महिलाले संचालन गरे थारु साँस्कृतिक अतिथि गृह
धनगढी, २० नवलपरासीको कावासोती नगरपालिका–१५ गोडारमा २८ जना थारु महिलाहरुको सामुहिक प्रयासमा पर्यटकहरुलाई लोभ्याउने थारु साँस्कृतिक अतिथि गृह संचालन गरेका छन ।
उसरी त अमलटारी नेपालकै चर्चित ठाउँको रुपमा चिनिन्छ । यहाँ आउने पर्यटकहरुहरु थारु होमस्टेको रमाइलो बसाईसंगै थारु खानपिन, नाँचगानसंगै सामुदायिक बनभित्र गैडा हेर्न जंगल सफारी को मनमोहक दृष्यले काफि मनोरञ्जन हुन्छ ।

तर पछिल्लो अवस्थामा कावासोती–१५ गोडार अमलटारीमा बैशाख २९ गतेदेखि थारु सांस्कृतिक अतिथि गृह प्रा.लि. सञ्चालनमा आएको छ । महिला स–शक्तिकरणसंगै विविधता र संँस्कृतिको संरक्षण गर्दे पर्यापर्यटनको विकास गर्न महिला समूहद्वारा सञ्चालित थारु सांस्कृतिक अतिथि गृहले पर्यटकहरुलाई अझ लोभ्याईरहेको देखिन्छ ।

सो गृहलाई व्यवस्थित गर्न १५ वर्षपछि खाडी मूलुकबाट फर्केका भिम महतोंले अतिथि गृहको व्यवस्थापनको जिम्मेवारी समाल्दै आएका छन् । उनले पुरै गाउँलाई नै पर्यटन व्यवसायीमा लाग्न हौसला प्रदान गर्ने बताए ।
६० लाखको लगानीमा सञ्चालन भएको अतिथि गृहले पर्यटकहरुलाई भरपूर्ण मनोरञ्जन दिन सक्षम रहेको बताउछन् अतिथि गृहका अध्यक्ष देउ कुमारी ठनेत । उनी भन्छिन् सांँस्कृति अथिति गृहमा सबै महिलाहरु मात्रै छौं, अहिले पुरुषहरुले सहयोग चाहिएपनि पछि सबै जिम्मेवारी आफै समाल्ने बताईन् ।
अतिथि गृहमा थारु महिलाहरु पाहुनाको स्वागत सत्कारको लागि रहेक दिन थारु पहिरनमा सजिएका बताउदै विविध थारु संस्कृतिक कार्यक्रम लाठी नाँच, झुमरा नाँच देखाएर पर्यटकहरुलाई मनोरञ्जित बनाउने बताइन् ।

त्यस्तै गृहका सचिव बिनु महतों थारु खाना चिचर यहाँको बिशेष परिकार रहेको बताईन् । गृहमा घोंगी, लिटी, सोझुवा रोटी, लोकल कुखुरा, हाँसको मासु र माछाका परिकारको स्वादमा पाहुँनालाई लिप्त पर्ने बताईन् ।
ग्रामीण समुदायमा उत्पादित सामाग्रीहरुलाई बजारीकरण गर्ने र पर्यटकहरुलाई बढिभन्दा बढी गुणस्तरीय प्रदान गर्नको लागि २५ कठ्ठा क्षेत्रफलमा अतिथि गृहको भौतिक संरचना निर्माण भएको छ ।

जसमा ४ विघा जग्गालाई लिजमा लिएर सामुहिक अर्गानिक खेती गरिरहेका छन् । आफैले उत्पादन गरेको मौसम अनुसारको हरियो तरकारीसंगै विशेष गरि अन्दीको धान उत्पालन गर्ने यहाँको विशेषता रहेको बताउछिन् सचिव बिनु ।
उनले भनिन् ‘पाहुँनको सेवामा अर्गानिक खानाको साथै आरामदायी बासको व्यवस्था र कार्यक्रम संचालन गर्नको लागि सेमिनार कक्षको समेत व्यवस्था गरेका छौं ।’ थारु समुदायको पुरानो घर अभास दिलाउन थोरै आधुनिकीकरण गरि खरले छाएको तीन वटा घरमा ८ वटा बाथरुम सहितको अटेज रुम बनाएको छ ।
गैडा हेर्न जंगल सफारी

अमलटारी पुगेर गैडा हेर्न जंगल सफारीको व्यवस्था छ । घना जंगलको बीच बाटो हुँदै जंगल सफारी गर्न पाउँदा पर्यटक भरपूर्ण मनोराञ्जन लिन सक्छन् । जहाँ गैडा अनिवार्यरुपले हेर्न पाईन्छ । साथै प्रशस्त जंगली जनावर तथा चराचुरुङ्गीको अवलोकन गर्न पाईन्छ ।
२ वटा नाकाबाट गरिने जंगल सफारी १७ किलोमिटरको छ भने यो सफारीका लागि साढे २ घण्टादेखि करिब ३ घण्टासम्म लाग्छ । जंगल सफारी शुरु भएको केहिबेर देखिनै फाट्टफुट्ट रुपमा बाह्रसिंगे, कालिज तथा जलचरले पर्यटकलाई स्वागत गर्छन् ।

नारायणी नदीको तिरैतिर सफारी अघि बढ्दै जाँदा बाक्लो मात्रामा मृग, हरिण, बँदेल देखिन्छन् भने मध्यभागमा पुगेपछि मृग र हरिणहरु बथानका बथान भेटिन्छन् । कतै बाह्रसिंगे त कतै मयुर भेटिदा सफारीको मज्जा बेग्लै हुन्छ । सो क्रममा कतै एकल त कतै जोडा बाँधेर बसेका गैंडाहरु पनि बीच–बीचमा भेटिन्छन् । जसले जंगल सफारीमा छुट्टै आनन्द दिन्छ ।
जंगलमा चितुवा, भालु, बाघ लगायतका अन्य बन्यजन्तु पनि भेटिनछन् । जंगलको विचमा ठूलो फाँट छ । जहाँ पर्यटकहरु हरियालीको दृष्यमा मन्डमुद भएर रमाउन पाउछन् ।
आर्थिकमा आत्मा निर्भर हुदै महिला
अमलटारी मध्यवर्ती होमस्टे सञ्चालनमा मुख्यतया महिलाको हात छ । थारु महिला जैविक विविधताले भरिपुर्ण भएपनि आर्थिकरुपमा जहिले पडाछी परेकोले होमस्टेको अवधारणा ल्याएको बताउछन् होमस्टे सञ्चालक अस्मिता चौधरी ।
उनी होमस्टे सञ्चालनपछि आर्थिकरुले आत्मानिर्भर भएको बताउछिन् । सानो सानो रकमको लागि श्रीमानको भर पर्नबाट मुक्त भएको बताउदै भन्छिन् ‘पाहुना स्याहर्ने काम त पहिला पनि गथ्र्यो तर आजकल पाहुना स्याहारे बाफत पैसा कमाईन्छ एकदम खुशी छौं ।’

हाम्रो कला संस्कृतिको जर्गेनासंगै आर्थिकरुपमा यहाँका महिला विस्तारै सक्षम हुदैछौं । होमस्टेबाट सबै खर्च कटाएर महिनामा ३० देखि ४० हजार रकम बचत हुन्छ ।
उनी भन्छिन् पहिला घरभन्दा बाहिर जान पाइदैन थियौं । होमस्टे पछि विभिन्न ठाउँको भ्रमण गरिसक्यो । हामी होमस्टे मात्रै होईन होटलपनि सञ्चालन गर्न सक्छौं, चलाईरहेका पनि छौं ।













