विप्लवलाई सानो देख्नु हुँदैनः डा. दीक्षित
३ कातिक, काठमाडौँ । वरिष्ठ नागरिक अगुवा डा. सुन्दरमणी दीक्षितले नेपाल कम्युनिस्ट पार्टीलाई सानो देख्न सरकारलाई सुझाव दिएका छन् । उनले कुनै पनि राजनीतिक समूह सानो र ठूलो उसले उठाएका एजेण्डाका कारण हुने बताएका छन् ।
अनलाइन डबलीसँग कुरा गर्दै डा. दीक्षितले जनयुद्ध सुरु हुनु पूर्व तत्कालिन माओवादी पनि सानै समूह भएको बताउँदै त्यसले उठाएका एजेण्डलाई राज्यले बेवास्ता गर्दा १० वर्षसम्म देश युद्धमा गएको बताए । डा. दीक्षितले सरकारले बनाएको वार्ता टोलीप्रति आफू सन्तुष्ट नभएको भन्दै इज्जत र सम्मानका साथ विप्लवलाई वार्तामा बोलाउनु पर्ने बताए ।
“अहिले विप्लवको समुह सानो नै छ । तर, उसले ठूलोठूलो कुरा उठाएको छ । माओवादी जनयुद्धमा जानु अगाडि पनि यस्तै त भएको थियो नि । माओवादीलाई कसैले गन्दै गनेनन् । ४१ बुँदा लगेर बाबुराम भट्राईले शेरबहादुर देउवासमक्ष पेश गरेका थिए । गम्भीर हुनुको साटो देउवाले माओवादी केही होइनन् भनेका थिए । कुनै पनि राजनीतिक मुद्दालाई सामान्य भन्ठान्नु हुँदैन । विप्लवले उठाएको मुद्दाबारे कुरा गर्नु परो । संविधानलाई सच्याउनु पर्छ । अहिले सरकारले वार्ताको लागि बनाएको कमिटीसँग मेरो पनि चित बुझेको छैन । पूरा इज्जतका साथ वार्ता गर्नुपर्छ” डा. दीक्षितले भने । बेलायत र भारतको नक्कल गरी संसदीय व्यवस्था नेपालमा ल्याइएको भन्दै डा. दीक्षितले त्यो सफल नहुने बताए । उनले नेपालमा राष्ट्रपतीय व्यवस्था लागु गर्नुपर्ने बताए ।
आफूहरुले संविधान जारी हुनु पहिला पनि राष्ट्रपतीय व्यवस्थाको लागि सडकमा आन्दोलन पनि गरेको तर माओवादी र एमाले काँग्रेसको अगाडि लत्रिएको बताए । सुरुमा माओवादीले राष्ट्रपतीय व्यवस्था हुनु पर्ने भनेपनि अन्तिममा आएर त्यो छोडेको बताए । उनले राष्ट्रपतीय प्रणालीले मात्रै वास्तवकि परिवर्तन दिन सक्ने समेत दाबी गरे ।
“संविधान जारी हुनुअघि हामीले माइतीमण्डलाबाट वानेश्वरसम्म जुलुस निकालेका थियौं । हाम्रो एउटै माग थियो, बेलायत र भारतको नक्कली गरेर ल्याइएको बहुदलिय व्यवस्था नेपालमा मेल खाँदैन । राष्ट्रपतीय प्रणालीले मात्र नेपाललाई वास्तविक रुपमा परिवर्तन दिन सक्छ भनेका थियौ । त्यसले जनचाहना पूरा हुन्छ । कार्यकारी राष्ट्रपतिय प्रणालीका निम्ती सडकमा हामी निकै करायौं, सरकारलाई दबाव दियौं । सुरुमा प्रचण्ड यो प्रणालीको पक्षमा थिए, एमाले कार्यकारी प्रधानमन्त्रीय प्रणालीको पक्षमा थियो । तर, माओवादी र एमाले यसलाई तुहाईदिए । दुबै पार्टी कँग्रेसको अगाडि लत्रिएर उही पुुरानै असफल संसदीय व्यवस्थालाई लागु गरेर जनतालाई धोका दिए” डा. दीक्षितले भने ।
संसदीय व्यवस्था नेपालमा चल्दै नचल्ने भन्दै डा. दीक्षितले संविधान संशोधन गरेरै भएपनि राष्ट्रपतीय व्यवस्था लागु गर्नुपर्ने बताए । उनले दुई तिहाईको सरकारले संविधान संशोधन गरेर सबै असन्तुष्टिलाई समेट्दै राष्ट्रपतीय प्रणालीमा जानुपर्ने धारणा राखे । उनले संसदीय व्यवस्थालाई संसदमा चलखेल गरेर मुठीभर मान्छेहरुले लुटको स्वर्ग बनाएको बताए ।
डा. दीक्षित अगाडि भनछन्, “मेरो विचारमा नेपालमा संसदीय प्रणाली चल्दैचल्दैन । राष्ट्रपतीयमा जानै पर्छ । संसदमा चलखेल गरेर देश र जनतालाई बारम्बार घात गर्ने केही मुठ्ठिभर मान्छेहरुको लुटको स्वर्ग बनाउने शासन प्रणाली खारेज गर्नुपर्छ । योसँगै केही मान्छेहरुले राष्ट्रपति निरङ्कुश हुन्छ भन्ने तर्क गरेका पनि छन् । नेपाललाई सधैं यथास्थितिमा राख्न चाहनेहरुको तर्क हो । हो, यसलाई ‘चेक एण्ड व्यालेन्स’ राख्नुपर्छ । अमेरिकामा पनि विल क्लिन्टनलाई महाअभियोग लागेकै हो । नेपालमा यो प्रणाली चल्दैन भन्न मिल्दैन । जसरी भएपनि राष्ट्रपतीय प्रणालीमा जानैपर्छ ।”













