पर्यटन भ्रमण वर्षः थारु होम स्टे भादा गाउँको प्रबद्र्धनको लागि गुरु योजनाको माग
धनगढी, २५ बैशाख । कैलाली जिल्लामा पर्यटकका लागि गन्तव्य स्थल बन्न सक्ने थुप्रै सम्भावित क्षेत्रहरु छन् । तर, राज्यको नजर अहिले सम्म ति क्षेत्रमा पुग्न सकेको छैन ।
यसै संकल्पलाई पुरा गर्न जिल्ला समन्वयन समिति कैलालीले जिल्लालाई पर्यटन भ्रमण वर्ष २०७५ घोषणा गरि कैलाली जिल्लामा रहेका सम्भावित पर्यटकिय क्षेत्रको सम्बद्र्धन र प्रवद्र्धनको लागि अभियानको थालनी गरिएको छ ।

यो अभियानमा थारु होम स्टे गाउँ भादालाई कसरी जोड्न सकिन्छ भन्ने कुरामा स्थानीय स्तरमा चर्चा नै छ ।
हुन त राज्यले नगरे के भयो त, समुदायको पहलमा पनि धेरै गर्न सकिन्छ भन्ने उदाहरण कैलाली उर्मा–८ भादा गाउँका बासिन्दाले बनाएको होमस्टे राज्यका लागि दरिलो जवाफ बनेकै हो ।
तर भादा होम स्टेलाई अझ व्यवस्थित बनाउन पर्यटन भ्रमण वर्ष अभियानले कस्तो नीति ल्याउन सकिन्छ भन्ने कुराले पनि अर्थ लाग्न सकिन्छ । यसै सन्दर्भमा कैलाली जिल्ला समन्वयन समितिका संयोजक शूर्य बहादुर थापाले भादामा थारू समुदायको परम्परागत जीवनशैलीको अवलोकनको लागि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पहल गरिने बताए ।

उनले भादा होम स्टे धेरै राम्रो रहेको प्रसंसा गर्दै यसलाई अझ व्यवस्थित गर्न होम स्टेका सञ्चालकहरुलाई तालिमको आवश्यकता रहेको बताए ।
कैलाली जिल्लामा दोस्रो चरणको अभियानलाई सफल पार्न धनगढी नगरपालिकासंग जोडिएर रहेको बेहडा बाबाको पनि प्रचार प्रसार गर्न आवश्यक रहेको बताउदै भादा होम स्टेसंगै जोडिएको जोगिनिया ताल, कोईलहुवा, कोईलही तालको प्रबद्र्धन गर्न जरुरी रहेको संयोजक थापाको भनाई छ ।
उनी सोमबार बेहडा बाबा हुदै कोईलहुवा ताल सम्मको अवलोकन गरेको बताउदै अबको नारा नै ‘बेहडा बाबा जाउँ भादा होम स्टेमा बसौं र कोइलहुवा तालको अवलोकन गरौं’ भन्ने नारा तयार गरि सो क्षेत्रको विकासको लागि नीतिगत प्याकेज ल्याई मास्टर पलान बनाउने योजना रहेका बताए । उनले यो क्षेत्रका जनतालाई रोजगारीसंग जोड्नकोलागि होम स्टे सञ्चालकहरुलाई पुरा समय होम स्टेमा खर्चिन आग्रह समेत गरे ।
भादा होम स्टेका आकर्ष विन्दु के हुन् ?

भदा होम स्टे गाउँ भादा नजिकै रहेको जोगिन्या ताल जुन पाँच किलोमिटर मात्रै टाढा रहेको छ । तीन किलो मिटरको दुरीमा रहेको बेहडाबाबा मन्दिर, गणेश सामुदायिक वन, ५ किलो मिटरको दुरीमा कोईलहुवा ताल पर्यटकका लागि अवलोकन गर्ने महत्वपूर्ण स्थान हुन् ।
ताल वरपर क्षेत्रको शान्त वातावरणले त्यहाँ घुम्न जाने जो कोहीको मन लोभ्याउँछ । त्यहाँको सामुदायिक वन जंगली जनावर र जडीबुटीको भण्डार नै छ । वन क्षेत्रमा स–साना जंगली जनावर सजिलै देख्न सकिन्छ । ताल र बेहडा बाबा क्षेत्रको अवलोकनमा पनि पर्यटकलाई कुनै झन्झट छैन । पर्यटकलाई घुमाउन लहरू (परम्परागत गोरूगाडा) तम्तयार हुन्छन् । लहरूमा एक पटक चारजनासम्म बस्न मिल्छ । लहरूमा बसेबापत केही शुल्क भने तिर्नुपर्ने हुन्छ ।

पर्यटकलाई गाउँ घुमाउन गाइडको समेत व्यवस्था छ । तिनले विभिन्न जानकारी दिँदै गाउँ घुमाउँछन् । खानपिनका लागि थारू समुदायमा पाइने प्रायः सबै परिकार यहाँ पाइन्छ । पर्यटकलाई नाचगान देखाउन सांस्कृतिक टोली तम्तयार अवस्थामा हुन्छन् । टोलीले सखिया नाच, झुम्रा नाच, लठ्ठि नाच लगायतको नाच देखाएर पर्यटकहरुलाई मनोरञ्जित बनाउछन् ।
भादा कसरी पुग्ने ?
भादा जानका लागि पूर्व–पश्चिम महेन्द्र राजमार्गको दुई ठाउँबाट भादा पुग्न सकिन्छ । साविक चौमाला गाविसको झिल र राजीपुर हुन् । झिलबाट बेहडाबाबा हुँदै सात किलोमिटरको यात्रा पार गरेपछि भादा पुगिन्छ । त्यस्तै, राजीपुरको बाटो अलि घुमाउरो छ तर सहज छ । त्यहाँबाट भादा पुग्न १२ किलोमिटरको यात्रा तय गर्नुपर्छ ।
प्रदेश नं. ७ को सदरमुकाम धनगढीबाट भादा जान कैलाली बहुमुखि क्याम्पसबाट सिधै पिच बाटो छ । जुन २५ किलो मिटरको दुरीमा छ । होम स्टे जानलाई बेहडा बाबा हुदै भादा पुगिन्छ ।
एउटा अर्को बाटो क्याम्पस रोडबाट सोझै फूलबारी जाने बाटो छ । जुन खुटिया नदी पार गरेपछि बायाँतर्फको बाटो समात्नुपर्छ । यो १७ किलोमिटर टाढा छ । यहाँबाट उर्मा गाविसको कार्यालय हुँदै भादा पुगिन्छ ।
कति खर्चिलो ?

भादा आन्तरिक तथा बाह्य दुवै खालका पर्यटकका लागि हो । विशेष गरेर बाह्य पर्यटकका लागि यो एकदमै उपयोगी हुन सक्छ । अझ थारू समुदायमा हराउँदै गएको परम्परागत पक्षबारे अध्ययन गर्नका लागि बढी उपयोगी हुन सक्छ । थारू समुदायको मात्रै बसोबास रहेको भादा गाउँ आफैंमा एक अध्ययन गर्नैपर्ने स्थान हो । कारण, यहाँको दैवी शक्तिले थारूबाहेक अरू कोही जाति स्थायी बसोबास गरेर टिक्न सक्तैन भन्ने गुरुवाहरूको भनाइ छ । अझ त्यसमाथि स्थानीय बासिन्दाले यो अवसर जुराएपछि अनुसन्धानकर्ताका लागि सुनमा सुगन्ध हुन सक्छ । कामको धपेडीबाट केही दिन थकान मार्न खोज्नेका लागि भादा गाउँ उपयुक्त थलो बन्न सक्छ ।
बजार क्षेत्रको बसाइ भन्दा भादा गाउँ एकदमै सस्तो छ । एकजना अट्ने ओछ्यानको एक रातको मूल्य जम्मा एक सय पचास रुपैयाँ हो । खानेकुराको मूल्य भने परिकारपिच्छे फरक फरक रहेको छ । तर बजारको दर भाउ भन्दा एकदमै सस्तो रहेको छ । होम स्टेमा सबै खानेकुरा आर्गनिक हुन्छ । जाडोमा आगो ताप्दै खानपिन गर्ने प्रयोजनले छुट्टै घरहरू बनाइएका छन् । हरेक घरका बीचमा अगेना राखिएको र ती अगेनाको चारैतिर आठजनाको समूह बसेर रमाइलोसँग खानपिन गर्न सकिने व्यवस्था मिलाइएको हुन्छ ।
२०६८ सालमा स्थापना भएको होमस्टेमा पर्यटकका लागि गाउँमा १९ ओटा घर निर्माण भएका छन् । जसमा एक रातमा ४० जनासम्म सुत्न सक्ने व्यवस्था छ । आन्तरिक र बाह्य गरी ४५ हजार पर्यटकको आगमन भइसकेको होमस्टेका अध्यक्ष लक्ष्मीनारायण चौधरीको भनाई छ
चौधरीले कैलाली भ्रमण वर्षले कैलाली जिल्लाको सम्भावित सबै क्षेत्रको प्रबद्धन गर्ने उद्देश्य रहेपनि होम स्टेलाईलाई व्यवस्थित गर्न छुट्टै गुरु योजना बनाउ ल्याउन सरकारसंग आग्रह गरे । उनले थारु संस्कृतिको संरक्षणको लागि थारु संग्रह स्थापनाकोलागि सहयोगको अपेक्षा समेत गरेको बताए ।
होम स्टेलाई व्यवस्थित गर्न पर्यटकहरुकालागि रमाईलो गर्न पार्क, गाउँ हेर्नकोलागि भ्यू टावर, शुद्ध खानेपानीको व्यवस्था गरिदिए होम स्टेकोलागि सुनमा सुगन्ध हुने चौधरीको भनाई छ ।
पर्यटकको सुरक्षाप्रति स्थानीय बासिन्दा संवेदनशील छन् । उनीहरूले पर्यटकका लागि केही नीति–नियमसमेत बनाएका छन् । गाउँका युवालाई स्वयंसेवकक रूपमा खटाइन्छ । उनीहरूले पर्यटकलाई असुरक्षा महसुस भएका बेला सुरक्षा दिने गर्छन् । तर, स्थानीय बासिन्दाको नीतिनियममा नबसेर अरूलाई असर पु¥याउने पर्यटकलाई स्वयंसेवकले आफ्नो नियन्त्रणमा राख्न सक्छन् । २ सय २० घरधुरी सो गाउँमा १७ सय जनसंख्या रहेको छ ।
होम स्टे पछिको परिवर्तन के ?
भादा होम स्टे गाउँ भादाको घर नं. ५ का सञ्चलक जानकी चौधरी भन्छिन् ‘होम स्टे हुनु पुर्व हामीलाई नेपाली पनि बोल्न आउदैन थियो । तर आज भोली नेपाली फरर बोल्न सक्छौं । हामी अंग्रेजी भाषा बोल्न नजानेपनि उनीहरुले भन्न खोजेको अर्थ लगाउन सक्छौं ।’
यति मात्रै होईन । हाम्रो दिनचार्यमा पनि परिवर्तन आएको छ । हाम्रो लवाई खवाई, आर्थिक रुपले पनि हामी आफै क्षसम भएको महशुस गछौं ।
जानकीले भनिन् ‘होम स्टे सञ्चालन गर्नु अगाडी मेरो श्रीमानले घरायसी काममा मलाई सहयोग गर्नु हुन्नथे तर आज भोली हामी घरायसी कामको जिम्मेवारी बराबारी बाँडफाँड गरेका छौं । श्रीमानले आफूलाई सहयोग गरेको पाउदा हाम्रो गाउँमा लैगिंक सम्बेदनशीलता कायम हुदै गईरहेको अनुभव सुनाईन् ।
उनले आफूले बुनेको ढकिया पर्यटकहरुलाई बेच्ने गरेको सुनाउदै एउटा ढकिया र देलुवा ६ सय देखि ६ हजार सम्मको बेचेको बताईन् । होम स्टे अवधि भरि ३० वटा देलुवा ६ हजारका दर बेचिसकेको बताईन् । उनले साना तिना मूल्यमा धेरै वटा ढकिया बेचेको बताउदै आफ्नो सीपको पनि सदुपयोग भईरहेको बताईन् । उनी सानो तिनो खर्च गर्न श्रीमानको भर पर्नबाट मुक्ति पाएको अनुभव सुनाईन् ।













