अनत्तर (अनन्त) ब्रत
धेरै इतिहासकार र बिद्वानहरुमा थारुबारे बिबाद देखिएको छ । कतिपयले थारुहरुलाई किरातमानेका छन् भने कसैले द्रविड मूलकामानेका छन् । कसैले किरात, कसैले द्रविड भने पनि धेरै इतिहासकार र बिद्वानहरुले थारुहरुलाई अनार्य भएको बताउँछन् ।
डा. रामानन्द प्रसाद सिंह, तेजनारायण पंजियार, सुबोध कुमार सिंह, महेश चौधरी, गोपाल दहितले थारुहरुलाई बौद्ध मानेका छन् भने थारु लोकगीत बर्किमारलाई पुस्तकको रुप दिने दाङ्गकाअशोक चौधरीले थारुहरुलाई हिन्दू भएको स्वीकार्छन् ।युवा पुस्ताका कतिपय थारुहरु, थारुहरुको आदि पुरुष, ईश्वर। परमेश्वर गुर्बाबा हुन् र थारुहरुको आफ्नै धर्म छ भन्ने तर्क गर्दछन् । थारु कल्याणकारिणी सभाले बि.स.ं २०६५ माथारुहरुको अन्तर्राष्ट्रिय सम्मेलन गरी थारुहरु बौद्धरहेको घोषणा गरेको छ ।
एकातिर थारुहरुको हक अधिकारको लागि बोल्ने संगठन थाकसले थारुहरु बौद्ध भएको घोषणा गरेको छ भने अर्कोतिर थारुहरुको पूजास्थल, उनीहरुले मान्ने चाडपर्व, तरत्यौहार, ब्रतआदि हिन्दूसँग मेल खाने गरेको देखिएको छ । थारुहरुको थनवामा अन्य मरी, काली, घोटैलीदेखि पाँच पाण्डव समेतको पूजा गरिन्छ । धेरै समयसम्म सँगसँगैको बसाई, हिन्दूहरुसँग सम्पर्क, समन्वयले वाराज्यले हिन्दू धर्मलाई राज्यको धर्म स्वीकार गरेको कारणले पनि थारुहरु प्रभावित भएको हुन सक्छन् । मिल्दो जुल्दो भएपनि यिनले मान्ने, पुजागर्ने तौरतरीका भने आफ्नै किसिमको छ ।

कुरा जे होस्, थारुहरु बौद्ध हुन् या हिन्दू, आर्य हुन् या अनार्य, द्रबिड होऊन् या किरात, उनीहरुले मान्ने भगवान–भगवती, देवीदेवता, चाडपर्व बढी हिन्दूहरुसँग मिल्दोजुल्दो देखिन्छ। यस्तै मिल्दोजुल्दो चाडपर्व मध्येको अनत्तर ब्रत (अनन्तब्रत)पनिहो । यो ब्रत, कैलाली जिल्लाका पूर्बी क्षेत्रका थारुहरुमा ब्यापक स्थान पाएको छ । जहाँगाउँका धेरै महिला, पुरुष, केटी, केटा सँगै बसीबडो हर्षोल्लास पूर्वक यो ब्रतमान्ने गर्दछन् । पहिले पहिले लोग्ने मानिसहरु मात्रै बस्ने यो ब्रतलाई केटीहरुको सहभागिताले झन रमाइलो बनाइदिएको छ । जिल्लाको पश्चिमी भेकका थारुहरुमा भने यो ब्रतबारे जानकारी छैन ।
अनन्तब्रतको सार
हिन्दू धर्मग्रन्थ (ब्रम्ह पुराण) अनुसार द्वापर युगमा महाराज युधिष्ठिरले राजसूर्य यज्ञ गरेका थिए । त्यतिबेला यस्तो सुन्दर र मनोरम यज्ञ मण्डपको निर्माण गरिएको थियो कित्यहाँतलाउ र जमिन छुट्ट्याउन निकै गार्हो थियो । त्यही बिचमा एकदिन दुर्योधन कतैबाट घुम्दै त्यहाँपुगे र तलाउलाई भुईं मानेर हिंड्दा लडे । त्यतिबेला हाँस्दै द्रौपदीले ‘अन्धाको छोरा अन्धा’भनी खिल्ली उडाइन् । दुर्योधनको मुटुमा त्यो बचनबाण बिझ्यो ।
त्यसैको बदलालिन दुर्योधनले पाँच पाण्डवहरुलाई एक दिन हस्तिनापुरमा डाके र छल, कल र बलले जुवापासामा पराजित गरे । प्रतिज्ञा अनुसार पाण्डवहरु १२ बर्ष बनवास बसे । बनबास बस्ने क्रममा पाण्डवहरु निकै दुःख, कष्ट सहे । बनबासकै क्रममा श्रीकृष्ण पाण्डवहरुलाई भेट गर्न गए र भलाकुसारी गरे । युधिष्ठिरले सो अवधिमा धेरै दुःख–कष्ट सहनु परेको खबर सुनाए । उनले दुःख कसरी कमगर्न सकिन्छ भनी उपाय सोधे । श्रीकृष्णले पाँच भाई पाण्डवहरुलाई अनन्त भगवानको ब्रत बस्ने सल्लाह दिए र कथा सुनाए ।
‘सत्ययुगमा सुमन्तनामका एक मुनिथिए । उनको पत्नीको नामदीक्षा थियो । उनीहरुको एक छोरी थिई, छोरीको नामसुशीला थियो । सुशिला जवान नहुँदै दीक्षाको मृत्यु भयो र मुनिले कर्कशासँग दोश्रो बिबाह गरे । ठूली भएपछि ऋषिले छोरीको बिबाह कौडिन्य ऋषिसँग गरिदिए ।बिदाईको बेलामा सुशीलाकी सौतेनी आमा कर्कशाले कौडिन्यलाई केहि ईट्टा र ढुङ्गाका टुक्राहरु पोको पारी दिए । ससुरालीले दिएको दाइजो भनी कौडिन्य ऋषिपत्नी सहित घर हिंडे । बाटोमा एक नदी थियो, त्यहाँ पुग्दाउनीहरु थाके र बिश्रामगर्न लागे । सुशीला, नदीको अर्को छेउमा सिंगार पटार गरेर केहि पुरुष, महिलाहरुलाई कुनै देवताको पूजा गरिरहेको दृश्य देखिन् र जिज्ञासा राखिन् । उनीहरुले अनन्त भगवानको पूजा गरिरहेको जानकारी गराए र अनन्त ब्रतको महत्व बताए ।
सुशीलाले उनीहरुसँगै अनन्त भगवानको पूजा गरिन् र चौध वटा गाँठा भएको अनन्त धागो हातमा बाँधिन् । त्यो भाद्र महिनाको शुक्ल चतुर्दशीथियो । घर पुग्दाउनलाईदिइएको ईट्टा ढुङ्गा हीरा–मोतीभयो । ऐशआरामको जिन्दगीबित्नथाल्यो । केहि दिनपछि ऋषिकौडिन्यले सुशीलाको बायाँहातमा बाँधेको पहेंलो रंगको धागो देखे । उनलाई लाग्यो, सुशीलाले आफूलाई बशमा राख्न टुनामुना गरेको धागो बाँधेकीछ । उनले सोधिहाले, तिमीले मलाई बशमा राख्न यो टुनामुना गरेकी छ्यो किक्याहो ? सुशीलाले थाहा पाएको कुरा बताइन् । तर धनदौलतमा मस्त कौडिन्य, बशीकरण गर्नलाई बाँधिएको डोरो भनी चुँडेर आगोमा जलाइदिए । यसले भगवान अनन्त अपमानित भए र कौडिन्य केहि दिनमै गरिब हुँदै गए, कष्ट झेल्न थाले । कौडिन्य ऋषि, सुशीलासँग किन यति धेरै दुःख कष्ट आउन थाल्यो भनी कुरा गरे । सुशीलाले अनन्त भगवानको अनन्त डोरी जलाएकोले यस्तो भएको कुरा बताइन् । ऋषिले त्यसपछि पश्चाताप गर्दै भगवान अनन्तसँग क्षमामाग्नलाई भगवानको खोजीमा जंगल पसे । तर भगवानलाई फेलापार्न सकेनन् । धेरै दिनपछि उनीकमजोर भए, एक दिनभुईमा लडे । दर्शन नपाएपछि उनी प्राण त्याग गर्ने निर्णय गरे ।

त्यही बेला भगवान अनन्त प्रकट भए र भने ‘ऋषि, तिमीले जुन अनन्त धागोलाई आगोमा पोल्यो, यो उसैको फल हो, तिमी चौदह बर्ष यसको प्रायश्चित गर । कौडिन्यले त्यसै गरे र अन्तमाउनको अवस्थामा सुधार आयो । उनी फेरी सुखी जीवन जिउन थाले । त्यसैले हे पाण्डवहरु हो, तिमीहरु अनन्त भगवानको अनन्त ब्रत बस, यसले तिमीहरुको दुःख नष्ट हुन्छ भनी श्रीकृष्णले पाण्डवहरुलाई सल्लाह दिए । भगवान कृष्णको सल्लाह अनुसार पाँच पाण्डव,दौपदी सहित अनन्त भगवानको ब्रत बसे र कष्टबाट मुक्तिपाए । यसरी अनन्त ब्रतको शुरुवात भएको हो ।
यो ब्रत नेपालको मधेशी समुदायमा बस्ने गरेको कुरा लेखक सीताराम अग्रहरी बताउँछन् । यता कैलालीको पूर्वी क्षेत्रमा यो ब्रतले ब्यापक स्थान पाएको छ । गाउँका बालबालिका, युवायुवतीहरु यसमाअझ बढी रमाउने गरेका छन् । सगोलमा जमघट हुने र एकको अर्कासँग सम्बाद गर्नैपर्ने ब्रत भएकोले यसको प्रभाव अझ बढ्दैछ ।
ब्रतालुहरु यस दिनमा बिहान काम गरी दश, एघार बजेतिर नुहाई धुवाई गरी थालमा गोबर गणेश, चामल, हल्दी, कच्ची धागो या सेतो पातलो धागो, काँक्रा, फलफूल लिएर गाउँको कुनै एक घरमा जम्मा हुन्छन् । त्यहाँ कलशमा कुशको अनन्त भगवान स्थापित गरिएको हुन्छ र लोटामा कुशको औंठी र आँपको सानो पात सहितको हाँगा राखिएको हुन्छ । गोबरको कन्डा (सुकेको गुइँठा) को आगो एक ठाउँमा बालिएको हुन्छ र धूपी सल्ला, घिउको मिसावट सहितको धूपतयार गरी आगोमा धूपहाली, पानी चढाई पालैपालो पूजा गरिन्छ । ब्रतालुहरु जतिचोटी दिसा–पिसाबका लागि बाहिर जान्छन्, त्यति नै पटक उनीहरु हातमुख धोई, अग्यारा (तयार पारिएको धूप चढाउँछन्) गर्छन् । कच्ची धागोको चौध सूत (लर) धागोको रस्सी बनाउँछन् र बिशेष प्रकारले चौध वटा गाँठो पारीअनत्तर (अनन्त) धागो बनाउँछन् र हल्दीमा पानीहाली रंगाउँछन् । सबैले आफ्नो अनन्त धागो (रक्षा सूत) र गोबर गणेशमा टीका टाला गरेर पालैपालो सबैको अनन्त धागोमा टीकाटाला गर्छन् । त्यसपछि पुरुषले दायाँहातमा र स्त्रीले बाँयाहातको पाखुरामाअनत्तर (अनन्त) धागो बाँध्छन् ।
हवनका लागि आँपका सुकेको दाउराले कुवा बनाउँछन् र एकजनाले सबैका तर्फबाट हवन कुवामा हवन सामाग्री हाल्दै सबैको दुःख दर्द नाशहोस्, सबैको मनोकामना पुरा होस्, चिताएको फल प्राप्त होस् भनी पुजा गर्दछन् । अनि पालैपालो कलशमा राखेको लोटाको पानी,हातमा कुशको औंठी लगाई चलाउँछन् । जसलाई समुद्र मन्ठन गरेको भन्छन् । नजिकै बस्नेले लोटाको पानी चलाउने ब्यक्तिलाई ‘के माग्दैछौ भनी सोध्छन् ।’ उनले ‘अन, धन, बल, बुद्धि, पुत, परिवार, गौलक्ष्मी, बडे अनत्तर (अनन्त) के फल’ भनी जवाफ दिन्छन् । अथवा मनमा लागेको कुरा सबैसामु सुनाएर माग्छन् । यो क्षण बडो रमाइलो हुन्छ ।यो प्रक्रिया सकिएपछि आफूले भगवानको प्रसादको रुपमा लगेको काँक्रो, फलफूल भगवान अनन्तलाई चढाउँछन्, प्रसादको रुपमा सबैलाई दिन्छन् र आफूले पनि ग्रहण गर्दछन् । यतिसम्म समुहमै बसेर सामुहिक रुपमा गर्दछन् ।
उता हरेकको घरमा पकाउनेले नुहाई धुवाई, सफा सुग्घर भएर अन्दीधान (बिशेष प्रकारको धान) को चामलको रोटी पकाएको हुन्छ । सूर्यास्त हुनु अगावै उक्त तयार गरिएको रोटी, ब्रतालुले पूजा गरी, अग्राशन निकाली आफू सेवन गर्छन् । सूर्यास्त भएपछि खान मनाही हुन्छ । कसै कसैले पानीसम्म सेवन गर्छन् । बिहान नुहाई, धुवाई गरी पूजा आजा गरी घरमा लिपपोत गरिएको ठाउँमा बस्छन् । तयार भएको खाना– पकवान एक आफ्नो भाग र अर्को अनन्तभगवानको भाग अग्राशनको रुपमा अगाडि निकाल्छन् । खानलाई तयार गरेको हरेक कुरा अलिअलि धूपसँगै आगोमा चढाउँछन्, अग्राशनलाई अनन्त भगवानलाई चढाउँदै अलि पर सार्छन् र तीन देखि ५ गास खाएपछि हातधोई, हातमा बाँधिएको अनन्त सूत निकाल्छन् र गाईको दूधमा धुन्छन् र खाना खान्छन् । भगवानलाई भोग लगाइसकेको अग्राशन, बिहा भएका चेली–बेटीको घरमादिन जान्छन् ।
यो ब्रतमाचौध सुत (लर) धागोको रस्सी तयार हुन्छ र रस्सीमा बिशेष प्रकारले चौध वटा गाँठो तयार गरिन्छ । यसमा यो अनन्त सूत धागोको ठूलो महत्व हुन्छ, यसलाई रक्षा सूत पनि भनिन्छ । भनिन्छ, ब्रतालुले यो ब्रत१४ बर्षसम्म बस्न अनिवार्य हुन्छ । ब्रत बस्दा भगवानले मनमा चिताएको फल, बरदान दिन्छन् भन्ने समुदायको मान्यताछ ।













