माघी पर्वसंगै जोडिएको थारु पहिचान
म जन्मेदेखि हाल सम्म पनि मेरो बुवा आमा भगवानको मुर्तिलाई ढोगेको पाईन । यसको अर्थ यो होईन थारुहरु पुजापाठ गर्दैनन् । तर मेरो बुवा आमा गाउँ घरमा चल्दै आएको रिति थिति अनुसार प्रकृतिलाई भने पुज्दै आएका छन् । त्यसैले होला इतिहासमा थारु प्रकृति पुजारी हुन् । परापुर्वकाल देखि नै प्रकृतिलाई पुजा गर्दै आएकोले थारुहरु प्रकृति पुजारीको संज्ञा पाए । जस्तै वन जंगलमा बनसप्ती (स्याउला पात दोबाटोमा थुपारेर बनको देवता) बाउने, सूर्य ,चन्द्रमा, आकाश, पहाड, माटो, आगो, पानी लाई पुजा गर्ने र जंगली जनावरहरु हात्ती, घोडा आदिलाई पुजा गर्दै आएको इतिहास हाल सम्म पनि कायमै छ । थारुहरुको घरमा पुजा कोठा (देउराहार) मा माटोको घोडाघोडी, घाँसबाट बनेको झारु, अनिवार्य हुन्छ । थारु जाती समतल भू–भागमा बस्न मन पराउने र समतल भूभागमा २५ सय वर्ष अगाडि देखि नै बस्दै आएको इतिहासले थारुहरु आफूलाई तराईका धर्तीपुत्र हो भनि दाबी गर्दै आइरहेका छन् । कुनै–कुनै ठाउँमा थारुहरु बौद्ध धर्मावलम्बी हो भनेर उल्लेख समेत गरेको छ । थारुहरु बौद्ध धर्म अनुसार कर्मकाण्ड, विवाह इत्यादि गर्ने गरेकोले उनीहरुलाई बौद्ध धर्मावलम्बी बनाएको हो । थारुहरु हत्या हिंसा तिर रुचि राख्दैनन् । उनीहरु शान्ति चाहन्छन् । कम बोल्ने र सत्यमा विश्वास गर्ने भएकोले पनि होला थारुहरुलाई बौद्ध धर्मावलम्वीमा वर्गीकरण गरेको ।
थारुहरुको खानपान, बोली भाषा, विचार, रहनसहन, चाडपर्व शिलस्वभाव बेग्लै छ । कला संस्कृति, नाचगान, खेलकुद, राहरंगी पनि भिन्नै छ । थारु महिलाहरुले प्रयोग गर्ने श्रृगार समेत फरक छ । थारु समुदाय बैचारिक रुपमा पनि फरक छन् । परापुर्वकालको इतिहासमा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङमा विशेष गरी थारु बस्ती रहेको छ । थारुहरु आदिवासी भएको र तराईको भूमिलाई आवाद गरेकाले पहिला पहिला यीनीहरुसंग प्रशस्त जमिन थियो । परम्परागत रुपमा यीनीहरुको आफ्नो जीवन जिउने कला थियो । बाटोघाटो, कुलो, पानी, पँधेरो बनाउने बेला सामूहिक रुपमा काम गर्ने चलन हालसम्म पनि कायमै छ । हमेशा जीवन जिउने आधार जमिनलाई ठान्ने परम्परा पनि हाबी नै छ ।
देश संघीयतामा गईसकेको छ । संविधान कार्यान्वयनको लागि स्थानीय तहको निर्वाचन, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि भईसकेको छ । निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो जिम्मेवारी समाल्न जनताहरुसंग हातेमालो गरिरहेका छन् । सबै जाती, वर्ग, समुदायलाई सम्बोधन हुने गरी जारी गरिएको संविधान उत्कृष्टको संज्ञा पाईसकेको छ । तर एक थरीका नेपालकै दाजु भाई भने आफ्नो पहिचानको खोजी गर्न भने छोडेका छैनन् । देशलाई संघीयतामा लैजाने क्रममा सिमांकन विवादले ठाउँ–ठाउँमा आगो बल्यो, मान्छे सहिद बने । हिंसात्मक घटना घट्यो । सामाजिक सद्भाव खल्बलियो तर पहिचानवादीहरुले चाहे अनुरुपको माग भने राज्यले सम्बोधन गर्न सकेन । पहिचानकै खोजी गर्दा गर्दै टीकापुरमा दुःखद घटना घट्यो । घटना पश्चात पुर्पक्षको लागि टीकापुर घटनाको योजनाकार भनिएका लक्ष्मण थारु सहित २५ जना कैलाली कारागारमा राजबन्दी बनेका छन् भने अर्को योजनाकार भनिएका रेशम चौधरी भूमिगत जीवन बिताउन बाध्य छन् ।
हिजोको दिनमा पसिना चुहाएर जंगलको जीवजन्तुसंग भलाकुसारी गर्दै मानव बस्ती बसाए । घाम, पानी, तातो, चिसोको बेवास्ता गर्दै रात दिन लामखुट्टेको शिकार बनेर मलेरियाबाट लड्ने हिम्मत कस्दै आफ्नो खेतबारी हरीयाली बनाए । आफ्नै सीप, कलाको प्रयोगले जीवन जीउने प्रयत्न गरिरहेका थारु आफ्नै जमिन र खेतबारीको सिमानाको खोजीमा इतिहासको पाना पल्टाइरहेका छन् । आफ्नो धर्म, संस्कृति, भाषा, सीपकला आदिको पहिचान बनाएका थारु आफू थारु हुनुमा गर्व गर्नुको सातो निरास बनिरहेका छन् । राज्यले थारुहरुको सम्पत्ति, संस्कार, परम्परामा समेत ढाबा बोल्न नछोडेपछि थारु गाउँमा सांस्कृतिक आन्दोलन फस्टाउदै गईरहेको देखिन्छ ।

माघी नजिकिदै जाँदा थारु गाउँमा महोत्सवले व्यापक चर्चा पाएको । ठाउँ–ठाउँमा माघी महोत्सबको तयारीले माघी पर्व झन् रौनक बन्दै गएको छ । कैलालीको थारु होमस्टे गाउँ भादामा भादा महोत्सब, धनगढीको जाली गाउँमा माघी मेला, धनगढीको बंगरा गाउँमा माघी मिलन कार्यक्रम, दाङ तुल्सीपुरमा माघी विशेष कार्यक्रम, काठमाडौं माघी महोत्सव, कपिलवस्तुमा माघी महोत्सव लगायत ठाउँ ठाउँमा माघी मेलाको आयोजना हुने कुराले पहिचानबादीहरु माघी पर्वलाई हतियार बनाएर सांस्कृतिक आन्दोलनमा होमिएको भन्दा फरक नपर्ला ।
के हो माघी
माघी अर्थात् पुस मसान्तमा थारु समुदायमा सबैको घरमा बंगुर, सुंगुरको मासु पाकेको हुन्छ । सबैको घरमा चामलको रक्सी, जारको झोल तयारी अवस्थामा हुन्छ । कोही कोही त अन्दीको चामलको रक्सी बनाउने गर्दछन् । गाउँ भरिका मान्छे एकले अर्काको घरमा पालै पालो गरी तयारी अवस्थामा रहेको खाने कुरा खान्छन् र रमाईलो गर्दछन् ।
माघ महिना थारु समुदायका लागि विशेष महिना हो । आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा धार्मिक हिसाबले यो महिना अन्य महिनाको भन्दा बढी महत्व राख्छ । माघ १ गतेलाई सबै नेपाली समुदायले माघे–संक्रान्तिको रूपमा मनाउने गर्छन् । थारु समुदायको लागि त माघ पूरै महिना विशेष हुन्छ । त्यसैले माघी पर्वलाई थारुले नयाँ वर्षको रूपमा मनाउँछन् । माघ १ गते थारु परिवारका सबै सदस्यले नदी, खोला, तलाउ, कुवा वा पायकपर्ने जलाशयमा गएर अनिवार्य रूपमा स्नान गर्ने गर्छन् । यसरी नुहाउने प्रचलनलाई थारुमा ‘माघी लहान’ भन्ने गरिन्छ ।
माघी लहानलाई विशेष बनाउन थारुहरु पुसको अन्तिम दिन रातभर जाग्राम बस्ने गर्छन् । जुन बेला थारु महिलाको ठूलो भूमिका हुन्छ । पुरुष रात भरि डफ लिएर, डम्फु बजाएर धमार गीत गाउने गर्छन् भने महिला खानपिनको परिकार जस्तैः ढिक्री, खेरिया, अन्दीको भात, तरुल, गैजी पकाएर जाग्राम बस्नेलाई साथ दिदै रक्सी बनाउने काम पनि गर्छन् । त्यो दिन पुरुष मात्र होईन महिलाहरु पनि खुलेर रमाइलो गर्ने गर्दछन् । जब भाले बास्छ अनि घरका सदस्यहरू सामूहिक रूपले नुहाउन जलाशयतिर गीत गाउँदै प्रस्थान गर्छन् ।
जलाशयतिर जानु अगाडि घरमूलीले स्नान गर्न जाने सबै सदस्यलाई पैसाको सिक्का बाँड्ने प्रचलन छ । पानीमा डुबुल्की मार्नुअघि नै जलदेवतालाई सो सिक्का चढाएर मात्र स्नान गर्छन् । वर्षमा एकदिन पानी खरिद गरी स्नान गर्नले जलदेवता खुशी हुने र मागेको फल प्राप्त हुने विश्वास छ ।
माघीमा थारुहरूले इच्छा अनुसारको दान गर्छन् । शुद्ध जलाशयमा स्नान गरेपछि घरमा उत्पादित अन्न, चामल, दाल, बजारबाट खरिद गरिएको नुन, नगद, जिन्सी तथा लत्ताकपडाका सामानहरू विवाह गरी गएका चेलीबेटीलाई प्रदान गरिन्छ । यसरी छुट्याइएको दानरूपी उपहार सामग्रीलाई थारुमा ‘निसराउ’ भनिन्छ । माघी पर्वमा माइती बोलाइएका विवाहिता चेलीबेटीलाई त्यही निसराउ उपहारको रूपमा दिएर घर पठाउने प्रचलन छ । उपहारका लागि छुट्याइएको निसराउ चेलीबेटीलाई अनिवार्य रूपले दिनुपर्छ । दान नदिएर घरमै प्रयोग गरेमा त्यसले पाप र अशुभ हुने मानिन्छ ।

थारु समुदायले परापूर्वकालदेखि लोकतान्त्रिक प्रक्रियाको अङ्गीकार गर्दै आएको छ । घरको नेतृत्वकर्ता घरमुली हुन्छ । गाउँको नेतृत्वकर्ता बरघर हुन्छ । गाउँभरिको सूचना प्रवाहकर्तालाई चिरक्या भनिन्छ । हुलाकीको कामगर्ने चौकीदार हुन्छ । घरदेवता चलाउने घरगुरुवा हुन्छ । गाउँभरिको देवता हेर्ने केसौका, बड्का गुरुवा हुन्छ । धेरै गाउँको देवता हेर्ने देशबन्ध्या हुन्छ । फलामको काम गर्ने, कपडा सिलाई गर्ने सबैको जिम्मेवारी तोकिन्छ । पाएको जिम्मेवारीअनुसार सबैले भूमिका निर्वाह गर्नुपर्छ । जिम्मेवारी गरेअनुसारको सबैको वार्षिक पारिश्रमिक तोकिएको हुन्छ । कोही नगदमा लिन्छ त कसैले अन्न लिने गर्छ । सो नेतृत्व चयनमा महिलाहरुको पूर्ण सहभागिता हुने गर्दछ । पछिल्लो चरणमा महिलाहरुले पनि बदघर, भलमन्सा जस्ता नेतृत्व समाल्दै आएका छन् ।
माथि उल्लेखित यी सबै पदका लागि सामूहिक निर्णय अनिवार्य हुन्छ । सकेसम्म व्यक्तिको सक्रियता र परिपक्वता हेरी सर्बसम्मत उम्मेदवार छानिन्छ । त्यो सम्भव नभए लोकतान्त्रिक प्रक्रियाअनुसार मतदान गर्ने वा गोलाप्रथाबाट पनि टुङ्ग्याउने प्रचलन छ । जिम्मेवारी दिँंदा महिला र पुरुषलाई बरावरी मूल्याङ्कन गरिन्छ । महिलाले घरको जिम्मेवारी, गाउँको जिम्मेवारी लिन तयार हुन्छ भने महिलाले पाउँछ । कुनै घरको घरमुली महिला हुन्छ, कुनै घरको पुरुष । कुनै गाउँको बरघर महिला हुन्छ भने कुनै गाउँको पुरुष । कुनै गाउँको बरघर गैरथारु भएको पनि उदाहरण छ । गाउँको भेला र सामूहिक छलफलले जे निर्णय गर्छ, त्यही सबैलाई मान्य हुन्छ । अरु बेला बोल्न नसक्ने महिलाहरु माघीमा निर्धकक भएर बोल्न सक्छन् ।
यस पर्वको महत्व थारु समाजमा धेरै रहेको छ । जस्तै सामाजिक सहिष्णुता तथा समझदारी पूर्ण सम्बन्धको विकास गराउने । सवल एवम् सक्षम नयाँ नेतृत्वको चयन गर्ने सुअवसर प्रदान गर्ने । एकै समयमा नियमित तरिकाले गाउँ विकासको योजना छलफल प्रणाली बाट निधो गरिने । विभिन्न देवीबाट बचाउन र सामाजिक परम्परा तथा संस्कारलाई जीवन्त राख्न गुरुवाहरुको व्यवस्था गर्ने । नयाँ काम कारोबारको थालनी गरि ब्यक्तिगत तथा सामूहिक विकासका पूर्वाधारहरु तयार गर्ने । दाजुभाई तथा दिदीबहिनी बिचको सम्बन्धलाई माघीले प्रगाढ बनाई दिन्छ ।













