बिफ खान मिल्ने समाज

गाई बारे निबन्ध खुब लेखिन्थ्यो स्कूल पढ्दा । गाई हाम्रो राष्ट्रिय जनावर हो । गाईका चार खुट्टा हुन्छन् । गाईको दुई आँखा, दुई कान र एक पुच्छर हुन्छ । गाईले दुध दिन्छ । गाईले घाँस खान्छ । गाईले गोबर दिन्छ । गोबरले घर लिपिन्छ । गोबरको मल बन्छ । गाईलाई हामी लक्ष्मी मानी पूजा गर्छौ । यस्तै यस्तै….

गाईलाई देखेर थाहा पाउने बाहेक अन्य कुराहरु बारे रट्न पथ्र्यो मलाई । किनभने गाईलाई मेरो समुदायमा लक्ष्मी मानिदैन । लक्ष्मी के हो र किन मान्ने भन्नेनै थाहा थिएन । किनभने मेरो समुदायमा देवताका नाम शिव, दुर्गा, लक्ष्मी हुदैनन् । मेरो समुदायमा त भेर्वा, चुरिनिया, मैया, खेखरी, सौरा, गुरबाबा हुन्छन् देवी र देवताहरु । तथाकथित हिन्दु धर्मावलम्वीका शासकले जवर्जस्त रुपमा पो थोपरिदिएका हुन् दुर्गा, लक्ष्मी, भोलेबाबाहरु । गाईको मासु खाइन्छ भन्ने कुरा कहिल्यै थाहा दिइएन स्कूल पढ्दा । नेपालका तामाङले गाई खान्छन् जुन उनीहरुको संस्कृति हो । अह, यो विषयमा कहिल्यै पढाइएन । न विदेशमा गाईको मासु खाइन्छ भन्ने पढाइयो । आखिर एक जात धर्मले रजाँई गरी खाने देशमा तिनकै जात, धर्मको वकालत गर्ने माध्यम न हो औपचारिक शिक्षा ।

नेपालमा गाई खान दिनैपर्छ वा दिनैहुदैन भन्ने वकालत म गर्दिन । तर तामाङ जातीको कुरा आउदा मात्र किन गाईको मासु खान दिने र नदिने विषयमा बहस हुन्छ । तामाङले नखाए पनि दिनहँु नेपालमा गाईका मासु खानेहरु छन् । त्यसबेला चाहि गाईको मासु खानेलाई कानूनी दायरामा ल्याउन पर्छ भन्नेहरु कुन दुलामा गएर लुक्छन् कुन्नी ।

मैले गाईको मासु खाएको छैन, कस्तो हुन्छ थाहा छैन । तर म दाबाका साथ भन्छु खानेहरुलाई मिठो लागेकै कारण खाएका होलान् । मलाई घोँघी मनपर्छ र खान्छु, मुसाको चटनी मनपर्छ र खान्छु । म हुर्केको समुदायमा उहिल्यैदेखि खाने चलन छ र सानैदेखि मैले पनि खान सिके । विश्वका विभिन्न देश अनि विभिन्न समुदायमा विभिन्न किसिमका जनावरका मासु खाने चलन छ । मासुनै नखाने चलन पनि छ । कतै कुकुर पनि खाएको सुनिन्छ । सुन्दा हामीलाई छ्या लाग्छ । कतै घोडा, कतै गड्यौला, छ्याछ्या । हामी आफूले नखाने कुराहरु अरुले खाएको सुन्दा जो कोहीलाई छ्या लाग्छ नै । खानेकुराहरु कि मिठो लागेर खाइन्छ कि अभावका कारण जे पनि खाइन्छ होला । कि त आफ्नो धर्म संस्कृतिले खान सिकाएका खानेकुराहरु खाइन्छन् ।

नेपाल धर्मनिरपेक्ष भनेर संविधानमै लेखिसकिएको छ । जसलाई केही तथाकथित हिन्दुवादीहरुले बाहेक सबै नेपालीले स्विकार गरेका छन् । फेरी पनि, यदि गाईको मासु खानुलाई अपराध मान्नेनै हो भने काठमाण्डौँको पाँचतारे होटेलहरुमा गाईको मासुखानेलाई किन कानून लाग्दैन ? कि दुर्गम भेगका कुनाकन्डरामा बसेका आदिबासी तामाङलाई मात्र हो कानून लाग्ने ? काठमाण्डौँका पाँचताररेहरुमा गाईको मासुलाई बिफ भन्छन् क्यारे । त्यहाँ गाईको मासु होइन, बिफ खाइन्छ । दुर्गम बस्तीका तामाङले बिफ भन्न जानेनन् ।

साच्चैनै गाईको मासु खानुलाई विरोध गर्ने हो भने कठमाण्डौँको पाँचतारेहरुका अगाडी प्रोटेस्ट गरेको सुन्न र हेर्न मन छ । तर त्यसो गरिदैन । किनभने ती पाँचतारेहरुमा उच्च जात कहलिने अभिजातहरुको पहुँच छ । जसले गाईको मासु खान पाइदैन भनि रडाँको मच्चाउछन् तिनकै स्वजातीहरु काठमाण्डौँका पाँचतारेहरुमा बिफ खाई आनन्द लिन्छन् । साच्चैनै नेपालमा गाईको मासुको विरोध गर्ने हो भने नेपालमा रही गाई खाने सबैको विरोध गरियोस् न की एक जात र धर्मको । धर्मनिरपेक्ष राष्टमा सबैले आआफ्नो संस्कृति अनुरुपको खाद्यान्न खान पाउनपर्छ, हैन भने हिन्दु राष्ट घोषणा गरे भैहाल्यो नि ।

तामाङले गाई खाएको हिन्दु धर्मको विरुद्धमा होइन, आफ्नो संस्कृति अनुरुप चलेको मात्रै हो । धर्म विरुद्धको कुरा गर्ने हो भने बाहुन क्षेत्रीले बंगुर छुनु पनि पाप हो त्यसैले पाप नलागोस् भनेर बंगुर नछोई खान्छन् रे । भैंसी खानु हिन्दु धर्म विरुद्ध हो, तर बफका नाममा बाहुनले खान मिल्छ । दलितलाई छुनु पनि धर्म विरुद्ध हो । तर आफ्ना धर्म विरुद्ध गएर दलित महिलाहरुमाथि जतिसुकै व्यभिचार गरेपनि हुन्छ । यो देशमा उच्च जात कहलिएकाहरुले जतिसुकै धर्म विरुद्धको काम गरेतापनि हुन्छ, गंगामा गएर नुहाइदिए शुद्ध भइन्छ ।
आफूलाई केही प्रगतिशील मान्नेहरुले गाईलाई धर्मसंग भन्दा बढी राष्ट्रिय जनावर हो भनि बचाउ गर्लान् । प्रगतिशीलहरुले त एक विशेष जात र धर्मसंग जोडिएको जनावरको भन्दा मानव जातीको अधिकारका लागि वकालत गरेको राम्रो सुनिन्थ्यो होला । पशु अधिकारको कुरा अहिले विश्वमा उठिरहेका छन् । नेपालमा पशुपंक्षीको अधिकारका कुरा गर्ने हो भने किन गाई मात्रै ? गाई मात्रको कुरा गर्दा त्यहा जातीयता झल्किन्छ । धार्मिकता झल्किन्छ । गौहत्याको विरोध गर्नेहरुले दशैंमा देवीदेवताका नाममा उत्सव मनाएर खसी, बोका, राँगाहरु चढाएकै हुन्छन् । गाई मार्नु पाप हो भने, बोका र राँगा मार्नु कुनै पनि अर्थमा पुण्य हुनै सक्दैन ।

मैले घोँघी खाँदा मेरो छिमेकी बाहुनले घिन मान्छन् । शंखेकिरा खायो भन्छन् । उनले दुध खाँदा मलाई मन पर्दैन, गोफ्फाइन गन्आउछ । उनले मेरो शंखेकिरा जस्तो घोँघी नस्विकारे अनि मैले उनको गोफ्फाइन गन्हाउने दुध नस्विकारे, सद्भाव कहाँ खोज्ने ?