न्यायका खातिर मुख खोल्दैन मान्छे !

मान्छेले मान्छेलाई छुन नहुने कस्तो अचम्मको संस्कार ! आखिर रगत त सबैको रातै हुन्छ, र पनि किन यसरी भेदभाव गरिन्छ । मान्छेलाई प्रकृतिले बनाइयो तर जात त एउटा ट्याटु न हो । म को हुँ भनेर चिनाउनलाई नामको पछाडी जोडि दिने कडी न हो । जस्तै नेपाली, विक, थारु, रावल, शर्मा इत्यादी । मान्छेलाई चिन्न सजिलो होस् भनेर नामको पछाडी जात जोडिएको हुनु पर्छ होला, तर तिनै जातले कोही उच्च खन्दानको हुन्छ त कोही निच । कोही छुत हुन्छ त कोही अछुत । मान्छे मान्छे विचको यो भेदभावले समाजमा यस्तो नराम्रो रुप लिएको छ कि सामाजले अछुत बनाई दिएको जातका मान्छे पनि भ्रमको खाडलबाट माथि उठ्न सकिरहेका छैनन् । उहाँहरुको सोचमा परिवर्तन गर्न फलमको चिउरा चपाए सरह नै छ । एक थरिका मान्छेबाट विभेद भईरहेको हुन्छ, तर अर्को थरिका मान्छे त्यो विभेद सहेर बस्छ ।

हुन त नेपाल छुवाछुत मुक्त राष्ट्र हो । नेपालको संविधानले नै छुवाछुतलाई बन्देज गरेको छ । त्यसो त देशमा २०२० साल मै छुवाछुतलाई दण्डनीय मानिएको थियो । कागजका पानाहरूमा छुवाछुत हट्यो तर व्यवहारमा भने जस्ताको तस्तै ।

नेपालको राष्ट्रिय जनगणना २०६८ मा कूल जनसंख्याको १३.२ प्रतिशत दलित छन् । हरेक दलितले कुनै न कुनै समयमा आफ्नो जीवनमा छुवाछुतको व्यवहार भोग्दै आईरहेका छन् ।

सार्वजनिक फोरममा छुवाछुतको कुरा आउन साथ सावित्रा दिदीलाई स्कुले संस्मरणले छुन्छ । उहाँ स्कुल पढ्दा सरस्वती पुजाको दिन प्रसाद बाड्ने क्रममा शिक्षकहरुले दलितको लाईन छुट्टै लगाउथ्यो रे ! त्याति बेला उहाँका साथी सबै गैर दलित थिए र साथीहरुले सावित्रा दिदीलाई त्यो लाईनमा जान दिदैनथ्यो । आफ्नै लाईनमा बसेर प्रसाद खाना आग्रह गरेपछि दिदी आफ्ना साथीसंगै लाईनमा बस्नु हुन्थ्यो । त्यति बेला दिदीलाई लाग्थ्यो, हे भगवान ! सरस्वती पुजा नआइदिए हुन्थ्यो ! उहाँ धेरै संघर्ष पश्चात दलित महिला अधिकार मञ्च नेपाल संस्था दर्ता गरि दलित, महिलाको हक हितको लागी वकात गर्दै विभेद रहित कानुनी समाज निर्माण गर्ने लक्ष्यका साथ अभियानमै छिन् । उनी आफू र आफ्नो संस्थाले उत्पादन गरेको अभियन्ताहरु कोही संसद बने त कोही जनप्रतिनिधि । अझ अभियन्ताहरु उत्पादन गर्नमा उनी संघर्षरत नै छिन् ।
त्यहि अभियानका अभियन्ताहरुले गाउँघरमा जातकै कारण बेला बेला विभेद सहन बाध्य हुन्छन् । उनीहरुलाई विद्यालय भवनको सिलन्यासमा सहभागि भएपनि टिका समेत थाप्न नदिइएको तितो यर्थात छ । त्यति मात्र होईन, सार्वजनिक मन्दिरहरुमा पनि पुजारीले टिका निधारमा नलगाई हातमा दिँदा उहाँहरुलाई अपमानित भईरहेको महशुस हुन्छ । तर अझ पनि गुनासो गर्ने निकाय सम्म त्यस्ता घटन पुर्याउन सकेका छैन्।

धारा छोएको निहुमा झगडा

कैलालीको गौरीगंगा नगरपालिका वडा नं. १० उदासीपुरमा धारा छोयो भन्दै दलित र गैरदलित विच झगडा भएको थियो । दलित महिला अधिकार मञ्च नेपालद्धारा सञ्चालित लालीगुँरास समुहका दलित महिलाले यहि बैशाख ३० गते बाटोको छेउमा रहेको धारा छोएपछि कुटाकुट भएको थियो । उनीहरु लक्षित समुदायलाई तीन दिने क्षमता अभिबृद्धि तालिमबाट फर्कने क्रममा बाटोकै छेउमा रहेको पार्वती धामीको नल्काको पानी खाएको निहुमा कुटाकुट भयो । समुहका महिला दीपा विक, राज्यश्वरी सुनार, मिना विक, लक्ष्मी विक, अनिता सुनार र रुपा विक लगायतको टोलीले सो नल्काको पानी खाएका थिए । पीडित महिलाहरुले हामी दलित भएकै कारण धामीले हामीमाथि कुटपिट भयो भन्दै जातीय छुवाछुत महल अन्गत मुद्धा दर्ता समेत गरे । उनी नगरपालिका हुदै इलाका सम्म पुगे । तर गाउँमा मिल्ने दबाब आएपछि जिल्ला प्रहरी कार्यालयमा सम्मा पुगेको मुद्धा अन्ततः मिलापत्रमै टुगिंयो ।

पानी छोएको निहुमा जनप्रतिनिधिको हत्या

कालिकोटको नरहरिनाथ गाउँपालिका–९ की वडा सदस्य ४२ वर्षीया मना सार्कीको धारो छोएको निहुँमा जेठ १९ गते हत्या भयो । शनिबार साँझ धारामा पानी लिन गएकी सार्कीलाई उनकै छिमेकी २२ वर्षीया राजीन्दा शाही, १९ वर्षीया सृजन शाहीले कुटपिट गर्दा सोही राती उनको मृत्यु भएको थियो । मृतका छोरा पदम सार्कीले कर्तव्य ज्यान तथा जातीय छुवाछुत कसुर ऐन अन्र्तगत जाहेरी दिएपछि घटनामा संलग्न भएको आरोपमा राजिन्दा र सृजना शाहीलाई प्रहरीले अनुसन्धानको हिरासतमा राखेको छ ।

दलितभित्रै आन्तरिक छुवाछुत

जातीय छुवाछुत विरुद्ध आवाज उठाउँदै आएको दलित समुदायभित्र पनि आन्तरिक छुवाछुतले वर्चस्व जमाएर बसेको छ । गैर दलितबाट हुने छुवाछुत अन्त्यका लागि संघर्ष गर्दै आइरहेका दलित समुदायले आफैभित्रको आन्तरिक छुवाछुतलाई भने निराकरण गर्न नसकेको उदाहरण कैलाली जिल्लामा छ ।

गत वैशाख ३१ गते गोदावरी नगरपालिकाको वडा नम्बर १२ स्थित बाँगेसालमा आफूहरुले प्रयोग गर्दै आएको कुवा छोएको भन्दै विश्वकर्मा जातको व्यक्तिले दमाई जातको व्यक्तिमाथि कुटपिट गरेको थियो । तर उक्त घटनालाई गाउँमै मिलापत्र गरि टुङ्याइयो ।

साविक गोदावरी गाविसका पूर्व अध्यक्ष भानसिंह विकका परिवारले आफ्नो कुवा छोएको भन्दै स्थानीय १९ वर्षीय सागर नेपालीमाथि कुटपिट गरेका थिए । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गराउन खोज्दा अब फेरी यस्तो घटना नदोहोरियोस् भनि दुबै पक्षको सम्झौतामा मिलापत्र गरिएको थियो । पीडक पक्षले यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धताका साथ पीडितसंग माफि मागेपछि दुवै पक्षबीच मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय कैलालीको भनाई छ ।

गोदावरी नगरपालिका स्थित ओलानीमा दलितभित्रै छुवाछुतको अवस्था तमाम छ । सुगम जिल्लाको दुर्गम ठाउँ पर्ने ओलानीमा आफूलाई उच्च भनाउने विश्वकर्माले र तल्लो जात भनिएका दमाई, नेपाली, सार्कीबीच ठूलो विभेद छ । यी दुई जातकाले खोने पानीको कुवा पनि छुट्टाछुट्टै छन् । विश्वकर्माले आफ्नो कुवा तल्लो जात भनिएकालाई छुन दिदैन् । यो पहिलेदेखि चलि आएको चलन रहेकाले दमाईहरुलाई कुवा छुन नदिने गरेको ओलानीकी अमृता विक बताउँछिन् । ‘यस्तो चलन यहाँ पहिलेदेखि नै रहि आएको छ’, उनले भनिन्–‘हामीहरु तल्लो जातको कुवामा जाँदैनौं । उनीहरुलाई पनि हाम्रो कुवा छुन दिदैनौं ।’ ओलानीमा आफूलाई उच्च ठान्ने सुनार, विश्वकर्मा, चुनारा, सार्की लगायतकाले दमाई जातकालाई तल्लो स्तरमा राखेका छन् । विश्वकर्मा र दमाई जातबीच मागी विवाह हुने गरेको छैन यति मात्रै होईन दमाईका भान्सामा पाक्ने खाना विश्वकर्मालाई चल्दैन, कुँवा र भान्छा पनि दमाईलाई छुन दिदैंनन् ।

विश्वकर्माहरुका लागि बनाइएको कुवामा नेपालीहरुलाई प्रवेश गर्न र पानी भर्नका लागि रोक लगाइएको अमृताले बताइन् । उनले अगाडि थपिन् ‘विकहरुले पहिले नै दमाई जातकालाई कुवामा आउन नदिने नियम बनाए । त्यसैले उनीहरु आउन पाउँदैनन् ।’ गोदावरीको ओलानीमा दलित र गैरदलित दुवै समुदायको बसोबास रहेको छ । तर, बाहुल्यता दलितहरुकै रहेको छ । सुरुमा पानीका लागि झगडा हुन थालेपछि गैरदलित, दलितका लागि छुट्टाछुट्टै कुवा बनाइयो । तर, विश्वकर्मा र दमाई जातका दलित आफै पनि मिल्न सकेनन् ।

उनीहरुबीच नै छुवाछुत हुन थालेपछि दमाई जातका दलितको लागि छुट्टै कुवा बनाइएको हो । आफूहरुलाई दमाई भन्दै विश्वकर्मा जातकाले कुवा छुन नदिने गरेको सीता नेपालीले बताइन् । उनले अगाडि थपिन्–‘पहिलेदेखि नै विश्वकर्मा र दमाई जातकाबीच रहेको विभेद अहिलेसम्म पनि कायम छ ।’ ओलानीको छुट्टाछुट्टै ठाउँमा बनाइएको कुवामा विक र नेपालीको कुवा भनेर लेखिएको छ । विकको कुवामा सार्की, चुनारा, सुनार, कोली, भुल लगायतकाले भने पानी खान पाउने गरेको बताइएका छन् । दलितभित्रको आन्तरिक विभेद निर्मूल नगरी उच्च जातिबाट हुने विभेद अन्त्य गाह्रो देखिन्छ ।

प्रेममै जातको बास्न

नेपालको संविधानमा मान्छे जन्मे देखि नमरुन्जेल स्वतन्त्रता हुनु पर्छ भनेर प्रस्तावनामै उल्लेख छ । जस अनुरुप हरेक कोही मान्छे जात होईन, बरु आफूले मन पर्ने व्याक्ति संग बस्न, खाना, खेल्न, रमाईलो गर्न पाउनुपर्छ । यति मात्रै होईन, आफूले मन परेको व्याक्तिसंग प्रेम गर्न वा विबाह गर्न पाउनु पर्छ । संविधानको परिभाषा अनुसार त्यो हरेक जोडी समाजमा सम्मान जनक जिवन जिउन पाउनु पर्छ । तर हाम्रो सामाजले दलित र गैरदलितको जोडीलाई छि ! छ ! र दुर ! दुर ! को संज्ञा दिन्छ । अन्तर जातिय विबाहले बिकृति फैलायो भनेर सरकारी तहबाटै विभिन्न समस्या झेल्नुपर्ने अवस्था सृजना भएको देखिन्छ । उनले पाउने विबाह दर्ता, बच्चाको जन्मा दर्ता जस्ता मुद्धामा पनि अन्तर जातिय जोडीलाई समस्या नभएको भन्न सकिन्छ । लुकि छिपि प्रेम गर्न हुने तर समाजको अगाडी दुलही बनाएर भित्रियाउन नसक्ने वकालत कर्ताहरु पनि हाम्रो सामाजमै छन् ।

संसद बैठकममै व्यक्त हुन्छ दलित हुनुको पीडा

यही जेष्ठ २१ गते सांसद कलुदेवी विश्वकर्माले संसद बैठकमा भावुक हुँदै आफू दलित हुँदाको पीडा सुनाईन् । उनले भनेकी थिइन्, काठमाडौंमा त यस्तो छुवाछुत छ भने गाउँमा हामीले सुतेको ठाउँमा लिपेर पोतेर जानुस् भन्छन् । खाएको थाल घोप्ट्याएर जा भन्छन् ।
हामी दलित होइनौं । हामी शिल्पी हौं । हामीले बनाएका भाँडावर्तन तिनका कोठाभित्र जाने अनि हामी अछुत कसरी भयौं ? हामीले बनाएका कपडा भित्र जाने, हामीले बनाएका गरगहना भित्र जाने, हामीले बनाएका बाँसका छाप्रा भित्र जाने हामी अछुत कसरी भयौं ?
गाउँघरमा जानुस् बाहिरको कुकुर भित्र राख्छन् । बिरालो भित्र राख्छन् । हामी कसरी अछुत भयौं ? तपाईं काट्यो खुनै, हामी काटे खुनै । हामी पनि मान्छे हो । मानिस हो । यो छुवाछुतको भेदभाव अन्त्य हुनुपर्छ । होइन भने दलित एक भएर नारा लगाउँछौं । चाहे मरौं, चाहे काटौं, चाहे जे सुकै होउँ । हामीले बनाएको भाँडावर्तन ठूला ठूला मन्दिरमा चढ्ने अनि हामी अछुत कसरी हुने ? सभामुख महोदय । जसरी हुन्छ यो अन्त्य हुनुपर्छ ।

कागजमै सिमित संविधान

नेपालको संविधानमा छुवाछुत तथा भेदभाव विरुद्धको हकको व्यवस्था छ । कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन ।
कुनै वस्तु, सेवा वा सुविधा उत्पादन वा वितरण गर्दा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई खरीद वा प्राप्त गर्नबाट रोक लगाइने वा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई मात्र बिक्री वितरण वा प्रदान गरिने छैन भनिएको छ । उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने, जात, जाति वा छुवाछुतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछुत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाइने छैन भनिएको छ ।

यस्तै संविधानमै जातीय आधारमा छुवाछुत गरी वा नगरी कार्यस्थलमा कुनै प्रकारको भेदभाव गर्न पाइने छैन भनिएको छ । छुवाछुत गर्न नपाइने कुरालाई राज्यको मूल संविधानले नै सुरक्षित गरिसकेको अवस्थामा व्यवहारमा भने किन छुवाछुत छ त ? किन मान्छेले आफू जस्तै अर्को मान्छेलाई मान्छे झैँ व्यवहार गर्न सक्दैन ? किन मान्छे मान्छे हुनुमा नभई कथित ठूलो जाति हुनुमा गौरव गर्छ र आफू जस्तै अर्को मान्छेमाथि हत्या, हिंसा र थिचोमिचो गर्न छोड्दैन ?

नागरिक अधिकार ऐन २०१२ को दफा ३ मा समानता र कानुनको समान संरक्षणबाट कसैलाई बञ्चित नगरिने भनिएको छ । सोही आधारमा जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन, २०६८ बनेको होे । यस ऐन अन्तर्गतका अपराधलाई सरकारवादी फौजदारी अपराधका मुद्दा हुने व्यवस्था छ । जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) (पहिलो संशोधन) ऐन २०७४ ले यसअघि रहेको दण्ड जरिवाना बढाएको छ । जस अनुसार जातीय भेदभाव गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा २० हजार रुपैयाँ देखि एकलाख रुपैयाँ जरिवाना वा दुवै सजाय छ । जातीय भेदभाव वा छुवाछुत गर्न मद्दत गर्ने, उक्साउने वा त्यस्तो उद्योग गर्नेलाई कसुरदारलाई हुने सजायको आधा सजाय । सार्वजनिक पद धारण गरेको व्यक्तिले सो कसुर गरेमा तोकिएको सजायमा थप पचास प्रतिशत सजाय थप हुने व्यवस्था गरेको छ । तर छुवाछुतका घटना दिनदिनै भइरहेका भए पनि त्यस्ता घटनालाई बाहिर नल्याउने, गाउँ घरमै मेलमिलाप गर्ने प्रवृति छ । जसले गर्दा छुवाछुत मौलाउँदै गएको अवस्था छ ।

दलित भएकै कारण मान्छे मारिदा, कुटिदा र अपमानिता हुँदा समेत ‘यस्ता घटना अहिले मात्रै भएका हुन् र ? पहिले पनि त हुन्थे । भइरहन्छ । हाम्ले बोलेर के हुन्छ र ?’ भन्दै घटना अनदेखी गरिन्छ । मान्छेको न्यायका खातिर मुख खोल्दैनन् मान्छेले । र दुःख दिने र सुःख पाउनेबीच फरक छुट्याइदैन । पीडकका विरुद्ध र पीडितका पक्षमा हत्तपत्त आवाज उठ्दैन । र त यहाँ जातले जित्छ, मान्छे हार्छ ।