इतिहासकै निरिह थारु कल्याणकारिणी सभा
थारु समुदायको आस्थाको केन्द्र थारु कल्याणकारिणी सभा इतिहासकै सबैभन्दा निरिह बनेको छ भन्दा अतिस्वक्ति न होला । वि.सं. २००५ सालमा गठन भएको एउटा इतिहास बोकेको संस्था हो थारु कल्याणकारिणी सभा । पुर्व मेची देखी पश्चिम महाकालीसम्म फैलीएका थारुहरुको नेतृत्व गर्ने संस्था पनि हो । यति गौरवमय इतिहास बोकेको संस्था र त्यसमा पनि कुनै एउटा समुदायको मुद्धा बोकेर अगाडी बढेको छ । उसले ७० बर्षको यो दौरानमा थारु समुदायको थुप्रै अधिकारहरु स्थापित गर्न सक्नुपथ्र्यो तर अहँ विगतमा जे समस्या थियो, जुन समस्याबाट प्रताडित थियो आज पनि ती समस्या ज्युका त्युँ छन् थारु समुदायमा ।
थारु समुदायका लागी यो संस्थाले केही गरेन भन्दा म लगत हुन सक्छु । थुप्रै आन्दोलनहरुको अगुवाई गरे, सरकारले गरेको दमन र अत्याचार विरुद्ध लडे । थुप्रै नेताहरु पनि जन्माए र जन्माईरहेका छन् । हो उसको दायित्व थियो गर्यो र गर्दै पनि छ । तर जति गर्न सक्नुपथ्र्यो त्यसमा शंका छैन उसले गर्न सकेको छैन् । यी सब लेखिरहदा धेरैको नजरमा म थारु कल्याणकारिणी सभाको विरोधीको रुपमा चिनिन सक्छु तर सत्यलाई लुकाएर लुकिदैन सबैलाई थाहा छ । थारु समुदायको एक युवा भएकै कारणले गलत दिशातर्फ उन्मुख थारु समुदायको नेतृत्व गर्ने संस्थालाई सही बाटो दिन सकुला नसकुला तर गलतलाई गलत र सहीलाई सही भन्न सक्ने हैसियत भने अवश्य राख्छु । मेरो लेखले सही बाटो देखाउने नै मेरो उद्देश्य हो ।
पछिल्लो समय थारु कल्याणकारिणी सभामा नेतृत्व गर्ने नेतृत्वकर्ताहरु पदलाई ओगटेर बस्नु सिवाय केही गर्न सकेको छैन् । नेतृत्वमा पुग्न अघि राजनीतिक दलका नेताहरु जस्तै भएनभएको गफ लगाएर ढाडस र सपनाहरु बाड्दै नेतृत्व पंक्तिमा पुगेकाछन् । नेतृत्वका लागि तछाडमछाड गर्नेहरु जब नेतृत्वमा पुग्छ त्यसपछि ओरालो लागेको मृग जस्तो बन्छ । थारु कल्याणकारिणी सभा यसको पछिल्लो गतिलो उदाहरण बनेको छ ।
थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीको नेतृत्व पनि अहिले यसरी झोक्राएका छन् की अब फेरी उठ्नेमा थुप्रै आशंकाहरु उब्जिएका छन् । थारु समुदायमाथि जस्तोसुकै दमन किन नहोस, अन्याय अत्याचार किन नहोस् सहनु बाहेक केही गर्न सकेको छैन् । वि.सं. २०७२ साल भदौ ७ गते आफ्नो हक र अधिकारका लागि लड्दै गर्दा टीकापुर घट्ना घटेको सबैमा जगजाहेर नै छ । टीकापुर घटनालाई कतिले राजनीतिक घटना भने कतिले अपराधिक घटनाको संज्ञा दिए तर यथार्थ आजसम्म कसैले बाहिर ल्याउन सकेको छैन् । सबैको नजरमा परे त सात प्रहरी र एक नाबालकको मृत्यु त्यो भन्दा बढी नत कसैले देखे नत देखाउन नै सके । राज्यले टीकापुर घटनाको आरोपीत भन्दै सांसद रेशम चौधरी, लक्ष्मण थारु, लाहुराम चौधरी, करण चौधरी, रामदैया चौधरी लगायत २६ जनालाई तीन बर्षदेखी पुर्पक्षका लागि थुनामा राखेका छन् । तीन बर्षपछि बल्ल पेशी भयो के थारु भएकै कारण तीन बर्ष कुर्नु परेको हो ? यो विषयमा बोल्दिने कस्ले ?
कफर््यू लागेकै बेलामा दर्जनौ थारुहरुको घर जले, कतिचेलीबेटी कलात्कृत भए, कतिलाई ढाड खुस्किने गरी कुटपिट गरे तर त्यो विषयमा बोल्दिने को ? न हिजो थियो यो विषयमा बोल्ने नत आज नै छ बोल्ने कोही । टीकापुर घटनामा मर्नेहरु मरेर गए तर जो टीकापुर घटनामा पीडित छन् ज्यूदो लास बनेर जीवन विताईरहेका छन् । कतिको आमाबुवा जेलमै भएका कारण कलिला भाईबहिनीहरु पढ्नबाट बञ्चित भए । कतिलाई हातमुख जोर्न पनि हम्मे हम्मे परेको छ, कोहीको नाबालक छोरा कैदी जीवन विताईरहेका छन् । कतिको घरबार लिलामीको अन्तिम चरणमा पुगेको छ । हो यस्तै पीडाबाट प्रताडित छन् तर सुन्दिने कस्ले ?
विरगन्ज चिनी मिल सञ्चालनका लागि तात्कालिन राजा महेन्द्र शाहले वि.स. २०२१–२०२४ सम्म थारुहरुको ८ सय ३३ विघा जग्गा अधिग्रहण गरेको थियो । वि.सं. २०४६ सालको बहुदलपछि त्यस क्षेत्रमा अरु समुदायका मानिसहरुको ब्यापक बसाइसराइ भयो । अहिले ती ठाउँहरुमा अर्थात सिमरा उपमहानगरपालीकाको वडा ४, १३, १४ र १५ मा झन्डै दुई हजार बढी घरधुरी अन्य समुदायले अतिक्रमण गरी बिल्डिङ बनाएर बसेका छन् । जग्गा प्राप्ती ऐन २०३४ को दफा ३४ को उपदफा १,२,३ र ४ ले जुन प्रायोजनका निम्ति जग्गा लिइएको हो सो कार्य नगरिए जग्गाधनीलाई जग्गा फिर्ता गर्नुपर्ने प्रावधान छ । तर त्यो जग्गामा नत चिनी मिल खुल्यो नत जग्गा नै फिर्ता गरियो । नेपालको कानुन दैबले जानुन ठ्याक्कै त्यस्तै चरितार्थ देखियो । अनि ती निमुखा जनताहरुको लागी कुन निकायले बोल्दिने ? नेपालको जनसंख्याको हिसाबले थारुहरुको जनसंख्या २२ लाख भन्दा बढी छ । अर्थात कुल जनसंख्याको झन्डै ७ प्रतिशत । तर त्यही थारुलाई निजामतीमा ५ प्रतिशत आरक्षण त्यो पनि एकपटकको लागि भनेर छुट्याएको छ । थारु आयोगमा राजनीतिक नियुक्ति हुने थारुले अन्य कुनै पनि राजनीतिक नियुक्ति नपाईने व्यवस्था गरिएको छ । यसको विषयमा बोल्दिने कस्ले ? थारु समुदायभित्र यी र यस्ता समस्याहरु अनगीन्ती छन् ।
थारु समुदायबाटै अहिले प्रतिनिधी सभामा सामानुपातिक र पत्यक्ष गरी १७ जना सांसदहरु छन् । तर कोही पनि थारु समुदायभित्र भएका दमनलाई उजागर गर्न सकेको छैन् । चाहे संसदभित्र होस् या संसदबाहिर यी घटनाको विषयमा सबै सधैं मौन नै देखिन्छ । सबै पार्टीको बचाउ र एस म्यानन भएरै रमाएका छन् । थारु समुदायका लागि काम गर्ने भनेर थुप्रै विकासे संघ संस्थाहरु च्याउसरी खुलेका छन् । तर थारु समुदायको समस्यालाई भित्रि तहसम्म पुगेर कसैले बुझ्न सकेको छैन् ।
थारु कल्याणकारिणी सभालाई थारु समुदायले दशकौदेखी आशा र भरोसाको केन्द्र हो । उसले थारु समुदायको हरेक असहज परिस्थितिमा हाथ समातेर अगाडी बढाउने संस्थाको रुपमा मानिन्छ । अर्थात एउटा किनाराबाट अर्को किनारासम्म पुर्याईदिने नाउ डुङ्गाको रुपमा लिएको छ थारु समुदायले । तर अहिले आफैं शिथिल र स्खलित बनेको छ यस संस्थाका प्रतिनिधीहरु । टीकापुर घटनापछि थारु अन्दोलन शुन्य जस्तै रह्यो । टीकापुर घटनाको नेतृत्व गर्नेहरु कोही जेल पुगे कोही भुमिगत जीवन बिताईरहेका छन् । भुमिगत जीवन विताउनेहरुमध्ये थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरी पनि एक हो । हो धनिराम भुमिगत भएसंगै थारु कल्याणकारिणी सभा नेतृत्व विहिन मात्रै भएन अभिभावक विहीन नै भयो । टीकापुर घटनापछि उ भुमिगत हुन उपयुक्त थियो या थिएन यसले थारु समुदायलाई फाईदा भयो या घाटा समिक्षाको विषय बनेको छ तर अध्यक्ष भुमिगत हुँदैमा कामै गर्न नसक्ने अवस्था चाहीँ पक्कै होईन् । उपाध्यक्ष, महामन्त्री, कोषाध्यक्ष, सदस्यहरु र जिल्ला शाखाहरु दर्जनौ भातृसंगठनहरु जिवितै थिए । तर पद ओगट्ने बाहेक केही देखिएन् । चर्काचर्का भाषण र बनावटी कुरा गर्न बाहेक कुनै सिप चलेन । लाग्छ माटाका मुर्तीहरु बनाएर पदमा राखेको जस्तो ।
अहिले थारु कल्याणकारिणी सभाको २२ औं महाधिवेशनको सर्गर्मी बढेको छ । नेतृत्वको लागि धमाधम उम्मेदबारी घोषणा पनि भईरहेको छ । तर आजको आवश्यकता पद ओगटेर बस्नेको होईन । थारु समुदायमाथि जति अन्याय, अत्याचार र विभेद भए पनि आँखामा छारो र कानमा तेल हालेर बस्नेहरुको आवश्यकता नभएर थारु समुदायलाई बुझ्न सक्ने, सक्षम र सक्रिय नेतृत्वको आवश्यकता छ । अन्याय, अत्याचार र विभेद विरुद्ध विष्फोट हुन सक्ने नेतृत्वको खाँचो छ । नकी माटाका मुर्तीहरु ।
अन्तिममा कसैमाथि पुर्वाग्रही भएर कसैको व्यत्तित्वमाथिको प्रहार होईन् यो सिङ्गो थारु कल्याणकारिणी सभामा देखिएको बेथितिमाथिको प्रहार हो । र जबसम्म बेथिति रहन्छ तबसम्म निरन्तर प्रहार भईरहन्छ ।।













