाउने योजना छ । माघको गुरी गुरी जाँड खाने, ढिकरी खाने, बंगुरको मासु खाएर मुडा ताप्ने योजना छ । माघ १ गते गौरीगंगा नगरपालिका वडा नं. १० र ११ मा माघ मिलन कार्यक्रमको भईरहेको छ । त्यो कार्यक्रममापनि सहभागि हुने र साथी भाई, अग्रजहरुसंग भेट घाट गर्नेछु ।
अन्तमा
थारु समुदायको सामाजिक भावना र एकताले सिंगो नेपालीलाई उत्प्रेरित गर्नुका साथै माघपर्वले भत्केकालाई जोड्ने, विग्रेकालाई सपार्ने, पुराना रिसरागको अन्त्य र नयाँ सम्बन्धको शुरुवात गर्नेगर्छ । थारु माघ पर्वको संस्कारबाट सिङगो नेपालीले प्रेरणा लिनसके नेपाल र नेपालीबीचको भावनात्मक एकता, अखण्डता, राष्ट्रियता र मेलमिलापमा थप सहयोग पुग्नसक्छ । थारु समुदायको बरघर प्रथा र प्रथाजनित कानूनलाई स्थानीय निकायले कानूनी मान्यता दिएर स्थानीयतहदेखि सहभागीता र संलग्न गराउन सके त्यसले विकास निर्माणमा टेवा त पुग्छ नै साथै अपनन्तवबोध पनि हुन्छ । थारु समुदायको आफ्नै तीथि पनि छ । यद्यपि त्यसबारेमा अझै वहसको खाँचो छ ।













