गुरही भव्यरुपले सम्पन्न (फोटो फिचरसहित)

धनगढी, ३१ साउन । पश्चिम नेपालका थारु समुदाय नाग पञ्चमीसँगै गुरही (गुरिया) पर्व भव्यरुपले मनाएका छन् । विहीबार धानगढीमा आयोजित पर्वलाई धनगढी नगरपालिका आर्थिक सहयोगमा गरेको थियो ।

गुरही पर्व गाउँघरबाट रोगव्याधी हट्ने र गाउँघरमा शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझपख भव्यताका साथ पर्व मनाउने प्रचलन रहँदै आएको छ ।

पछिल्लो समय गुरही पर्वमा गैरथारु समुदायले पनि थारु पहिरनमै सजिएर सहभागिता हुन थालेपछि त झनै उक्त पर्वमा सुनमा सुगन्ध नै थपिएको हो ।

यसैबीच, थारु वस्तीमा विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम गरेर गुरही पर्व मनाइएको छ । धनगढीमा बसोबास गर्ने थारुले पनि धनगढीमा विभिन्न कार्यक्रम गरी पर्व मनाएका हुन् । थारु कल्याणकारिणी सभा कैलाली र सखी सञ्जाल कैलालीको आयोजनामा धनगढीको गुरही चौंक ९क्याम्पस चौंक० मा हर्षोल्लासपूर्वक पर्व मनाएको छ ।

थाकस सचिव माधव थारुले रोगव्याधी हटाई समाजमा शान्ति र अमनचयन कायम गर्ने विश्वासका साथ गुरही पर्व मनाइने प्रचलन रहिआएको बताए । भाई बहिनीको उपस्थिति विना पर्व अपूरो हुने हुँदा पर्वले भाई बहिनीबीचको माया थप प्रगाढ हुने समेत थाकस सचिव थारुको भनाई छ ।

के हो ‘गुरही’ ?

 

गाइने किराको प्रतीकको रुपमा बनाइएको पुतला नै गुरही हो । यो पर्वमा कसैले गुरही–गुरहा, कसैले केटी–केटा वा दुलहा–दुलहीको प्रतीकको रुपमा कपडाको पुतला, खेलौना बनाउँछन् । हिन्दी भाषामा यस्ता पुतला, खेलौनालाई गुडिया भन्ने गरिन्छ । त्यही गुडियाबाट थारु जातिले गुरिया भनी उच्चारण गर्दै आएको थारु बुद्धिजीवीको ठहर छ ।

हुन त थारु भाषामा गुरिया भन्नाले मोतीमालालाई जनाउने गर्दछ । तर, यो पर्वमा कपडाको पुतला, खेलौना प्रयोगको कारणले गुडियाबाट नै गुरिया हुन पुगेको स्पष्ट हुन्छ । थारु बसोबास रहेका कतिपय स्थानमा यसलाई गुरही पर्व भन्ने गरिन्छ भने कतिपय ठाउँमा गुरिया पर्व भन्ने गरिन्छ ।

पर्वमा के–के गरिन्छ ?

नागपञ्चमीको दिनमा मनाइने यस पर्वमा थारु समुदायका घरहरुमा खुर्मा, बरिया ९पुरीजस्तो० जस्ता परिकार तेलमा पकाइने गरिन्छ । घर–घरमा घुघरी (चना, केराउ, मटरा, मकैको भुजा) तयार गरिन्छ ।

गच्छेअनुसार अन्य खानेकुरा पनि बनाइन्छन् । केटी र महिलाहरुले कपडाका रंगीचंगी टुक्रा चिरकुटबाट पुतला बनाउने गर्दछन् । कसैले ती पुतलालाई गुरही ९गाइने कीरा० मानी पिट्ने गर्दछन् भने कसैले बहिनीका अवगुण मानी पिट्ने गर्दछन् । पुतला पिट्ने सोंटा, कोर्रा रारा र मूँज ९ढकिया बनाउँदा प्रयोग गरिने सामग्री०को प्रयोगले सुन्दर, रंगीचंगी बनाइएको हुन्छ ।

ठूला केटा वा पुरुषले सोंटासँग खासै सरोकार राख्दैन्, उनीहरु गुरही (गुरिया) पिट्दा सामान्य केराका हरियो डाँठले पनि पिट्ने गर्दछन् । सूर्यास्त हुने बेलातिर केटी र महिला गुडिया (गुरिया) र घुघरी लिई आफ्नो भेषभूषामा सजिएर चौबाटो र चौराहामा पुग्छन् ।

केटा र पुरुष पनि आफ्नो भेषभूषामा सोंटा, कोर्रा लिई चौराहा ९चौबाटो० पुग्छन् । गुरुवाले कुश राखी, मकैको भुजा, दारु, घुघरी चढाई पुजा गरिसकेपछि जम्मा भएका केटी र महिलाहरू गुरिया ९गुरही० चौराहामा फाल्छन् र केटा र पुरुषहरू सोंटा, कोर्राले पिट्छन् । केटीहरू गुरिया ९गुरही० फाल्ने बेला र केटाहरु पिट्ने बेलामा रोगब्याध नलागोस्, आफूमा भएको अवगुण जाओस् भनी कामना गर्दछन् ।

पिटिसकेपछि केटा वा पुरुषले केटी वा महिलासँग घुघरी माग्छन् र प्रसाद स्वरुप ग्रहण गर्दछन् । कतिपय गाउँमा पिटिएका यी गुरिया ९गुरही० सडकमै चौराहामै छोडेर हिँडिन्छ भने कतिपय गाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि लाने गरिन्छ ।

यो पर्व बालबालिकाको सहभागिता बिना अपूर्ण मानिन्छ । त्यसैले यसमा उनीहरूलाई सहभागी गराउनु अभिभावक आफ्नो कर्तव्य ठान्छन् । कतिपय अभिभावक उनीहरूलाई बोकेरै सहभागी पनि गराउने गर्दछन् ।

गुरियारगुरही पिटिसकेपछि पिटेको सोंटा, कोर्रालाई ल्याएर मानिसहरू गोठमा वा घरमा राख्ने गर्दछन् । यसो गर्दा दुःख, कष्ट, रोग, ब्याध लाग्दैन, भूत, प्रेत, पिसाचको प्रभाव पर्दैन र घरपरिवारमा सुख, शान्ति हुन्छ भन्ने जनविश्वास छ ।