उमेर सय वर्ष पुग्यो तर हातमा नागरिकता छैन
उन्नती चौधरी
कैलाली, ९ असार । नेपालको संविधानमा नागरिकता ऐन २०६३ ले बंशज, अंगिकृत र जन्मको आधारमा नागरिकता पाउने प्रावधान रहेको छ । तर कैलाली जिल्लामा ५ हजारको हाराहारीमा रहेको मुस्लिम समुदायले हालसम्म नागरिकता पाउनबाट बञ्चित छन् ।
प्रदेश नं. ७ को सदरमुकाम कैलालीको धनगढी उप–महानगरपालिका वडा नं. १ पशुपति टोलका अधिकांश मुस्लिम समुदाय नागरिकता प्राप्त गर्न नसकेर देशविहिन नागरिक बनेको आभाष गरिरहेका छन् ।
धनगढी बजार बस्नु भन्दा पहिलादेखि नै बसोबास गर्दै आएका सकुरन कुरैसी जन्मेको सय वर्ष भन्दा बढी भएर पनि आफू कुनै देशको नागरिक बन्न नसकेको पिडा पोखिन ।
उनी आफूलाई १ सय ३५ वर्ष भएको बताउँछिन् । ‘दाँत र कपाल पनि पुनः पलाउँदैछ ।’ उनी भन्छिन् ‘धनगढी बजार क्षेत्र पहिला पुरै जंगल थियो । यहाँ बाघ, भालु आउँथे । केही मात्रामा छाप्राले छाएको घर थियो ।’
धनगढी ‘नगरपालिका’ पनि बनेको थिएन । हामी धनगढी आउँदा गाउँ पञ्चायत थियो । नगरपालिका त मेरो विबाह पछि मात्र बनेको हो, कुरैसीले भनिन् ।
२०३३ सालमा धनगढी नगरपालिका बन्यो । नगरपालिका बनेपछि यो ठाउँ आफ्नै आँखा अगाडी एकाएक पुरै परिवर्तन भयो तर मैले नागरिकता नपाएर आफूलाई परिवर्तन गर्न सकिन भन्दै विलौना गरिन् ।

उनी आशु झार्दै भनिन् ‘नागरिकताको प्रमाण लिएर मर्ने इच्छा छ ।’ धनगढी बसेको मेरो चार पुस्ता मध्ये दुई नातिनीले मात्रै जन्मको आधारमा नागरिकता पाएका छन् । ‘अल्लाले मलाई मर्ने बेलासम्म नागरिकता देउ ।’
उनी आफ्नो उमेर जोड घटाउ गर्दै भनिन् ‘म नेपाल आउँदा सारदा व्यारेज बनेको थिएन, सारदा व्यारेजको आयु १०० वर्ष हो । त्यो व्यारेजको पुल उहिलै नै भट्किसक्यो । जसले गर्दा म १३५ वर्ष पुगेको हुँ ।’
नागरिकताको लागि लड्दा लड्दै सासु, ससुरा, श्रीमान र दुई छोराको मृत्यू भईसक्यो तर कसैले नागरिकता पाएनन् । मोटी मुखियासंग नागरिकताको लागि धेरै विन्ति गरे तर नागरिकताकै लागि पुरै जिन्दगी बितिसक्यो ।
त्यसैगरी सकुरन कुरैसीका बुहारी चम्पा साउँदको पीडा अलि फरक छ । उनी साविक चौमाला गाविस १ कटान घर भईकी साउँद नुरजहा कुरैसीसंग विवाह गरेर देशको नागरिक हुनबाट बञ्चित भएको बताईन् ।
उनले भनिन् ‘मैले मुस्लिमसंग विवाह गरेकै कारण सरकारले मलाई नागरिकता दिएन । मैले माईतीबाट सिफारिसको लागि २०६३ सालमा साविक चौमाला गाविस जाँदा ठकुल्ला जातका सचिवले इन्डीयनसंग विबाह गर्नेलाई नागरिकता पाईदैन भनेर सिफारिस नदिई फिर्ता आएको गुनासो सुनाईन् । उनी चौमालाबाट विवाह गरि धनगढी आएकी हुन् ।
आफ्नो बच्चा नभए पछि देवरको बच्चालाई गोद (धर्मपुत्र) बनाएकी चम्पा छोराको भविष्यबारे धेरै चिन्तित छिन् । उनको अलिकति जमिन छ तर नागरिकता नभएको कारण देवरको छोरी फारिद बानु २०६३ सालमा नागरिकता पाएपछि उसैको नाममा सबै सम्पत्ति राखेको छु । ‘भोलि ज्वाँई कस्तो मिल्ने हुन्, सम्पत्ति फिर्ता गर्ने हुन् या होईन् चिन्ता लाग्छ ।’
नागरिकता नभएर अपाङगता भएको महशुस हुने गरेको बताउँछिन् जहिदुल खान । आमाको मृत्यू पश्चात सानै उमेरमा आफन्तसंग धनगढी आएको बताउँदै भनिन । यहि हुर्के, यहि विबाह गरे । छोरा छोरीको पनि विबाह भएर बच्चा जन्मि सक्यो तर कसैले नागरिकता पाएका छैनौं ।’
उमेर ६५ वर्ष भयो । बस्नलाई जग्गा किनेको छु तर आफ्नो नागरिकता नभएको कारण विश्वासमा अरुको नाममा लालपुर्जा छ । सम्पत्तिको बारेमा सम्झिदा निन्द्रा पनि लाग्दैन । जसको नाममा जग्गाको लालपुर्जा छ उसले पछि मेरो जग्गा फिर्ता गर्छ कि गर्दैन भनेर चिन्ता लाग्छ ।
मुस्लिम समुदायमा धेरैले आफ्नो सम्पत्ति अरुको नाममा राखेका छन् । अरुको नामबाट व्यापार व्यावसायी चलाईरहेका छन् । बैंकिङ कारोबार पनि अर्कैको नामबाट चलाईरहेका छन् ।

यस्तै समस्या बताउँछिन् ६५ वर्षिया जिनत खान । विबाह लगत्तै धनगढी आए । सासु ससुराको मृत्यू भयो । श्रीमान बितेको पनि १० वर्ष भयो नागरिकता कसैले पाएनौ ।
दुई छोराको विबाह गरेर नाति नातिनी हुर्काई रहेकी छु । प्रमाणको नाममा छोराहरुको जन्मदर्ता छ । बहुदलको बेला भोट लिष्टको कार्ड छ । धनगढीमा ५ कठ्ठा जमिन छ । लालपुर्जा अरुको नाममा छ । पछि दिदैन भनेर त्यो जग्गा मदर टेरेसालाई दान दिएर आफू ऐलानी जमिनमा बसोबास गर्दै आईरहेको बताउँछिन् ।
४५ वर्षिया माया निगाहाको समस्या पनि उस्तै छ । नागरिकता नभएर ४ छोरी एक छोरालाई हुर्काउन धेरै समस्या झेलेको बताउँछिन् । उनको जेठी छोरी सविना अन्सारी २८ वर्षकी भईन् । नागरिकता नभएर बिकम पास गरी बेरोजगार बसेकी छिन् ।
त्यस्तै माईली छोरीपनि २५ वर्षकी भईन् । उनी पनि इन्जिनियरिङ सकेर उत्तिकै बसेकी छिन् । बच्चाहरुको जन्म दर्ता छ, शैक्षिक प्रमाण पत्र छ तर २०६३ सालमा नागरिकता लिनको लागि हामीसंग पैसा नभएर बञ्चित भयो ।
उनले भनिन् ‘म महिला स्वास्थ्य स्वयम सेविका भएको १८ वर्ष भयो । नागरिकता नभएपछि सम्झौतामा स्वयम् सेविका बने । २०६३ सालमा नागरिकताको सिफारिस लिन जाँदा कर्मचारीले टेबलको तलबाट पैसा मागेपछि मैले हल्ला गरिदिए । त्यसको परिणाम अहिले सम्म भोग्दैछु ।’
कैलालीको धनगढी उप–महानगरपालिका औलो प्रभावित क्षेत्र रहेको भन्दै नगरपालिकाले सबै वडामा सुपरनेट झुल वितरण गरियो । तर मुस्लिम समुदायले नागरिकता नभएको कारण त्यो झुलबाट पनि बञ्चित भए ।
‘धोबीका कुट्टा घरका न घाटका भन्ने’ उखान भन्दै मायाले भनिन् नेपालले हामीलाई इन्डियन देख्छ, इन्डियामा हाम्रो कोही छैन । नेपालमा बासोबास गरेको पुस्तौ बिति सक्यो । हामीलाई नेपालको माया लाग्छ तर नेपाली भएको महशुस हुदैन । नागरिकता नभएर राज्यबाट पाउनु पर्ने हरेक सेवा सुविधाबाट बञ्चित छौं ।
नेपालको राष्ट्रिय जनगणना २०६८ (सन् २०११) को तथ्यांक अनुसार कैलाली जिल्लाको कुल जनसंख्या ७ लाख ७५ हजार ७ सय ९ रहेको छ । जस मध्ये मुस्लिम समुदायको ४ हजार ९ सय ३० अर्थात ००.६४ प्रतिशत रहेको छ ।
नागरिकता पाएर पनि महशुस गर्न पाएका छैनौ
सरकारले २०६३ सालमा जन्मको आधारमा नागरिकता बनाउनलाई टोली नै खटाइयो । जुन बेला नेपालमा धेरैले नेपाली नागरिकता प्राप्त गरे । तर कैलाली जिल्लामा सूचना अभावसंगै आर्थिक अभावको कारण त्यो बेला पनि पाउनुपर्ने नागरिकले पनि नागरिकताबाट बञ्चित हुन पुगे ।
०६३ सालमै नागरिकता प्राप्त गरेकी सबिना बानु भन्छिन् हाल मुस्लिम समुदाय ५/६ हजारको हाराहारीमा जनसंख्या रहेको छ । नागरिकता प्राप्त गरेका जम्मा एक सय ५० जना जति मात्रै छौं ।
धनगढीमा ३/४ पुस्तादेखि बसोबास गर्दै आएका अधिकांश छन् । हामी पनि ४ पुस्तादेखि बस्दै आएका छौं तर मेरो दादी (बज्यै)लाई १ सय वर्ष भन्दा बढी भयो नागरिकता पाएकी छैनन् ।
हाम्रो घरमा त्यतिबेला म र मेरो दिदीको मात्रै नागरिकता बन्यो । आमा बुवा, दाईको भने बनेन । सबिनाको नागरिकता बन्नु अघि उनीहरुको जग्गा अन्तराम चौधरीको नाममा थियो । आफ्नै जमिनको लागि चौधरीलाई दुई लाख नगद दिएर छोरी सविना बानुको नाममा सारे ।
नागरिकता बनेपछि काम गर्न सजिलो भए पनि सामाजिक कामदेखि हरेक ठाउँमा हामीलाई गैर मुस्लिमको जस्तो व्यवहार नहुँदा नागरिकता पाएको महशुस हुन सकेको छैन ।
कुनै कामको लागि प्रमाण पेस गर्दा पटक पटक सोध्ने, नक्कली हो कि ! भन्ने शंका गर्ने हेराईले पीडा महशुस भईरहेको सबिनाले बताईन् ।
त्यस्तै ४३ वर्षिय अहमद अमिर खान पनि २०६३ सालको टोलीमा नागरिकता पाएको बताए । पहिला पनि मुस्लिम समुदाय नागरिकताको लागि राजनीतिक दल, प्रशासन, संघसंस्था धेरै भौतारिए ।
उनले भने सरकारले मुस्लिम समुदायलाई नागरिकता नदिएर जति हेपे पनि हामी सहेर बसेका छौं, तर नागरिकता पाएकाहरुलाई पनि हेप्न छोडेको छैन ।
कुनै सरकारी कामकाजको लागि होस् या अन्य कामको लागि पहिलो कुरा नागरिकता हेर्न माग्छन् । तर हामीलाई मधेसीको संज्ञा दिएर हाम्रो नागरिकता हेर्छन् । हामी संगै भएका गैर मुस्लिमलाई त्यति अनुगमन गरिदैन । यस्तो व्यवहारले आफूलाई विभेद भएको महसुस हुन्छ । नागरिकता पाएको अपनत्व नै हुदैन ।
पछिल्लो अवस्थामा सेती अञ्चल अस्पतालमा जन्माएको बच्चाहरुको जन्म दर्ता गर्न जाँदा पनि शंकाको दृष्टिले हेरिने गरेको बताउँदै जन्म दर्ताको लागि पनि धेरै मेहनत गरिनुपर्ने बताउँछन् ।
धेरै बच्चाको जन्मदर्ता गर्नै मान्दैनन् । नक्कली कागज हो भनेर फिर्ता पठाई दिन्छन् । हाम्रो पक्षमा बोल्ने कोही छैन । हाम्रो समुदायबाट स्थानीय जनप्रतिनिधि पनि छैनन् ।
जन्म दर्ता बनाउँदा आमा बुवाको पहिचान खोजिन्छ
मुस्लिम समुदायमा पहिले घरमै बच्चा जन्माउने चलन थियो । तर पछिल्लो अवस्थामा सो समुदायका महिलाहरु नियमित चेकजाँचसंगै सेती अञ्चल अस्पतालमा बच्चा जन्माउने गरेका छन् । उनीहरुलाई बच्चाको जन्म दर्ता बनोस् भन्ने चाहनाले पनि अस्पतालमा बच्चा जन्माएको बताउँछन् ।
बच्चाको जन्म दर्ता बनाउन आमा बुवाको पहिचान चाहिने भएकोले आमा बुवाको नागरिकता नभएको बच्चाको जन्म दर्ता बनाउन नसकिने बताउँछिन् धनगढी उप–महानगरपालिकाका वडा सचिव कमला चन्द ।
उनी भन्छिन् मुस्लिम समुदायसंग नेपाली नागरिकता छैन । अस्पतालको कागज देखाएर मात्रै जन्मदर्ता बन्दैन । उनीहरुले पुस्तौदेखि बसोबास गरेको भन्दै कसरी विश्वास गर्ने । उनीहरु इन्डीयन पनि हुन सक्छन् । तर बच्चा जन्मेको ३५ दिन भित्रै अस्पतालको कागज लिएर आएमा जन्मदर्ता बन्न सक्ने बताईन् ।
कानुन छ कार्यान्वयन छैन
नेपालको संविधान २०७२ को कानुन बमोजिम जन्मको आधारमा, बशंज र अंगिकृतको आधारमा नागरिकता पाउने प्राबधान छ । जन्मदर्ता प्रमाणपत्र भएका धेरै मुस्लिम समुदाय धनगढीमा बसोबास गर्दै आईरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी ऋषिराज तिवारीका अनुसार नेपालमा बसोबास गरेर मात्रै नागरिकता नपाउँने बताए । प्रमाण हेरेर जन्मको आधारमा वा बैवाहिक अंगिकृत नागरिकता दिने कानून बनेपनि पछिल्लो अवस्थामा जन्मको आधारमा नागरिकता दिनबाट सरकारले रोक लगाएको बताए ।
२०६३ सालमा जन्मको आधारमा नागरिकता दिने अस्थायी व्यवस्था आइएको थियो । त्यति बेला जो बनाइयो उ नागरिकता पायो । बाँकी नागरिक अब नागरिकता पाउँदैनन् ।
उनले कैलाली जिल्लामा २०६३ साल धेरैले जन्मको आधारमा नागरिकता पाए । २०७५ बैशाख सम्म जन्मको आधारमा नागरिकता पाउनेको संख्या १ सय ६० रहेको छ । त्यसै गरि बंशजको आधारमा ४ लाख ९२ हजार ५ सय ३३ जना रहेका छन् । त्यस्तै बैवाहिक अंगिकृत ६ सय ८९ जना रहेका छन् ।
‘अरुको सम्पत्तिको जिम्मा लिएको छु’
२०३८ सालमा महोत्तरीबाट बसाईसराई गरी धनगढी नगरपालिका २ चौराहा बस्दै आएका ताहि अन्सारीले पाँच करोड बराबरको अरुको सम्पत्ति जिम्मा लिएको बताए ।
उनले मुस्लिम समुदायसंग नागरिकता नभएको कारण धेरैले आफूलाई विश्वास गरेर सम्पत्ति नामसारी गर्ने आग्रह गरेपछि उनीहरुको सम्पत्तिको संरक्षण गरिरहेको बताए ।
‘पहिला धेरैले नगद पनि जिम्मा लगाएका थिए तर आजभोलि जमिन मात्रै जिम्मा लिएको छु ।’ ‘धनगढीमा बस्नको लागि करोडौ रकम खर्चेर जमिन किन्छन्, नामसारी भने मेरो नाममा हुन्छ ।’
अहिले पाँच जनाको जग्गा मेरो नाममा छ । उहाँहरु नागरिकता पाएपछि त्यो सम्पत्ति फिर्ता गरिदिन्छु । ‘अल्ला ने छिटो नागरिकता दिलाई दिए म पनि यो बोझबाट मुक्त हुन्थे ।’
उनको धनगढीमा महोत्तरी साईकल व्यापार छ । राज्यले कुनै दिन सम्पत्तिमाथि छानबिन गरे म गैरकानुनी देखिन्छु कि ! भन्ने डरले अन्सारीलाई बेला बेला पोलिरहन्छ ।
कैलाली जिल्ला भारतीय सिमानासंग जोडिएर रहेकोले यति ठूलो संख्यामा मुस्लिम समुदायसंग नागरिकता छैन । उनीहरुले राज्यबाट उत्पीडन भईरहेको महशुस गरिरहेका छन् । आफूलाई गैरनागरिक भएको पीडा जुन दिन विस्फोट हुन्छ त्यो दिन राज्यले ठूलो क्षति व्यहोरिनु पर्छ कि ! जसले गर्दा समयमै राज्यले समस्याको निकास खोज्न आवश्यक देखिन्छ ।













