थारुको मौलिक भेषभुषा व्यवसायिकतातिर लम्किदै
दाङ, ६ असार । कुनै बेला दाङ आदिवासी थारु समुदायको बस्तीका रुपमा चिनिन्थ्यो । तर, पछिल्लो समयमा पहाडदेखि तराईमा बसाइसराइ गर्ने गैर थारुहरुकोे संख्या बाक्लिएपनि विस्तारै थारुबहुल क्षेत्र मिश्रित समाजमा परिणत भए । जसका कारण नेपालका थारु जातिको भेषभुषा, रहन–सहन, कला, संस्कृति एवम् जीवनशैली पनि पहाडे समुदायसँगै मिश्रित हुँदा यी मौलिक भेषभुषा, कला, संस्कृतिहरु लोपहुन पुगे ।
तर, पछिल्लो समयमा थारु समुदायकोे मौलिक भेषभुषा, कला, संस्कृति लोप हुनथालेको भन्दै यसको संरक्षण र प्रवद्र्धनका लागि थारु अगुवाहरुले मात्र नभई गैरथारुहरुले समेत आवाज उठाउन थालेपछि पुन डंगौरा थारुहरुको मौलिक भेषभुषा, गरहगना, कला, संस्कृतिप्रति थारु समुदाय आकर्षित हुन थालेका छन् ।
आफ्नो मौलिक भेषभुषा, गरगहना, कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा लागि थारु समुदाय अहिलो जोडतोडका साथ लागि परेका छन् । उनीहरुले आफ्नो मौलिक भेषभुषा, कला, संस्कृतिको सरंक्षण र प्रवद्र्धनका लागि राज्यसँग बजेट पनि माग गरिहेका छन् । सोहि अनुसार हरेक स्थानीय तहमा थारु समुदायको भेषभुषा, कला, संस्कृति संरक्षणको लागि बजेट पनि छुट्याइरहेका छन् ।
राज्यले नै थारु समुदायको मौलिक भेषभुषा, कला संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि बजेट छुट्याउन थालेपछि ऊनीहरु झनै उत्साहित भएका हुन् । उनीहरुको कला संस्कृतिको लागि हरेक स्थानीय तहमा २५ हजारदेखि ५ लाखसम्म बजेट विनियोजन गरिदै आएको दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरीले जानकारी दिए । दाङ जिल्ला थारु समुदायको बाहुल्य जिल्लाको रुपमा मात्र नभई थारु समुदायको एैतिहासिकतासँग जोडिएको जिल्लाको रुपमा चिनिएकोले पनि यी समुदायको परम्परागत भेषभुभषा, कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि राज्यले ठोस योजना बनाएर लागि परेको बताए ।
कला, संस्कतिको हिसावल सवैभन्दा धनी समुदायको रुपमा चिनिए पनि विभिन्न कारणले थारु समुदायको भेषभुषा, कला, संस्कृति लोप हुने अवस्थामा पुगेकोले यसको सरक्षण र प्रवद्धनसँगै अन्तराष्ट्रिय स्तरसम्म चिनाउन आवश्यक रहेको अध्यक्ष चौधरीको भनाइ थियो । ‘अहिले थारु समुदायको विभिन्न कला, संस्कृतिमा आफ्नै छुट्टै मौलिकता रहेको छ,’ अध्यक्ष चौधरीले भने, ‘यसलाई व्यवसायिक बनाउन सके थारु समुदायका केहि मानिसहरुलाई यसै पेशासँग जोडेर पनि जिविकोपार्जन गर्न सक्ने अवस्था छ ।’
त्यसैले होला, अहिले थारु समुदायले आफ्नो भेषभुषा, कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनसँगै यसलाई व्यवसायिक रुपमा पनि जोडका छन् । कसैले थारु होमस्टे सञ्चालन मार्फत आफ्नौ मौलिक भेषभुषा, कला, संस्कृति जगेर्ना गरिरहेका छन्, भने कसेलै जनचेतनाका माध्यमबाट त कसैले विभिन्न फेसन सोजस्ता कार्यक्रममा भाग लिएर ।
‘हाम्रो भेषभुषा, कला, संस्कृति हाम्रो मात्र नभई सिंगो देशको गहना हो । यो हाम्रो पहिचान र एैतिहासिकतासँग जोडिएकाले पनि हामी यसको संरक्षण र प्रवद्र्धनसँगै व्यवसायिकतामा पनि जोडदिएका छौं, घोराही उपमहानगरपालिका वडा नं. ७ सिसहनियामा रहेका नमुना थारु ग्रामका अध्यक्ष बेझलाल चौधरीले भने, हामीसँग भएका हाम्रो मौलिक भेषभुषा, गरगहनाहरु कसैले भाडामा मागे भाडामा दिन्छौ ।’
नमुना थारु ग्राममा आएका पर्यटकहरुले भाडामा लिएर थारु समुदायको भेषभुषा र गरगहना लगाएर रमाउने गर्छन् र लगाए बाफत शुल्क तिर्छन । ‘यत्ति मात्र नभई विभिन्न स्कूल, क्याम्पसको वार्षिकोत्सवको अवसरमा होस या कुनै फिल्म, डकुमेन्ट्रीको लागि किन नहोस सबैले थारु भेषभुषा र गरहना खोज्दै नमुना थारु ग्राममा आइपुग्छन,’ चौधरीले कसैले भेषभुषा र गरगहना लग्छन् त कसैले हामीलाई नै बोलाउछन् ।
एकजोर थारु भेषभुषा (ड्रेससहित गरहगना) को एकदिनको एकसय पचास देखि पाँचसय सम्म लिने गरेको चौधरीले बताए । यतै खाने बस्ने गर्नुभयो भने प्याकेज अुनसार लिने गर्छौ, ड्रेस र गरगहना लग्नुभयो भने त्यहि अनुसार रकम लिने गरेको छौं ।
जिल्लाका लागि अति पुरानो भएपनि बाहिरबाट आउने पाहुनाहरुका लागि धेरै फरक र नयाँपन हुने गरेकोले दाङको कला, संस्कतिमा जो सुकैले पनि रमाउन चाहन्छन् । थारु कल्याणकारी सभा दाङका अध्यक्ष तेजमान चौधरीले भने, अन्य समुदायको तुलनामा डंगौरा थारु समुदायको आफ्नै मौलिक पहिरन र गरगहनाहरु रहेकोले यसको महत्वसँगै थारु समुदायको कला, संस्कृतिको बारेमा जान्न चाहन्छन् । त्यसैले जिल्लामा हुने हरेक कार्यक्रममा सबैले थारु समुदायलाई सम्झिने गरेको चौधरीले बताए ।
थारु समुदाय आफ्नै छुट्टै विशेषता बोकेको जाति भएकोले पनि अरु समुदायको भन्दा बेग्लै खालको रहनसहन, भेषभुषा, गरगहना, कला, संस्कृति, लवाइखवाई रहेको छ, तर विडम्वना जति यसको व्यवसायकिता हुनुपर्ने हो, त्यति हुन सकेको छैन ।
अब हामीले सधैं राज्यको मात्र आस नगरेर आफैंले थारु समुदायको रहनसहन, कला, संस्कृति, पहिरनसँग जोडेर थारु होमस्टेको रुपमा सञ्चालन गर्नसके अझ यसको व्यवसायिकतामा जाने र यसको जगेर्ना पनि हुन सक्छ ।













