कालिकोट कुपोषणमा सुधार

कालिकोट, ७ कात्तिक । गत आर्थिक बर्षको तुलानामा यो बर्ष कुपोषणको अबस्था घटेको छ । नेपाल सरकारको साझेदारीमा जिल्लामा स्वास्थ्य तथा पोषण सम्वन्धि विभिन्न कार्यक्रमहरु संचालन भएपछि कुपोषणको घटेको हो ।

कुपोषण न्युनीकरणका लागि बिभिन्न प्रकारका पोषण सम्बन्धि जिल्लामा कार्यक्रम रहेका अहिले तिनै कार्यक्रमले कुपोषणमा न्यून भएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ ।

यस्तो छ अवस्था

गत आर्थिक बर्षमा जन्मदा कम तौल भएका बालबालिका ५ प्रतिशत कुपोषित रहेकामा यो आर्थिक बर्षमा ४ प्रतिशत बालबालिका कुपोषित रहेका छन् ।

२ वर्ष मुनिका कम तौल भएका बालकको गत वर्ष २० प्रतिशत थियो भने यो वर्ष १३ प्रतिशत रहेको छ । १८० वटा आइरन चक्की प्रयोग गर्ने महिलाको संख्या गत वर्ष ५१ प्रतिशत रहेकोमा यो आर्थिक बर्षमा बढेर ५५ प्रतिशत पुगेका छन् ।

यस्तै सुत्केरी महिलाले प्रयोग गर्दै आइरहेको ४५ आइरन चक्की खानेको संख्या गत वर्ष ७४ प्रतिशत थियो भने यो आर्थिक बर्षमा बढेर ७९ प्रतिशतले पुगेको छ ।

जिल्लामा शिघ्र कडा कुपोषित बालवालिकाको संख्या गत आर्थिक बर्ष ८ सय ८३ जना रहेकामा यो आर्थिक बर्षमा घटेर ५ सय १२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका पोषण फोकल पर्सन कटकबहादुर महतले बताए । ‘गत बर्ष ५ सय ९० जनाको कुपोषणको उपचार भएबाट सन्चो भएको थियो ।’ उनले भने,‘यो आर्थिक बर्षमा ४ सय ८ जना बालबालिकाको उपचारबाट स्वास्थ्य बनेका छन् ।’

कुपोषणमा कमी दिइन्छ पोषिलो खानेकुरा

कुपोषणमा कमी ल्याउनका लागि जिल्ला स्वास्थ्य कार्यालय लगाएतका संघसंस्थाहरुलाई गर्भवति सुत्केरी महिलालाई अण्डा, पोषिलो खानेकुरा र कुपोषित भएका बालबालिकाहरु सिघ्र कुपोषण भएकालाई बहिरंग उपचार सेवा र बालवालिकाको लागि उत्पादन गरिएको पिठो(लिटो) वितरण गर्ने गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको तथ्यांक अनुसार पोषिलो पिठो प्रयोग गर्ने महिला, बालवालिकाको संख्या गत बर्ष १० हजार ९ सय ७२ जना रहेको थियो यो आर्थिक बर्ष १० हजार,६ सय,६१ जना रहेको वितरण गरिएको छ ।

दलित तथा बालिका बढी कुपोषित

कुपोषित भएका बालवालिका मध्ये ६० प्रतिशतभन्दा बढी बालिका, ६० प्रतिशत भन्दा बढि दलित परिवारका बालबालिका रहेको जिल्ला स्वास्थ्य कार्यालय कार्यालय कालिकोटले जनाएको छ ।

दलित र बालिका कुपोषित देखिनुको मुख्य कारण लैगिंक विभेद, गरिबी, रुढीवादी परम्परा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा.विवश पराजुलीले बताए । ‘अझै पनि समाजका लैगिक बिभेदका कारणले समस्या भएको छ ।’ उनले भने,‘रुढीवादी पपम्परा पनि यसको मुख्य कारण हो ।’