वैदेशिक रोजगारीबाट श्रमशोषणमा परेर फर्किन्छन महिला

कैलाली, कैलाली, ७ जेठ । जीवन धान्नै नसक्ने गरिबीका कारण समाजमा टिकी नसक्नु भयो, कैलाली लम्की–चुहा नगरपालिका–३ बलचौरकी ३० बर्षिय चिन्तादेवी बादीलाई । जंगलको किनारमा बनाएको सानो झुपडी बर्खाको बेला सधै पानी चुहिने घरको छानोमा टिनको पाता लगाउने, बालबच्चाको पालनपोषण, शिक्षा दिक्षामा सहयोग पुगाउने उनको सपनाले विदेशको गन्तव्यतिर आर्कषण ग¥यो । अन्य महिलाको जस्तो हैसियत बनाउन हरप्रयास विफल हुँदै गएपछि सामाजिक भूमिकामा बाच्नकै लागि दुई बर्षे दुधे बालकलाई श्रीमानको जिम्मा लगाई तीन बर्ष अगाडी दलालको चंगुल र भुमरीमा परि भारतको बाटो भएर वैदेशिक रोजगारीका लागि चिन्तादेवी कुबेत पुगेकी थिइन । नेपालको श्रमस्वीकृति विना अवैधढंगले दलालमार्फत विदेश पुगेकी उनीसंग काम गर्दाको मासिक तलब, काम गर्ने समय र पाउने सुविधाबारे केही पनि लिखित सहमति नभएको उनले बताइन ।

‘आफुलाई पठाउनेबेला यहाँको जस्तैे काम हुन्छ, पैसा धेरै पाइन्छ, सुत्ने कोठामा एलसीडी, फोनको व्यवस्था हुन्छ भनेर कञ्चनपुरकी चम्फा थापाले आफूलाई पठाएको चिन्तादेवीले बताइन ।’ सधै आर्थिक आवश्यकताको अभावमा बाँचेकी हुनाले अब त आफ्नो सपना सकार हुने भयो भनेर उनी मख्ख पर्दै कुबेत उडेकी थिइन । त्यहाँ पुग्दा खाना पकाउने, घर सरसफाई गर्ने, लुगाकपडा धुने लगायत घरेलु कामदारको रुपमा एक घरमा काम गर्ने उनकी दैनिकी सुरु भयो । तर जुन देशमा जानुपर्ने हो, जानुअघि त्यस देशको भाषा, चालचलन, कानून, धर्मसंस्कृति, प्रणालीको बारेमा जानकारी नहुदा आफुले एक बर्षसम्म नसोचेको दुःख पाएको उनले बताइन ।
कुवेतको मासिक ८० रुपैया मालिकले तलब तोकेपनि श्रमअनुसार भने खाने, बस्ने सुविधा नभई कामको चाप ठेग्ना नसक्दा काम अनुसार तलब नदिए घर फर्काईदिने वा अन्तै काम लगाई दिने भनेपछि मालिकीनीले उल्टै कुटपिट गर्थी उनले भनिन ।
त्यहाँ धेरै काम गनुपर्ने, काम गरेपनि कुटाई खाने, गाली गलौच सहनु पर्ने, काम गर्ने ठाउँमा सुटनु पर्ने, कहिले काही आधा रोटी मात्र खाएर काम गर्नेुपर्ने बाध्यताको सामना गर्नु परेको चिन्तादेवीले बताउछिन ।

त्यो घरमा सानो ठुलोगरि आठ जनाको परिवार थियो सबैले लगाएको लुगा कपडा धुनु पर्ने, घरयासी काम गर्नुपर्ने उनको दैनिकी हुन्थ्यो । मालिकाको छोरा झन रक्सी खाएर प्राय राती आउने र अबेर १२–१ बजेसम्म जाग्नु पर्ने र विहानफेरी उठेर घरको काम गर्नुपरेको भोगाई उनले सुनाइन । एक बर्षसम्म जसोतसो काम गरेपनि मालकिनी र उसको छोराको व्यवहारले त्यहाँ बस्ना नसकी भाग्नु परेको उनले बताइन । काम गरेको तीन–चार महिनाको तलब पाउनु त कहाँ हो, झन नेपाल फर्किना लाग्दा आफुसंग भएको कुवेतको एक सय साठी रुपिया पनि मालिकाले खोस्यो । मालिकाको घरबाट भागेर नेपाली दुताबास पुग्दापनि आफुलाई त्यहाँ सहयोग नगरी उल्टै मालिकालाई फोन गरी उसंग पैसा खाई फेर उसकै घर पुगाएको उनले दुःख पोखिन । दोस्रो पटक भागेर एयरपोर्ट पुग्दा वैदेशिकबाट नेपाल फर्केरहेकी एक जना चौधरी समुदायकी महिलाको सहयोगमा नेपालसम्म घर पुग्ना सफल भएको चिन्तादेवी बताउछिन । विदेश जानु अघि उनेकी सपना पुरा हुना कहाँ हो कहाँ, घर पुग्दा फेरी उही झुपडी भेटाएको उनले बताइन, काम गरेर विदेशबाट पठाएको सात–आठ महिनाको तलब घरपरिवार पाल्नमै ठिक भएको रैछ उनले भनिन ।

‘विदेशको सपना बालुवाको पानी रहेछ, सोचिन्छ एउटा भोगिन्छ अर्कै’ उनले वैदेशिक रोजगारीको फेहरिस्त शब्दमा उतारिन् । विदेशमा आफूले भोगेको दुःखले पनि उनलाई सन्तोष दिएन । ‘एक बर्षपछि घर फर्के घरको हालत उस्तै’ उनले भनिन– ‘अभावै, अभावको जीन्दगी, न त रोजगार, न सम्पत्ति, न कुनै अवसर नै ।’ झर्को नमानी खाना पाउने कुनै विकल्प छैन् । आखिर जीवन आशै आशमा त अडेको छ, त्यसैले आफूले भोगेको कष्ट विर्सेर फेरी वैदेशिक रोजगारीको लागि विदेश जाने निधो गरिन चिन्तादेवी ।
श्रीमानले केही काम नगरि बसेपछि गाउँका धेरै महिला वैदेशिक रोजगारमा जान लाग्दा चिन्तादेवी फेरी ओमन गइन । त्यहाँ पुग्दा एकजना बच्चा र घर स्हार्ने काम मात्र रहेको बताइन । ‘घरमालिका–मालकिनी जागरे थिए खानपिन गरेर उनीहरु आफिस जान्थे, बच्चा स्हार्ने घरको रेखदेख गर्ने काम राम्रै थियो ।’ तीन महिनासम्म राम्ररी काम गरियो पछि यस्ले केही गलत गर्छकी भनेर मालिकले सिसि क्यामरा जडान गर्दा आफुले भोक लाग्दापनि भान्सामा राखेको आफै लिएर खान नसकी अप्ध्यारोमा परेको उनले बताइन । त्यहाँपनि श्रमअनुसार तलब नपाउदा नेपाल फर्किएको चिन्तादेवीको भनाई छ ।

वैदेशिक रोजगारमा जा“दा ठगिएका चिन्तादेवी केही प्रतिनिधिपात्र मात्र हुन् । लम्की–चुहा नगरपालिका–३ बलचौरकै ३६ बर्षिय गितादेवी बादी र २५ बर्षिय विष्णादेवी बादीकोे समस्या पनि कम छैन । वैदेशिक रोजगारीमा रहेर ३ बर्ष कुवेत बासी भर्खर डेढ हप्ता अघि घर फर्किएकी गीतादेवी वादी वैदेशिक रोजगारीमा रहदा सहनै नसकी पीडा खेपेकी दुखेसो पोखिन ।

भारतको श्रीलंकाबाट नेपाली चेलीमार्फत कुवेत पुग्दा आफूले त्यहाँको आरेविक भाषा, चाल–चलन र रितिसंस्कृति नबुझदा अनेकन पीर कष्ट भोग्नु परेको बताइन । एउटा काम विग्रदा दशलाट, दशबात खाएको र रुनासम्म नपाएको दुखेसो उही सुनाउछिन । चार सन्तानकी आमा रहेकी गीता आफु तीन बर्षसम्म गर्न नहुने काम समेत गर्नु परेकोले जीन्दगीमा आब कहिले विदेश नजाने निधो गरिन । तीन बर्षसम्म काम गर्दापनि कुबेतको मासिक ८० रुपिया पाएको कुरा उनले सुनाइन । विहान ४ बजेदेखि राती ११–१२ बजेसम्म काम गर्दापनि मालिकले मासिक तलब दिएपनि ओभर टाइमको पैसा चाही कहिले पनि नदिएको गुनासो सुनाइन ।

विष्णा पनि श्रमशोषणमा परेर एक बर्ष भन्दा बढि टिक्ना नसकी विदेशबाट भागेर नेपाल आएकी आफनो नालीबेली सुनाउछिन । दैनिक आठ घण्टा काम गराउने भनेर सहमति गराएपनि १५–१६ घण्टा बढी समय काम गराएको र तलब चाही श्रमअनुसार तलब नदिदा घर फर्किएकी उनले भनिन । वादी समदायकी प्रायजसो महिला वैदेशिक रोजगारको लागि भारतिय बाटोको प्रयोग गर्ने र उहीबाट दलालको चंगुलमा परी खाडी मुलुक पुग्ने गरेका छन । विष्णाका अनुसार बलचौरका १२ जना महिला अहिलेपनि बैदेशिक रोजगारीका लागि खाडीमुलकमा छन ।

त्यसैगरी कञ्चनपुर जिल्लाको बंक घर बताउने २० बर्षकी गिताकुमारी वादी भारतिय बाटो भएर साउदी अरबको हायलमा दुई बर्ष दुई महिना घरेलु कामदार भएर काम गरी फर्केको भर्खर ६ महिना भएको छ । विना तालिम, विना सिप र त्यहाँको भाषा, संस्कृतिबारे थाहाँ नपाउदा सुरुमा धेरै समस्या भोगेको बताउदै विदेश जाँदा चलाखो हुनु पर्ने बताछिन । विदेश गएको तीन महिनासम्म मालिक र त्यस घरपरिवारको व्यवहार सहन नसकी दुई पटक भाग्ने प्रयास गरेको उनले सुनाईन । भारतको बाटो भएर वैदेशिक रोगजारमा जाने महिला शारीरिक अशक्त, विदेशबाटै बच्चा बोकेर फर्किने, गर्भवती अवस्था, मानसिक विक्षिप्त अवस्था र गर्भपतन गरेर फर्केका अवस्थामामा एयरपोर्टमा भेटेको गीताले अनुभव सुनाइन ।

त्यसै गरी गौरीगंगा नगरपालिका–९ (साविक मसुरीया ७) राजीकटानकी कोकीला भुल चार बर्ष अगाडी अपाङग श्रीमान् र ४ सन्तानलाई पाल्नकै लागि नौडाडा पारी कुवेत पुगेकी थिइन । गाउँकै चिनजान रहेकी भण्डारी थरकी एक जनाले राम्रो कमाइ हुने भनेपछि उनकै विश्वासमा घरको समस्यालाई समाधान गर्न वैदेशिक रोजगारीमा जान राजी भएकी थिइन । कुवेतमा २४ महिना गरेको कामबाट १ लाख ७० हजार मात्रै कमाउन सकिन् । जुन रकमले उनको घर खर्च धान्न मुश्किल प¥यो । ‘घरको समस्याले विदेश गए । त्यहाँ गएर झन दुःख भयो । मालिकले गाली गर्ने, कुट्ने समेत गथ्र्यो’ उनले विदेशमा भोगेको दुःख सम्झदै भनिन् ‘त्यति गरेर सोचेको जस्तो कमाइ भएन् ।’ उनले पहिला गरेको कामबाट कमाइ नभएपछि कुवेतमा आफैले अर्को काम समेत खोजिन् । तर त्यस कामबाट पनि कमाइ नभएपछि घर फर्किन बाध्य भएको उनी सुनाउँछिन् । कोकीलाका अन्य ४ देउरानी–जेठानी समेत बैदेशिक रोजगारीमा गएका थिए । ‘विदेशमा कमाई भन्दा गुमाउनु धेरै पर्ने रहेछ’ घर फर्किएकी कोकीलाले भनिन् ‘हामीले सोच भन्दा धेरै परिश्रम गर्नुपर्ने, मानसिक यातना सहनुपर्ने, कमाइको तुलनामा खर्च बढी हुने, जाँदा लाग्ने खर्चहरु समेत तिर्न नसक्ने अवस्था आयो ।’ उता उनकी देउरानी पार्वती भूलको विदेश जानु ज्यानको बाजी खेल्नु जस्तै भएको बुझाई छ । ‘विदेशमा जानु भनेको खुकुरीको धारमा हिड्नु जस्तै रहेछ’ आफूले भोगेको समस्या स्मरण गर्दै उनले भनिन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा रहेको सुरक्षित आप्रावसन सूचना तथा परमर्श केन्द्रकी परामर्शकता लक्ष्मी चौधरीका अनुसार यो बर्ष जिल्ला प्रशासन कार्यालय बाट ६८ जना दलित महिला वैदेशिक रोजगारीमा जानका लागि पासपोर्ट बनाएका छन । धनगढी उपमहानगरपालिका, टीकापुर, लम्कीचुहा नगरपालिका, गोदवरी नगरपालिका, गौरीगंगा नगरपालिकाबाट बढी दलित महिला पासपोर्ट लिएको केन्द्रकी परामर्शदाता चौधरीले बताइन । आर्थिक अवस्था कम्जोर रहेका, श्रीमानले दोस्रंो विवाह गरेका, घरपरिवारबाट अपहेलिट भएको दलित महिला पासपोर्ट बनाउन आएको उनले बताइन । कैलालीमा वैदेशिक रोजगारीबाट ठगिएको समस्या लिएर निवेदन दिनेहरूको संख्या हाल सम्म २ सय ६१ रहेको छ । आ.व २०७४÷०७५ मा मात्र विभिन्न समस्यामा परी ४५ जनाले निवेदन दिएकोमा १७ वठा सफल भएको र २८ वटा प्रक्रियामा रहको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रका परामर्शकर्ता चौधरी बताइन ।

जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको तथ्याङक अनुसार कैलालीबाट आर्थिक बर्ष २०७४/०७४ को अहिलेसम्म ५ हजार ३ सय ८९ जना विदेश जानको लागि पासपोर्ट बनाएका छन । त्यस पुरुष ४ हजार ६ सय ४६ पुरुष र ७ सय ४३ जना महिला रहेका छन । भने गत आर्थिक बर्ष २०७३/२०७४ मा कैलालीबाट विदेश जानको लागि ५ हजार ६ सय ३६ जना रहेकोमा पुरुष ५ हजार ४१ र महिला ५ सय ९६ जना रहेका थिए । हालसम कैलालीबाट विभिन्न मुलुकमा वैदेशिक रोजगारको लागि ३५ हजार जना विदेशमा रहेका छन ।

सरकारले खाडी मुलुक तथा मलेसियामा वैदेशिक रोजगारका लागि जान फ्रि भिसा र फ्रि टिकटको व्यवस्था गरेको छ । तर, अझैं पनि वैदेशिक रोजगारमा पठाउ“दा म्यानपावर कम्पनी÷दलालले प्रतिव्यक्ति ८० हजारदेखि डेढ लाख रुपैया“सम्म लिने गरेका छन् । मलेसिया र खाडीका साउदीअरब, कतार, ओमन, बहराइन, संयुक्त अरब इमिरात (युएई) र कुवेत गरी सात देशका लागि नेपाली कामदारलाई फ्रि भिसा र फ्रि टिकटको व्यवस्था गरिएको छ । रोजगारदाता कम्पनीले कामदारलाई भिसा र टिकट उपलब्ध गराउनुका साथै मेनपावर कम्पनीलाई कामदार पठाएवापत कमिशन समेत दिने गर्छ । ‘यी मुलुकमा नेपाली कामदार जा“दा एक रूपैया“ पनि लाग्दैन’ सुरक्षित आप्रवासन परियोजना जिल्ला संयोजक पञ्चराम चौधरी भन्छन्– रोजगारदाता कम्पनीले सेवा शुल्कवापतको खर्च नदिने भएमात्र १० हजार रुपैया“सम्म लिन पाउने व्यवस्था छ ।

मेनपावर कम्पनीले वैदेशिक रोजगार विभागमा ३० लाख रूपैया“ धरौटी राखेर दर्ता गर्नुपर्छ । दर्ता गरेको एजेन्सीको सिफारिसमा दुई लाख धरौटी राखेर विभागबाट अनुमति लिएका व्यक्तिले मात्र एजेन्टका रूपमा काम गर्न पाउ“छन् । कैलालीमा यस्ता वैधानिक एजेन्ट १३ वटा छन् । त्यसमा तीन वटा कार्वाहीमा परेका छन । तर, गाउ“पिच्छे अवैध एजेन्ट सक्रिय रहेका छन् ।

वैदेशिक रोगजारमा जानेहरु ठगिनुबाट बाँचुन भनि स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दफा ११ को उपदफा २ (थ) मा रोजगार तथा बेरोजगार श्रमशक्तिको तथ्यांक संकलन, प्रशोधन र सुचना प्रणालीके स्थापना गर्ने, स्थानीय स्तरमा रहेका स्वदेशी तथा बिदेशी श्रमिकको लगत संकलन तथा सुचना ब्यवस्थापन, रोजगार सुचना केन्द्रको व्यवस्थापन तथा सञ्चालन, वैदेशिक रोजगारीमा जैना श्रमशक्तिकोे लागि वित्तीय शाक्षरता र सीपमुलक तालिमके सञ्चालन, वैदेशिक रोजगारीबाट फर्किएको व्यक्तिहरुको सामाजिक पुनः एकिकरण, वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग गर्ने भनेको छ ।

आप्रवासी कामदार हकहिक संरक्षण केन्द्र, कैलालीका अध्यक्ष नारायण बहादुर विक पढेलेखेका र सीप सिकेका युवाहरूलाई समेत आकर्षक तलब र राम्रो काम दिने आश्वासन दिएर विदेश पठाउने गरे पनि उनीहरूले मजदुरी गर्न बाध्य भइराखेको बताउ“छन ।
विकको अनुभवमा नेपाली कामदार विदेशमा ठगिनुमा रोजगारदाता कम्पनी अथवा मेनपावर कम्पनी मात्रै जिम्मेवार नभएर वैदेशिक रोजगारमा लामो समय विताइसकेका कतिपय नेपाली समेत जिम्मेवार रहेका छन् । ‘भरखरै मलेसिया गएका कामदारलाई अवैध बनाउनेहरू नेपाली नै हुने गरेका छन्’ उनले सुरक्षित आप्रवासनका लागि सरकारले अझ बढी प्रयास गर्नुपर्ने बताए ।

सुरक्षित आप्रवासनसम्बन्धी मनोसामाजिक परामर्शकर्ता रमेश विश्वकर्माको अनुभवमा– विदेश गएका श्रीमान वा श्रीमती नियमित फोन सम्पर्कमा नआउ“दा वा घर खर्च नपाउ“दा पारिवारिक सम्बन्ध चिसिने गरेका उदाहरण छन् ।

लम्की–चुहा नगरपालिका–३ बालचौरकी दलित महिला सदस्य पार्वतीदेवी बादीको अनुभवमा पनि वैदेशिक रोजगारीले पारिवारिक विचलन बढाउन थालेको छ । ‘वैदेशिक रोजगारमा जादा सही सूचना, सिप सिकेर र भाषा संस्कृति बुझेर गए ठगिनेबाट बाच्न सकिने उनी बताउछिन ।

माइती नेपाल, कैलालीका संयोजक शिवचरण चौधरी भारतको बाटो भएर विदेश जाने महिलाको संख्यमा बृद्धि भएको बताए । उहाँको अनुसार आ.ब. २०७३/०७४ मा ८६ जना महिलालाई सिमानाकाबाट उद्धार गरि फर्काइएको र चालु आ.ब २०७४/ ०७५ अहिलेसम्म ७५ जनामहिलाई उद्धार गरी फर्काइएको छ । पहिले भारतमा जाने त्यसपछि त्यहीबाट दलालमार्फत विदेश जाने गरेको तथ्याङक खुलेको उहाँले बताए ।

सञ्चार प्रतिष्ठान नेपालले सामी/हेल्भेटासको आर्थिक सहयोगमा वैदेशिक रोजगारीको लागि खाडी मुलुक, मलेसिया, कुवेत आदिमा रोजगारी गरेर फर्केका व्यक्तिहरूलाई सहजकर्ताको भूमिका दिएर यिनिहरूमार्फत वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई परामर्श दिने काम भइरहेको सुरक्षित आप्रवासन, विद्यालय तथा आम सञ्चार कार्यक्रम संयोजक एकिन्द्र तिमिल्सिनाले बताए ।