महिला मन्त्रीहरु पुरुषजस्तो भ्रष्टाचारी हुँदैनन्, इमान्दार हुन्छन्-प्रधानमन्त्री

३१ असोज, काठमाडौं । इथियोपियाले विश्वकै नयाँ रेकर्ड कायम गरेको छ । प्रधानमन्त्री अबिय अहमदले आफ्नो मन्त्रिपरिषदमा आधा हिस्सा महिलालाई दिएर नयाँ रेकर्ड बनाएका हुन् । यसरी मन्त्रिपरिषदमा आधा संख्या महिला भएको इथियोपिया पहिलो देश हो ।

प्रधानमन्त्री अहमदले मन्त्रीको संख्यासमेत कटौती गरेका छन् । महिलाहरु कम भ्रष्ट हुने र देशमा शान्ति र स्थिरता ल्याउन सहयोग पुग्ने विश्वासका साथ उनले मन्त्रिपरिषद्को आधा सदस्य महिला नियुक्त गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । कुल २० सदस्यीय मन्त्रिपरिषदका मुख्य मन्त्रालयहरुमा महिलालाई जिम्मेवारी दिइएको छ ।

नयाँ सिर्जना गरिएको शान्ति मन्त्रालयका साथै संघीय प्रहरी र गुप्तचर निकायका मुख्य जिम्मेवारी पनि महिलालाई दिइएको छ ।
शान्ति, व्यापार तथा उद्योग र रक्षा मन्त्रालय समेतका महत्वपूर्ण मन्त्रालय महिलालाई दिइएको छ । राष्ट्रिय रक्षा मन्त्रालयमा आइसा मोहम्मदलाई जिम्मेवारी दिइएको छ र यो मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने उनी पहिलो महिला हुन् ।

संसदमा पूर्व सभामुख रहेकी मुफेरियात कामिललाई शान्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघिको मन्त्रिपरिषदमा २८ जना मन्त्री थिए, जसमा पाँच जना मात्र महिला थिए । गत अप्रिलमा कार्यभार सम्हालेयता ४२ वर्षीय प्रधानमन्त्री अबियको यो पछिल्लो नाटकीय परिवर्तन हो ।

प्रधानमन्त्री अबियले छिमेकी मुलुक इरिट्रियासँगको दुई दशकदेखि जारी द्वन्द्वलाई समाप्त गरेका थिए । उनले विपक्षीहरुलाई कारागारमुक्त गर्नुका साथै विगतमा प्रतिबन्धित धेरै समूहलाई स्वदेश फर्काउने नीति ल्याएका थिए ।

प्रधानमन्त्री अबियले राज्य नियन्त्रित प्रमुख उद्योग व्यवसायलाई निजीकरण गर्ने योजना सार्वजनिक गरेका छन् ।