परम्परागत थारु लेहेंगाको क्रेज बढ्दो

धनगढी । कैलारी गाउँपालिका वडा नं. १ कि ४५ वर्षीया दुर्गा दहितले थारु लेहेंगा र चोलिया सिलाउन थालेको एक दशक पुग्यो । थारु महिलाले लगाउने लेहेंगा, चोलियासंगै पुरुषले लगाउने धोतीको समेत माग बढ्न थालेपछि थारु पोसाक सिलाउन भ्याइनभ्याइ भइरहेको उनले बताइन् ।

दुर्गाले आफूसंगै अरु चार जनालाई रोजगारी दिएकी छिन् । ‘दहित सिलाई सेन्टर’मा विभिन्न डिजाइनका लेहेंगासंगै धोतीको पनि माग बढेपछि यो वर्ष पुरुषले लाउने धोती सिल्न थालेको उनले बताईन् ।

उनका अनुसार थारु ड्रेसको सिजन खास गरेर थारु समुदायको प्रमुख चाड ‘गुरही’ (नागपञ्चिमीको दिन) देखि माघसम्म हो । यो समयमा धेरै चाड पर्व आउने र थारु महिला पुरुषले आफ्नो परम्परागत पोसाक बढी लगाउँछन् ।

दुर्गाले महिलाले लगाउने लेहेंगा दुई हजारदेखि पाँच हजारसम्म र पुरुषको धोती नौ सय रुपैयाँमा तयार गरेर बेच्छिन् ।

थारु पोसाक सिल्न धेरै मेहनत र समय लाग्ने भएकाले मूल्य पनि महंगो जस्तो देखिने दुर्गाको भनाइ छ ।

उनले कामदारको तलब, घर भाडा र आफ्नो मेहनतको पैसा छुट्याएर मासिक १२ देखि १५ हजार आम्दानी गर्छिन् । पढेलेखेको नभए पनि सिलाईबाटै आफ्नो खुट्टामा उभिन पाएकोमा खुसी छु भन्छिन् उनी ।

उनका अनुसार थारु पोसाक थारु समुदायले मात्रै किन्दैनन् । थारु पोसाकप्रति आज भोली गैर थारुहरु पनि उत्तिकै आकर्षित भइरहेको र धेरै गैर थारु पनि आफ्ना ग्राहक भएको उनले बताइन् ।

त्यसै गरी धनगढी उपमहानगरपालिका–७ देवहरियास्थित लेहेंगा सिलाई सेन्टरकी सीता चौधरीलाई पनि यतिबेला लेहेंगा सिल्न भ्याइनभ्याई छ ।

दशैंतिहार मात्रै होईन थारुहरुको पर्व गुरही, चिरै भजहर, अष्टिम्की लगायतका थारु चाड पर्वमा धेरै थारु महिलाले लेहेंगा लगाउने हुँदा उनलाई लेहेंगा सिल्न र बिक्री वितरण गर्न भ्याइनभ्याई भएको हो ।

सिजन सुरु भएपछि लेहेंगा, चोलो, ब्लाउज सिलाउने ग्राहकको संख्या बढ्ने गरेको उनले बताइन् । ‘ग्राहकको माग अनुसार लेहेंगाको आपूर्ति गर्नै धौ धौ हुन्छ’ उनले भनिन् ।

१० वर्षदेखि सिलाइकटाइ गर्दै आएकी सीताको प्रमुख पेशा नै आजभोलि लेहेंगाको व्यापार बनेको छ । द्वन्द्वपीडित उनी महिनामा २० भन्दा वढी लेहेंगा सिलाउँछिन् । उनको पसलमा बच्चादेखि वृद्धासम्मले प्रयोग गर्न मिल्ने लेहेंगा उपलब्ध छन् । जसको मूल्य दुई हजार पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

हस्तकला व्यवसाय पनि फस्टायो

पछिल्लो समय आदिवासी थारु समुदायका महिलाहरुको परम्परागत पोसाक लेहेंगाको मोह सबै उमेर र समुदायमा उत्तिकै बढेको पाइन्छ ।

गैर थारु महिलाहरुले समेत फेसनको रुपमा थारु लेहेंगा लगाउन थालेपछि बजारमा लेहेंगाको माग उच्च भएको छ । लेहेंगाले फेसनको रुप पाएपछि लेहेंगा सिल्ने हस्तकला व्यवसाय पनि फस्टाएको र यसले महिलाहरुलाई स्वरोजगार बनाएको अधिकारकर्मी इन्दु चौधरीको भनाइ छ ।

आजभोली थारु वस्तीमा समेत लेहेंगाको क्रेज बढेको छ । बालिकादेखि वृद्धासम्मले एक जोर लेहेंगा राख्नै पर्ने अवस्था समेत आएको इन्दु बताउछिन् ।

पछिल्लो पुस्ताका थारु महिलाहरु आधुनिक पोसाकमा रमाएपछि लोप हुने अवस्थामै पुगेको परम्परागत लेहेंगाको पछिल्लो समय क्रेज बढेपछि एकातिर परम्परागत पोसाकको संरक्षण भएको र अर्कोतिर महिलाहरुको हस्तकला व्यापार फस्टाएको पनि उनले बताइन् ।

धनगढी उपमहानगरपालिका–७ देवहरियाकी प्रमिला चौधरीले भर्खरै आफ्ना १४ र ५ वर्षिया छोरीहरुको लागि लेहेंगा खरिद गरेको सुनाइन् ।

छोरीहरुले लेहेंगाकै लागि ढिपी गर्न थालेपछि सन्तान सुखकै लागि भए पनि पाँच हजार रुपैया खर्च गरी लेहेंगा किनिदिएको उनले बताइन् ।

लेहेंगाको लोकप्रियता बढेपछि लेहेंगा सिलाई गरी जीविकोपार्जन गर्ने महिलाहरुको आर्थिक अवस्थामा समेत सुधार हुँदै गएको भजनी नगरपालिका–१ मधुवन मुक्त कमैया वस्तीकी पूर्व कमैया दिलरानी चौधरीले बताइन् ।

लामो समयदेखि लेहेंगा सिलाउने काम गर्दै आएकी उनले लेहेंगाको कारोबार फष्टाएपछि घर खर्चदेखि बालबालिकालाई लेखाउन पढाउनसहज भएको बताइन् ।

कैलाली सदरमुकाम धनगढी, वर्दियाका विभिन्न बजार, नेपालगञ्ज, राजधानीलगायत देशका विभिन्न ठाउँमा लेहेंगाको आपूर्ति गर्दै आएकी उनले वर्षमा ६्७ लाख आम्दानी गर्ने गरेको बताइन् ।

यसरी बनाइन्छ लेहेंगा

लेहेंगा बनाउन सक्नु एक विशेष कला हो । एउटा लेहेंगा तयार पार्न विभिन्न खण्ड–खण्डलाई जोड्नु पर्छ ।

लेहेंगा सिलाई सेन्टरकी सीता चौधरीका अनुसार लेहेंगाको माथिदेखि तलसम्म क्रमशः गुम्टी, नेफा, लेहेंगा, पट्टी, कचौटी, गोठ, पट्टी, जिभ्भा, छुट्की गोठलगायत भागलाई जोडेर बनाउनु पर्दछ । जसलाई थप आकर्षक बनाउन सितारा, ऐना, नुरी, फुलरा, मोती, पथ्थरलगायत टाँस्नु पर्छ ।

भारतबाट आयात हुने र त्यसैको प्रभावमा नेपालमै बनाइने विभिन्न डिजाइनका लेहेंगाहरुको तुलनामा परम्परागत थारु लेहेंगा भद्र र आर्कषक देखिने भएकाले पनि यसको क्रेस बढ्दै गएको थारु युवती राधा चौधरीले बताइन् ।

परम्परा पनि धान्दै

पछिल्लो समय युवा पिँढीमा आफ्नो परम्परागत पोसाक, चालचलन, कला, संस्कृतिप्रतिको मोह बढ्दै गएका कारण परम्परागत पोसाकले आधुनिक पोसाकलाई उछिन्दै गएको थारु अगुवा दिलबहादुर चौधरीको दाबी छ ।