‘गुरही’लाई राज्यले स्वीकार्यो त ?
थारु समुदाय आफैमा कला संस्कृतिका खानी हुन् । यो समुदाय परापूर्व कालदेखि नै विभिन्न कला संस्कृति, नाँचगान खानपिन गरि रमाईलो गर्ने गरेको इतिहास छ । उनीहरु आफै मिलेर रमाईलो गर्ने र संस्कृतिलाई जोगाई राख्ने परम्पराले हालसम्म केही संस्कृतिहरु लोप हुनबाट जोगिएको हो । थारु समुदाय अरुसंग मागेर कहिल्यै खाना जानेन् । बरु आफूसंग रहेको बाँडी चुडी खाने र भयपरि आए अरुलाई सहयोग गर्ने परिपाटि थियो । हाल सम्म पनि त्यो कयमै देखिन्छ ।
थारु समुदायमा धेरै राम्रा–राम्रा कला संस्कृति छन् । जुन संस्कृति अन्जान व्यक्ति एक पटक हेर्यो भने मख्ख भएर फर्किन बाध्य हुन्छ । थारु समुदायमा विभिन्न खाले नाँचहरु छन् जस्तै सखिया, मुग्रहुवा, झुम्रा, मघौटा, दिननचुवा आदी । तर पछिल्लो अवस्थामा यी सबै नाचलाई लोप गर्ने उदेश्यले यो या त्यो नाममा हस्तक्षेप भईरहेको छ । सखिया नाँचको मौलिकता मेटाउनको लागि ठाउँ–ठाउँमा डिजे सखिया नाचिन्छ । यसमा मन्जिरा हुदैन । मादलको सत्ता डिजेमा गितको ट्रयाक नं. प्रयोग गरिन्छ । हामी त्यही डिजे सखिया नाँचमा रमाउछौं तर लोप हुदाको पिडा बुझ्दैनौ न त हस्तक्षेप भएको रणनीति नै ।

थारु समुदाय पछिल्लो अवस्थामा धेरै थारु कलाकार उत्पादन गरिसकेका छ । यो एकदमै राम्रो पक्ष हो । तर थारु समुदायको संस्कृतिलाई ओझेलमा पार्न थारु कलाकारहरु रणनीतिक रुपले प्रयोग भईरहेकोको देख्दा मन दुःखी हुन्छ । थारु समुदायको कला संस्कृति जोगाई राख्ने थारु अगुवा बुद्धिजीविहरुको मात्रै ठेक्का होईन, यूवा पुस्ताको पनि दायित्व हो । यसको मतलब राज्य मौन हुनु पर्छ भन्न खोजेको पक्कै पनि होईन । बरु राज्यले गैर थारुको कला संस्कृति जगेर्ना गरे झै यो समुदायको संस्कृतिको जगेर्ना गर्नु मूल दायित्व हो ।
थारु समुदाय गाउँ–गाउँमा मनाउदै आएको चाड पर्वहरुलाई संस्थागत गर्न पछिल्लो केही वर्ष यता धनगढीमा सामुहिकरुपले गुरही, चिरै भजहर, अष्टिम्की, अँट्वारी, माघ, हरेरी पुजा लगायत पर्वहरु भव्यरुपले मनाईरहेका छन् । यो पर्व मनाउदै गर्दा हरेक वर्ष थारु अगुवा, बुद्धिजीवि, नागरिक समाज, सखी गोजी, थारु पत्रकारहरुको महत्वपूर्ण योगदान छ । उहाँहरुको आर्थिक, भौतिक र बौद्धिक योगदानप्रति थारु समुदाय आफैले आफैलाई कदर गर्नैपर्छ ।
चाड पर्व नजिक आउदै गर्दा हरेक वर्ष केही थारु अगुवाहरुको टीमले राज्यलाई ध्यानाकर्षण गराउँछ । उहाँहरु हरेक वर्ष थारु समुदायले मनाउदै आएको चाडपर्वमा स्थानीय बिदाको माग, थारु भाषा सरकारी कामकाजी भाषा हुनुपर्ने माग, चिरै भजहर, गुरही पर्व, हरेरी पुजा लगायत संस्कृति जोगाउन बजेट विनियोजन गरिनु पर्ने माग सहितको दबाब दिदै आईरहेका छन् । किनकी थारु समुदायको संस्कृति समग्र नेपालको संस्कृति हो । यो संस्कृतिप्रति राज्य वफादारी हुनै पर्छ । यो समुदायको कला संस्कृति पनि राज्यको सम्पत्ति भित्र पर्दछ । यहि संस्कृति हेर्न बाह्रय पर्यटकहरु ललायत छन् । राज्य यसलाई ढिलो चाँडो व्यवस्थित गर्नै पर्छ ।
हिजो सिंगो देश एउटै राज्यमा थियो तर अब त ७ वटा राज्यमा विभाजित भईसकेको छ । त्यति मात्रै होईन सबैलाई समान तरिकाले हेर्न सजिलो होस् भनि तीन तहमा सरकार गठन भएको छ । हरेक समुदायको सवाल, मुद्धा समाबेशीकरण गर्न स्थानीय सरकारले भरिपूर्ण अधिकार पनि पाएको छ । जस्ले गर्दा अब स्थानीय सरकारले गैर थारुहरुको संस्कृतिलाई मात्रै प्रोत्सहान गर्ने होईन, सबै जातीको संस्कृति संरक्षण गर्न उत्तिकै जिम्मेवारी बहन हुनुपर्छ । कैलालीमा गैरथारुले मनाउँदै आएको ‘तीज’ थारु समुदायका यूवतीहरु जानेर होईन रहरले मनाउँछन् । तर हल्ला फिजिन्छ कि ⁄ थारुहरु पनि तिज मनाउँछन् । यतिसम्म सुन्न भ्याएँ थारु तिज गितको एलबम् बजारमा आइसक्यो रे ⁄ जब कि थारु समुदायमा तिज मनाउदैनन् । अनि गीत खै ⁄ कसरी र को बाट सम्पादित भयो ? हो थारु ममुदायको लागि चिरै भजहर गैर थारु समुदायको तिज जस्तै हो । तर राज्य चिरै भजहरको लागि कहिलै बजेट विनियोजन गरेन, थारु समुदायले नागपञ्चमीको दिन मनाउने गुरही पनि तिज जस्तै हो तर अह ⁄ राज्यको ध्यान कहिलै गएन ।

गत वर्ष धनगढी उप–महा नगरपालिकाका मेयर नृप वड ज्यूलाई गुरही पर्वमा पाहुनाको रुपमा बोलाएर थारु समुदायको कला संस्कृतिलाई जोगाउन राज्यको पनि दायित्व हो भन्दै दबाब परेको थियो । सायद पहिलो पटक हो थारु समुदाय समुहिकरुले यस्ता पर्व मनाउनलाई राज्यसंग बजेतकोलागि गुहार पनि मागेको । किन की तीजको लागि हरेक वर्ष बजेट विनियोजन हुन्छ, अब गुरही र चिरै भजहरमा पनि राज्यबाटै बजेट विनियोजन गर्नु पर्छ भनि दबाब थियो । त्यही दबाबको प्रभाव यो वर्ष राज्यलाई बोध भएको थारु अगुवाहरु अभाष गरिरहेका छन् । वास्तवमा थारु समुदायले जोगाएर राखि दिएको तराई पटिट्को क्षेत्रलाई स्वीकार गरि तराई झरेका गैरथारु माटोप्रतिको अपनत्व मात्रै होईन । सामाजिक सद्भावको लागि सो समुदायको भाषा कला, संस्कृति, खानपिन सबै स्वीकार गर्नुपर्छ । अनि मात्रै राज्यलाई पनि स्वीकार गर्नुपर्ने बोध हुन्छ । न कि …..
के हो गुरही
गुरही पश्चिम नेपालका थारु समुदायले सदियौदेखि मनाउदै आएको पर्व हो । गुरहीलाई थारु समुदायले अन्य पर्व शुरुवात गर्ने पर्वको रुपमा पनि लिने गर्दछन् । यो पर्व कहिलेदेखि मनाउन सुरु गरियो भन्ने कुनै लिखित इतिहास छैन । तर परापूर्वकालदेखि यो पर्व नागपञ्चमीको दिनमा थारुहरुले आफ्नै तौरतरिका परम्परा अनुसार मनाउँदै आएको थारु पुर्खाहरु र अग्रजहरु बताउँछन् । खेतीपाती सकिएपछि रमाइलो गर्ने पर्वको रुपमा पनि गुरहीलाई लिइन्छ । रोपाइँ सकेपछि धानबालीमा किरा नलागुन् भनेर गाँउका युवतीहरु गाँउभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने किराको प्रतिक) त्यस चोकमा असराउने (सेलाउने) गर्छन् र सेलाइएका गुरहीलाई गाँउका युवाहरुले सजाएर ल्याएका सोटाले पिट्ने गर्दछन् ।
यसरी गुरही गाँउबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने विश्वास रहेको छ । त्यस्तै यो पर्वलाई बालबालिकासंग सम्बन्धित पर्वको रुपमा पनि लिइन्छ । गुरही सेलाउने साना बालबालिकाहरुमा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने गरेको विश्वास पनि थारु समुदायमा छ । त्यस्तै गाँउमा भएको दुख, संकट, विपत्ति भाग्ने विश्वास पनि रहेको छ भने सामाजिक सद्भाव, आपसी मित्रता बढाउने पर्वको रुपमा पनि लिइन्छ ।

थारु समुदाय चाडपर्वमा धनी समुदाय हो । यो समुदायको विभिन्न प्रकारका चाडपर्वहरु रहेकाछन् । त्यसमध्येको गुरही एक हो । पहिल्यैदेखि थारु समुदायमागुरही पर्व गाँउ–गाँउमा मनाउदै आएका छन् ।धनगढीमा पनि छरिएर बसेका थारुहरुले गुरही मनाउने गर्दथे । छरिएर मनाउने गुरहीलाई एकैसाथ रमाइलो गरि गुरही मनाउनु पर्दछ र गुरही पर्वलाई संस्थागत गर्नपर्छ भन्ने उद्येश्यले धनगढीको गुरहीचोकमा विगत केही वर्षदेखि विभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा गुरही मनाउन सुरुवात गरियो । पहिलेका क्यालेन्डरहरुमा गुरही पर्वको बारेमा केही उल्लेख हुदैन थियो ।
धनगढीमा संस्थागत रुपमा गुरही मनाउन थालिएपछि केही क्यालेन्डरहरुले उल्लेख गर्न सुरुवात गरे । तर थारु संस्कृति र चाडपर्वका बारेमा अध्ययन अनुसन्धाननै नगरि नागपञ्चमीको दिनमा गुरही पर्व उल्लेख नगरेर अन्य मितिमा मनमौजी तरिकाले उल्लेख गर्ने गरेको पाइएको छ । जसले गर्दा थारु समुदायमा गुरही कुन दिन मनाउने भन्ने ठूलो अन्यौलता देखिन्छ । नागपञ्चमीको दिनमा गुरही मनाइन्छ र सोही दिनमा उल्लेख गर्न आग्रह गर्दा समेत हाम्रो आग्रहलाई वेवास्ता गरिएको थारु समुदायलाई महसुस भएको छ । यस्तो रवैयालाई थारु समुदाय संस्थागत हुन लागेको थारु संस्कृतिमाथिको प्रहारको रुपमा लिएको छ ।
यसरी मनाईन्छ गुरही
शुक्लपक्ष चौथीको दिन साँझ चौकीदारले गाउँमा हाँक पार्छ । ‘घुघरी भिजाउ रे घुघरी’ (खाने परिकार मटर, केराउ, चना मकैै) को भुजा बनाउनलाई भिजाउँछन् । अर्को दिन पञ्चमीको दिन त्यो परिकार पकाउँछन् । र गाउँका सबै घरका स–साना बालिकाहरुदेखि अविवाहित यूवतिहरु कपडाले बनाएको गुडिया (डल) ‘गुरही’ संगै घुघरी (बिशेष परिकार चना केराउ मकै) थालीमा सजाएर देवथानबाट बाहिर निस्कन्छन् । केटाहरु भने सजाएर बनाएको सोँटा (कोंर्रा)े लिएर तयार हुन्छन् । छोरी मान्छे नयाँ लुगा लगाएर पुतली जस्तै बनेर ‘गुरही’ अस्राउछन् (विसर्जन, सेलाउन) गर्दछन् । सेलाउने बेला ‘खाँज खुजली सक्कु लैजा, रोग बिरोख सक्कु लैजा’ (लूतो सबै लैजा, रोगव्याधी सबै लैजा) भन्दै घरबाट विकार चिजलाई ढपाउने गर्दछन् ।













